विचार


प्रधानमन्त्री बालेन, यो एउटा ऐतिहासिक निर्णय गरिदिनुस्

प्रधानमन्त्री बालेन, यो एउटा ऐतिहासिक निर्णय गरिदिनुस्

सन्जय घिमिरे
जेठ ४, २०८३ सोमबार २०:४३, टेक्सस, अमेरिका

यो लेख सुरु गर्नुअघि म एउटा ‘वार्निङ’ अर्थात चेतावनी राख्न चाहन्छु– यो लेख कृपया तपाईंहरूले नपढ्नुस्, जोसँग एउटा ‘रेडिमेड’ र सतही जवाफ छ– ‘देशप्रति यति माया भए विदेशिएको किन?’

यो सुन्दा–सुन्दा म गलेको छु।

यस्तो ‘रेडिमेड’ वा ‘प्रि–अकुपाइड’ जवाफ पहिले नै तपाईं कोहीसँग छ भने, जो यो पढ्न खोज्दै हुनुहुन्छ, कृपया तपाईंहरू यहाँभन्दा अघि नबढ्नुस्, यो पढ्न रोक्नुस्। तपाईंहरूको मूर्खतासँग जोरी खोज्ने मुडमा म अहिले छैन। जोरी कुनै अर्कैबेला खोजौँला। जोरी पनि कहिले, कोसँग, किन खोज्ने भन्ने हुँदो रहेछ। जोरी पनि ताकतवर (शरीरको ताकत होइन) मान्छेसँग खेल्दा मज्जा आउँछ। म अक्सर ताकत गुमाएका धेरै मान्छे देख्छु– वरिपरि। यो मेरो घमण्ड होइन, बाध्यता हो।

तैपनि, ‘देशप्रति यति माया भए विदेशिएको किन?’ भन्ने प्रश्न अझै तपाईंहरू कसैसँग छ भने कृपया यो प्रश्न मलाई होइन, पहिले नेपाली समाज, समाजको मनोविज्ञान जान्ने विज्ञहरू, राज्यका सञ्चालक र अनेक गुड्डी हाँक्ने राजनीतिक दलका नेताहरूलाई सोध्नुस्।

कर्ता पनि उनै हुन्, कारण पनि उनै।

अझै तपाईं कोही जो यो पढिरहनु भएको छ र मलाई त्यही प्रश्न ‘देशप्रति यति माया भए विदेशिएको किन?’ भन्ने सोध्न अझै खोजिरहनु भएको छ भने म अब अलि ठाडो हुन्छु। म तपाईंहरूलाई पहिले सोध्छु– ‘के तपाईं राम हो, जो मलाई सीता ठानेर अग्निपरीक्षा लिन खोजिरहनु भएको छ?’ मलाई थाहा छ, तपाईं राम होइन। अनि म किन तपाईंकी सीता बनूँ? तपाईंले रामको चरित्र गुमाइसक्नु भएको छ भने मलाई तपाईं किन सीताको चरित्रमा देख्न चाहनुहुन्छ? नक्कली रामहरूका अगाडि सक्कली सीता बनेर अग्निपरीक्षा दिन म तयार छैन। अहँ, छैन।

असली राम र सीताको खास मायाको हिसाब न म जान्दछु, न तपाईं जान्नुहुन्छ। अझै कोही राम र सीताको मायामा जबर्जस्ती घुस्न चाहन्छ भने, म तपाईंहरूलाई यत्ति मात्र भन्न सक्छु– मायाको हिसाब–किताब संसारको सबैभन्दा जटिल र असाध्यै व्यक्तिगत हिसाब–किताब हो। यो हिसाब–किताब दिलको हो, दिमागको होइन।

कृपया, आज तपाईं आफ्नो दिमागको ढक्कन एकछिनका लागि बन्द गर्नुस्।

एउटा मान्छेको दिमागभित्र छिर्न, त्यसलाई खल्बल्याउन, त्यसमाथि हस्तक्षेप गर्न जति सजिलो छ, त्यति सजिलो दिलभित्र छिर्न, त्यसलाई खल्बल्याउन, त्यसमाथि हस्तक्षेप गर्न छैन।

कृपया आज मलाई मेरो दिलको कुरा गर्न दिनुस्। दिमागको त कुनै ठेगान छैन/हुँदैन, त्यसका अनेक स्वार्थ, जोडघटाउ र ‘रिफरेन्सेस’ हुन्छन्, जो सधैँ सही हुन्छन् भन्ने हुँदैन। यसैले आजभोलि म कसैको दिमागको फूर्ति अक्सर ‘इग्नोर’ गर्छु। दिमागले ‘सुगर कोट’ को काम गर्छ। हिजोआज मलाई ‘सुगर कोट’मा रुचि छैन। यसै पनि मलाई हिजोआज गुलियो मन पर्न छोडेको छ। यसैले म हिजोआज कालो कफी वा अग्र्यानिक रेड वाइन बढी मन पराउँछु, जहाँ चिनी र सल्फाइट थपिएको हुँदैन। आजकालका अक्सर दिमागमा ‘चिनी र सल्फाइट’को मात्रा बढी हुन्छ। यो म अलि प्रतीकात्मक रूपमा भनिरहेको छु। खासमा, म दिलको कुरा गर्न खोजिरहेको छु।

आज मलाई कृपया मेरो र म जस्तै लाखौँ नेपाली, जो आफ्नो जन्मभूमि बाहिर छन्, को दिलको कुरा गर्न दिनुस्।

विषय अलि संवेदनशील छ।

टाढाबाट आज म एउटा अलि बढी संवेदनशील विषयमा लेख्दैछु। तिनीहरूका लागि लेख्दैछु, जसमा विषयको गाम्भीर्य र संवेदनशीलतालाई बुझ्ने अझै पनि ठाउँ बाँकी छ।

विषय छ– नागरिकता।

खासमा यो विषयमा अलि पहिले नै लेख्नु पर्ने थियो। तर तर्कहरू कमजोर हुन्छन् कि भन्ने डरले उर्लंदो भावनालाई मैले धेरै पटक ‘होल्ड’ गरेँ। र सायद यो पनि हो– म नम्बरकै सही, कुनै बलियो सरकार पर्खिरहेको थिएँ।

तर्कहरू कमजोर हुन्छन् कि भन्ने डर मात्र मसँग थिएन, डर यो पनि थियो– नेपालमा बस्ने कतिपय नेपाली, दलका कतिपय नेता तथा तथाकथित बुद्धिजीवीहरूबाट प्रतिक्रियात्मक मूर्खता प्रकट हुन सक्छ। र, यसले म वा म जस्तै नेपालबाहिर बस्ने अरु लाखौँ नेपालीका भावनामा थप तनाव दिन सक्छ कि भन्ने। यसैले यो बीचमा मैले आफ्ना तर्क र भावनाहरूलाई ‘होल्ड’ गरिरहेँ।

म चाहन्नथेँ– म आफू जे हो, त्यो तँ होइनस् भनेर अरू कसैले भनेको सुन्न। आज लागेको छ– यो सही समय हो आफ्ना मनको कुरा भन्न। आफूले आफ्नै बारेमा जानेका कुरा भन्न।

खासमा मान्छेले सबैभन्दा बढी जान्ने भनेकै आफ्ना बारेमा हो, बाँकीका बारेमा अधिकांश अनुमानहरू हुन्। तर खै किन हो, हामी औसत नेपाली, औसत नेपाली नेता, औसत नेपाली बुद्धिजीवी आफ्ना बारेमा भन्दा बढी अरूका बारेमा जानकार भएको देखाउन मन पराउँछौँ। सुन्न पनि हामीलाई त्यस्तै कुरा मन पर्छ। यस्तो लाग्छ– औसत नेपाली, औसत नेपाली नेता र औसत नेपाली बुद्धिजीवी भनाउँदाहरूका जिनमा नै कतै कुनै त्रुटि छ।

मेरा प्रिय नेपाली प्रोफेसर, जो बितेर गए, डा. दुर्गा प्रसाद भण्डारीको त्यो वाक्य आज पनि दोहोर्‍याउँछु– ‘नेपालीको रगतमै समस्या छ, रगतै फेर्नुपर्छ।’

यो उनको लाक्षणिक भनाइ थियो।

म यो भन्दिनँ– हरेक नेपालीको रगत ‘प्योर’ छैन।

मलाई थाहा छ, मलाई जन्म दिने आमाको रगत ‘प्योर’ छ, अरूहरूको आमाहरूको पनि।

म र म जस्तै विदेशमा बस्ने नेपाली चाहन्छौँ– राज्यको रगत पनि आमाको जस्तै ‘प्योर’ होस्।

छोराछोरीहरू बिग्रन, भड्किन वा फरक बाटो हिँड्न सक्छन्। आमाहरूलाई बिग्रने, भड्किने वा फरक बाटो हिँड्ने छुट छैन कमसेकम छोराछोरीका हकमा।

म तपाईंहरूलाई एउटा भावुक क्षण सुनाउँछु।

एक वर्षअघि मैले नेपालमा रहेकी मेरी आमासँग फोनमा कुरा गरेँ। आराम–बिरामको कुरापछि आमाले भन्नुभयो– ‘ट्रम्पले सबैलाई पठाउने भनेको सुन्छु, तिमीहरूलाई पनि पठाइदिए हुन्थ्यो।’

आमाको त्यो लोभ, त्यो आग्रह, त्यो ‘प्युरिटी’।

म अवाक भएँ।

त्यस दिनदेखि मैले यो वाक्य मौका मिलेसम्म सुनाएको सुनायै छु।

र भनिरहेको छु – ‘मन होस् त त्यस्तो, आमाको जस्तो।’

ठीक त्यस्तै मन मेरो जन्मदेश नेपाल र त्यसका सञ्चालकहरूमा म खोजिरहेको छु।

कठै, कहाँ हुनु?

राज्य, आमा बन्ने दिशामा छैन।

राज्य, मजस्ता विदेशिएका लाखौँ नेपाली र नेपाली छोराछोरीहरूमाथि सर्त राखिरहेको छ। र भनिरहेको छ– ‘तँ गैरआवासीय होस्, तँलाई यो वा त्यो छुट छ, यत्ति वा त्यत्ति मात्र छुट छ। तैँले सम्पत्ति बेच्दा पचास प्रतिशत कर तिर्नुपर्छ। तिमीहरूले यत्ति मात्र गर्न पाउँछौ। तिमीहरूको दर्जा तेस्रो हो।’

आमाको मायामा पनि कतै सर्त हुन्छ? कतै दर्जा हुन्छ?

दुर्भाग्य, देशले आमाको जस्तो चरित्र गुमाउँदै गएको छ।

देश एउटा भूगोल मात्र होइन, जबर्जस्त भाव हो, जुन भावलाई म ‘आमाभाव’ भन्छु। नेपाल र खासगरी त्यहाँका सञ्चालकहरूमा खिइँदै गएको आमाभाव देखेर म अवाक् छु।

कुनै समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भनिरहेका थिए– ‘विदेशको नागरिकता लिइसकेकाहरूलाई नेपाली नागरिकता दिन सकिँदैन।’

कुनै बेला रामकुमारीहरू यसै भनिरहेका थिए– ‘अहँ, हुँदै हुँदैन।’

यस्तै–यस्तै कारणले त हो उनीहरूमाथि खहरे उर्लिएको, बगाएको। र, त आज, उनीहरूको हालत खराब छ।

म चाहन्छु– अब कोही शासकको पनि त्यस्तो हालत नहोस्। तर शासकहरूले, शासनमा पुगेपछि केही न केही त ‘लुज’ गर्ने नै रहेछन्।

हिजो आफ्ना वाचापत्रको मुख्य पाँच बुँदामा राष्ट्रिय स्वतन्त्र पार्टीले लेखेको थियो– ‘वंशजको नागरिकताको निरन्तरता।’ आज ऊ पनि अनेक सर्त वा झ्याउलाहरू भिडाउन खोजिरहेको छ।

जो नेपालमा जन्मिए–हुर्किए, नेपालमा हुँदा नेपालकै भारी बोके, आज नेपालबाहिर हुँदा पनि नेपाली भारी नै बोकेर हिँडिरहेका छन्, तिनीहरूलाई नेपाली नै मानिदिँदा के घाटा हुन्छ, मैले आजसम्म भेउ पाउन सकेको छैन।

धान्न पनि नसक्ने, आऊ पनि भन्न नसक्ने, यस्तो त हुँदैन।

कास्कीको देउरालीमा जन्मेको, त्यहाँको भीरपानीको पानी पिएको, त्यहाँको जंगलका काफल र ऐँसेलु खाएर हुर्केको, माटो र बाटो दुवै चिनेको म जस्तैलाई राज्य र त्यहाँका शासकहरू भनिरहेका छन्– ‘तिमीलाई नागरिकता दिन सकिँदैन।’

मेरी श्रीमती सुदूरपश्चिमकी, उनमा आज पनि अछामप्रति जति प्रेम छ, सायद त्यति प्रेम काठमाडौँमा बस्ने अछामीहरूमा पनि छैन। उनैको नागरिकतामाथि सरकार अनेक सर्त थोपिरहेको छ।

र, म देखिरहेको छु– भारतको बिहारको मोतीहारीको कोही कसैले नागरिकता लिइरहेको। मेरो ठाउँ एउटा बिहारीले लिइरहेको छ। यसमा हर्ष बढाइँ गर्नेहरू मेरो दृष्टिमा सबैभन्दा ठूला राष्ट्रद्रोही हुन्, जो नेपाललाई मौरिसस बनाउन चाहन्छन्, जहाँ भारतीय चौधरीहरू गएर राज गर्छन्।

तराईकी एउटी महिलाले कोही भारतीयसँग विवाह गरिन्, ती जोडीबाट सन्तान जन्मियो भारतमा। आमा नेपाली, बा भारतीय।आफ्नो सन्तानलाई नेपाली बनाउन  ती आमाले भनिन् कि ‘बाबु को हो मलाई थाहा छैन, म नेपाली हुँ, मेरो सन्तानलाई वंशजको नागरिकता दिइयोस्।’ त्यो सन्तानले आजको नेपाली कानुन अनुसार नागरिकता पाउँछ। त्यो पनि वंशजको।

म त हेरेको हेर्‍यै।

म देउरालीमा जन्मेको, बा देउरालीका, आमा देउरालीकी, म तेस्रो दर्जाको नागरिक। भारतको बिहारमा जन्मेको बा, बिहारमै जन्मेको सन्तान पहिलो दर्जाको?

‘कम अन’।

हो, यहाँनेर मलाई फेरि पनि तपाईंहरू गाली गर्न सक्नुहुन्छ– ‘यति हुरुक्क भएको भए देश छोडेको किन?’

कति पटक भन्नु!

म र म जस्तै नेपाली भनिरहेका छौँ– हामीले भूगोल छोडेका छौँ, मन छोडेका छैनौँ, हामीले समय छोडेका छौँ, चरित्र, रूप र रङ पनि छोडेका छैनौँ। हामीले छोडेको समय र ठाउँ हो ‘टाइम एन्ड स्पेस’, मन त्यो भन्दा माथि हुँदो रहेछ।

मैले पटकपटक भन्ने गरेको छु– मजस्तै बाहिर बस्ने लाखौँ नेपालीका दुइटी आमा छन्, जसलाई हामीले नेपालमै छोडेका छौँ। एउटी जसको पेटभित्र बस्यौँ, अर्की जसमाथि पहिलो पाइला टेक्यौँ।

नेपाल, म र मजस्तै विदेशमा बस्ने लाखौँ नेपालीको, दुइटी आमाहरू भएको देश हो।

जहाँ आमाहरू हुन्छन्, त्यहाँ मायाको, लगावको, भावुकताको कुनै सीमा हुँदैन। रेमिट्यान्स त दोस्रो कुरा हो।

प्रधानमन्त्री, म यो कुरा तपाईंलाई कसरी सम्झाऊँ?

सस्तो चेतमा रमाइरहेको नेपाली राजनीति, समाज र तथाकथित बुद्धिजीवीहरूलाई म यो कुरा कसरी सम्झाऊँ?

मेरा एक जना साथीसरहका दाइ छन्, जसको नाम हो वासु घिमिरे। घिमिरे थर भएकाले ठान्नुहोला– मेरै दाजुभाइ वा घर–परिवारकै मान्छे हुन्। होइन, उनी अहिलेका प्रधानमन्त्री निर्वाचित जिल्लाका मान्छे, म कास्कीको। फर्केका अमेरिकाबाट।

भन्न हुने हो कि होइन, पछिल्लो निर्वाचनमा उनी अहिलेका प्रधानमन्त्रीलाई जिताउन झापा पुगेका थिए। अन्य कतिपय ठाउँमा पनि रास्वपाका उम्मेदवारलाई जिताउने रणनीति बनाउँदै हिँडेका थिए।

वासु घिमिरे आजभन्दा पच्चीस–तीस वर्षअघि काठमाडौँको ठमेलमा ‘किलरोयज्’ नामको रेस्टुरेन्ट चलाउँथे, जुन रेस्टुरेन्ट त्यतिबेला काठमाडौँको एउटा ‘स्टाटस सिम्बोल’ थियो।

उनै वासु घिमिरे माओवादी आगोको रापतापले गलेर अमेरिका आए। अमेरिकामा संघर्ष गरे, पैसा ठीकठाक कमाए। तीन वर्षजति भयो, ती नेपाल फर्केका। नेपाल फर्केर उनले काठमाडौँको कमलादीको ‘स्काइ वाक’को ठीक तलतिर नेपालीका लागि नौलो ‘बुरिटो’ रेस्टुरेन्ट खोलेका छन्। बीस–पच्चीस जनालाई रोजगार दिएका छन्। पनौतीको डाँडातिर गजबको टावर बनाएका छन्।

यो भन्दा बढी आज उनी आफू जन्मे–हुर्केकै देशमा आफ्नो नागरिकता खोजिरहेका छन्। नेपाल सरकारलाई सोधिरहेका छन्– ‘नागरिकता खोइ?’

अभियान चलाइरहेका छन्– नागरिकता खोइ?

उनी म जस्तो बढी नै भावुकताको कुरा गर्दैनन्। उनी वंशजको नागरिकताको निरन्तरताको हिसाब–किताब अंकमै गर्छन्।

उनको तथ्यांकले भन्छ– वंशजको नागरिकताको निरन्तरता गर्दा देशलाई एक पैसाको घाटा छैन, बरु अर्बौँको फाइदा छ।

उनी नेपाल सरकारलाई यो पनि सम्झाउन खोजिरहेका छन् – ‘नोट चल्ने, भोट नचल्ने हुनु हुँदैन।’

प्रधानमन्त्री बालेन, तपाईं आफ्ना पाँच मिनेट वासुजीलाई दिनुस् र सुन्नुस् उनका कुरा। तब थाहा लाग्नेछ– नाफा कहाँ छ?

हामी भारतीयहरूलाई हेरेर गुल्मीको एउटा गाउँ वा कास्कीको एउटा गाउँमा जन्मे–हुर्केको नेपालीप्रति धारणा बनाउँछौँ। हाम्रा अहिलेसम्मका शासकहरूले यो कहिल्यै छुट्ट्याएनन् वा छुट्याउन खोजेनन्– गुल्मीमा जन्मेको पोखरेल हिजो हामीसँगै थियो, हाम्रै थियो, आज हामीसँग छैन तर हाम्रै हो, हाम्रै छ र भोलि फेरि हामीसँगै हुन सक्छ, हाम्रो त यसै हो।

आफ्ना टाढा भए पनि पराइ हुँदैनन्, पराइले जति गोडा मोले पनि आफ्ना हुँदैनन्।

प्रधानमन्त्री, तपाईं आज जीवन र राजनीति दुवैको उच्चतामा हुनुहुन्छ। म तपाईंलाई आज तपाईंको व्यक्तिगत र राजनीतिक जीवनको एउटा ऐतिहासिक निर्णय गरिदिनुस् भन्ने आग्रह गर्न चाहन्छु। भनिदिनुस्– नेपाली जहाँ गएर बसेका हुन्, ती हाम्रै हुन्, हाम्रै रहिरहनेछन्।

र, ढुक्कले गरिदिनुस् वंशजको नागरिकताको निरन्तरता। यसको धेरै ठूलो र दीर्घकालीन महत्व छ।

यसो गर्दा कतैबाट घाटा छैन। बरु यो निर्णय तपाईंको आफ्नै राजनीतिक जीवनकालको सबैभन्दा महत्वपूर्ण र दीर्घकालीन अर्थ राख्ने निर्णय हुनेछ।

तपाईंलाई आज यो ठाउँमा पुर्‍याउने ती नेपाली पनि हुन्, जो नेपालमा छैनन्। तिनीहरूको ऋण तपाईं तिर्नुस्, नेपाल आमाको ऋण हामी तिरौँला।

दिन यस्तो नआओस्, आमाहरूले सोधून्– छोरा–छोरीहरूको नागरिकता खोइ?

दिन यस्तो नआओस्, तपाईंलाई भोट दिन नेपालमा रहेका आफन्तहरूलाई दबाब दिने (गैरआवासीय नेपाली)हरूले सोधून्– हाम्रो नागरिकता खोइ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad