ad ad

विचार


हारे ट्रम्प, लयमा फर्कियो अमेरिकी नेतृत्व

हारे ट्रम्प, लयमा फर्कियो अमेरिकी नेतृत्व

सन्जय घिमिरे
कात्तिक २२, २०७७ शनिबार १७:३९,

हारे डोनाल्ड ट्रम्प।

नोभेम्बर ३ तारिख मंगलबार दिउँसो मतदान भैरहँदा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘मेरो लागि जित्न सजिलो छ, हार्न कठिन।’

यसपटक त्यही कठिन ट्रम्पको भागमा पर्यो।

व्यापारमा त सधैं नाफा हुँदैन, राजनीतिमा झन् के होस्?

ट्रम्प हार स्वीकार गर्न भने मानिरहेका छैनन्।

जुन निर्वाचन प्रक्रियाबाट ट्रम्प जित्न चाहन्थ्ये, हार्दा त्यही प्रक्रियामाथि उनले प्रश्न चिन्ह खडा गरेका छन्। आफुमाथि ‘चिटिङ’ भएको र निर्वाचनामा ‘फ्रड’ भएको उनको दाबी छ।

खासगरी हुलाकबाट प्राप्त मतपत्रहरुमा अनियमितता भएको उनी बताइरहेका छन्। यस्तै दाबीहरुका साथ उनका सहयोगीहरुले अदालतमा मुद्दाहरु पनि दायर गरेका छन्।

निर्वाचनहरुमा अक्सर हुने झिना मसिना ‘फ्रड’ का विषयहरुलाई आधार बनाएर राष्ट्रपति ट्रम्पले एउटा उत्कृष्ट प्रजातान्त्रिक अभ्यासलाई ‘अन्डरमाइन्ड’ गर्न खोजेजस्तो देखिएको छ।

कतिपय विश्लेषकहरु भन्छन्– यो अमेरिका जस्तो शक्तिशाली र प्रजातान्त्रिक मुलुकका राष्ट्रपतिलाई सुहाउने कुरा होइन।

ट्रम्पले निर्वाचन प्रक्रियामाथि नै प्रश्न चिन्ह उठाएकोमा रिपब्लिकन पार्टीकै कतिपय नेताहरुलाई समेत चित्त बुझेको छैन।

Trump Whitehouse

अहिलेसम्मको अवस्था हेर्दा, हारेपनि ट्रम्पले बाइडेनका लागि ह्वाइट हाउस सम्मको बाटो सजिलै ‘क्लिएर’ गरिदिने जस्तो देखिँदैन। हार स्वीकार गर्न कठिन भएकै कारण निर्वाचन परिणाम पछिपनि अमेरिकी राजनीतिका आगामी केही साताहरु अन्यौलग्रस्त बन्नेजस्तो देखिएको छ।

जति प्रजातान्त्रिक भनेपनि कहिलेकाहीँ व्यक्तिका अहमका सामुन्ने प्रजातान्त्रिक मुल्य–मान्यता र अभ्यासहरुले घुँडा टेक्छन्। यस्तो हुन पनि सक्छ।

तर आजको सत्य के हो भने डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले जित्नका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजको जादुमय नम्बर २७० नघाइ सकेका छन्। र, अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित भएका छन्।

अमेरिकी राष्ट्रपति छान्ने इलेक्टोरल कलेजमा ५३८ प्रतिनिधि हुन्छन्, जसमध्येबाट जसले २७० प्राप्त गर्छ, उसैले राष्ट्रपतिका रुपमा ह्वाइट हाउसको यात्रा तय गर्छ। शुक्रबार राति पेन्सिलभेनिया राज्यमा जितेपछि बाइडेनले ३२ वर्षदेखियको यो यात्रा सुनिश्चित गरेका हुन्। 

अमेरिकाका पचास राज्यमा जनसंख्याका आधारमा इलेक्टोरल कलेजका प्रतिनिधिहरुको संख्या तोकिएको छ। दुईवटा राज्य बाहेक बाँकी अठ्चालिस वटा राज्यमा रिपब्लिकन वा डेमोक्रेट पार्टीका राष्ट्रपतीय उम्मेदवार जसले बढी मत ल्याउँछ, ती राज्यका इलेक्टोरल मत उसैको पोल्टामा जान्छन्।

२७० जादुमय नम्बर प्राप्त गर्दै अरु चार वर्ष ह्वाइट हाउसमा बिताउने राष्ट्रपति ट्रम्पको तीब्र चाहना र आत्मविश्वासमा डेमोक्रेटिक पार्टीका जो बाइडेनले ‘ब्रेक’ लगाइदिएका छन्।

बाइडेन असाध्यै बलिया, प्रभावकारी र जल्दाबल्दा भएर जितेका होइनन्। एक हिसाबले बाइडेन वासिङ्टनका ‘टेष्टेड’ व्यक्ति हुन्। तैपनि जिते बाइडेनले।

बाइडेनले जित्नुको कारण उनी आफुभन्दा पनि राष्ट्रपति ट्रम्प हुन्। ट्रम्पले बितेका चार वर्षमा आफ्नो शाख यसरी गिराए, जसले बाइडेनको राष्ट्रपतीय यात्रालाई सजिलो बनाइ दियो।

ट्रम्प हार्नुमा उनकै अस्थिर र उत्ताउला व्यवहार तथा टप्पणीहरु जिम्मेवार छन्।

बोली, व्यवहार र अस्थीर बानीका कारण सुरुदेखि नै ट्रम्पलाई क्रमशः एकपछि अर्को गर्दै उनका सहयोगीहरुले छोड्दै गए। अन्ततः राष्ट्रपति पद पनि छुट्यो।

जस्ता भएपनि र जे गरेपनि ट्रम्प त्यत्ति कमजोर नै चाहीँ भएका रहनेछन्। उनले पाएको मतले यही बताउँछ। सन् २०१६ मा पाएको भन्दापनि बढी मत ट्रम्पले यसपटक पाएका छन्।

अमेरिकी समाजको मनोविज्ञानपनि बडो विचित्रको र बुझिनसक्नुको छ, जो ट्रम्पको स्वभाव, शैली र नीतिलाई अझैपनि मन पराउँछ। ट्रम्पले गरेको मतको बढोत्तरीले बताउँछ– अमेरिकी समाजको एउटा ठूलो हिस्सा अहिलेपनि उग्र राष्ट्रवादमा विश्वास गर्छ।

यसको अर्थ, संविधान, व्यवस्था र अभ्यासहरु उदार भएपनि मान्छेका मनोविज्ञान भने अनुदार हुन सक्दा रहेछन्।

कोरोना महामारी ह्याण्डल गर्न अलि नचुकेको भए फेरि पनि ट्रम्पले बाजी मार्न सक्थ्ये। त्यसैले कोरोना पनि एउटा प्रमुख कारण हो, जसले ट्रम्पलाई हरायो। र, अर्को कारण हो, बितेका पछिल्ला महिनाहरुमा ‘ब्ल्याक लाइभ्स म्याटर’ (कालाहरुको जीवनले पनि अर्थ राख्छ) का नाममा जागेको आन्दोलन।

यी दुई विषयहरुलाई बिर्सने हो भने राष्ट्रपति ट्रम्पले आर्थिकदेखि अन्य कतिपय क्षेत्रमा राम्रै गरिरहेका थिए। र, उग्र राष्ट्रवादीहरुको प्रेम पनि पाएकै थिए।

तैपनि व्यापारिक मनोबृत्ति भएका खरा र आक्रमक ट्रम्पको यसपटक केही लागेन।

२०१६ मा ट्रम्प जसरी आक्रामक भएर आएका थिए, अहिले उनी रक्षात्मक ठाउँमा पुगेका थिए। यसअघिजस्तो मेक्सिको बोर्डरमा पर्खाल लगाउने, इमिग्रेसनमा कडाइ गर्ने, ओबामा केयर खारेज गर्ने जस्ता चर्का मुद्दाहरु यसपटक ट्रम्पसँग थिएनन्।

अन्तर्राष्ट्रिय जगतले पनि ट्रम्पलाई भरपर्दा भन्दा डरमर्दा पात्रका रुपमा हेर्दै थियो।

बितेका यी चार वर्षमा राष्ट्रपति ट्रम्पका कतिपय व्यवहारबाट रिपब्लिकनकै कतिपय नेताहरु समेत आजीत भएका थिए। जुन राप र तापका साथ ट्रम्प उदाएका थिए, त्यो राप र तापमा उनी आफैंले क्रमशः पानी खन्याउँदै गए।

ह्वाइट हाउस फेरि परम्परागत राजनीतिमा खारिएका बाइडेनको हातमा परेको छ।

भलादमी, अनुभवी, आफ्ना विचार र नीतिहरुमा स्थिर बाइडेन अमेरिकी इतिहासमा अहिले सम्मकै पाको उमेरका राष्ट्रपति हुनेछन्। सन् १९७२ मा २९ वर्षको उमेरमा उनी अमेरिकी सिनेटको सिनेटर भएका थिए। त्यसपछि लगातार सन् २००९ सम्म बाइडेन सिनेटर भए। अमेरिकी इतिहासमा सबैभन्दा लामो समय सिनेटर हुनेहरुको सूचीमा अठारौं नम्बरमा पर्छन् बाइडेन।

बाराक ओबामाको राष्ट्रपतीय कालमा बाइडेन सन् २००९ देखि २०१७ सम्म उपराष्ट्रपति पनि भए।

राजनीतिमा बाइडेन धेरै परिपक्व र अनुभवी छन्। अहिलेका राष्ट्रपति ट्रम्पजस्ता उत्ताउला छैनन्। जीवनमा दुईपटक ब्रेनको सर्जरी गरेका बाइडेनले धेरै दुख सुख देखेका छन्। भावनाका उतार चढावहरु बेहोरेका छन्। र, अमेरिकी मुल्यपनि सायद ट्रम्पभन्दा उनले बढी नै बुझेका छन्।

बाइडेनको साथमा छन् उपराष्ट्रपति कमला ह्यारिस, जसले पहिलो महिला उपराष्ट्रपति हुने इतिहास रचेकी छन्। अमेरिका बस्ने हामी नेपालीसँग चीर परिचित नाम हो कमला, जो अबका चार वर्ष बाइडेनसँगै ह्वाइट हाउसमा हुनेछिन्। नेपालीलाई नाम उच्चारण गर्न पनि सजिलो हुनेछ।

यो हल्का रमाइलो कुरा भयो।

फेरि अलि गम्भिर विषयतर्फ नै फर्कौं।

सन् २०१६ मा ट्रम्पको जीतलाई राष्ट्रवादी लहरको रुपमा लिइएको थियो। तर चार वर्षमा नै इतिहासले अर्को के पाठ पढायो भने बोलीको राष्ट्रवाद र व्यवहारको राष्ट्रवाद फरक कुरा हो। 

बोलीका उस्तै ट्रम्प, व्यवहारमा चुके। यसैले हारे। अबका केही वर्ष अमेरिकीहरुले तिमीहरुको राष्ट्रपति यस्तो वा उस्तो भन्ने सायद सुन्नुपर्ने छैन। अमेरिकी नेतृत्व फेरि पुरानै लयमा फर्किएको छ।

यो पनिः
३२ वर्षपछि पूरा भयो ‘मिडिल–क्लास जो’ को ह्वाइट हाउस सपना

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .