‘अन्तर्राष्ट्रिय परिस्थति एउटा नयाँ मोडमा आइपुगेको छ। आज विश्वमा दुई किसिमको हावा चलिरहेको छ– पूर्वी हावा र पश्चिमी हावा। मलाई लाग्छ, पश्चिमी हावामाथि पूर्वी हावा विजयी हुँदैछ।’
यो टिप्पणी चिनियाँ राष्ट्रपति सी चिनफिङले मस्को भ्रमणमा दिने तयारी गरेको भाषणको अंशजस्तो लाग्छ। वास्तवमा यो अर्का चिनियाँ नेता माओ चेतुङले १९५७ मा मस्को भ्रमणको बेला दिएको वक्तव्यको अंश हो।
माओकै भाकामा सी प्रायः भन्ने गर्छन्, ‘पूर्व उदाउँदै छ र पश्चिम अस्ताउँदै छ।’ माओ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिजस्तै सी पनि पश्चिमा शक्तिको पतनलाई तीव्र बनाउनुमा रुस र चीनको साझा हित देख्छन्। दुई साताअघि मात्र अमेरिकाले चीनलाई ‘नियन्त्रण गर्ने, घेराबन्दी गर्ने र दमन गर्ने’ नीति अख्तियार गरेको आरोप सीले लगाएका थिए।
एक पटक फेरि आणविक युद्धको डर छाइरहेका बेला रुस र चीनका नेताहरु भेट हुँदैछन्। १९५७ मा मस्कोमा पुग्दा माओले आफ्ना दर्शकहरुलाई आणविक युद्धको फाइदाबारे जानकारी गराएका थिए। ‘सबैभन्दा नराम्रो कुरा भएरै छाड्यो र मानवजातिको आधा हिस्सा मारियो भने पनि अर्को आधा हिस्सा बाँच्नेछ। त्यतिबेला साम्राज्यवादको विनाश हुनेछ र सारा संसार समाजवादी बन्नेछ।’ उनका सोभियत दर्शकका लागि समेत यो निकै कडा अभिव्यक्ति थियो।
त्यसविपरीत राष्ट्रपति सीले भने मस्कोमा आफूलाई शान्तिकामी व्यक्तिका रुपमा प्रस्तुत गर्नेछन्। उनी वास्तविक कूटनीतिक सफलताबाट चम्किँदै मस्को आइपुग्दै छन्। त्यो सफलता हो, चीनको मध्यस्थतामा इरान र साउदी अरबबीच भएको कूटनीतिक सम्बन्ध पुनर्स्थापना। चीनले हालै युक्रेन युद्ध अन्त्यका लागि १२ बुँदे शान्ति योजना पनि अघि सारेको छ। मस्कोमा हुँदा सीले तत्काल युद्धविरामको प्रस्ताव अघि सार्ने सम्भावना पनि छ। पुटिनसँग शिखर वार्तापछि सीले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई फोन गर्ने छन्।
निस्सन्देह जेलेन्स्कीले सो फोन उठाउनेछन्। किनभने पुटिनमाथि सीको विशाल प्रभाव छ, यदि उनले त्यसलाई प्रयोग गर्न चाहे भने।
तर, जेलेन्स्की र युक्रेनलाई समर्थन गरिरहेको पश्चिमा गठबन्धनले चीनको शान्ति प्रस्तावप्रति सन्देह व्यक्त गर्नेछन्। यथार्थ के हो भने युक्रेन युद्ध अन्त्यका लागि सी कि त इच्छुक हुने छैनन् कि त्यो प्रयासमा सफल हुने छैनन्।
साउदी अरब र इरानमा चीनको मध्यस्थता सफल हुनुको कारण हो– दुवै पक्ष सहमतिमा आउन तयार थिए। युक्रेन र रुसबीच त्यस्तो स्थिति छैन। त्यसमाथि बेइजिङ युक्रेन द्वन्द्वमा तटस्थ खेलाडी पनि होइन। युक्रेनमाथि रुसी आक्रमणलाई भर्त्सना गर्ने राष्ट्रसंघीय मतदानमा चीन अनुपस्थित भए पनि उसले सो द्वन्द्वलाई पुकार्ने मामिलामा रुसले प्रयोग गर्ने शब्द पनि प्रयोग गर्दै आएको छ।
चीनका विदेशमन्त्री छिन काङले हालै रुस र चीनबीचको सम्बन्धलाई विश्व मामिला ‘हाँक्ने शक्ति’ भन्दै प्रशंसा गरे। पुटिनविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालतले लगाएको अभियोगलाई अस्वीकार गर्नमा पनि चीनको गिन्ती हुन्छ।
हाल चीनले अघि सारेको शान्ति योजनाले युक्रेनको कब्जा गरिएको भूमिबाट रुस कसरी पछाडि हट्छ भनेर केही बोल्दैन। यदि सीले युद्धविरामको प्रस्ताव राखे भने रुसले खुसीखुसी स्वीकार्न सक्छ। किनभने रुसलाई थाहा छ, आफ्नो भूमि कब्जा गरिएको अवस्थामा त्यस्तो प्रस्तावलाई युक्रेनले सोझै खारेज गर्नेछ। कसैगरी युद्धविराम घोषणा भइहाले पनि रुसले पहिलेझैँ जुनसुकै बेला त्यसलाई उल्लंघन गर्न सक्छ।
सीका लागि भने चीनलाई शान्तिवार्तामा व्यावहारिक मध्यस्थकर्ताको रुपमा प्रस्तुत गर्नु फाइदाजनक छ। आखिरमा उसले आफूलाई सबैभन्दा बढी व्यापार र साझा समृद्धिमा चासो रहेको मुलुकका रुपमा पेस गर्दै आएको छ। यसविपरीत चीनले अमेरिकालाई भने वैचारिक रुपमै युद्धपिपासु, संसारलाई मित्र र शत्रुका रुपमा विभाजित गर्ने शक्ति र आफ्नो प्रभुत्व जसरी पनि कायम राख्नमा केन्द्रित मुलुकका रुपमा चित्रित गर्दै आएको छ। यो भाष्यले ‘ग्लोबल साउथ’मा चल्ने विचारको लडाइँमा चीनलाई फाइदा पुर्याउँछ भने अमेरिकीहरुलाई चिन्तित तुल्याउँछ।
तर, अगाडि शान्तिको कुरा भए पनि गुदी कुरा के हो भने सी–पुटिन शिखर वार्ताले यसको विपरीत दिशातर्फ लैजानेछ। किनभने यो वार्तापछि आक्रमणकारी शक्ति रुसप्रति चीनको समर्थन अझ बढ्नेछ। निर्वासनमा रहेका रुसका चीन मामिला विज्ञ अलेक्सान्द्र गाबुएव लेख्छन्, ‘गल्ती नगर्नुहोस्ः यो भ्रमण बेइजिङलाई फाइदा हुनेगरी रुससँग सम्बन्ध थप बलियो बनाउन हो, नकि वास्तविक शान्तिका लागि।’
ठूलो प्रश्न हो– सीले कस्तो सम्बन्धलाई चीनका लागि लाभदायी मान्छन्? आर्थिक पक्ष त सिधै छ। पश्चिमाहरु रुसी उर्जाबाट बाहिर निस्किँदै गर्दा चीन सस्तो दाममा तेल र ग्यास किन्न सफल भएको छ। पुटिन र सीले उनीहरुको मुलुकबीच अर्को ग्यास पाइपलाइन निर्माणलाई तीव्रता दिने सहमति गर्न सक्छन्। रुसले पश्चिमसँग किन्न नसक्ने वस्तुहरु, खासगरी सेमिकन्डक्टर रुसलाई आपूर्ति गर्नु पनि चीनका लागि लाभदायी हुनेछ। यद्यपि, केही चिनियाँ कम्पनीहरु पश्चिमा नाकाबन्दीप्रति चिन्तित हुनेछन्। रुस र चीनका नेताहरुले विश्वव्यापी मुद्राका रुपमा डलरको विकल्पलाई प्रबद्र्धन गर्ने प्रयासलाई निरन्तरता दिनेछन्।
यहाँनेर सबैभन्दा संवेदनशील विषय भने चिनियाँ हतियारका लागि पुटिनको आग्रह हुनेछ। खासगरी, तोपका गोला र क्षेप्यास्त्रहरु। जसको अभावले रुसको युद्धमा बाधा उत्पन्न गरिरहेको छ। अमेरिकाले गत महिना नै चीनले रुसलाई हतियार दिनसक्ने भन्दै चेतावनी दिएको थियो। तर, पुटिन र सीबीच जे सहमति भए पनि त्यो निकै गोप्य हुनेछ।
त्यस्तै, रुस र चीनबीच कुनै तनाव भए त्यो पनि गुप्त रहनेछ। केही अमेरिकी रणनीतिकारहरुको आशा के छ भने एक दिन मस्को र बेइजिङबीच फुट ल्याउन उनीहरु सफल हुनेछन्। जसरी १९७० मा अमेरिका–चीन सम्बन्ध पुनर्स्थापनाले ल्याएको थियो। तर, यतिबेला त्यो युक्रेन युद्धमा चीनको शान्तिको पहलभन्दा पनि कठिन देखिन्छ।
मस्कोमा सी र पुटिनको सँगै उभिएको फोटोले एउटा स्पष्ट सन्देश दिनेछ। रुस र चीन निकट साझेदार रहनेछन्, जसलाई अमेरिका र उसका सहयोगीसँगको संयुक्त दुश्मनीले जोड्ने काम गरेको छ।
(फाइनान्सियल टाइम्सबाट)
प्रतिक्रिया