ad ad

विचार


सोध्नुस्– ती रित्तै आए कि एक मुठी माया लिएर आए?

सोध्नुस्– ती रित्तै आए कि एक मुठी माया लिएर आए?

सन्जय घिमिरे


सन्जय घिमिरे
बैशाख २७, २०७९ मंगलबार ६:४१, टेक्सास (अमेरिका)

नेपालमा चुनावको माहौल छ। सदाझैँ म टाढाबाट नेपाल हेरिरहेको छु। दल र उम्मेदवारहरुका गफ  सुनिरहेको छु। ती गफहरुमा कति ‘दृष्टि’ छ र कति ‘कोण’ छ, म ठयाक्कै भन्न सक्दिनँ। तर यति भन्न सक्छु– मैलै त्यहाँ सिंगो ‘दृष्टिकोण’ चाहिँ देखिरहेको छैन। छ भने पनि कोणबिनाको दृष्टि मात्रै छ। कोणबिनाको दृष्टि आकाशको त्यो बादलजस्तै हो, जो भयंकर देखिन्छ तर केहीबरमै नबर्सी हराएर जान्छ।

नेपाली राजनीतिमा दिइने गफहरु त्यही भयकंर बादलजस्तो मात्र लाग्छ मलार्ई। त्यसैले अहिलेको नेपालको राजनीति र स्थानीय निर्वाचनका लफडाहरुमाथि धेरै निधिखुदी गर्नु छैन। मन नहुँदानहुँदै पनि एउटा प्रश्न भने पटकपटक मनमा उब्जिरहेको छ– एमालेले पच्चीस वर्षपछि पनि अर्को लाईक मान्छे किन भेट्न नसकेको होला काठमाडौँको मेयरका लागि? गफ अगाडिका, मान्छे पछाडिकै? किन यस्तो भइरहेको होला? 

बस् यो प्रश्नको जवाफ नेपाली जनताले यसपटकको निर्वाचनमा खोजून् भन्ने म चाहन्छु। 

यो प्रश्नको जवाफ खोज्न झन्झट लाग्छ भने म अर्को पनि एउटा उपाय सुझाउँछु। तपाईंहरुले अहिले बजारमा आएको ‘घुमी घुमी’ बोलको एउटा गीत सुन्नु भएको छ? सुन्नु भएको छ भने त्यहाँ एउटा पंक्ति छ–

बोकी आउनु, एक मुठी माया, 
रित्तै आउनु साटो।
 

हो, अहिले मत माग्न आउनेहरुलार्ई कमसेकम रित्तै नआउन भन्नुस्। 

अहिलेसम्म अरु केही त लिएर त आएनन्, आएनन्, तिनले एक मुठी माया पनि लिएर आएका छैनन् भने तिनलार्ई रित्तै फर्काइदिनुस्। रित्तै आउनेहरुलार्ई रित्तै फर्काइदिनुस्। 

बस् यति भए धेरै समस्याको समाधान हुन्छ। 

हार्वर्डबाट दर्शनशास्त्र र साहित्यमा विद्यावारिधि गरेका प्राध्यापक ब्रेट बोरर्बनसँग केही साताअघि म गफिइरहेको थिएँ। उनी भनिरहेका थिए– ‘कहिलेकाहीँ मूर्खहरु पनि ‘बोर’ अनुभव गर्छन्।’

हो, मूर्ख राजनीतिक दलका प्रतिनिधिहरुलार्ई ‘बोरिङ’ अनुभव हुन दिनुस्। 

यो लेनदेनको समय हो। लेनदेन दोहोरो हुन्छ। नेपाली मतदातालार्ई चुनावको मुखमा मेरो टाढाबाट आग्रह छ– तपाईंहरु एकोहोरो नहुनुहोस्। 

एउटा प्रश्न सोधेँ है त। 

तपाईंको दृष्टिमा पार्टी सही छ, उम्मेदवार गलत छ। तपाईं उसलार्ई मत दिनुहुन्छ?

मलाई थाहा छैन तपाईंहरुको मनमा के जवाफ छ। वा तपाईंहरु दोधारमा पर्नुभयो? 

म पनि यो दोधारमा अक्सर पर्ने गरेको छु। तर स्थानीय निर्वाचनको हकमा म प्रष्टसँग भन्न सक्छु– उम्मेदवार गलत छ वा तपाईंलाई गलत लाग्छ भने उसलाई सोझै अस्वीकार गर्नुहोस्। दल जहाँसुकै जाओस्। नेपालीजनको एकोहोरोपनले धेरै थोक गुमाएको छ। अब कति तपाईंहरु आफनो भविष्य गुमाउँदै जानुहुन्छ? 

वर्तमान गुमेकोमा म त्यति चिन्तित हुँदिनँ। तर जब मलाई भविष्य पनि गुम्दैछ भन्ने लाग्छ, म रातभर सुत्न सक्दिनँ। तपाईंहरुलाई यस्तो हुन्छ कि हुँदैन, मलाई थाहा छैन। म चाहन्छु– तपाईंहरु गुम्दै गएको वर्तमानभन्दा भविष्यलाई गुम्न नदिन सचेत हुनुहोस्। यो मैले यसै भनेको होइन। यसका पछाडि केही कारण र तर्कहरु छन। 

अमेरिकाको म बसेको सहर युलेसमा शनिबार साँझ स्थानीय केही पदको निर्वाचन सकियो। अमेरिकाको स्थानीय निर्वाचनमा दलहरु भिड्दैनन्, व्यक्तिहरुबीच प्रतिस्पर्धा हुन्छ। हल्लाखल्ला नेपालमा जस्तो  हुँदैन। झण्डा र जुलुस, अनावश्यक होहल्ला, अहँ कतै देखिँदैन। 

यस्तो लाग्छ– निर्वाचन रुचि हुनेहरुको मात्र विषय हो, जो चुपचाप बुथमा छिर्छन् र चुपचाप आफनो मनपर्दो मान्छे छानेर बाहिर निस्कन्छन। एउटा सिनेमा हेरेजस्तो। एउटा किताब पढेजस्तो। एउटा पेन्टिङ गरेजस्तो। कुनै तनावबिनाको निर्वाचन। निर्वाचन होस् त यस्तो।

टाढाबाट मैले देखिरहेको नेपालको स्थानीय तहको निर्वाचन मलाई अनावश्यक तनावको निर्वाचन जस्तो लागिरहेको छ। स्थानीय मुद्दा र विषयहरुमा दलका हदभन्दा माथिका तनावमा मतदाताहरु पिल्सिरहेका छन्। 

यो कस्तो राजनीति हो, मलाई थाहा छैन। वा राजनीति नै यस्तै हो? यो पनि कसरी भनुँ? यही द्विविधाका कारण आजकल मलाई राजनीतिमाथि उतिसारो लेख्न मन लाग्दैन। 

राजनीति मात्र होइन, अरु विषयमा पनि आजकल लेख्नबोल्न मन लाग्दैन। म यस्तो भएको हुँ वा दुनियाँ यस्तो भएको हो, ठयाक्कै मलाई थाहा छैन। टाढाबाट होस् वा नजिकबाट, चित्रहरु जब जताततैबाट उस्तै र कुरुप देखिन्छन्, त्यहाँ कला खोज्ने बेकारको कसरत कति गरिरहनु भन्ने लागेर पनि हुन सक्छ। चिज जहाँको भन्नुस्, नेपालको भन्नुस् वा अमेरिकातिरको। श्रीलंकातिरको भन्नुस् वा युक्रेनतिरको। 

जीवन आजकल निकै सस्तो बन्दै गइरहेको छ जताततै। खासमा जीवन महंगो हुनुपर्ने र अरु बाँकी सबै चीज जीवनका अगाडि सस्तो हुनुपर्ने हो। यहाँ त ठिक उल्टो भएको छ– जीवन मात्र सस्तो हुँदै गएको छ र बाँकी सबै चीज महंगा हुँदै गएका छन्। 

निर्वाचनका बेला मेरो नेपाली मतदाताहरुलाई आग्रह छ– तपाईंहरु यस्तो व्यक्ति छान्नुस्, जसले तपाईंको जीवनलाई महंगो र अरु चीजलाई सस्तो बनाओस्। बाँकी सब सिद्धान्तका बहस र लफडा वाहियात हुन्। यो युग सिद्धान्तहरु समाप्त हुँदै गएको युग हो। मिनेटमा बाँच्ने यो युगमा लम्बेतान सिद्धान्तको के भरोसा? 

नेपालका मतदाताहरुलाई टाढाबाट आग्रह छ– तपाईंहरु लम्बेतान सिद्धान्तका चक्करमा नपर्नुस्। जीवन छोटाछोटा घटनाहरुमा बाँच्छ।  

जसले आजको कुरा गर्छ, उसैलाई मत दिनुस्। यदि कसैले भोलिका गफ दिएको छ भने त्यो ‘ओली गफ’ नहोस् भन्नेमा तपाईंहरु सचेत हुनुहोस्। 

जो हिजो थियो  र आज पनि रित्तै आइरहेको छ, उसलाई यत्ति त भन्नुहोस– 

‘बोकी आउनु एक मुठी माया, 
रित्तै आउनु साटो।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .