विचार


कांग्रेसलाई आग्रह : बीपीको नाम बेच्न छाड, विचार बाँच्न थाल

कांग्रेसलाई आग्रह : बीपीको नाम बेच्न छाड, विचार बाँच्न थाल

राजु नेपाल
साउन ६, २०८३ बुधबार ६:१, काठमाडौँ

‘विरासतले मात्र इतिहास बाँच्दैन; इतिहास जोगाउन विचार, चरित्र र नैतिक साहस चाहिन्छ।’

आज साउन ६ गते। नेपाली कांग्रेसका संस्थापक, जननायक, लोकतान्त्रिक समाजवादका प्रणेता तथा आधुनिक नेपालको लोकतान्त्रिक चेतनाका सबैभन्दा प्रभावशाली राजनीतिक चिन्तक विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस। आज देशभर नेपाली कांग्रेसका तर्फबाट माल्यार्पण, श्रद्धाञ्जली सभा, विचार गोष्ठी र औपचारिक भाषणहरू हुनेछन्। नेताहरूले बीपीका आदर्श, लोकतन्त्र, राष्ट्रियता र समाजवादका बारेमा लामो–लामो भाषण गर्नेछन्। सामाजिक सञ्जाल बीपीका तस्बिर र उद्धरणले भरिनेछ।

तर एउटा असहज प्रश्न आज पनि उभिएको छ, के आजको नेपाली कांग्रेसले साँच्चै बीपीलाई सम्झिरहेको छ, कि केबल बीपीको नामको राजनीतिक उपभोग गरिरहेको छ?

बीपीको तस्बिरमा फूल चढाउने तर उहाँको विचारलाई व्यवहारमा नउतार्ने हो भने त्यो श्रद्धाञ्जली होइन, विडम्बना हो, ढोङ हो। बीपीको नाममा कार्यक्रम गर्ने तर पार्टीभित्र लोकतन्त्र, नैतिकता, सहिष्णुता र वैचारिक बहसलाई समाप्त पार्ने हो भने त्यो सम्मान होइन, उहाँको विरासतप्रतिको अपमान हो।

आज कांग्रेसको अवस्था हेर्दा एउटा निष्कर्ष सहजै निकाल्न सकिन्छ, कांग्रेसमा बीपीको तस्बिर बाँकी छ, तर बीपीको विचार क्रमशः हराउँदै गएको छ। विचारको स्थान घमण्डले लिएको छ, संवादको स्थान कुण्ठाले, र आदर्शको स्थान पार्टीभित्र र बाहिरको सत्तामोहले।

नेपाली कांग्रेस सामान्य राजनीतिक दल होइन। यसले २००७ सालको प्रजातान्त्रिक क्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६२÷६३ को ऐतिहासिक आन्दोलनको नेतृत्व गरेको गौरव बोकेको छ। बीपीका विचारसँगै हजारौँ नेता र कार्यकर्ताको बलिदान, जेल, निर्वासन र त्यागले यो पार्टी निर्माण भएको हो।

बीपी कोइरालाले नेपाली कांग्रेसलाई निर्वाचन जित्ने संगठनका रूपमा मात्र होइन, राष्ट्र निर्माणको अभियानका रूपमा परिकल्पना गर्नुभएको थियो। उहाँका लागि लोकतन्त्र सत्ता प्राप्तिको साधन थिएन; त्यो नागरिक स्वतन्त्रता, सामाजिक न्याय र राष्ट्रिय आत्मसम्मानको आधार थियो। लोकतान्त्रिक समाजवाद उहाँका लागि नारा मात्र थिएन, गरिब, किसान, मजदुर र मध्यमवर्गीय नेपालीको जीवनस्तर उकास्ने व्यावहारिक राजनीतिक दर्शन थियो। ‘एक हल गोरु, एउटा दुहुनो गाई र सम्मानजनक जीवन’ भन्ने उहाँको दृष्टान्त त्यही समाजवादको मानवीय व्याख्या थियो। 

तर आज कांग्रेसको समाजवाद चुनावी घोषणापत्रको एउटा अनिवार्य शब्द मात्र बनेको छ। बीपीको नाम भाषणमा धेरै आउँछ, तर नीति निर्माणमा उहाँको विचार देखिँदैन। विचारभन्दा समीकरण, सिद्धान्तभन्दा सत्ता र चरित्रभन्दा अवसरवादलाई प्राथमिकता दिने प्रवृत्तिले कांग्रेसलाई आफ्नो मौलिक पहिचानबाट टाढा पुर्‍याएको छ।

आजको कांग्रेस स्पष्ट रूपमा अनेक शक्ति केन्द्रमा विभाजित छ। वैचारिक बहस हराएको छ; त्यसको ठाउँ गुटीय प्रतिस्पर्धाले लिएको छ। नेतृत्वको केन्द्रमा नीति र कार्यक्रमभन्दा व्यक्तित्वको टकराव छ। दुवै पक्ष आफूलाई कांग्रेसको वास्तविक उत्तराधिकारी ठान्छन्, तर कसैले पनि कांग्रेसलाई बीपीको मार्गमा फर्काउने ठोस वैचारिक बहस अघि बढाएको देखिँदैन।

एकातिर आजका संस्थापन इतर शक्तिहरू छन्, जसले लामो समय पार्टी सञ्चालन गर्दा कांग्रेसलाई क्रमशः व्यक्तिकेन्द्रित र अवसरवादी संस्कृतितर्फ धकेले। उनीहरूकै कार्यकालमा नीति र सिद्धान्तभन्दा गठबन्धन, पद बाँडफाँट र शक्ति सन्तुलन प्राथमिकतामा परे। सिद्धान्त नमिल्ने शक्तिहरूसँग गरिएको अपवित्र चुनावी गठबन्धनले कांग्रेसको वैचारिक स्पष्टता मात्र होइन, जनविश्वास समेत कमजोर बनायो। आज पनि त्यसबाट भएको पराजयको आत्मसमीक्षा गर्नुभन्दा वैधानिक निर्णयलाई अस्वीकार गर्दै समानान्तर गतिविधिमा लाग्नु, संगठनात्मक प्रक्रियालाई अविश्वास गर्नु र ‘हामीबिना कांग्रेस चल्दैन’ भन्ने मनोविज्ञान पाल्नु लोकतान्त्रिक संस्कृतिसँग मेल खाने व्यवहार होइन।

तर दोष एउटा पक्षको मात्र होइन। विशेष महाधिवेशनपछि नेतृत्वमा पुगेको नयाँ संस्थापन पक्षले पनि अपेक्षित परिपक्वता देखाउन सकेको छैन। रूपान्तरण, नवीकरण र बीपीको मार्गमा फर्कने नारा दिएर नेतृत्वमा पुगेकाहरू व्यवहारमा त्यत्तिकै गुटीय सोच, असहिष्णुता र निषेधको राजनीतिमा अल्झिएको देखिन्छ। पार्टीलाई समेटेर लैजानुपर्ने ठाउँमा सदस्यता अद्यावधिक नगर्नेलाई निष्कासनको चेतावनी दिने, फरक मतलाई शत्रुजस्तो व्यवहार गर्ने र आफूलाई मात्र बौद्धिक तथा सुधारवादी देख्ने प्रवृत्तिले संगठनलाई झन् विभाजित र जरैबाट कमजोर बनाएको छ।

बीपीले भनेका थिए, ‘लोकतन्त्र भनेको असहमतिलाई सम्मान गर्ने संस्कृति हो।’ आज बीपीको नाममा स्मृति दिवस मनाउनेहरूमा कांग्रेसभित्र यही संस्कृतिको सबैभन्दा बढी अभाव देखिन्छ।

आज कांग्रेसभित्र वैचारिक आत्मविश्वासभन्दा व्यक्तिगत अहंकार बलियो भएको छ। एउटा पक्ष विगतको शक्तिको घमण्डबाट मुक्त हुन सकेको छैन भने अर्को पक्ष नयाँ वैधानिकताको घमण्डमा रमाइरहेको छ। दुवै पक्षमा आत्मासमीक्षाको अभाव छ, यथार्थ स्वीकार्ने सामथ्र्य अभाव छ।

घमण्डले संवादलाई मार्छ। कुण्ठाले विवेकलाई कमजोर बनाउँछ। यही कारण कांग्रेसभित्र असहमति अब विचारको विषय होइन, व्यक्तिगत सम्बन्धको विषय बन्न थालेको छ। आलोचना गर्नेहरूलाई शत्रु देख्ने र समर्थन गर्नेहरूलाई मात्र योग्य ठान्ने संस्कृतिले पार्टीलाई संस्थाभन्दा गुटहरूको संघमा रूपान्तरण गरिरहेको छ।

यसको प्रत्यक्ष असर लाखौँ निष्ठावान कार्यकर्तामाथि परेको छ। वर्षौँ जेल बसेका, संघर्ष गरेका र पार्टीलाई जीवन दिएका कार्यकर्ताहरू आज निर्णय प्रक्रियाबाट बाहिर छन्। उनीहरूको स्थान पहुँचवालाले लिएका छन्। कार्यकर्ता निराश छन्, युवा अन्योलमा छन् र मतदाताले कांग्रेसको दिशाबारे प्रश्न गर्न थालेका छन्।

देश यतिबेला अनेक चुनौतीसँग जुधिरहेको छ। बाढी, पहिरो र प्राकृतिक विपद्ले सयौँ परिवार विस्थापित भएका छन्। कृषिमा उत्पादन घटिरहेको छ। उद्योग–व्यवसाय संकटमा छन्। शिक्षित युवा भविष्य खोज्दै दैनिक विदेश गइरहेका छन्। अर्थतन्त्रमा सुस्ती छ। जनतामा निराशा बढ्दो छ। यस्तो अवस्थामा प्रमुख राजनीतिक दलको जिम्मेवारी के हुनुपर्थ्यो?

यो अवस्थामा कांग्रेसको जिम्मेवारी राष्ट्रिय एजेन्डा निर्माण, वैकल्पिक नीति प्रस्तुत गर्ने, जनताको पीडामा उभिने र सरकारलाई रचनात्मक दबाब दिने हुुनुपर्थ्यो। तर के हुँदैछ? कांग्रेसको ठूलो ऊर्जा अझै पनि प्रदेश सरकार कसरी जोगाउने, मन्त्रालय कसरी बाँड्ने, कसको प्रभाव क्षेत्र कहाँ कायम गर्ने र कुन गुटको भागमा कति शक्ति पर्ने भन्ने गणितमै खर्च भइरहेको देखिन्छ। जनताका मुद्दाभन्दा सत्ता व्यवस्थापन ठूलो बनेको छ। यो प्रवृत्तिले कांग्रेसलाई मात्र होइन, लोकतन्त्रलाई नै कमजोर बनाउँछ।

आजको युवा पुस्ता वंश, विरासत वा इतिहासका आधारमा मात्र कुनै दलसँग जोडिँदैन। उसले परिणाम खोज्छ, पारदर्शिता खोज्छ, नैतिक नेतृत्व खोज्छ। तर कांग्रेसभित्र अझै पनि युवा नेतृत्वलाई निर्णय तहमा पुर्‍याउनेभन्दा पोस्टर टाँस्ने र भीड व्यवस्थापन गर्ने भूमिकामा सीमित राख्ने प्रवृत्ति देखिन्छ। नयाँ विचारभन्दा पुरानै समीकरणलाई प्राथमिकता दिइन्छ। यही कारण धेरै युवाले कांग्रेसभित्र आफ्नो भविष्य देख्न छाडेका छन्। यदि यो क्रम आगामी स्थानीय र प्रदेश निर्वाचनसम्म जारी रह्यो भने कांग्रेसले आफ्नो ऐतिहासिक विरासत जोगाउन कठिन हुनेछ।

बीपीलाई सम्झनु भनेको उहाँको तस्बिरमा माला चढाउनु मात्र होइन। उहाँलाई सम्झनु भनेको उहाँले देखाएको बाटोमा हिँड्ने साहस गर्नु हो। उहाँले सिकाएको आत्मसमीक्षा, सहिष्णुता, नैतिकता र वैचारिक स्पष्टतालाई पुनर्जीवित गर्नु हो। आज कांग्रेसका नेताहरूले एकपटक आफूलाई ऐनामा हेर्ने साहस गर्नुपर्छ। पार्टी किन कमजोर हुँदैछ? कार्यकर्ता किन निराश छन्? युवाहरू किन टाढिँदै छन्? जनविश्वास किन घट्दै छ? यी प्रश्नको उत्तर अरूमा होइन, आफ्नै व्यवहारमा खोज्नुपर्छ। कि अझै सदस्यता अद्यावधिक मै अल्झने? 

आजको कांग्रेसले साँच्चै बीपीलाई सम्मान गर्न चाहन्छ भने कार्यक्रमको भव्यताभन्दा आत्मसमीक्षाको गहिराइ बढाउनुपर्छ। व्यक्तिगत घमण्ड, गुटीय कुण्ठा र सत्तामोहबाट मुक्त नभएसम्म बीपीको नाम उच्चारण गर्नु मात्र पर्याप्त हुँदैन। विचारविहीन श्रद्धाञ्जली केवल औपचारिकता हुन्छ।

त्यसैले आज साउन ६ लाई उत्सवका रूपमा होइन, आत्मपरीक्षण दिवसका रूपमा मनाउने बेला आएको छ। बीपीलाई सबैभन्दा ठूलो श्रद्धाञ्जली उहाँको नाम बेच्नु होइन; उहाँको विचार बाँच्नु हो। जबसम्म कांग्रेसभित्र लोकतान्त्रिक संस्कृति, नैतिक नेतृत्व, वैचारिक स्पष्टता र संगठनात्मक एकता पुनस्र्थापित हुँदैन, तबसम्म बीपी स्मृति दिवसका भाषणहरू केवल शब्द रहनेछन्, श्रद्धाञ्जली होइन। कांग्रेस आफ्नो इतिहास जोगाउन चाहन्छ भने अब तस्बिरमा होइन, चरित्रमा बीपीलाई फर्काउनुपर्छ। नत्र भविष्यका पुस्ताले भन्न सक्छ, ‘नेपाली कांग्रेसले बीपीलाई सम्झिरह्यो, तर बीपीको विचारलाई बिस्तारै विर्संदैगयो।’

र अन्त्यमा, नेपाली कांग्रेसले आफू नसच्चिएसम्म यो दिवस नमनाउनु र बीपीको नाम नबेच्नु नै बीपी कोइरालाप्रतिको सबैभन्दा ठूलो र सच्चा श्रद्धाञ्जली हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad