‘मानिसको बुद्धिमत्ताको स्तरबारे तपाईंहरुलाई थाहा छैन भने म भन्छु। एउटी महिलाले छोरा जन्माइन् भने उनको शरीरले उत्पादन गर्ने दूधको गुणस्तर एक प्रकारको हुन्छ। छोरी जन्माइन् भने दूधको गुणस्तर पुरै अर्कै हुन्छ। यदि उनले एउटा छोरा र एउटी छोरी गरेर जुम्ल्याहा बच्चा जन्माइन् भने एउटा स्तनबाट एक प्रकारको र अर्को स्तनबाट अर्को प्रकारको दूध आउँछ। यस्तो हुन्छ हाम्रो शरीरमा निहित बुद्धिमत्ताको स्तर।’
स्त्रीरोग विशेषज्ञहरु खचाखच भरिएको हलमा सन् २०१७ मा दिइएको प्रवचन थियो यो। तर, यस्तो मनगढन्ते, अप्रमाणित सन्देश सुनेर पनि उपस्थित कसैले वक्तामाथि प्रश्न गर्ने वा उनलाई सच्च्याउने यत्न गर्दैनन्। उल्टै ताली बजाउँछन्। उनले जे–जस्ता कुतर्क गरे पनि ती डाक्टरले यी मनुवाका मुखबाट निस्केको हरेक शब्दलाई देववाणी मान्छन्।
यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई संसारले सद्गुरुका नामले चिन्छ। उनको वास्तविक नाम जग्गी वासुदेव हो। यस आलेखभरि उनको वास्तविक नाम मात्र प्रयोग गरिने छ।
यसै वर्षको रक्षाबन्धनको प्रसंग हो। जग्गी वासुदेवले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा लेखे, ‘रक्षाबन्धन नारित्वको रक्षा गर्ने वचन हो। कमजोरीका कारणले होइन, तिनको सुवासको मूल्यका लागि।’
हैदरावादस्थित नाल्सार युनिभर्सिटी अफ लमा यिनलाई वक्ताका रुपमा बोलाइएको थियो। केही मन्दिरमा महिलालाई लगाइएको प्रतिबन्धको समर्थनमा यिनले गरेको सार्वजनिक टिप्पणीलाई उद्धृत गर्दै दर्शकदीर्घाबाट एकजनाले प्रश्न गरे।
आफूले पहिले नै दिएको अभिव्यक्तिमा अडिग हुँदै यिनले भने, ‘महिलाको ग्रहको तालमेल नमिल्ने भएर उनीहरु यस्ता मन्दिरमा जान मिल्दैन। अझ, गर्भवती महिला वा महिनावरीमा भएका महिला गए त उनीहरुको जीवनमा अनिष्ट हुन्छ। यो भेदभाव होइन, सुझाव मात्र दिएको हो। एउटा मन्दिर जान नपाउँदैमा कसरी विभेद भएको भन्न मिल्छ? हाम्रा देवताभन्दा देवीको संख्या ठूलो छ। भैरवीको एउटा मन्दिरमा पुरुषलाई जान दिइँदैन। तिमीहरु अब गएर महिला अधिकारका लागि होइन, पुरुष अधिकारका लागि लड। भेदभावको कुरा जति गर्यो, महिलाका लागि त्यति नै हानिकारक हुन जान्छ।’
तर दर्शकदीर्घामा बसेका ती विद्यार्थीले यो त सरासर भेदभाव हो भनी पुनः दोहोर्याए। जग्गी वासुदेवले आफ्नो हठ कायम राख्दै भने, ‘महिला शौचालयमा जान पाइँदैन भन्दा भेदभाव नहुने, मन्दिर जान दिएन भन्दा कसरी विभेद भयो?’
टाइम्स नाउ च्यानलमा नविका कुमारले लिएको अन्तर्वार्तामा पनि उनले यही विचार दोहोर्याए। केरलाको सबरीमलामा पन्ध्रदेखि पचास उमेर समूहका महिलालाई जान नदिइने अभ्यासबारे उनको व्याख्या यस्तो थियो, ‘सबरीमला मन्दिर डाँडामाथि छ। महिलालाई हिँड्न गाह्रो हुन्छ। त्यसमाथि त्यहाँ धेरै बाघ आउँथे पहिला। बाघले पुरुषलाई भन्दा महिलालाई सजिलै सुँघ्न सक्छ। त्यसैले उनीहरुकै सुरक्षाका लागि त्यहाँ जान नदिइएको हो।’
उनी त्यतिमा मात्र रोकिँदैनन्। मन्दिरभित्रका देवता ब्रह्मचारी भएकाले उनले महिलाहरु आफ्ना समीपमा आएको नरुचाउने र उनको यस इच्छाको सम्मान सबैले गर्नुपर्ने तर्क दिन्छन्। एक ढुंगाले एक जीवित मानिसले भन्दा बढी अधिकार पाउनुपर्ने तर्कमा अडिएको छ यिनको अध्यात्मको व्यापार।
उनका अधिकांश विचार यस्तै स्त्रीद्वेषी आशयका हुन्छन्।
गत हप्ता यिनै जग्गी वासुदेव नेपाल आएको खबरले सामाजिक सञ्जाल तातेको थियो। सामाजिक सञ्जाल चलाउने नेपाली युवा पुस्तामाझ लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ ले यिनको सिंगो यात्रा विवरण पोस्ट गरेको थियो। कैलाश पर्वतको यात्रा तय गरेका यिनी आफ्नो टोलीसँग सुर्खेत, सिमकोट, अनि एक हप्ताको पैदलयात्रापश्चात् कैलाश पर्वत पुग्ने योजनामा थिए। यिनी यहाँ यसरी आउनु हाम्रा लागि सौभाग्यको विषय हो भनी उक्त पेजले लेखेको छ।
त्यसै पोस्टका मुनि छन् हजारौँ कमेन्ट। कमेन्टमा सबैले उनलाई यहाँ आएकामा धन्यवाद दिएका छन्। उनका भिडियो हेरेर आफ्नो जीवनमा परिवर्तन आएको तिनले बताएका छन्।
तर, सधैँ महिलाबारे निकृष्ट टिप्पणी गर्ने, उच्चजातीय पुरुषबाहेक अरुका अधिकारका लागि आवाज नउठाउने, कुनै धर्मविशेषलाई मात्र फाइदा हुने गरी ल्याइएका नियम–कानुनमा सहमति जनाउने, सत्ताको सुरमा ताल मिलाउने, अप्रमाणित कुरालाई विज्ञानभन्दा सर्वोपरि मान्ने यस्ता व्यक्तिका कुरा सुनेर जीवनमा कस्तो परिवर्तन आउँछ होला?
अगस्ट २०१९ मा तत्कालीन प्रधानमन्त्री ओली, प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गर्दै जग्गी वासुदेव
अनेक नाम र रुपरङका बाबाहरुको संगतमा रमाउने काठमाडौँको राजनीतिक वृत्त पनि जग्गी वासुदेवसँग खुबै प्रभावित छ। उनी काठमाडौँ आउँदा नेपालका प्रमुख सबै राजनीतिक दलका शीर्ष नेताहरु लाइन लागेर उनलाई भेट्न पुग्छन्। अझ रोचक के भने कम्युनिस्ट पार्टीका नेताहरु नै जग्गी वासुदेवको ‘भौतिकवाद’को गुणगान गाउँदै हिँड्छन्।
मीठो बोली, विशाल शब्दभण्डार र छद्म विज्ञानको सहाराले जग्गी वासुदेव स्त्रीद्वेष र अन्धविश्वास फैलाइरहेका हुन्छन्। तर, जीवनभर न्याय र समानताको लागि लडेका हौँ भन्ने नेताहरु उनको बचाउ गरिरहेका हुन्छन्।
कैलाशतर्फ जाने क्रममा भदौ १० गते हुम्लाको सिमकोटमा जग्गी वासुदेव (तस्बिरः दाने बोहरा, रासस)
एकछिन उनको कैलाश यात्राको चर्चा गरौँ।
केही महिनाअगाडि मात्र भारतीय सञ्चार संस्था न्युजलन्ड्रीले जग्गी वासुदेव, उनको संस्था र तिनले गर्ने कामबारे चर्चा गर्दै तीनवटा लेखको एक शृंखला प्रकाशित गरेको थियो। त्यसमा दिइएको तथ्यांक र वासुदेवको कैलाश मानसरोवर यात्रामा सामेल एकजना व्यक्तिसँगको कुराकानीको आधारमा यी जानकारी प्राप्त भएका हुन्।
जग्गी वासुदेवसँग दुई हप्ते कैलाश मानसरोवर यात्रामा जान चाहनेले ४० देखि ५० लाख भारतीय रुपियाँसम्म तिर्नुपर्ने रहेछ। त्यति खर्च गरेर जान सक्नेले यात्राका क्रममा वासुदेवसँग बसेर खाना खाने, कुरा गर्दै उकालो लाग्ने, फोटो खिच्ने अवसर प्राप्त गर्दा रहेछन्। तर सँगै जाने इच्छा भए पनि यति ठूलो रकम बुझाउन नसक्नेका लागि भने कम मूल्यका प्याकेज पनि उपलब्ध रहेछन्।
ती कम मूल्यका प्याकेज भारु तीन लाखबाट सुरु हुन्छन् र १० लाखसम्म पुग्छन्। यस्तो अवस्थामा जग्गी वासुदेवका भक्तले सिंगो यात्राको अवधिमा उनीसँग एकपटक मात्र प्रत्यक्ष साक्षात्कार गर्ने मौका पाउँछन्। थोरै मूल्य तिरेर जानेको समूहमा धेरै व्यक्ति हुन्छन् भने धेरै तिरेर जानेको समूह सानो हुन्छ।
जग्गी वासुदेवले आफ्ना भक्तमाझ बनाएको ‘बाइकर साधु’ को छवि त धेरैलाई थाहै होला। बाइक चलाउँछन् उनी। ती पनि एकदम महँगा। यी सबै उनका भक्तले ‘श्रद्धापूर्वक चढाएका’ हुन्। उनको यो रुचिले उनलाई ‘कुल’ छवि मात्र दिएको छैन, थप धनआर्जन गर्ने अर्को अवसर पनि जुटाइदिएको छ।
हरेक वर्ष जग्गी वासुदेवको टोली कैलाशबाहेक अरु थुप्रै यात्रामा पनि जान्छ। कहिले दुई हप्ते बाइक ट्रिपमा उनी आफ्ना भक्तसँग हिमालयतर्फ लाग्छन् भने कहिले एक हप्ताका लागि बनारस हानिन्छन्। कहिले रामेश्वरम त कहिले मैसुर। यी यात्रामा दिनको करिब एक लाख भारतीय रुपियाँ शुल्क लाग्छ। त्यसको आधा मूल्य पर्ने प्याकेज खरिद गर्न पनि सकिन्छ तर तिनमा वासुदेव स्वयं भने सामेल हुँदैनन्, उनका कर्मचारी उनका स्थानमा जान्छन्।
भारतको राजनीतिमा बढ्दो भगवाकरणको पृष्ठभूमिमा बसेर दक्षिणपन्थी मानसिकतालाई मलजल गर्ने ‘पोस्टर ब्वाइज’ मध्ये एक हुन् जग्गी वासुदेव। भारतीय जनता पार्टीको आईटी सेलले हरबखत फैल्याउने चेत वासुदेव पनि बोक्छन्। फरक यत्ति हो, आईटी सेल सिधा धम्कीसहित उत्रिन्छ। यी गुरु ब्रह्माण्डमा त्यस्ता गतिविधिले के फरक पार्छन् भनी अनेकौँ कथा बुन्दै घुमाउरो पारामा प्रस्तुत हुन्छन्। तर मनसाय दुवैको एउटै हो।
यति भन्दै गर्दा वासुदेवका केही भक्त उनले धर्मका आधारमा विभेद नगर्ने तर्क अघि सार्दै आउँछन्। तर यिनले दिएका सबैजसो अभिव्यक्तिमा उही हिन्दुवादी चेतको प्रतिबिम्बबाहेक अरु केही पनि पाइँदैन। भारतको संविधानको ३७० औँ अनुच्छेद खारेजीपश्चात् उनले सुशील पण्डित र आरती टिकु सिंहलगायतले दिएका कश्मिरका मुसलमानविरोधी आवाजमा मिलाएको आवाज सुनौँ। धर्मलाई मुख्य आधार मानेर ल्याइएको नागरिकता संशोधन कानुनबारे कसैले उनको मत सोध्दा उनले भनेका थिए, ‘मैले पूरै पढेको त छैन तर यो आवश्यक छ।’
हिन्दुत्वको आडमा बनेका यस्ता कानुनमाथि प्रश्न गर्नेलाई कडाभन्दा कडा सजाय दिनुपर्ने मनसाय प्रकट गर्छन् यिनी।
यी त केही उदाहरण मात्र हुन्। यी सब विचार बोकी हिँड्ने र सधैँ एक निश्चित धार्मिक समुदायका विरोधमा अभिव्यक्ति दिन पछि नपर्ने जग्गी वासुदेव आफूलाई ‘गैरराजनैतिक’ भन्न रुचाउँछन्।
हरेक गुरुपूर्णिमा, नवरात्री, नयाँ वर्ष, शिवरात्रीमा तामिलनाडुको कोयम्बटुरस्थित ईशा योग फाउन्डेसनमा यिनले भव्य समारोह आयोजना गर्छन्। देशविदेशबाट यिनका भक्त केही मिनेट यिनी नाचेको ‘अद्भूत्’ दृश्य हेर्न आउँछन्। त्यसका लागि तीन सयदेखि तीन लाख भारतीय रुपियाँसम्मका टिकट पाइन्छन्। जति धेरै तिर्न सक्यो, त्यति धेरै सुविधा। यी सबै कार्यक्रममा स्वयंसेवकका रुपमा राष्ट्रिय स्वयंसेवक संघबाट थुप्रै मान्छे आउँछन्। अरु बेला तामिलनाडुका समस्यालाई बेवास्ता गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जग्गी वासुदेवको ईशा योग फाउन्डेसन परिसरमा बनाइएको ११२ फिट अग्लो आदियोगीको प्रतिमा उद्घाटन गर्न पुगेका थिए। यस फाउन्डेसनका प्रत्येक कार्यक्रममा विशिष्ट अतिथिका रुपमा हिन्दुत्वकै पैरवी गर्ने कसैलाई बोलाइएको हुन्छ।
सत्ताको यति निकट बस्ने जग्गी वासुदेव कानुनको दायराभन्दा एक तहमाथि भएको देख्दा कसैलाई अचम्म लाग्नु नपर्ने हो। यसरी नै ढाकिएका छन् उनका सबै गैरकानुनी कर्तुत। यसै कारणले हुँदैन उनीविरुद्धका दर्जनौँ मुद्दामाथि फैसला।
चेन्नईबाट प्रकाशित हुने एक साप्ताहिक पत्रिकामा अध्यात्मसम्बन्धी स्तम्भ लेखेर चर्चा कमाउँदै गएका जग्गी वासुदेव आजसम्म आइपुग्दा एक विशाल एवं संगठित ब्रान्ड भइसकेका छन्। त्यही स्तम्भ लेख्दै राजनीतिक समर्थन पनि जुटाउँदै जान उनलाई धेरै समय लागेन। तामिलनाडुको राजनीतिमा नास्तिकताका पर्यायजस्तै मानिने करुणानिधिसमेतको सामीप्य पाएका थिए जग्गी वासुदेवले। फिल्म तथा व्यवसायिक क्षेत्रमा रहेका उनका भक्तबारे त हामी अवगत नै छौँ।
चेन्नईको अन्ना विश्वविद्यालयमा सन् २००७ मा आयोजना गरिएको एक कार्यक्रममा तामिलनाडुका तत्कालीन मुख्यमन्त्री करुणानिधिले वातावरण जोगाउन जग्गी वासुदेवको पथमा लागे संसार अझै सुन्दर हुँदै जाने अभिव्यक्ति दिए। त्यसको केही समय नबित्दै तिनै जग्गी वासुदेवले वातावरण विनाशमा अग्रणी भूमिका निर्वाह गर्लान् भनेर करुणानिधिलाई सायदै थाहा थियो।
नीलगिरि संरक्षण क्षेत्रमा उनले कुनै पनि कानुनी प्रक्रिया पुरा नगरी ईशा योग फाउन्डेसन निर्माण गरेका थिए। हात्तीका विचरणका लागि भनी छुट्ट्याइएका क्षेत्रमा उनले आफ्नो आश्रम बनाएका छन्। त्यस क्षेत्रमा बस्दै आएका जंगली हात्ती अहिले मानव वस्तीमा पस्ने गरेका छन्। जग्गी वासुदेव र उनको टोलीले यसको जिम्मा लिन मानेको छैन।
र, यही बनेको छ अहिले उनको करछलीको माध्यम पनि। सार्वजनिक परोपकारी ट्रस्ट भनी दर्ता भएकाले यिनलाई सहज छ आफ्नो आयको श्रोत दान र चन्दा हो भनी देखाउन। तर प्रश्न उठ्न सक्छ कैलाश मानसरोवर यात्राका क्रममा लिइने शुल्कबारे। त्यसमा पनि यिनले सजिलो उपाय निकालेका छन्। लाखौँको शुल्क लिए पनि रसिद दिने बेला सय र हजारको मात्र उल्लेख गरी दान श्रेणीमार्फत् दिइन्छ।
कावेरी नदी वरपरको क्षेत्र जोगाउन भनी उनको संस्थाले वृक्षरोपणको कार्यक्रम पनि सुरु गरेको छ। ४२ रुपियाँ प्रतिरुखका दरले चन्दा उठाएर उनी यो परियोजना अगाडि बढाउँदै छन्। तर कोष पारदर्शी छैन। न रोपिए भनेजति रुख रोपिएका छन्, न सबै जानकारी सार्वजनिक गरिएको छ। खोल मात्र मानवसेवाको हो, वास्तविकता त मुनाफामूलक व्यापार नै हो।
यी सबबाहेक अध्यात्मका आडमा मनुस्मृतिको प्रचार गरिरहेका जग्गी वासुदेवले जातप्रथाको पनि खुलेर समर्थन गरेका छन्। यसको जानकारी उनले लेखेको ब्लगबाट पनि पाउन सकिन्छ। अझ नजिकबाट हेर्ने हो भने ईशा योग फाउन्डेसनमा भान्सामा काम गर्नेहरु सबै कन्नडिगा ब्राह्मण हुन्। बाहिरको क्षेत्र सफा राख्ने, चर्पी सफा गर्ने, चप्पल खोल्ने ठाउँको हेरचाह गर्नेमा उनैले यस आश्रम बनाउँदा विस्थापित भएका बहुजन समुदायका व्यक्ति छन्।
हलिउडदेखि बलिउडका कलाकार, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय व्यवसायी, नाम चलेका व्यक्ति, राजनीतिज्ञ– को छैन यिनको समर्थन गर्ने? सधैँ समानताका कुरा गर्ने अभियन्ताहरु इन्स्टाग्राममा फोटोमुनि यिनकै भनाइ क्याप्सन लेख्छन्।
मेरो नजिकको एकजना साथी नैराश्यको अवस्थाबाट गुज्रिरहेको थियो। उपचारका अनेकौँ तरिका अपनाउँदा पनि उसको स्वास्थ्यमा सुधार देखिएको थिएन। त्यस्तैमा अचानक ऊ जग्गी वासुदेवले युट्युबमा हाल्ने गरेका भिडियो हेर्न थाल्यो। त्यसपछि उसको स्वास्थ्यवस्थामा सुधार देखिन थाल्यो। अहिले ऊ तिनै जग्गी वासुदेवको परमभक्त भएको छ। उसको घरका हरेक कोठामा आफूलाई देवमानुष भनी चिनाउने यिनै व्यक्तिका तस्बिर भेटिन्छन्। कसैले तिनका बारेमा गरेको आलोचना सुन्नै सक्दैन मेरो साथी।
उल्टै प्रश्न गर्छ, ‘मलाई त फाइदा भयो नि सद्गुरुले देखाएको मार्गमा लागेर। तिनको बाँकी कामसँग मलाई के मतलब?’
यही तर्क आत्मसात् गर्ने हो भने त अपराधको फेहरिस्त बाँध्दै अघि बढेर आफूलाई महामानव भनी चिनाउने जसको भक्ति गरे पनि भयो।
तपाईं कि न्याय, समानता, विकास, विज्ञान, तर्क, तथ्य र वातावरणका पक्षमा उभिन सक्नुहुन्छ, कि त जग्गी वासुदेवको।
प्रतिक्रिया