भनिन्छ, सपना देख्नेले नै त्यसलाई साकार पार्छ। ठुल्ठूला काम गरेर सबैलाई चकित पार्छ। चरा जस्तै उड्ने सपना देख्नेले हवाईजहाज बनाए। माछा जस्तै समुद्रको यात्रा गर्ने सपनाले पानीजहाज बन्यो। आफ्नो जीवन, समाज, शहरको रुपान्तरण गर्ने सपनाले ठुल्ठूला शहर, संरचना र आधुनिक संसार बन्यो। यतिमै सीमित नभई मानिसहरू अहिले चन्द्रमा र मंगल ग्रहमा बस्ती बसाल्ने सपना देखिरहेका छन्। यसमा हर्क साम्पाङ जस्ता साधारण मान्छेले धरान शहर र नेपाल बनाउने सपना देख्नु अनौठो होइन।
उनै हर्कले आफ्नो सपना साकार पार्न हर्क एक दशकअघि वैदेशिक रोजगारी छाडेर नेपाल फर्किएर धरानमा विकासका अभियान चलाउन थाले। दलगत राजनीतिले तहसनहस पारेको हाम्रो समाजमा एउटा साधारण भुइँमान्छेले विकास र परिवर्तनको प्रयास गर्नु बलियो पर्खाललाई टाउकोले फोड्नु जस्तै हो। जुझारु स्वाभावका हर्क दिनहुँ धराने जनताको स-साना घरेलु समस्यादेखि नीति निर्माण तहकै मुद्दाहरूमा आवाज उठाइरहन्थे। धारापानी, बिजुली बत्ती, बाटोघाटो, शिक्षा स्वास्थ्य सबै क्षेत्रमा उनी निरन्तर जनताको आवाज बनिरहे। त्यसैले उनी धरान र धरानबासीका हरेक समस्याबारे जानकार छन्।
अभियन्ताका रूपमा कराएर मात्रै समस्याको समाधान हुँदैन भनेर उनी २०७६ सालको उपनिर्वाचनमा मेयर पदमा उठे। तर त्यसबेला कांग्रेसका तिलक राई विजयी हुँदा उनले केवल ४२२ मत ल्याए। तर हरेस खाएनन्। बरु अभियानलाई निरन्तरता दिएर धरानको लागि जनसरकार नै भए। जनता समस्या लिएर सम्बन्धित निकायमा नगई हर्ककहाँ धाउन थाले। फलस्वरूप २०७९ को स्थानीय निर्वाचनमा ठूला दलका उम्मेदवारलाई पछार्दै अप्रत्यासित रूपमा स्वतन्त्र हर्क मेयरमा विजयी भए।
जीतलगत्तै वाचाअनुसारको पहिलो मुद्दा धरानको खानेपानी संकट टार्न उनी आफैँ खोला खोल्सा धाउन थाले। गिट्टी ढुंगा फुटाउन थाले। पाइप बोक्न थाले, वृक्षारोपण गर्न थाले। हर्कको कामले विकासको लागि वर्षौँदेखि तड्पिरहेका धराने जनताको विकासको भावनामा आगो झोस्ने काम गर्यो। खोलामा जनताले हर्क सँगसँगै ढुंगा बोके, गिट्टी कुटे, बेल्चा हाने, अहिले पनि हानिरहेका छन्। बालुवा बोक्न थाले। फलस्वरूप एक महिनामै धराने जनताले आफ्नै श्रमदानबाट पानी ट्यांकी बनाए, पाइप बिछ्याए र उपभोक्ताको घरमा खानेपानी पुर्याए।
जनसहभागितामा विकास गर्ने हर्कको मोडल यति प्रभावकारी भयो कि देश विदेशका लाखौँ नेपालीका लागि उनी प्रेरणाको श्रोत बने। देशका विभिन्न ठाउँबाट श्रमदान गर्न धरानमा मानिसहरू आउन थाले। नाम चलेका कलाकार, खेलाडी, समाजसेवी र सांसद पनि श्रमदान गर्न धरान आए। यो जनलहर यसरी बढ्यो कि गत शनिबार ७ हजार हाराहारीमा मानिसहरू श्रमदान गर्न खोला पुगे। अहिलेसम्म ६० हजारभन्दा बढी वृक्षारोपण भइसक्यो। र, यो क्रम जारी छ।
विकासको आगो दन्किरहेको धरानमा हर्कले केही महत्वाकांक्षी योजना अघि सारेका छन्। खानेपानीको दीर्घकालीन आपूर्तिका लागि सप्तकोसीबाट ल्याउने उनको पहिलो योजना थियो। लगभग १५/१६ किलोमिटर पश्चिममा पर्ने कोसीको पानी धरान ल्याउन सके साँच्चै धरानमा यो समस्या सदालाई सकिन्छ।
तर यस योजनामा धेरै प्राविधिक जटिलता छन्। नदीको पानी कुन प्रविधि प्रयोग गरेर धरानसम्म ल्याउने भन्ने प्राविधिक अध्ययन भइसकेको छैन? सतही रूपमा धरान कोसी नदीभन्दा उचाइमा छ। धरान र कोसबीच धेरै खोला, खोल्सा, डाँडा र जंगल पर्छन्। बस्तीहरु पनि छन्। त्यसैले बृहत् सम्भाव्यता अध्ययन हुन जरुरी छ। मेयरले यी कुरामा विचार नपुर्याई कोसीबाट पानी ल्याउन आर्थिक संकलनको आह्वान गरेपछि आलोचना भएको थियो। यद्यपि यस योजनामा आर्थिक सहयोग गर्न धेरै सहयोगीहरु तयार भइसकेका छन्।
कोसीको पानी तत्कालै नआउने भएपछि हर्कले धरानमै बग्ने खोलाहरूतिर आफ्नो सम्पूर्ण ध्यान लगाए। पानीका मुहानहरूमा पानी ट्यांकी बनाउन थाले। यो काम अहिले पनि जारी छ। बर्खामा प्रशस्त पानी बग्ने यी खोलाहरूमा हिउँदमा मुहान सुक्छन्।
त्यसैले पानीका अन्य श्रोत पहिचान गर्न सुझाव आउन थालेका छन्। मुहानमा पानीको श्रोत बढाउन हर्कले व्यापक वृक्षारोपण गरिरहेका छन्। हिउँदमा धरानेलाई २ महिना पुग्ने गरि ठुल्ठूला स्थायी रिजर्भ पानी ट्यांकी जनश्रमदानबाटै निर्माण गर्दै छन्। बर्खाको पानी जमाउन विशाल जलकुण्ड बनाउने योजना कार्यपालिका बैठकमा प्रस्तुत गरिसकेका छन्। खानेपानीका यी योजनामा हजारौँ जनताले जनश्रमदान गरिरहेको दृश्य लोभलाग्दो र भावुक देखिन्छ।
साबुन फ्याक्ट्री मेयर कोषबाट खोल्ने मेयर साम्पाङको योजना उत्पादन र रोजगारीमुखी हुनेमा विश्वास गरिएको छ। पूर्णरूपमा सरकारी स्वामित्व भएको देशका कयौँ उद्योग बेथिति, राजनैतिक हस्तक्षेप र भ्रष्टाचारले बन्द भएको यथार्थ साम्पाङका लागि चुनौतीपूर्ण अवश्य छ।
विदेशमा हुँदा देखेको आकाशे हाइवे (फ्लाई ओभर) धरानको बीच बजारमा बनाउने योजना पनि त्यति व्यवहारिक देखिँदैन। बजारको बीचबाट जाने फ्लाई ओभरलाई प्रशस्त ठाउँ चाहिन्छ। जसका लागि बजारका सबै घर भत्काउनु पर्ने हुन्छ। त्यसैले यस्तो खर्चिलो सपनाको हाइवे बजारबीचमा बनाउन अहिलेको अवस्थामा असम्भव देखिन्छ। अहिले भएकै सडकलाई स्तरोन्नति गरि ट्राफिक व्यवस्थापन गर्दा उपयुक्त हुन्छ।
उनको अर्को महत्वाकांक्षी योजना धरानमा बर्खामा पानी जमाएर र हिउँदमा हावाबाट बिजुली निकाली धरानलाई आत्मनिर्भर बनाउने रहेको छ। स-साना बर्खे खोलाबाट पानी जमाएर धरानलाई पुग्ने बिजुली निकाल्ने योजना प्राविधिक रूपमा त्यति सान्दर्भिक देखिँदैन। पानीको मात्रा र टर्बाइन घुमाउन पानीको अत्यधिक प्रेसर उत्पादन गर्न यी अस्थायी खोलाहरूको भौगोलिक बनावटले मद्दत गर्दैनन्। अहिले बन्दै गरेको सानो प्रोटोटाइप आकारको जलविद्युतको परीक्षणपछि मात्रै वृहत अवधारणा विज्ञहरूबाट ल्याउँदा उपयुक्त होला।
महाभारत पहाडको दक्षिणमा अवस्थित धरानका डाँडाहरूमा हिउँदमा हावा भने प्रशस्तै चल्छ। घाम पनि बाह्रै महिना लाग्छ। बरु मेयर साम्पाङको हावा र सौर्य शक्तिलाई प्रयोग गर्ने कुरा बढी सान्दर्भिक देखिन्छ। तर बर्खामा जलविद्युत् र हिउँदमा हावाबाट बिजुली उत्पादन गर्न सफल भइयो भने साँच्चै नै धरान बिजुलीमा आत्मनिर्भर हुन्छ।
पहाड र तराईको संगमस्थल धरान कृषि उपजको केन्द्र बन्न सक्छ। नेपालको एक मात्रै सुविधासम्पन्न खाद्य प्रविधि क्याम्पस धरानमा छ। खाद्य प्रविधि क्याम्पससँग सहकार्य गरि धरानमा खाद्य प्रशोधन केन्द्रहरू निर्माण गरि खानेकुरामा पनि आत्मनिर्भर बनाउन सकिन्छ।
घोपा क्याम्प (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा व्यापक सुधार गर्दै छाता चोकस्थित पुरानो धरान अस्पताललाई पुनर्जीवन दिएर सञ्चालनमा ल्याए धरान स्वास्थ्य क्षेत्रमा पनि आत्मनिर्भर हुनसक्छ। सर्दु र सेउती खोलाको बगरमा करिडोर बनाएर धरान विश्वविद्यालय निर्माण गर्ने धरानका प्राज्ञहरूको दश वर्षअघिको योजनालाई ब्युत्याउँदै सहकार्य गरे शिक्षामा पनि आत्मनिर्भर हुने थियो।
हिजोका दिनमा जनताका कुरा नसुन्ने जनप्रतिनिधिबाट मरेको विकासको आशा स्वतन्त्र मेयर हर्क साम्पाङले ब्यूँताइदिएका छन्। हर्कको विकास प्रेमलाई संसारभरीका नेपालीहरूले बुझेका र देखेका छन्। विकासका लागि छटपटिरहेको विकास प्रेमी जोसुकै र जहाँ सुकेका नेपाली धरानमा हातेमालो गर्न तयार छन्। सबै मिलेर धरानको विकासलाई नेपालको कुना कुनामा पुर्याउन जरुरी छ। धरानको हर्क साम्पाङले देखाएको विकासको सपना गाउँगाउँका हर्क साम्पाङहरूलाई सुम्पिदिऊँ। हामी सबैको सहयोगी हात सधैँ अघि बढ्ने छन्।
Shares
प्रतिक्रिया