ad ad

विचार


चीनबाट तारन्तार भ्रमण : बेइजिङले किन दिँदैछ काठमाडौँलाई ज्यादा महत्व?

चीनबाट तारन्तार भ्रमण : बेइजिङले किन दिँदैछ काठमाडौँलाई ज्यादा महत्व?

चन्द्रलाल गिरी
भदौ २७, २०७९ सोमबार १३:११, काठमाडौँ

चीनको तेस्रो वरीयतामा रहेका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुले सोमबारबाट तीन दिने नेपाल भ्रमण सुरु गरेका छन्। तीन वर्षअघि राष्ट्रपति सी चिनफिङको भ्रमणयता चीनका तर्फबाट नेपालमा भएको यो नै सबैभन्दा उच्चस्तरीय भ्रमण हो। चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो वरियताका नेता ली राष्ट्रपति सी चिनफिङका एकदमै निकट मानिन्छन्।

अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएसँगै चिनियाँ उच्चस्तरीय अधिकारीहरुले नेपालमा एकपछि अर्को गर्दै अनपेक्षित भ्रमण थालेका छन्। गत चैतमा चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आएका थिए। त्यसको तीन महिना नपुग्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ चियनछाओले जिम्मेवारी सम्हालेपछिको पहिलो विदेश भ्रमणका लागि नेपाललाई रोजेका थिए। ली पनि करिब १ सय सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रुस र मंगोलिया हुँदै नेपाल आएका हुन्। 

नेपालको इतिहासमा यति छोटो समयमा यति धेरै चिनियाँ उच्च अधिकारीहरुको भ्रमण विरलै हुने गरेको छ। नेपाल सन् २०१७ मा बीआरआईमा सहभागी भएपछि चीनले काठमाडौँलाई पहिलाको तुलनामा थप महत्व दिन थालेको थियो। तर, अहिले चिनियाँ चासो बेल्ट एन्ड रोड इनिसियटिभ​ (बीआरआई) मा भन्दा पनि अमेरिकासँगको प्रतिस्पर्धामा ज्यादा केन्द्रित हुन थालेको आभास हुन्छ।

नेपाल संघीय निर्वाचनको मुखमा रहेको अवस्थामा अनि पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटको कुरा नमिलिरहेको सन्दर्भमा भइरहेको चिनियाँ उच्चस्तरीय भ्रमणलाई कसरी लिन सकिएला? चीनमा पनि चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय अधिवेशनबाट राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालका लागि दोहोरिन लागेको अवस्थामा चिनियाँ नेतृत्वले नेपाललाई के सन्देश दिन खोजेको हो? लीका अधिकांश भेटवार्ता नेपालको संसद् भवनमा राखिएका छन्। के चीनले नेपालको संसदलाई ज्यादा महत्व दिन थालेको हो? यस्ता प्रश्नहरु लीको भ्रमणसँगै उब्जिएका छन्। 

एकपछि अर्को भ्रमणको कारण
अमेरिका‐चीन प्रतिस्पर्धा : झट्ट हेर्दा चिनियाँ अधिकारीहरुको नेपाल भ्रमण बाक्लो देखिए पनि चीनको तुलनामा अमेरिकी अधिकारीहरु बढी नेपाल आएका छन्। गत चैतदेखि मात्र नियाल्दा पनि तीन चिनियाँ टोलीकोे काठमाडौँ भ्रमण हुँदा चार अमेरिकी प्रतिनिधिमण्डल नेपाल आइसकेका छन्। यद्यपि, चिनियाँ भ्रमण टोलीको नेतृत्व उच्च अधिकारीहरुले गरेका छन्। अझ एक वर्षदेखिको अमेरिकी भ्रमणहरुलाई हेर्ने हो भने कम्तीमा सात वटा टोलीले नेपालको भ्रमण गरेको देखिन्छ। यसको तुलनामा चिनियाँ भ्रमणहरु सीमित तर उच्चस्तरीय छन्। यस सन्दर्भमा चिनियाँ सभामुखको नेपाल भ्रमणलाई हाम्रो स्थानीय र क्षेत्रीय आँखाभन्दा अलि माथि अर्थात् विश्वमा चीन र अमेरिकाबीच भएका प्रतिस्पर्धाको नजरबाट हेर्दा बढी वस्तुवादी हुन्छ। 

नेपालमा चिनियाँ परियोजना बीआरआई र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सुरु भएयता चीन र अमेरिकाबीच कडा प्रतिस्पर्धा भएको पाइन्छ। गत फेब्रुअरीमा नेपालको संसदबाट एमसीसी पास हुनअघि अमेरिका र चीनको जुहारी नै चलेको थियो। अमेरिकाले चीनको कारण नेपालमा एमसीसी पास हुन कठिनाइ भइरहेको अभिव्यक्ति दिएसँगै चीनले १० दिनको अन्तरालमा एमसीसीमाथि प्रश्न उठाउँदै चार पटक प्रतिक्रिया दिएको थियो। 

संसद् र कांग्रेससँग सम्बन्ध विस्तार : चीनले नेपालमा राजतन्त्र हुँदा राजासँग मात्र सम्बन्ध बिस्तारमा जोड दिएको थियो। ०४६ सालमा नेपालमा प्रजातन्त्र आएयता ३१ वर्षीय संसदीय इतिहासमा चीनले नेपालको संसदलाई प्राथमिकतामा राखेको थिएन। २०५३ सालमा महाकाली सन्धि हुँदादेखि नै नेपालको संसदले निर्णायक भूमिका खेलेको देखिएको थियो। ०६२‐०६३ सालको दोस्रो जनआन्दोलपछि राजतन्त्रको अन्त्यसँगै चीनले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध बिस्तार गर्न थाल्यो। संसदबाट गत फेब्रुअरीमा एमसीसी पास भएसँगै र अहिले नागरिकता विधेयक पनि संसदबाट पास भएपछि भने चीनले नेपालको संसदको सर्वोच्चताको महत्व बुझेको देखिन्छ। यी परिघटनाहरुलाई नियाल्दा ली नेतृत्वको प्रतिनिधिमण्डल विशेषगरी संसदलाई प्राथमिकतामा राखेर नेपाल भ्रमणमा आएको हुनुपर्दछ। औपचारिक रुपमा सभामुख अग्निप्रसाद सापकोटाको निम्तोमा चिनियाँ प्रतिनिधिमण्डल भ्रमणमा आए पनि यसमा चीनको पनि आफ्नै विशेष रुचि छ। खासगरी चीनले नेपालको संसदलाई प्राथिमकतामा राखेको सन्देश दिन अधिकांश भेटवार्ताहरु संसद भवनमा नै राखिएका छन्। 

गत असारमा नेपाल भ्रमणमा आएका सीपीसीका विदेश विभाग प्रमुख लिउले भने नेपाली कांग्रेससँग सम्बन्ध सुधार गर्न भूमिका खेलेका थिए। उनले बीपी संग्रहालय सुन्दरीजल पुगेर त्यस्तो सन्देश दिएका थिए। 

सुरक्षा चिन्ता : चीनमा आगामी अक्टोबरमा सीपीसीको विशेष अधिवेशन हुँदैछ। यो अधिवेशन यसअर्थमा पनि महत्वपूर्ण छ कि त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीका अधिकांश नेताहरु नयाँ अनुहारका हुने छन्। सायद नेपाल भ्रमणमा रहेका लीले समेत अवकाश पाउने छन्। अर्कोतिर, चीनले संविधान संशोधन नै गरेर ६७ वर्षीय उमेर हद र दुई कार्यकालसम्म राष्ट्रपति हुन पाउने व्यवस्थालाई परिवर्तन गरिसकेको छ। सी चिनफिङ तेस्रो कार्यकालको लागि राष्ट्रपति बन्ने तयारी हुँदैछ। यो समयमा लीले सीपीसीको अधिवेशन बारेमा नेपाली नेताहरुलाई जानकारी गराउँदै नेपाली भूमिबाट कुनै विरोध प्रदर्शन नहोस् भन्ने सन्देश प्रवाह गर्ने आकलन गरिएको छ।

बीआरआई परियोजना कार्यान्वयन : नेपाल र चीनबीच बीआरआई परियोजना अन्तर्गत भएका विकाससम्बन्धी समझदारी र सम्झौताहरु अहिलेसम्म कार्यान्वयन नभएको सन्दर्भमा अब भने चीनले त्यसलाई अगाडि बढाउन चाहेको विश्लेषण हुन थालेको छ। कोभिड‐१९ पछि चीनले नेपालमा कुनै पनि परियोजनामा काम थालेको छैन। सीपीसीका विदेश विभाग प्रमुख लिउले गत असारमा बीआरआई परियोजना अगाडि बढाउन केरुङ‐काठमाडौं रेलमार्गको डीपीआर चीनले अनुदानमा गरिदिने जनाएका थिए। आगामी मंसिरबाट सो डीपीआर सुरु गर्ने चिनियाँ तयारी छ। ली नेतृत्वमा रहेको चिनियाँ प्रतिनिधिमण्डलमा मन्त्रीस्तरीय तीन नेताहरु र अरु सरकारी उच्च अधिकारीहरु पनि संलग्न छन्। चीनले बीआरआई परियोजनामा ठोस प्रस्ताव गर्न नै यति ठूलो प्रतिनिधिमण्डल नेपालमा आएको हुनसक्छ। अर्कोतिर, चीनले सीपीसीको विशेष अधिवेशनपछि बीआरआई परियोजनालाई परिमार्जनसहित नयाँ ढंगले दोस्रो चरणमा अघि बढाउने तयारी गरेको छ। त्यही ढाँचामा नेपालमा पनि चीनले बीआरआई परियोजना लागू गर्न चाहेको सन्देश नेपाली नेताहरुलाई दिने विश्लेषण गर्न सकिन्छ।   

नेपालको राजनीतिक अवस्थाको अवलोकन : नेपालमा नजिकिँदो संघीय निर्वाचन र त्यसको परिणाम पनि चिनियाँ चासोभित्र पर्ने विषय हो। वर्तमान सरकारको पाँच दलीय गठबन्धन कायम रहेमा आगामी सरकार कसको नेतृत्वमा बन्छ र त्यसले चिनियाँ चासोलाई कस्तो असर पार्ला? वा गठबन्धन टुटेमा वामपन्थी सहकार्य वा एकता सम्भव छ कि छैन? यी विषयमा चिनियाँ प्रतिनिधिमण्डलको चासो हुने नै भयो। विगतमा नेपालका कम्युनिस्ट पार्टीहरुको एकतामा चीनले भूमिका खेलेको बुझाइ नेपाली कांग्रेस र मधेशवादी दलहरुमा छ। सोही सन्दर्भमा यो चिनियाँ भ्रमणलाई कम्युनिस्ट एकता गर्ने चिनियाँ प्रयासका रुपमा हेर्नेहरुको संख्या पनि नेपालमा कम छैन। 

आखिरमा चिनियाँ नेता लीको भ्रमणलाई लिएर जे जस्तो चर्चा‐परिचर्चाहरु भए पनि निष्कर्षमा के भन्न सकिन्छ भने नेपालमा चिनियाँ सरोकारका विषयहरु झन् बढेर गएको देखिन्छ। चीनको चासोका सूचीहरु वृद्धि हुँदै गर्दा नेपालले कसरी त्यसलाई व्यवस्थापन गर्न सक्ला? यसको जवाफ तत्काल काठमाडौँमा भेटिने सम्भावना छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .