चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख लिउ चियानछाओ नेपालको चार दिने भ्रमण पुरा गरी बुधबार बेइजिङ फर्केका छन्। लिउले नेपालमा रहँदा भ्रमणको पहिलो दिन आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्का तथा भ्रमणको अन्तिम दिन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरे।
यसबाहेक उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सोमबार र एमालेका अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग मंगलबार भेटवार्ता गरे। सोमबार बिहान उनले सुन्दरीजलस्थित बीपी कोइराला संग्रहालय भ्रमण गरे।
लिउसँग नेपाली नेताहरुले पनि चीनप्रति नेपालको चासो, परिस्थिति र चीन नीतिबारेमा स्पष्ट रुपमा आफ्नो कुरा राखेका छन्। तर, यो आलेखमा लिउले नेपाल र नेपाली नेताहरुलाई के सन्देश दिन खोजे, र उनको भ्रमणको प्रमुख उदेश्य के थियो भन्नेबारे चर्चा गरिनेछ।
अमेरिकी हस्तक्षेप मान्य हुँदैन
लिउले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप नगर्ने तर अरु कसैले हस्तक्षेप गरेमा मान्य नहुने भन्दै कूटनीतिक भाषामा अमेरिकी गतिविधि मान्य नहुने जनाउ दिएका छन्। लिउले नेपाली नेताहरुलाई स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी) फिर्ता गर्ने निर्णय गरेकोमा नेपाली नेताहरुको प्रशंसा गर्दै बधाई तथा धन्यवाद नै दिएका थिए।
नेपाली नेताहरुसँग अमेरिकी परियोजनाहरु एमसीसी, एसपीपी र तिब्बतीलाई शरणार्थी परिचय पत्र (आरसी) वितरण गर्ने कार्यक्रमप्रति चिनियाँ असन्तुष्टि प्रष्ट रुपमा देखिएको वामपन्थी नेताहरुको बुझाइ छ।
चीनविरोधी गतिविधि सह्य हुँदैन
अर्कोतिर पछिल्ला केही वर्षयता तिब्बती शरणार्थीहरुले चीनविरोधी प्रदर्शन गर्न छाडेको भए पनि मधेशमा र यदाकदा काठमाडौँमा समेत केही समूहले चीनविरोधी प्रदर्शन जारी राखेका छन्। यद्यपि लिउको भ्रमणमा भने कुनै विरोध प्रदर्शन भएन। यस्ता गतिविधिमाथि रोक लगाउनुपर्ने सन्देश लिउले नेपाली नेताहरुलाई दिएका छन्।
बीआरआई कार्यान्वयनमा जोड
लिउले नेपाल र चीनबीच भएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)को समझदारी अनुसार तथा अन्य चिनियाँ परियोजनाहरु कार्यान्वयन गर्न चीन आतुर रहेको र थप ढिलाइ गर्न नहुनेमा जोड दिए। उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएका सहमति र सम्झौताहरु लागू गर्न चीन तयार रहेको जनाउँदै चीन नेपालमा विकास परियोजनाहरुमा थप सहयोग र लगानी गर्न तयार रहेको खुलाए। यससम्बन्धमा उनले नेपाली नेताहरुको प्रतिक्रिया समेत लिएका थिए।
कम्युनिस्ट एकता र सहकार्यमा जोड
लिउले भेटघाटमा कम्युनिस्ट नेताहरुसँग नै बढी समय बिताए। उनले ओली र प्रचण्डसँग करिब पाँचपाँच घण्टा समय बिताए, जुनबेला लन्च र डिनर पनि खान भ्याए। तर, प्रधानमन्त्री देउवासँग एक घण्टा र परराष्ट्रमन्त्री नारायण खड्कासँग जम्मा ४५ मिनेट मात्र समय खर्चिए। यो समय तालिकाले लिउको प्राथमिकता कम्युनिस्ट एकतामा छ भन्ने देखाउँछ।
लिउले नेपाली कम्युनिस्ट नेताहरुलाई सकेसम्म एकता गर्न र तत्काल सम्भव नभए चुनावी सहकार्य मात्र भए पनि गर्न जोड दिएको भेटवार्तामा सहभागी नेताहरुको भनाइ छ। कम्युनिस्ट नेताहरुसँगको सामूहिक भेटवार्तामा लिउले ‘विचार मिल्ने पार्टीहरु मिल्नुहोस्, त्यसले राजनीतिक स्थिरता र विकास गर्न सजिलो हुन्छ’ भन्दै एकतामा नै बल दिन सन्देश प्रवाह गरेका छन्।
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डसँग छुट्टाछुट्टै एकल वार्ता गरेर कम्युनिस्ट एकतामा जोड दिएको ठानिएको छ। बाह्य हस्तक्षेप र चुनौती आएको अवस्थामा सीपीसीले कोमिन्ताङसँग समेत सहकार्य गरेर जापानी फौजलाई परास्त गरेको चिनियाँ इतिहास उल्लेख गर्दै लिउले नेपाली नेताहरुलाई एक भएर राष्ट्रिय समस्या समाधान गर्न सुझाव दिएका थिए।
कांग्रेससँग सम्बन्ध सुधार्न चाहन्छ बेइजिङ
पुँजीवादी र लोकतान्त्रिक कित्ताको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस नेपालको राजनीतिमा सदावहार शक्तिका रुपमा स्थापित छ। आगामी निर्वाचनमा गठबन्धन कायम रहने हो भने पहिलो शक्ति हुने आकलन गरेर नै चीनले कांग्रेससँग पनि सम्बन्धमा जोड दिएको छ। प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खडकासँग लिउले चीनले यो वा त्यो पार्टीभन्दा पनि नेपालका मुख्य सबै राजनीतिक दलहरुसँग उत्तिकै सम्बन्ध राख्न चाहेको बताए। उनले कांग्रेससँग सम्बन्धको कुरा गर्ने क्रममा बीपीको प्रसंग निकाल्दै चीनले त्यही उचाइको सम्बन्ध बनाउन चाहेको सुनाए।
सोमबार बिहान सुन्दरीजलस्थित बीपी कोइराला संग्रहालय भ्रमण गरेर उनले चीन र नेपाली कांग्रेसबीच सम्बन्ध थप विस्तार र निकट बनाउन चाहेको संकेत गरेका छन्।
विश्व व्यवस्थामा चीनको नेतृत्व स्थापित गर्न सहयोगको अपेक्षा
कोभिड–१९ को महामारीमा अमेरिकासहित विश्वका अधिकांश ठूला अर्थतन्त्रहरु धराशायी हुँदै गर्दा पनि चिनियाँ अर्थतन्त्र अरुको तुलनामा बलियो देखियो। अहिले रुस–युक्रेन युद्धका कारण विश्वमा महंगी र आर्थिक संकट गहिरो हुँदै गइरहेको छ। जीडीपीको आधारमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका गत मे महिनामा मात्र ८५.५ अर्ब डलर व्यापार घाटामा गएको तथ्य सार्वजनिक भएको छ। केही दशकदेखि व्यापार नाफामा सन्तुलन रहेको जापान समेत अहिले व्यापार घाटामा जान थालेको अवस्था छ। दक्षिण कोरिया, जर्मनी र भियतनाम समेत व्यापार घाटामा छन्। तर, गत मे महिनामा मात्र चीनले व्यापारबाट ७८.७ अर्ब डलर नाफा गर्यो।
यस्तो परिप्रेक्ष्यमा लिउले भ्रमणका क्रममा विश्व व्यवस्थामा चीनको नेतृत्व स्थापित हुने संकेत मात्र गरेनन्, विश्व एक शताब्दीमा नदेखिने गहिरो परिवर्तनबाट गुज्रिरहेको उल्लेख गरे। उनले विश्व व्यवस्था उथलपुथलको चरणमा प्रवेश गरेकोले सुझबुझका साथ उदाउँदो छिमेकीलाई प्राथमिकतामा राख्न भन्दै नेपाली नेताहरुलाई घुमाउरो भाषामा चीनलाई सहयोग गर्न सुझाव पनि दिए।
Shares

प्रतिक्रिया