टाढाबाट म आज जे लेख्दैछु, इतिहासमा यो कतै न कतै रेकर्ड होस् वा हुनुपर्छ भनेर लेख्दैछु।
खासमा म यो, अलि दुईचार दिनअघि नै लेख्न चाहन्थेँ, जतिबेला नेपालका मुटुहरूमा लागेको आगो अझै निभिसकेको थिएन। तर सोचेँ– राप र तापका समयमा बनाइने विचार र प्रकट हुने भाव त्यति सही वा दीर्घकालीन महत्वका हुँदैनन्। त्यसमाथि म अलि टाढाको मान्छे। लाग्यो– पहिले केही दिन नजिककै मान्छेका कुरा बढी सुनौँ।
सुनेँ, प्रशस्त सुनेँ। फेरिफेरि सुनेँ– विश्लेषकका कुरा, पत्रकारका कुरा, कानुनविदका कुरा, अनेकका कुरा, आगो सल्काउने र आगो ताप्नेका कुरा।
ती सबैका कुरा सुने/पढेपछि मलाई लाग्यो– नेपाली चेत अझै कमजोर छ। र, यो चेतले देशलाई अरु डरलाग्दा सुरुङमा धकेलिरहेको छ।
यस्तो समय आफना मनमा उत्पन्न भाव र विचारहरूलाई रोक्नु हुँदैन, प्रकट हुन दिनुपर्छ भनेर म आज यो लेख लेख्दैछु बडो स्पष्टताका साथ।
खास कुरा सुरु गर्नुअघि म दुई कुरा विनम्रतासाथ स्पष्ट पार्न चाहन्छु।
एक– यो लेख पढ्दै गर्दा कृपया तपाईंहरू कतै यो नठान्नुहोला, म स्थापित राजनीतिक दलमा दीर्घकालसम्म नेतृत्वमा रहेका सबै अवगुणहरूको समर्थन गरिरहेको छु। तिनका प्रति मेरा अनेक गुनासा हिजो पनि थिए, आज पनि छन्।
दुई– यो लेख पढ्दै गर्दा कृपया तपाईंहरू यो नठान्नुहोला, म भदौ २३ र २४ मा मारिएका ७४ जना भाइबहिनीको मृत्यवरणको अवमूल्यन गरिरहेको छु। म ती सबै ७४ परिवार र आफन्तजनको पीडा सँगसँगै छु। मृत्युको पीडाको भाव वर्णन, मानव जीवनको सबैभन्दा कठिन भाव वर्णन हो। त्यो भाव वर्णन म गर्न सक्दिनँ, जति परिवार र आफन्तजनहरूले गर्न सक्छन्। सायद तिनले पनि सक्दैनन्। म यति मात्र भन्न सक्छु– कारण र कर्ता जो होऊन्, मृत्युको पीडा वर्णानातीत छ।
यति भनेपछि अब म आज यहाँ गर्न चाहेका मूल तीन प्रश्न उल्लेख गर्न चाहन्छु।
एक– नेपालमा भदौ २३ र २४ मा भएको विद्रोह हो कि विध्वंश?
दुई– नेपालका राष्ट्रपतिले जे गरे, त्यो ठिक वा बेठिक?
तीन– के देश कुनै एक पुस्ताको विषय हो?
यी तीन प्रश्नका जवाफ म यो लेखमा बडो कठोरतापूर्वक दिने कोसिस गर्नेछु।
यीमध्ये कुनै एक प्रश्नमा तपाईंहरूले आजसम्म कतै नसुनेका वा नपढेका वाक्यहरू पढ्न पाउनु हुनेछ, धैर्यका साथ पढ्नु होला।
अब मलाई माथि उल्लेख गरिएका तीन प्रश्नका एकएक गर्दै जवाफ दिने अनुमति दिनुस्।
पहिलो प्रश्न थियो– यो विद्रोह हो वा विध्वंश?
मेरो मनले प्रस्टताका साथ भन्छ– नेपालमा भदौ २३ र २४ मा जे भयो, त्यो विद्रोह हुँदै होइन, विध्वंश हो।
विद्रोह र विध्वंश दुई बिल्कुल फरक चिज हु्न। आदर्श, सिद्धान्त, चेत र प्रस्ट एजेन्डा सहितको ‘तरिकाको आक्रोश’– प्रकटीकरणलाई विद्रोह भनिन्छ।
ध्यान दिनुस् है हरेक शब्दमा।
जहाँ आदर्श गौण, सैद्धान्तिक चेतशून्य, एजेन्डा अस्पष्ट र तरिकाबिनाको मनपर्दी हुन्छ, त्यहाँ हिंसा र विध्वंश हुन्छ। नेपालमा भएको विध्वंश हो, विद्रोह होइन।
पढिरहनुभएका तपाईंहरूलाई लाग्दो होला– दल र तिनका नेतृत्वकर्ताहरूमाथि आक्रोश थियो, जे भयो, त्यो तिनका प्रतिको विद्रोह हो।
म भन्छु– होइन।
त्यो कसरी विद्रोह हुन्छ? जसले अरुको आक्रोशमा आफ्नै घर जलाउँछ? आफ्नै आमाको काख चिथोर्छ? आफ्नै गाला कोर्छ र आफैँ रक्ताम्य हुन्छ? जसले यसो गर्यो, त्यो विद्रोही होइन, धुन्धुकारी हो। विध्वंशकारी हो।
नाम जसको वा जस्तो होस्। विध्वंश? अहँ, स्वीकार्य छैन।
टाढाबाट जब मैले काठमाडौँ जलिरहेको देखेँ, तब मलाई लाग्यो– स्थापित दल र त्यसका नेतृत्वकर्ताहरूले सय गल्ती गरिरहेका थिए, आज कोही कसैले हजार गल्ती गरिरहेको छ।
नेपालका अधिकांश तथाकथित विश्लेषक वा मै हुँ भन्नेहरूले भने विध्वंशलाई जनविद्रोह भनिरहेका छन्। उनीहरू भदौ २३ र भदौ २४ फरक हो भनिरहेका छन्। २४ मा घुसपैठ भएको भनिरहेका छन्।
ती रकमी कुरा गरिरहेका छन्।
भदौ २४ नभएको भए भदौ २३ को अपरान्हअघिको अर्थ हुने थिएन। भदौ २४ ले भदौ २३ को अर्थ दिएको हो। भदौ २३ को माइतीघर मण्डलको मध्यान्हसम्मको समय मात्रै भएको भए वा बालुवाटारमा कोही राँको लिएर नगएको भए तत्कालीन प्रधानमन्त्री केपी ओली बालुवाटारबाटै हेलिकोप्टर चढेर कतै विलुप्त हुने थिएनन्। संसद् भवनमा आगो नलगाएको भए प्रतिनिधि सभा उडेर सुशीला कार्कीको मुठ्ठीमा विलुप्त हुने थिएन। सिंहदरबार र सर्वोच्च अदालत नजलेको भए राज्य सत्ता अनिश्चयको भुमरीमा विलुप्त हुने थिएन।
यो पनि थपिहालौँ– यदि राष्ट्रपति कार्यालय र स्वंय राष्ट्रपतिको ज्यान जोखिममा पर्दैनथ्यो भने सुशीला कार्की प्रधानमन्त्री बन्ने थिइनन्।
शब्दशब्दमा ध्यान दिनु होला, म प्रस्टताका साथ फेरि भन्दैछु– घुसपैठ नभएको भए, संसद् भवनमा आगो लाग्दैनथ्यो, सिंहदरबारमा आगो लाग्दैनथ्यो, बालुवाटारमा आगो लाग्दैनथ्यो। बालुवाटारमा आगो नलागेको भए, ओली हेलिकोप्टरमा उडेर विलुप्त हुने थिएनन्।
नक्कली कुरा गर्नु हुँदैन, नेपालमा आज जुन सरकार छ– त्यो विध्वंश र खरानीको जगमा उभिएको सरकार हो।
हिजो माओवादीले दस वर्ष विध्वंश गर्यो, नेपालीले त्यसलाई परिवर्तन भन्यो। आज अर्कोले विध्वंश गर्यो, फेरि यसलाई पनि धुन्धान क्रान्ति वा विद्रोह भनिँदैछ। नेपाली कति विध्वंशदेखि नअघाएको? नेपालीले विद्रोह के हो, विध्वंश के हो, किन छुट्याउन नसकेको?
भदौ २३ का रचियता जो हुन्, २४ का पनि तिनै हुन्। नभए पनि २४ को जिम्मा २३ ले लिनुपर्छ।
कहाँ यसरी पाइन्छ? पाइँदैन। पाइँदैपाइँदैन।
यति पनि भन्न सक्ने आँट नभएका नेपाली विश्लेषकहरू मेरो दृष्टिमा नक्कली हुन्, घातक हुन्। मोही माग्ने ढुंग्रो लुकाउने, रकमी हुन्।
ती रकमीहरूलाई म सोध्न चाहन्छु– भदौ २४ मा छानीछानी सिंहदरबार, सर्वोच्च अदालत, स्वास्थ्य मन्त्रालय जलाइरहेका मान्छे के सबै ती २८ वर्षभन्दा माथिका थिए? ठाउँठाउँमा सरकारी कार्यालय जलाउने र त्यसलाई सोसल मिडियामा ‘रोमान्टिसाइज’ गर्नेमा २८ वर्ष मुनिका कति र माथिका कति थिए?
घुसपैठ रे!
आफनो कम्मरको खुकुरी कुन हुस्सुले चोरेर लग्यो भनेर थाहा नपाउनेले त्यसो भए किन विद्रोहको आँट गरेको?
कम अन गाइज, थिंक अबाउट इट।
‘गाइज’हरू, तिमीहरू सोच्दै गर, म नेपालको अहिलेको प्रधानमन्त्रीलाई यति सुनाउन चाहन्छु– तपाईं विद्रोहबाट होइन, विध्वंशबाट प्रधानमन्त्री हुनुभएको हो। विध्वंश आगो हो, आगोले मान्छे चिन्दैन।
आज विध्वंश पनि एल्गोरिदममा चलिरहेको छ। अरब स्प्रिङ्स, श्रीलंका, बंगलादेश, नेपाल। यो एल्गोरिदम फेरि पनि लागू हुन सक्छ। डर त यसको पो छ। नेपालमा भएको विध्वंशका परिणामहरू देख्न र भोग्न त बाँकी नै छ।
अब म मैले उठाएको दोस्रो प्रश्नको जवाफतिर लाग्छु।
मेरो दोस्रो प्रश्न थियो– नेपालका राष्ट्रपतिले जे गर्नु भयो, त्यो सही वा बेठिक?
अब म बडो महत्वपूर्ण प्रश्नको जवाफमा प्रवेश गर्दैछु।
भदौ २३–२४ को ताण्डवपछि भदौ २७ मा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले जे जस्तो ‘स्टेप’ लिए, त्यो कति ठिक वा कति बेठिक हो?
साँच्चिकै, यो ऐतिहासिक र करोडौँ मूल्यको प्रश्न हो। यो ऐतिहासिक र करोडौँ मूल्यको प्रश्नको जवाफ म हजार वा लाखमा दिन सक्दिनँ।
तर आज म मेरा प्रिय पाठकहरूलाई नेपालका राष्ट्रपति पौडेलले गुजारेको त्यो साँझको एउटा सन्दर्भ र संवाद सुनाउन चाहन्छु। जतिबेला राष्ट्रपति कार्यालयको अघिल्लो भाग जलिरहेको थियो र राष्ट्रपति पछिल्लो भागमा सैन्य सुरक्षामा आफ्ना पाँच जना सल्लाहकार सहित आफ्नो र देशकै ज्यानको डरमा थिए।
राष्ट्रपति कार्यालय जलेको, सिंहदरबार जलेको, सर्वोच्च अदालत जलेको टाढाबाट देखिरहेका म जस्ता मान्छे पनि आत्तिएर भनिरहेका थियौँ– सेनाले नियन्त्रणमा लिन किन ढिला गरेको? राष्ट्रपति किन अगाडि नआएको?
त्यो बेलाको राष्ट्रपतिको मनोविज्ञान अर्थात् ‘स्टेट अफ माइन्ड’, म अनुमान गर्न सक्दिनँ। यसकारण सक्दिन कि उनी आफैँ, देश र जनता बाँच्ने वा नबाँच्ने दोसाँधमा थिए। भदौ २४ र भदौ २७ का बीचमा नेपालका राष्ट्रपति निदाए कि निदाएनन्, म भन्न सक्दिनँ। यो बीचमा के भयो? औसत अरु मान्छे जस्तै मेरा मनमा पनि केही प्रश्न थिए।
मेरा मनमा खासगरी तीन प्रश्न थिए।
एक– के राष्ट्रपतिलाई नेपाली सेनाले कुनै दबाब दिएको थियो?
दुई– के पूर्वराजा ज्ञानेन्द्रले कुनै चलखेल गर्न खोजेका थिए?
तीन– के भारत वा अन्यत्रबाट यसो वा त्यसो गर्नु भनेर दबाब आएको थियो?
यी तीन प्रश्न सहित मेरो मनको एउटा मूल प्रश्न थियो– राष्ट्रपतिलाई खास के दबाब थियो त्यतिबेला? ठिक यही प्रश्न मैले राष्ट्रपतिसँगै अनिश्चयका तीन साँझ बिताएका पाँचमध्ये एक जनालाई सोधेको थिएँ।
सूचनाको स्रोतलाई सम्मान गर्दै म आज इतिहासको रेकर्डका लागि मैले सोधेका तीन प्रश्नमा उनले दिएको जवाफ सुनाउन चाहन्छु। मेरा माथिका तीन प्रश्नमा मैले पाएको जवाफ थियो– ‘राष्ट्रपतिमाथि त्यतिबेला न सेना, न पूर्वराजा, न भारत, सिर्फ सुरक्षाको दबाब थियो। सुरक्षा आफ्नो, देशको र जनताको।’
त्यसपछि राष्ट्रपतिले तत्कालीन अवस्थामा लिएका स्टेपहरूमाथि टिप्पणी गर्ने शब्द मसँग भएनन्। मैले मेरा अरु प्रश्नहरू ‘होल्ड’ गरेँ। ती कति संवैधानिक थिए वा थिएनन्, सोध्न मनै लागेन।
अब म फेरि इतिहासको रेकर्डका लागि भदौ २७ अर्थात् सुशीला कार्की प्रधानमन्त्री बन्नुअघिका प्रसव दिनका कुनै एक क्षणमा राष्ट्रपतिले भनेको एउटा वाक्य मेरा पाठकहरूलाई खुसुक्क सुनाउन चाहन्छु।
कुरा के भने सुशीला कार्की प्रधानमन्त्री बन्न तयार भएर आइन्, तर त्यो साँझ उनले एउटा सर्त राखिन्– पहिले प्रतिनिधि सभा विघटन हुनुपर्छ। राष्ट्रपति पौडेलले भने, ‘म राजा होइन।’
यो वाक्यपछिका अरु वाक्य शायद तपाईंहरूले पढी वा सुनीसक्नु भयो होला। म फेरि दोहोर्याइदिऊँ– ‘...विधि र प्रक्रिया नमान्ने हो भने म आफैँ सहिद बन्न तयार छु। संसद् विघटन गर्ने अधिकार मसँग छैन, एक घण्टा भए पनि संसद् बोलाऊँ।’
त्यसपछि जे सहमति भयो, त्यो प्रकट छ। त्यतातिर अहिले नलागौँ।
त्यो समय र क्षणमा राष्ट्रपतिले गरेका निर्णय वा लिएका ‘स्टेप’, त्यही क्षण वा समयको एउटा ‘बेस्ट स्टेप’ हो। बेस्ट स्टेप यसकारण कि मर्नुभन्दा बहुलाउनु निको। बाँचे पो दुनियाँ देखिन्छ। अब दुनियाँ देख्नु छ। खेल अब पो सुरु भएको छ। अब हुने खेलहरूमा देशले जित्छ भन्नेमा अनेक सन्देहहरू छन्। मेरा सन्देहहरू गलत होऊन, कामना छ।
अब म मेरो तेस्रो प्रश्नमा प्रवेश गर्न चाहन्छु – के देश कुनै एक पुस्ताको विषय हो?
तपाईंहरूले ख्याल गर्नु भयो कि भएन, मैले यो लेखको यो वाक्यसम्म जेन जी भन्ने शब्द प्रयोग गरेको छैन। यसो मैले जानीजानी वा नियतवश गरेको हुँ।
होला– कुनै खास उमेर समूहका आफ्ना उमेरजन्य खास उत्तेजना, विशेष भाव र महत्वाकांक्षा होलान् तर देशको कुनै खास उमेरजन्य उत्तेजना, विशेष भाव हुँदैन।
देश र राज्य कुनै खास उमेर समूहको मात्र विषय होइन। देश कुनै खास पुस्ताको डर, चेतावनी वा विध्वंशमा होइन, ज्ञान, अनुभव र अभ्यासको निरन्तरतामा चल्ने चिज हो। मैले दुनियाँमा कुनै यस्तो देश देखेको छैन, जहाँ यति वर्ष वा उति वर्षमुनिका मान्छेले राज्य सञ्चालन गर्ने भनेर अड्डी कसेका होऊन्, बिना कुनै सिद्धान्त, बिना कुनै एजेन्डा।
नेपाल जो राजनीतिक दृष्टिले असाध्यै नाजुक छ, त्यो देशलाई जेन जीका नाममा आज तमासाको विषय बनाइएको छ। एउटा कोही केटो आज देशलाई थर्काइरहेको छ। राष्ट्रपतिलाई बाजे भनिरहेको छ। र, नेपालका केही कथित विश्लेषक, बुद्धिजीबी र केही पत्रकार तिनैको गाथा गाइरहेका छन्। यस्तो लहड, यस्तो भावोत्तेजना र यस्तो चेतले देश जान्छ कहाँ?
जेन जी भन्ने शब्द र त्यसका नेतृत्वकर्ता हौँ भनेर अघि देखिएका व्यक्तिका हाँक त्यति सुहाउँदा छैनन्। हो, पुराना राजनीतिक दलका नेतृत्वकर्ताहरूप्रति नयाँ पुस्ताका गुनासा स्वाभाविक थिए, आक्रोश पनि स्वाभाविक थियो। तर के उनीहरू नेपाली कांग्रेस भन्ने दलले अपनाएको सिद्धान्तकै विरोधी हुन्? के ती एमालेको बहुदलीय जनवादकै विरोधी हुन्? उनीहरूको सिद्धान्त के हो? उनीहरूले दललाई मास्न चाहेका हुन् कि दलका एकखाले नेतृत्वकर्तालाई? उनीहरूले चाहेको व्यवस्था परिवर्तन हो कि अरु केही?
यो व्यवस्था परिवर्तन गर्न चाहेको हो भने कस्तो व्यवस्था ल्याउन चाहेको? भ्रष्टाचार र सुशासनका लागि के यो हदसम्मको विध्वंश जरुरी थियो? उनीहरूमध्ये कतिले आफना बाआमाले किनिदिएको मोटरसाइकल वा कारको पैसाको स्रोत के भनेर कहिल्यै सोधेका छन्? यी प्रश्नको जवाफ जेन जी भनिनेहरूले दिनु पर्दैन?
जवाफको त के कुरा, आजसम्म त्यसको नेतृत्व नै स्पष्ट छैन। आजसम्म त्यो पक्षबाट कुनै परिपक्व राजनीतिक स्टेटमेन्ट आएको सुनिएको छैन।
प्राध्यापक कृष्ण खनालको भाषा सापटी लिएर भन्न चाहन्छु– ‘हचुवामा आन्दोलन हुन्छ? भन्नु पर्यो नि हाम्रो नेता यो हो, अबको हाम्रो बाटो यो हो भनेर। खै देशलाई सम्बोधन गरेको? राजनीतिक सम्बोधन गरेको? यस्तो हचुवा पाराले हुँदैन। इमोसन एउटा कुरा हो।’
वाह, प्राध्यापक खनाल म तपाईंलाई सलाम गर्न चाहन्छु– जसले पहिलो पटक समयको हुरीमाथि प्रश्न गरिरहनु भएको छ। बाँकी अधिकांश त हुरीसँगै बतासिएका छन्।
आज नेपाललाई चाहिएको प्राध्यापक खनालजस्ता मान्छेका विचार हो। तर देश र सत्तालाई आज मजाक बनाइँदैछ। धुन्धानका मन्त्री बने भनेर रोमान्टिसाइज गरिँदैछ। म नेपालीजनलाई सोध्न चाहन्छु, जब राजा ज्ञानेन्द्रले शासन लिए, त्यतिबेला कस्ता मान्छे मन्त्री बनेका थिए तपाईंहरू सम्झिनु हुन्छ? डा उपेन्द्र देवकोटा, जलस्रोतविद् दीपक ज्ञवाली, अनुराधा कोइराला, डा दुर्गा पोखेरल, डा असर्फी शाह, गोपाल दहित... यस्तै अनेक एक से एक।
भयो के?
गाइज प्लिज थिंक अवाउट इट!
देश उमेरजन्य उत्तेजनाको विषय होइन।
(लेखक/पत्रकार सन्जय घिमिरे अमेरिकाको टेक्सासमा बसोबास गर्छन्। उनका थप लेख यो पेजमा पढ्न सकिन्छ।)
Shares

प्रतिक्रिया