‘चिनियाँ झट्का’को चर्चा नगरी २१ औँ शताब्दीको आर्थिक इतिहासको कुरै गर्न सकिन्न। विश्व बजारमा चीनको प्रवेशलाई वर्णन गर्न प्रायः यही पदावली प्रयोग गरिन्छ। त्यतिबेला विश्व बजारमा चीनको प्रवेशसँगै सम्पन्न मुलुकहरूमा चिनियाँ सस्ता सामानको बाढी आयो। जसले पूरै उद्योग र श्रमशक्ति ठप्प पारिदियो।
सायद त्यसैको ‘सिक्वेल’को रूपमा आएको छ, डिपसिक। चर्चामै नरहेको एउटा चिनियाँ हेज फन्डले आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँमा एउटा ग्रिनेड फ्याँकिदिएको छ। डिपसिकले ल्याएको ‘लार्ज ल्याङ्ग्वेज मोडल’ (एलएलएम)को क्षमता यो बजारको नेतृत्व गरिरहेको साम अल्टम्यानको ओपनएआईबराबरी छ। जबकि डिपसिकको खर्च भने ओपनएआईको तुलनामा अत्यन्त कम छ।
अर्कोतिर, ओपनएआईले आफ्नो मोडलको प्राविधिक विवरण बौद्धिक सम्पत्तिका रूपमा गुप्त राखेको छ। तर, डिपसिकको आर१ ले आफ्नो आन्तरिक संयन्त्र, कोड र बनोटमा सबैलाई पहुँच दिएको छ। जसका कारण डेभलपरहरूका लागि यो आकर्षक बन्न पुगेको छ।
एआईको युगमा घटनाक्रम विकास निकै तीव्र गतिमा हुन्छ। डरलाग्ने गरी। एआईको क्षेत्रमा ठूलो लगानी गरेका पाँच कम्पनी एनभिडिया, अल्फाबेट, एमजन, माइक्रोसफ्टले सोमबार मात्र सेयरबजारमा ७५० अर्ब डलर गुमाए। यीमध्ये एनभिडिया चिप निर्माता कम्पनी हो भने अल्फाबेट, एमजन, माइक्रोसफ्ट र मेटा क्लाउड सेवा प्रदायक हुन्, जसलाई ‘हाइपरस्केलर’ भन्ने गरिन्छ, जसले विशाल मात्रामा डेटा प्रोसेसिङ र स्टोरेजका लागि पूर्वाधार उपलब्ध गराएका छन्।
यदि डिपसिकले एनभिडियाको सबैभन्दा आधुनिक चिपको प्रयोगबिनै यो सफलता हासिल गरेको साबित भयो भने सो कम्पनीलाई झनै गम्भीर क्षति हुने छ।
ती डेटा सेन्टरका कारण नाफा वृद्धि हुने आशामा बसेका प्रविधि कम्पनी तथा उर्जा कम्पनीका लगानीकर्ताहरू कतै आफ्नो लगानी बिलाएर जाने त होइन भनेर तर्सिएका छन्। यो वर्ष मात्रै यी ‘हाइपरस्केलर’ कम्पनीहरूले पुँजीगत खर्चका रूपमा थप ३ सय अर्ब डलर लगानी गर्ने अनुमान थियो। विश्लेषकहरूका अनुसार मेटा र माइक्रोसफ्टले २०२४ मा जम्मा ९४ अर्ब डलर लगानी गरेका थिए।
सत्य के हो भने खेल समाप्त भएको छैन। डिपसिकको वास्तविक क्षमता कति हो, अझै स्पष्ट छैन। उसले ‘आर्टिफिसियल जेनरल इन्टेलिजेन्स’ अर्थात् मान्छे बराबरीको बुद्धिमत्ता हासिल गर्न बाँकी नै छ। जुन मेटा र ओपनएआई हासिल गर्ने कोसिसमा छन्।
तर, अब सायद खेलको नियम भने बदलिएको हुन सक्छ। कम्तीमा पनि डिपसिकले ठूला अमेरिकी कम्पनीहरूका केही ग्राहक तान्न सक्छ। सबैभन्दा खराब पक्षको कुरा गर्दा गतिलो एआईका लागि धेरैभन्दा धेरै हार्डवेयर चाहिन्छ भन्ने सिद्धान्तलाई नै यसले चुनौती दिएको छ। सोही सिद्धान्तका आधारमा सिलिकन भ्यालीका कम्पनीहरूको बजार मूल्य यति धेरै भएको हो। किनकि उनीहरू मुठी खोलेर लगानी गर्छन्।
यी ठूला कम्पनीका लागि खराब कुरा अरुका लागि लाभदायक पनि हुन सक्छ। अधिकांश व्यावसायिक प्रयोगकर्ताका लागि सर्वोत्कृष्ट मोडल नै चाहिन्छ भन्ने हुँदैन। उनीहरू विश्वसनीय र राम्रो भए पुग्छ। हरेक गाडी चालकलाई फरारी नै चाहिन्छ भन्ने हुँदैन। ग्राहकसँग अन्तक्र्रिया गर्नसक्ने ‘एआई एजेन्ट’को क्षमतालाई आर१ जस्ता मोडलले निकै बढाइदिन सक्छन्। र, यस्ता मोडल सस्तैमा प्राप्त हुने हो भने कर्पोरेट नाफा बढ्ने छ।
यसर्थमा, चीनको यो दोस्रो झट्का पनि पहिलो जस्तै हुन सक्छ। अर्थात्, यसले ध्वंस मात्र होइन, फेरबदल पनि गर्न सक्छ। भलै, त्यो फेरबदल थुप्रैका लागि पीडादायी हुने छ।
अनुसन्धानकर्ताहरूको अनुमान छ– चीनको पहिलो झट्का अर्थात् चिनियाँ सस्ता सामानको आयातका कारण गुमेको प्रत्येक रोजगार बराबर अमेरिकी परिवारको क्रयशक्ति भने ४ लाख डलर बढेको थियो। हाललाई एआईमा प्रभुत्व जमाउने स्पर्धा थामिएको छ, प्रयोगकर्तालाई कसले धेरै लाभ र सुविधा दिने भन्ने स्पर्धा सुरु भएको छ।
(फाइनान्सियल टाइम्सबाट)
Shares

प्रतिक्रिया