मंगलबार काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै छ। घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखि नै काठमाडौं उपत्यकामा मनाइन्छ।
घोडेजात्राको अवसरमा नेपाली सेनाले हरेक वर्ष काठमाडौंको टुँडिखेलमा अश्वकलाको प्रदर्शनी गर्दै आएको छ।
सेनाको उक्त प्रदर्शनी हेर्न सयौँ सर्वसाधारण टुँडिखेल वरिपरी जम्मा भएका छन्। उनीहरुले टुँडिखेलमा लगाएको बारबाट चिहाउँदै घोडेजात्रा हेरिरहेका छन्।
परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा दुःख दिने गरेपछि उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा पर्व मनाइएको पाइन्छ।
अर्को किंवदन्तीअनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर अश्वयात्रा गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो।
प्रतिक्रिया