विचार


एनपीएल सफलताले साबित गर्‍यो- अब हाम्रा खेलाडी विदेश पलायन हुनु पर्दैन

मधेसीप्रति विभेदजन्य अभिव्यक्ति दिएर नेपालको राष्ट्रिय टोली खण्डित नगरौँ
एनपीएल सफलताले साबित गर्‍यो- अब हाम्रा खेलाडी विदेश पलायन हुनु पर्दैन

गिरिराजमणि पोखरेल
पुस ७, २०८१ आइतबार २१:१, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण सकिएको छ। जनकपुर बोल्ट्सले उपाधि हासिल गरेको छ भने सुदूरपश्चिम रोयल्स अत्यन्तै सङ्घर्षपूर्ण फाइनल खेलपछि दोस्रोमा आएको छ। फाइनल खेल रोमाञ्चक थियो, अन्तिमसम्म दुवै टिम नेक-टु-नेक प्रतिस्पर्धामा थिए। ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शनहरू भएका थिए भने बलिङ पनि त्यति नै गुणस्तरीय थियो। हार र जित एउटै सिक्काको दुईटा पाटो हो, तर हार-जितलाई आफ्नो ठाउँमा राखेर स्पोर्ट्सम्यानसिप देखाउनु महत्त्वपूर्ण कुरा हो, जुन फाइनल खेलमा देख्न पाइयो।

नेपालको आफ्नो घरेलु क्रिकेट लिगको विकास हुनु भनेको नेपाली क्रिकेटको सम्पूर्ण विकाससँगै नेपालको खेलक्षेत्रको पनि विकास हुनु हो। म आफू पनि विद्यार्थीकालदेखि नै क्रिकेटप्रति विशेष रुचि राख्ने, रेडियोमा क्रिकेटको कमेन्ट्री सुन्ने, मिलेको बेला क्रिकेट हेर्ने र पत्रपत्रिकामा सम्पादकीयभन्दा पहिले खेलकुदको समाचार पढ्ने गर्दथेँ। र, जसरी नेपाली क्रिकेट अन्तिम केही वर्षमा विकास भएको छ, त्यो एकदमै सराहनीय छ।

२०१४ मा नेपालको टिमले पहिलोचोटि विश्वकप टी२० खेल्यो। त्यसको केही समयपछि आन्तरिक कारण तथा भ्रष्टाचार र बजेटको अभावले हाम्रो क्रिकेट यात्रा डगमगाएको थियो, साथसाथै नेपाली लिगहरू पनि विभिन्न अभियोग, घोटाला र सट्टेबाजीमा फसिरहेका थिए। यहाँसम्म आइपुग्दा धेरै उतारचढावहरु भएका छन् र आज नेपालको एक उत्कृष्ट घरेलु लिग सम्पन्न भएको छ।

ब्रायन लाराजस्ता क्रिकेटका बहुचर्चित व्यक्तित्वलाई नेपाल ल्याएर नेपाली क्रिकेटलाई विश्वसामु चिनाउनु, शिखर धवन, जिमी निसम, मार्टिन गप्टिल, रवि बोपारा, बाबर हायात, लाहिरू मिलान्थाजस्ता दिग्गज क्रिकेटरहरुलाई ल्याएर नेपालमा खेलाउनु नै यसको ठूलो सफलता हो। खेलाडीलाई दिने पारिश्रमिक, जनसहभागिता तथा उत्कृष्ट खेलाडीहरूलाई दिइने उपहारहरू पनि अत्यन्तै विशेष र राम्रो छ। जनसहभागिता र समर्थकहरूको उपस्थितिको कोणबाट हेर्दा भारतीय मिडियाहरूलाई पनि चकित पार्ने गरी एनपीएल सम्पन्न भएको छ।

यसले नेपालको खेल जगतमा मात्र नभई पर्यटन र अर्थतन्त्रका लागि पनि राम्रो योगदान पुर्‍याएको छ र नयाँ आशा जगाएको छ। अहिले नेपालले सामना गरिरहेको आर्थिक संकट र रोजगारीको अभाव, बौद्धिक तथा श्रम पलायनलाई पनि खेलकुद मार्फत हामीले सामना गरेर एउटा दिगोपनतिर लिएर जान सक्छौँ। नेपालका गुणस्तरीय तथा उत्कृष्ट खेलाडीहरू जो राम्रो अवसरका लागि विदेश पलायन भइरहेका छन्, उनीहरूलाई पनि नेपालमै राख्न सकिन्छ, एउटा राम्रो जीवनयापन खेलकुद मार्फत नेपालमा हुन्छ भनेर विश्वस्त पार्न सकिन्छ।

त्यसबाहेक पनि क्रिकेटमा एउटा राम्रो तरिकाले जीवनयापन हुने बाटो नेपालमा खुल्दै गएको र खुलिसकेको एवं भोलिको दिनमा अझ राम्रो हुन्छ भन्ने एनपीएल मार्फत दर्सिएको छ। नेपालका युवाहरू, अनमोल रत्नहरुलाई नेपालमै अवसर प्रदान गरेर खेलाडीहरूको जीवनस्तर मात्र होइन, नेपालकै स्तर विश्वसामु उदाहरणीय, उल्लेखनीय र एक समृद्ध राष्ट्रको रूपमा बनाउन सकिन्छ, चिनाउन सकिन्छ।

एनपीएलले खेल र मानिसको सोचमा रहेको एक खालको अराजकता र विभेदलाई फेरि पनि सतहमा ल्याएको छ। त्यस्ता मानिसहरूले आफै बीचमा पूर्वको-पश्चिमको, तराईको-पहाडको, काठमाडौँको-पोखराको भनेर विभाजन सिर्जना गरेका छन्। आफ्नो सहर र आफ्नो प्रदेशलाई समर्थन गर्नु स्वाभाविक कुरा हो, तर त्यसको नाममा अराजकता र विभेदीकरणको तुष्टि फैलाउनु गलत हो। हामीले आत्मसात गर्नुपर्ने कुरा के हो भने यो क्लब क्रिकेटको हो। हो, यसले नेपालको समग्र क्रिकेटको विकास गर्छ। तर हामी पूर्व, पश्चिम, उत्तर, दक्षिण, तराई, पहाड, पोखरा–विराटनगर, चितवन–काठमाडौँ भन्दा पहिले नेपाली हौँ। एनपीएलमा समावेश खेलाडीहरू मूलत: नेपाली हुन् र उनीहरूको मूल दायित्व नेपालको राष्ट्रिय टोली हो। हामीले भोलिका दिनमा हाम्रो राष्ट्रिय टोलीलाई नै समर्थन गर्नुपर्छ। आफ्नै देशको एक भागकोले अर्को भागकोलाई क्लब क्रिकेटको नाममा वा व्यावसायिकताको नाममा गरिने अराजकता र विभेद एकदमै गलत छ।

खेलकुदलाई मनोरञ्जनको रुपमा लिनुपर्छ, यसलाई राजनीतिकरण गर्नु हुँदैन। म आफू मधेस प्रदेशको, जन्म एक नम्बर प्रदेशको पहाड, हुर्काई र पढाइ एक नम्बर प्रदेशकै विराटनगर र पछिल्लो चरणमा सुदूरपश्चिम केन्द्रित भएर काम गरिरहेको व्यक्ति हुँ। अझ मन्त्रालयको जिम्मा लिँदाखेरी सम्पूर्ण नेपालको मन्त्री भएको दृष्टिकोणले हेर्दा पनि खेलमा आ−आफ्नो सहरलाई आ−आफ्नो ठाउँलाई समर्थन गर्नु स्वाभाविक हो। तर यसकै नाममा आतंक फैलाउनु, विभेदको मानसिकता प्रकट गर्नु, नश्लीय चिन्तन प्रदर्शन गर्नु, झगडा गर्नु, कुटपिट गर्नु, बाझाबाझ गर्नु एक समुदायले अर्को समुदायको हेला गर्नु चाहिँ एकदमै गलत रहेको छ। हामी नेपालीको प्रमुख शक्ति भनेको नै अनेकतामा एकता हो। त्यो शक्तिलाइ खण्डित गर्न नलागौँ।

मधेस प्रदेशबाट जनप्रतिनिधि भइसकेको कारण मात्र होइन, मैले जे सिकेको छु र जेमा जीवन बिताउन खोजेको छु, त्यो आधारमा भन्न सक्छु, मधेस र मधेसीप्रति जुन प्रकारले विभेदजन्य अभिव्यक्ति प्रकट भए, त्यो चिन्ताको विषय हो। हामीले अराजकता र विभेद अन्त्यको लागि संघर्ष गरे पनि जनतालाई त्यही रूपमा सचेत बनाउन चुक्यौँ कि, यसपटक मलाई अनुभूत भएको छ। तर अब चुप लागेर बस्नुहुँदैन, अराजकता र विभेदजन्य मानसिकतामा परिवर्तन गर्न संघर्ष गर्नैपर्छ। राज्यले आफ्नो दायित्व पूरा गरोस्। हामी पनि त्यसविरूद्ध खडा हुनैपर्छ।

देश कति विकसित छ भनेर त्यहाँको मानव विकास सूचकांक र ह्याप्पीनेस इन्डेक्सलाई मानक मानिन्छ। खेलकुदको विकासले हामी हाम्रो अल्पविकसित इतिहासलाई पछाडि छोडेर विकासशीलतातिर अघि बढिरहेको संकेत गर्दछ। त्यसका साथसाथै हामीले भर्खरै (पुस ६) प्रथम विश्व ध्यान दिवस मनाएका छौँ। म आफू पनि ध्यान गर्दछु, ध्यानका विभिन्न प्रकार हुन्छन्। खेल पनि ध्यानको एक प्रकार हो। प्रतिस्पर्धात्मक भावना हुनु एउटा ठाउँमा छ, तर भौतिक शरीर र मानसिक रूपमा पनि खेलकुदको आफ्नो एउटा महत्त्व छ। समर्थकहरूले समर्थन गर्दा लगाउने नारामा पनि आफ्नो खालको एउटा तरङ्ग पाउन सकिन्छ। खेलकुद भनेको योग ध्यान केन्द्रित गरेर गरियो भने व्यावसायिक रूपमा बाहेक पनि मानव स्वास्थ्यको लागि लाभदायक हुन्छ। बालबालिकालाई स्कुल, कलेजदेखि नै खेलकुदमा आबद्ध गर्नु पर्छ।

क्रिकेट मात्र होइन अन्य सबै खेलका विधाहरूलाई पनि यसरी नै हामीले प्रोत्साहन गर्नुपर्छ। हरेक खेलको लागि चाहिने आधारभूत कुरा र वातावरण राज्यले व्यवस्थापन गर्नुपर्छ। फुटबल, कबड्डी, कुस्ती, टेनिस, भलिबल, बास्केटबल लगायतका सबै खेलहरूलाई एउटै दृष्टिले हेरेर हरेक खेलको प्रोत्साहनका लागि चाहिने आधारभूत पूर्वाधार र वातावरण बनाउन ढिलो त भइसकेको छ। तर पनि दह्रो छाती गरेर सरकारले सकारात्मक प्रतिबद्दता गर्न आवश्यकता छ।

विभिन्न कमजोरी र खोटहरूलाई हामीले सामना गर्दै एउटा अठोट लिएर खेलकुद क्षेत्रको विकास गर्न र होडबाजीमा नलागिकन नेपाल र नेपालीको विकास खेलकुदको माध्यमद्वारा पनि गर्न सकिन्छ। नेपालमा जे पनि गर्न सकिन्छ, उत्कृष्टभन्दा उत्कृष्ट रुपमा जस्तोसुकै भव्य कार्यक्रमहरू सफलतापूर्वक एवं आर्थिक दृष्टिकोणले पनि गर्न सकिन्छ भन्ने उदाहरण एनपीएल भएको छ।

फेरि पनि पहिलो संस्करणको विजेता जनकपुरलाई बधाई! नेपालको क्रिकेटलाई नै एउटा नयाँ दिशा दिनेगरी भव्य रुपमा एनपीएल सफल बनाउने परिकल्पनाकार, नेतृत्वकर्ता, व्यस्थापक लगायत पर्दापछाडि रहनु भएका सम्पूर्णलाई धन्यवाद!

(पूर्व स्वास्थ्य तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल माओवादी केन्द्रका नेता हुन्) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad