विचार


जेड पुस्ता हो, ‘टेस्टेड’ नेताका ‘सुगर कोटेड’ बोलीमा नफसौँ, आन्दोलन दूषित पार्ने तत्त्वबाट सतर्क रहौँ

जेड पुस्ता हो, ‘टेस्टेड’ नेताका ‘सुगर कोटेड’ बोलीमा नफसौँ, आन्दोलन दूषित पार्ने तत्त्वबाट सतर्क रहौँ

अपर्णा खरेल
भदौ २७, २०८२ शुक्रबार १७:५१, काठमाडौँ

नेपाल विगत सात दशकदेखि निरन्तर आन्दोलन, क्रान्ति र असन्तोषको रङ्गभूमि बनेको देश हो। कहिले पञ्चायतविरुद्ध, कहिले प्रजातन्त्रको स्थापनाका लागि, कहिले राजतन्त्रको अन्त्यका लागि त कहिले लोकतन्त्रभित्रै देखिएका बेथिति र भ्रष्टाचारविरुद्ध नेपाली जनता सडकमा उत्रिने गरेको पाइएको छ।

प्रत्येक आन्दोलनले न्यायको प्रत्याभूति, पारदर्शिता र राष्ट्रिय विकासको सम्भावना नयाँ आशा बोकेका थिए। तर, हरेकपटक नेतृत्वबाट अश्वासन पाएको, राजनीतिक दलहरूको स्वर्णिम घोषणापत्र पढ्न पाएको तर परिणाम लगभग विपरीत पाएको युवाहरुले महसुस गरे। पटकपटकको आन्दोलनले देशको व्यवस्था परिवर्तन भएको तर नागरिकको अवस्था बिग्रँदै गएको यथार्थको साक्षी हामी हुनुपरेको छ।उमेर समूहका हिसाबले कुरा गर्दा सन् १९६५ देखि सन् १९८० मा जन्मिएको पुस्तालाई 'जेनेरेसन एक्स', सन् १९८१ देखि सन् १९९६ मा जन्मिएको पुस्तालाई 'जेनेरेसन वाइ' र सन् १९९७ देखि सन् २०१२ मा जन्मिएको पुस्तालाई 'जेनेरेसन जेड' भनेर चिनिन्छ। जेनेरेसन जेडलाई अंग्रेजीमा छोटकरीमा 'जेन जेड' भनिन्छ भने त्यसको अपभ्रंशात्मक रूप 'जेनजी' हो।

नेपालीहरु भ्रष्टाचार, बेथिति, नातावाद, कृपावाद, ढिलासुस्ती, इत्यादिजस्ता कुशासनको सूचकका प्रमुख हिस्सेदार 'जेनेरेसन एक्स' र 'जेनेरेसन वाइ' हुन् भन्ने विश्वास गरी यस प्रकारको बेथितिबाट नेपाललाई मुक्त बनाउनुपर्छ, नेपालमा आमूल परिवर्तन आवश्यक छ भनेर निस्किएको अहिलेको 'अन्तिम पुस्ता' हो, 'जेन जी'।

समाजको पुस्तागत क्रम विकासमा जेनेरेसन जेड आजको सर्वाधिक चर्चित र निर्णायक पुस्ता बनेको छ। यो पुस्ताले बाल्यकालदेखि नै प्रविधिको छायाँमा हुर्केने मौका पायो। इन्टरनेट, विद्युतीय ग्याजेट्स, सामाजिक सञ्जाल, उनीहरूको दैनिकीका अङ्ग बने। यस कारण यस पुस्तालाई केवल प्रविधिमैत्री मात्र नभई डिजिटल संस्कृतिको वाहक र नवप्रवर्तनकारी विचारको स्रोतका रूपमा परिभाषित गर्न सकिन्छ।

यो पुस्ता मूल्यमा आधारित चेतनाका धनी पनि हो। यसले सामाजिक न्याय, समानता, वातावरणीय दिगोपन, मानवअधिकार र विश्वव्यापी सरोकारलाई जीवनको अनिवार्य अङ्गका रूपमा ग्रहण गरेको छ। यसको सोच देश वा सीमित परिधिभन्दा बाहिर मानवताको साझा पीडा र भविष्य प्रतिको संवेदनशीलतामा रहेको छ। यही कारणले गर्दा यो पुस्तालाई ‘ग्लोबल सिटिजन’ पनि भनिन्छ।

जेनेरेसन जेडको प्रमुख  विशेषता भनेको उसले अघिल्लो पुस्ताले भोगेको कठिनाइलाई प्रत्यक्ष अनुभव गर्न पाएको छैन। यो पुस्ता जन्मिएको समयमा संसार पहिलेभन्दा बढी खुला, गतिशील र प्रतिस्पर्धी अवस्थामा थियो। अनि गरिबी, अभाव र शारीरिक परिश्रम कम थियो। यी कारणले उसलाई स्वतन्त्र, चिन्तनशील, प्रश्न गर्ने, साहसी र स्थापित संरचनाप्रति असन्तुष्टि प्रकट गर्न सक्ने क्षमतावान् बनाएको छ। त्यसैले यस पुस्ता युवाको लागि स्वतन्त्रता केवल राजनीतिक नारा भन्दा पनि जीवनशैली नै हो। असमानता र अन्यायको सामना गर्दा मौन बस्ने उनीहरूको मनोवृत्ति छैन। यही चेतना विश्वभरि भएका आन्दोलनहरूमा प्रकट भएको छ।

नेपालको सन्दर्भमा पनि यो युवा पुस्ताले विशेष महत्त्व राख्दछ। दशकौँदेखि चलेको राजनीतिक संक्रमण, बारम्बारको असफल नेतृत्व, बेरोजगारी, बढ्दो पलायन र सर्वव्यापी भ्रष्टाचारले देशलाई अप्ठ्यारो मोडमा ल्याएको अवस्था छ। यी अवस्थाहरूका कारण आम नेपालीमा निराशाको चुली खडा भएको अवस्था त थियो नै तर जेनजीले आफ्नो आवाज बुलन्द पार्न सक्ने हैसियत राखेको छ। उनीहरूले आफ्ना जीवनका सपनालाई केवल व्यक्तिगत उन्नतिमा मात्र सीमित गर्न चाहेनन्, यसलाई राष्ट्रिय परिवर्तनसँग गाँस्न चाहे। यदि प्रणाली सुध्रिएन भने देश रहन्न अनि व्यक्तिगत सपना अधुरो रहन्छ भन्ने भावनाले उनीहरूलाई स्वतःस्फूर्त रूपमा सडकमा उत्रन प्रेरित गराएको छ।

नेपालको राजनीतिक यात्रा लामो समयदेखि अस्थिरता र असफलताले भरिएको छ। जनआन्दोलन, संक्रमणकाल, गणतन्त्रको घोषणादेखि संघीय संरचना निर्माणसम्मका अनेकौँ चरण पार गरेर पनि नागरिकले अनुभव गरेको न्याय, समानता र सुशासन अपूर्ण नै रहेको अवस्था छ। संविधानले दिएको अधिकार केवल कागजमा सीमित भएको अनुभूति नागरीकहरुले गरेका छन्। यी अनुभवहरुले युवालाई थप निराश र क्रोधित बनाएको अवस्था छ।

विश्वका विभिन्न देशका आन्दोलनहरूले 'जेनेरेसन जेड' भनेको युवा शक्ति मात्र नभएर परिवर्तनको संवाहक पनि हो भन्ने तथ्य उजागर गरिसकेको छ। हङकङको लोकतन्त्रवादी आन्दोलन, अमेरिका र युरोपका जातीय न्याय आन्दोलन तथा जलवायु आन्दोलनमा युवा पुस्ताको निर्णायक भूमिका देखिसकिएको छ। हालसालै श्रीलङ्का र बङ्गलादेशमा भ्रष्टाचारविरुद्ध भएको आन्दोलन र सत्ता परिवर्तनले पनि नेपालको जेनेरेसन जेड आन्दोलनलाई मलजल गरेको हो। श्रीलङ्कामा आन्दोलनरत पक्ष विशुद्ध रुपमा जेन जेड नभए तापनि उनीहरुको भूमिका महत्त्वपूर्ण थियो भने बङ्गलादेशको सन् २०१८ र सन् २०२४ को आन्दोलनमा 'जेड' पुस्ताको अत्यधिक संलग्नता रहेको थियो।

नेपालमा जेन जेड आन्दोलन हुनुका पछाडि विद्यमान नेतृत्वले युवालाई अवसर दिनुको सट्टा पलायनतर्फ धकेल्ने गल्ती पटकपटक गर्नु हो। उच्च शिक्षा लिन विदेश जाने र उतै बसाइसराइ गर्न विवश युवाको संख्या दैनिक रुपमा बढिरहेको छ। पलायनवादमा विश्वास राख्ने नेतृत्वले उत्पादनशील शक्तिलाई राष्ट्र निर्माणमा लगाउनुको साटो उनीहरुले पठाएको रेमिट्यान्समा मोज गर्नुलाई सफलताको मानक बनाउन पुग्यो। देशभित्र रोजगारीको कमी मात्र होइन, योग्यताको सम्मान नहुने, नातावाद र कृपावादका कारणले गर्दा 'राम्राले भन्दा हाम्राले' अवसर पाउने गरेको अवस्थाले युवालाई निराश बनायो। हजारौँ युवाले प्रतिस्पर्धामा आफ्नो दक्षता देखाउने मौका पाएनन्।

भ्रष्टाचार नेपालको सबैभन्दा गहिरो घाउ बनिरह्यो। ठूला आयोजना, ठेक्कापट्टा र नेतृत्व तहमा पारदर्शिताको अभाव, जवाफदेहिताको अभाव जस्ता दुष्प्रवृत्तिले युवाको मनोबल घट्न पुग्यो। उनीहरूले नेतालाई आदर्शको रूपमा होइन, अवसरवादीको रूपमा मात्र देख्न थाले। नीतिहरुको पनि नीतिको रुपमा राजनीति हुनुपर्नेमा भ्रष्ट, अपराधी, फटाहा, लुटेराजस्ता शब्दहरूको पर्यायवाची 'राजनीति' भयो।

नेताहरुमा रहेको भ्रष्ट शैली, पराजित मानसिकता, लम्पसारवादजस्ता विशेषताहरूका कारणले नै मेटा, युट्युब, एक्स, इत्यादि नाम गरेका सामान्य कम्पनीहरुले समेत एउटा सार्वभौम राज्यको आदेश नमानेको अवस्था छ। पछिल्लो समय सामाजिक सञ्जालहरु नै साइबर अपराधको मुख्य प्लेटफर्म बनेका छन्। साइबर अपराधबाट पीडितलाई न्याय दिन सरकारले सकिरहेको छैन। किनभने, विदेशमा रहेका ती कम्पनीहरुले नेपाल प्रहरीलाई आवश्यक सूचना उपलब्ध गराउँदैनन्। अनि नेपालमा सेवा सञ्चालन गर्ने हो भने नेपालको कानुनअनुसार दर्ता हुन, यताको नियम पनि मान्न र प्रहरीलाई अपराध अनुसन्धानका लागि आवश्यक सूचनाहरू उपलब्ध गराउन सरकारले भन्दा सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूले मानेनन्। एउटा सार्वभौम राज्यका लागि यो लज्जास्पद विषय हो।

अर्को विडम्बना के छ भने "नेताहरुका कुकृत्यहरु सामाजिक सञ्जालमा भाइरल होलान् र मिसन ८४ लाई असर पर्ला भनी सामाजिक सञ्जाल बन्द गरेको" भाष्य आम नागरिकमा निर्माण भएको अवस्थामा सामाजिक सञ्जालमा अस्थायी प्रतिबन्ध लगाउनुको कारण त्यो होइन, नेपालमा हुने साइबर अपराध कम गर्न र ती सामाजिक सञ्जालहरुलाई नियमन गर्नका लागि हामी बाध्य भएका हौं भनी जनतालाई बुझाउने हैसियत सरकारले राखेको देखिएन। यसकारण पनि सामाजिक सञ्जालदेखि सरकार डराएको भन्ने बुझाइ जेन जेडमा रहन गयो।

यस पृष्ठभूमिमा हालै मात्र देशभर भएको 'जेनेरेसन जेड'को आन्दोलन व्यवस्था र अवस्थाको तादात्म्य नमिलेका कारण सिर्जना भएको हो। यसले आन्दोलनको इतिहासलाई पुनरावृत्त मात्र गरेको नभई नयाँ ढंगले परिभाषितसमेत गरेको छ। किनभने यो आन्दोलन कुनै राजनीतिक दलले आयोजना गरेको थिएन, कुनै नेता वा दलको भ्रातृ सङ्गठनले नेतृत्व गरेको थिएन। जन्मजात डिजिटल युगसँग परिचित युवाहरूको स्वतःस्फूर्त आक्रोश र समानताको खोजी नै यस आन्दोलनको मूल स्रोत थियो।

नेपालमा स्वतन्त्र आन्दोलन विरलै हुन्छन्। प्रायः आन्दोलन पार्टीको निर्देशनमा नै हुने गरेको पाइन्छ। तर यो आन्दोलन फरक थियो, कुनै झण्डा थिएन, कुनै घोषणापत्र थिएन। केवल समानताको माग र देशको भविष्यप्रतिको चिन्ता थियो। यही कारण यस आन्दोलनलाई धेरैले “युवाको हृदयको स्पन्दन” को रुपमा स्वीकार गरे। सडकमा हजारौं विद्यार्थी विद्यालय र कलेजकै पोशाकमा उत्रिए। विद्यार्थी कक्षामा सीमित हुने र आन्दोलन पार्टीको निर्देशनमा मात्र हुने सोच राख्ने पुराना नेताहरू यसपटक स्वस्फूर्त युवा जनसागर उर्लिएको देखेर हतोत्साहित भएको देखियो। सामाजिक सञ्जालमै हुर्केका किशोरहरूले राजनीतिक शक्ति सन्तुलनका लागि मात्र नभएर आफ्नो अस्तित्व र पहिचानका लागि सडकलाई आफ्नो मञ्च बनाए।

जेन जीको आन्दोलनमा सरकारको सबैभन्दा ठूलो भुल भनेको युवा आवाजलाई समयमै सम्बोधन गर्न नसक्नु रहेको देखियो। जब युवाले शान्तिपूर्ण तवरले सडकमा उत्रिएर “हाम्रो भविष्य कहाँ छ? हाम्रो श्रमको सम्मान कहिले हुन्छ? हाम्रो देश कहिले भ्रष्टाचारमुक्त हुन्छ?” भनेर सरकारलाई प्रश्न सोधे। सरकारले उनीहरुको प्रश्नको जवाफ दिन आवश्यक ठानेन र त्यसलाई दमन गर्ने बाटो रोज्यो। सरकारको नेतृत्वले प्रहरीको बलको दुरुपयोग गर्‍यो र युवाहरुमा आक्रोश बढायो। सरकारको यस कदमले मानव अधिकार हनन गरेको छ र लोकतन्त्रको खिल्ली उडाएको छ।

प्रत्येक नागरिकको जीवनको मूल्य सबैभन्दा माथि रहेको हुन्छ। व्यक्तिको जीवन नै समाप्त पार्ने विषय कुनै पनि बहानामा न्यायोचित हुन सक्दैन। सयौं युवाहरू घाइते भएको आन्दोलनपछि गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिए भने भोलिपल्ट प्रधानमन्त्रीले समेत बालुवाटार छाडेर भाग्नुपर्ने अवस्था बन्यो। तर ठूलो सङ्ख्यामा होनहार युवाको हत्या भइसकेपछि केवल पदत्याग गर्नु नैतिकताको पर्याप्त प्रदर्शन हुन सक्दैन। नैतिकताको वास्तविक प्रदर्शन गर्ने हो भने सरकारले नागरिकहरुलाई सडकमा आउन बाध्य बनाउने वातावरण नबनाउनु नै हो। सुशासन र कानुनी राज्यको अक्षरशः कार्यान्वयनबाट मात्र शासकले सही रुपमा नैतिकता प्रदर्शन गरेको मान्न सकिन्छ।

प्रहरीलाई गोली हान्ने आदेश दिने अनि गोली प्रहार गरेवापत प्रहरीलाई कारवाही गर्ने र आदेश दिने प्रमुख जिल्ला अधिकारीलाई छुट दिने द्वैध चरित्र हालसम्मका नेतृत्वले अपनाउने गरेको पाइन्छ। प्रधानमन्त्रीको राजीनामा पनि आन्दोलनलाई मत्थर पार्ने यिनै चरित्रमध्ये एक रहेको छ। किनभने, सत्तालाई आफ्नो पेवा मानेका यी नेताहरूमा घुमिफिरी फेरि सत्तामा आउन पाउने विश्वास रहेको हुन्छ। यस्ता चरित्रका नेताहरुले कसरी नैतिकताको विषयमा बोल्ने हिम्मत राख्दछन्?

जेनेरेसन जेडको प्रमुख विशेषता भनेको शान्तिपूर्ण आन्दोलनमा दृढ विश्वास हो। यिनीहरू हिंसा, हत्या, सार्वजनिक सम्पत्तिमा आगजनी वा अपराधी भगाउने कार्यलाई आफ्नो आन्दोलनको हिस्सा मान्दैनन्। जेन जेडको मुख्य निराशा भनेको देशमा व्याप्त भ्रष्टाचार र बेथिति हो र यसकै विरुद्ध उनीहरूले आन्दोलन गरेका हुन्। जेन जेडको आन्दोलनको प्रारम्भ शान्तिपूर्ण थियो। हालसम्म मृत्यु हुनेको संख्या धेरै विद्यार्थी, किशोर र युवाहरू सहित ५१ पुगेको छ, सार्वजनिक सम्पत्ति नष्ट गर्ने, अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालय जलाउने, कारागारबाट अपराधी भगाउने जस्ता कार्यहरु भएका छन्। समाज अनिश्चितताका बीच त्रसित अवस्थामा छ। हालको आन्दोलनमा जेन जेड उमेर समूहका तर जेन जेडको सिद्धान्तविपरीतका विभिन्न समूहले यस प्रकारको हिंसात्मक कार्य गरेको पाइएको छ, जुन आन्दोलनको मूल अभिव्यक्ति थिएन। यस्ता निन्दनीय कार्यहरूमा विभिन्न घुसपैठ समूहको उपस्थिति रहेको सामाजिक सञ्जालबाट बाहिरिएका दृश्य प्रमाणहरूले पुष्टि गरिसकेका छन्।

जेन जेडले समाज र देशको भविष्यप्रति उच्च संवेदनशीलता देखाएको अवस्था छ। उनीहरूको आन्दोलन केवल वर्तमान असन्तोषको अभिव्यक्ति मात्र नभएर दीर्घकालीन सुधार र न्यायको माग रहेको छ। डिजिटल युगमा जन्मिएका र प्रविधिसँग घनिष्ठ रूपमा जोडिएका यी युवाले सरकारको असफलता, बेरोजगारी, भ्रष्टाचार, असमानता र लोकतान्त्रिक संस्थाको कमजोरीप्रति मात्रै प्रश्न उठाएका थिए। तर दुःखको कुरा घुसपैठियाहरुको पहिचान गर्न नसक्दा राज्यका प्रमुख संरचनाहरुमा पूर्ण रूपमा क्षति पुगेको छ। दुर्गम र संवेदनशील क्षेत्रहरू सुरक्षा प्रशासनको नियन्त्रणबाहिर पुगेको छ। यस अवस्थामा जनधनको रक्षाका लागि सेना आफ्नो उपस्थिति देखाउन बाध्य भएको छ।

आन्दोलनको सफलतापश्चात् जेन जेड प्रतिनिधिहरू र प्रधान सेनापतिबीच पटकपटक छलफल भइसकेको छ। निराशै निराशाका बीच भएको आन्दोलनबाट पुरानो सरकार विघटन भए पनि नयाँ सरकार निर्माण र सञ्चालनका लागि जेन जेडसँग स्पष्ट मार्गचित्र छैन। यसले देशलाई थप अस्थिर बनाइराखेको छ। वास्तविक जेन जेडहरूबीच नै अब के गर्ने भन्ने विवाद भइरहेको अवस्थामा 'धमिलो पानीमा माछा मार्ने' प्रयत्न गर्दै नयाँ प्रधानमन्त्री बन्ने आकांक्षासहित केही 'चैते' जेन जेड समूहहरुले जङ्गी अड्डामा बिन्तीपत्र चढाइसकेको अवस्था छ। नयाँ सरकार निर्माणमा कठिनाइ, घुसपैठ समूहको हस्तक्षेप, आन्तरिक विवाद र व्यवस्थापकीय कमजोरीले जेन जेड आन्दोलनको सफलता संस्थागत गर्न चुनौतीपूर्ण बनाएको छ।

आन्दोलनको सफलतालाई संस्थागत गर्नु 'जेड' पुस्ताको अर्को महत्त्वपूर्ण चुनौती हो। आन्दोलनमा होम्न बाध्य बनाउने पुराना नेताहरू पुनः सामाजिक सञ्जालमार्फत् 'एक्सक्युज' मागिरहेका छन्, गल्ती भयो अब सुध्रिन्छौं भनेर मिथ्या प्रचार गरिरहेका छन्। आन्दोलनको मुख्य एजेण्डा भनेको विधिको शासन स्थापना गर्नु, भ्रष्टाचारको अन्त्य गर्नु र 'आउटडेटेड' नेतृत्वलाई बिदा गर्नु नै हो। तसर्थ, 'टेस्टेड' व्यक्तिहरुको 'सुगर कोटेड' बोलीमा नफस्न सबै जेन जेड साथीहरु सतर्क रहन आवश्यक छ। अन्यथा, देशले पुनः अर्को रक्तपातको सामना गर्नुपर्ने स्थिति आउन सम्भावना रहन्छ।

पुरातन नेता संविधानलाई जोगाउनुपर्ने, अहिलेकै संविधानबाट निकास खोज्नुपर्ने बताइरहेका छन्। सामाजिक सञ्जालमा देखिएका हिन्दु राज्यको पुनःस्थापना गर्ने, प्रदेश संरचना हटाउनेजस्ता अभिव्यक्तिबाट उनीहरू त्रसित भएका छन्। यो पंक्तिकार स्वयम् जेनेरेसन जेडकै सदस्य भएकाले हाम्रो माग सुशासन वा विधिको शासन नै भएको जोडसँग राख्न चाहन्छु। सुशासनले हामी सबैलाई अनुशासित बनाउँछ, आचरणवान् बनाउँछ, पारदर्शिता र जवाफदेहिता बढाउँछ, समग्रमा राज्यको स्तर माथि उकास्छ। यदि संविधान बदल्दैमा देशको अवस्था बदलिन्छ भने किन नबदल्ने? के 'जेनेरेसन एक्स' र 'जेनेरेसन वाइ'ले तत्कालीन राज्यसत्ताविरुद्ध विप्लव मच्चाएको होइन र? संविधान बदलेको होइन र? व्यवस्था बदलेको होइन र? तर तपाईँहरूले व्यवस्था मात्रै बदल्नुभयो, अब हामी देशको अवस्था बदल्न लागिपरेका छौं। तसर्थ, हाम्रो आन्दोलनलाई दूषित पार्ने कुनै पनि प्रयत्न 'आउटडेटेड' पुस्ताले नगर्दा राम्रो हुन्छ।

जेन जेड रचनात्मक, नवप्रवर्तनात्मक, शान्तिपूर्ण माध्यमबाट परिवर्तन ल्याउने क्षमता राख्ने उमेर समूह हो। हिंसात्मक घटनाहरू बाह्य तत्व, घुसपैठ समूह वा स्वार्थी राजनीतिक दलहरूको कारण मात्र भएको हो। आन्दोलनको मूल उद्देश्य विधिको शासन, भ्रष्टाचारमुक्त सरकार र जवाफदेही नेतृत्व सुनिश्चित गर्नु मात्र थियो। आन्दोलनले पुरानो नेतृत्वको असफलता, भ्रष्टाचार र असंवेदनशीलता विरुद्ध सार्वजनिक चेतना जगाएको छ। युवाहरूले स्पष्ट रूपमा भ्रष्टाचारमुक्त, न्यायसंगत, पारदर्शी र जिम्मेवार सरकारको माग गरेका छन्। यही उद्देश्यलाई केन्द्रमा राख्दै भविष्यको मार्गचित्र तयार गर्नु आवश्यक छ। यदि यो पुस्ताको आवाजलाई सही तरिकाले सम्बोधन गरियो भने नेपालमा स्थायी सुधार, लोकतन्त्रको सुदृढीकरण र भ्रष्टाचारमुक्त समाज निर्माण सम्भव हुनेछ।

(२० वर्षीया अपर्णा खरेल अपराधशास्त्रमा स्नातक अध्ययनरत छिन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad