ad ad

विचार


इच्छामृत्युः फाइदा बढी कि जोखिम?

इच्छामृत्युः फाइदा बढी कि जोखिम?

दि इकोनोमिस्ट
कात्तिक २९, २०७८ सोमबार २२:२, काठमाडौँ

सन् १९९५ मा अस्ट्रेलियाको नर्दन टेरिटोरीले इच्छामृत्युसम्बन्धी विश्वकै पहिलो कानुन लागू गर्यो। सो कानुनअनुसार होस् ठेगानमा भएका असाध्य रोगी वयस्कले मर्ने मन भए डाक्टरसँग सहयोग माग्न सक्थे। जसले घातक दबाइ दिएर त्यस्ता रोगीलाई मर्न सघाउन सक्थे। 

जब त्यो कानुन लागू भयो, त्यसले ठूलो आक्रोश पैदा गर्यो। केही महिनाभित्रै अस्ट्रेलियाको संघीय सरकारले त्यसलाई उल्ट्यायो। तर, आज आइपुग्दा अस्ट्रेलियाका ६ मध्ये पाँच राज्यमा इच्छामृत्युको कानुन छ।

दि इकोनोमिस्टले पहिलो पटक २०१५ मा इच्छामृत्यु (एसिस्टेड डाइङ) वकालत गरेको थियो। इकोनोमिस्टको तर्क थियो– आफ्नो मृत्युको तरिका र समय आफैँले छान्न पाउने अधिकार व्यक्तिको स्वतन्त्रताभित्र पर्छ। तर, यो अभ्यासलाई दुरुपयोग हुन नदिन होसियारीपूर्वक निगरानी र नियमन गरिनुपर्छ।

त्यसयता इच्छामृत्युको अभ्यास अझ व्यापक भएको छ। इच्छामृत्युको कुनै न कुनै स्वरुप अहिले एक दर्जन मुलुकमा अभ्यासमा छ। यो अन्यत्र पनि विस्तार हुने देखिन्छ। गत महिना जनमतसंग्रहमा ६५ प्रतिशत मतदाताले समर्थन गरेपछि न्युजिल्यान्डले असाध्य रोगीका लागि इच्छामृत्युको कानुन लागू गरेको छ। त्यही साता पोर्चुगलको संसद्ले अझ विस्तृत कानुन पारित गरेको छ। बेलायतको माथिल्लो सदनमा यससम्बन्धी एक विधेयक बहसमा छ।

ऐच्छिक रुपमा मर्ने मानिसहरुको संख्या अहिले कम छ, यद्यपि यो बढिरहेको छ। नेदरल्यान्ड्समा इच्छामृत्यु रोज्नेहरुको संख्या २००३ मा १८ सय थियो। यो संख्या २०२० मा ७ हजार पुगिसकेको छ। अर्थात् सम्पूर्ण मृत्युको चार प्रतिशत। यसप्रति अन्य मुलुक उदार बन्दै जाँदा विश्वभर यो संख्या बढ्नेछ।

थुप्रै मानिसहरु धार्मिक कारणले इच्छामृत्युप्रति आपत्ति जनाउँछन्। किनभने कतिपय धर्मले आत्महत्यालाई पाप मान्छ। थुप्रै व्यक्तिहरु यस्तो कानुनले समस्या निम्त्याउने जोखिम देख्छन्। बिरामीको हेरचाह र उपचारबाट दिक्क भएर परिवारले नै घरका बुढापाकालाई जीवन अन्त्य गर्न दबाब दिनसक्ने वा गरिब मुलुकमा खर्चिलो उपचार आवश्यक पर्ने असाध्य बिरामीहरुलाई राज्यले नै हतारहतार मर्न उत्प्रेरित गर्न सक्ने जोखिम रहेको इच्छामृत्युका आलोचकहरुले औँल्याउँदै आएका छन्। 

यद्यपि, त्यस्ता भयानक दृश्य अहिलेसम्म देखिएको छैन। लामो समयदेखि इच्छामृत्युको अभ्यास भएका ठाउँमा वृद्ध वा अपांगता भएका व्यक्तिहरुमाथि चाँडो मर्न दबाब दिइएका कुनै घटना सार्वजनिक भएका छैनन्। कहीँकतै कसैले नदेखी यस्ता घटना भएका पनि हुन सक्छन्। तर, जहाँ पनि इच्छामृत्युका घटनामा सूक्ष्म छानबिन हुने गरेका छन् र जबर्जस्तीको अलिकति पनि संकेत भेटिए सबैजसो मुलुकमा इच्छामृत्युको अनुमति खारेज हुने गरेका छन्। गरिब र सीमान्तकृतलाई हतारमा मृत्युको मुखमा धकेलिएला कि भन्ने डर पनि आधारहीन पुष्टि भएका छन्। अमेरिका, नेदरल्यान्ड्स र स्विट्जरल्यान्डको तथ्यांक हेर्दा इच्छामृत्यु रोज्ने व्यक्तिहरुमा अधिकांश शिक्षित र मध्यमवर्गीय छन्।

त्यसमाथि यससम्बन्धी नियम फितलो होइन, अति कडा छन्। उदाहरणका लागि अस्ट्रेलियाको भिक्टोरिया राज्यमा डाक्टरहरुले आफ्ना बिरामीसामु इच्छामृत्युबारे चर्चा गर्न समेत पाउँदैनन्। यसको उदेश्य हो, जबर्जस्तीलाई रोक्ने। तर, यसको असर के हुन्छ भने कष्ट सहिरहेका थुप्रैले इच्छामृत्युको विकल्प पनि छ है भन्ने थाहै पाउँदैनन्। कुनैकुनै क्षेत्रमा ६ महिनाभन्दा कम आयु बाँकी रहेकाले मात्रै मृत्युका लागि सहयोग लिन पाउँछन्। फलस्वरुप बिरामी गम्भीर छन्, पीडाले छटपटाइरहेका छन्, तर डाक्टरले अब अन्त्य नजिकै आइपुग्यो नभनुञ्जेल तिनले आफ्नो पीडा अन्त्य गर्न पाउँदैनन्। 

तर, डाक्टरले यसरी आयु अनुमान गरिदिँदा बेला बितिसकेको हुन्छ। भिक्टोरियामा २०२१ को सुरुवाती ६ महिनामा ९० जना बिरामीको इच्छामृत्युको अनुमति नपाउँदै मृत्यु भयो। तर, त्यही अवधिमा आफ्नो निर्णय बदल्ने एक जना पनि थिएनन्।

स्पेन र कोलम्बियाजस्ता केही मुलुकमा इच्छामृत्युको कानुन निकै उदार छ। तर, अभ्यासमा भने स्वास्थ्य अधिकारीहरुले हत्तपत्त त्यो कानुन प्रयोग गर्नै दिँदैनन्। इच्छामृत्युको आवेदन पटकपटक अस्वीकृत भएपछि निराश बनेर स्पेनकी एक ८३ वर्षीया महिला गतसाता झ्यालबाट हाम फालिन्।

इच्छामृत्युको कानुनका लागि क्यानडा मोडल राम्रो हुन सक्छ। किनभने यसले व्यक्तिलाई रोज्ने स्वतन्त्रता दिन्छ। सहन नसक्ने पीडा खपिरहेका जोसुकैले इच्छामृत्यु रोज्न सक्छन्। उनीहरु असाध्य रोगी हुनैपर्छ भन्ने छैन। र, ‘सहनै नसक्ने’ पीडा कस्तो हुन्छ, त्यो बिरामी आफैँले निर्णय गर्छन्। एक मात्र सर्त छ– त्यस्ता बिरामी मानसिक रुपमा चुस्त हुनुपर्छ। इच्छामृत्यु रोज्ने त्यस्ता व्यक्ति, जसको मृत्यु निश्चितजस्तो देखिँदैन, तिनका लागि ९० दिनको अवधि दिइन्छ। त्यो अवधिमा तिनले आफ्नो निर्णय बदल्न पाउँछन्। 

थुप्रै घटनामा त इच्छामृत्युको विकल्प हुँदा मात्रै पनि बिरामीले एक किसिमको आराम र नियन्त्रणको आभाष प्राप्त गर्छन्। अमेरिकाको अरेगन राज्यमा घातक दबाइ प्रयोग गर्न अनुमति पाएका एक तिहाइ व्यक्तिले अन्ततः त्यो दबाइ लिन चाहेनन्।

इच्छामृत्युको सिद्धान्तलाई स्वीकार्ने समाजको संख्या थपिँदै गए पनि अप्ठेरा प्रश्नहरु भने बाँकी नै रहन्छन्। इच्छामृत्यु उपलब्ध हुँदा स्वास्थ्य सेवा प्रदायकहरुले पीडाशमनसम्बन्धी सेवा दिन कन्जुस्याइँ गर्ने हुन् कि भन्ने चिन्ता केही व्यक्तिमा देखिन्छ। तर, त्यस्तो हुन्छ नै भन्ने छैन। क्यानडामा इच्छामृत्युसँगै पीडाशमनसम्बन्धी उपचारमा बजेट बढेको छ।

यदि इच्छामृत्युको अभ्यास व्यापक भयो भने चौबीसै घण्टा हेरचाह आवश्यक पर्ने वृद्धहरुले के चाँडो मृत्यु रोज्नुपर्ने सामाजिक दबाब महसुस गर्लान्? अहिले पनि आफू सन्तानका लागि बोझ बनिसकेको चिन्ता थुप्रै वृद्धमा छ। त्यसमाथि जीवनलाई निरन्तरता दिनु नियति होइन, उसको रोजाइ हो भन्ठान्ने स्थिति आयो भने थुप्रैले थप दुःख महसुस गर्नेछन्। यो चिन्ता जायज छ। तर, मर्ने कि बाँच्ने भन्ने दोधारमा केही व्यक्ति पिल्सिनुपर्ला कि भन्दैमा अरुको मृत्यु रोज्ने अधिकार खोसिनु हुँदैन। किनभने तिनले असह्य पीडा सहनुपर्ने हुन्छ।

सबैभन्दा कठिन प्रश्न त त्यसबेला उब्जिन्छ, जब कसैको सुसूचित रुपमा निर्णय गर्ने क्षमतामाथि नै सन्देह उत्पन्न हुन्छ। मानसिक विकार भएका केही व्यक्तिहरुमा आत्महत्याको सोच आउनेजाने हुन्छ। तिनलाई सजिलै मृत्यु रोज्न दिइनु हुँदैन। कुन क्षणिक मानसिक संकट हो र कुन मृत्युको वास्तविक, दीर्घकालीन, सोचविचारयुक्त चाहना हो भनेर डाक्टरहरु पनि निश्चित हुनै पर्छ। यदि त्यसमा सन्देह छ भने तिनले बिरामीलाई बाँच्न सघाउने उपचार गर्नुपर्छ।

सबैभन्दा ठूलो समस्या डिमेन्सियाले तेर्स्याउँछ। यस्तो बिरामी भएका व्यक्तिले समस्या गम्भीर भएका बेला इच्छामृत्युको चाहना व्यक्त गर्न सक्छन्। तर, उनीहरुको विचार बदलिन सक्छ। त्यस्तो अवस्थामा पहिलेको कागजातको भरमा उनीहरुलाई इच्छाविपरीत मर्न बाध्य पार्नु हुँदैन। आफ्नो चाहना के हो भन्ने थाहा छैन भने उनीहरुलाई बाँच्न दिइनुपर्छ। मृत्युको समयमा जो सुसूचित रुपमा निर्णय लिन सक्छन्, तिनलाई मात्रै इच्छामृत्युको विकल्प दिइनुपर्छ।

यसबारे कुनै पनि नियम सर्वगुणसम्पन्न छैनन्। सबै नियम नयाँ प्रमाण र अभ्यासका आधारमा संशोधन हुँदै जानुपर्छ। तर, आफ्नो जीवन कसरी अन्त्य गर्ने भन्ने निर्णयको अधिकार अन्ततः व्यक्तिलाई नै हुनुपर्छ। इच्छामृत्युको व्यवस्था भएका मुलुकहरुको प्रमाण हेर्दा यसको दुरुपयोग भएको देखिँदैन। तर, यसले वास्तविक फाइदा पुर्याएको छ। इच्छामृत्युले पीडा अन्त्य गर्छ र जीवनको अन्तिम घडीमा मानिसको गरिमा फर्काउँछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .