किरात समुदायले हरेक वर्ष मनाउँदै आएको उधौली पर्व विभिन्न कार्यक्रम गरी यसवर्ष पनि मनाइएको छ।
किरात समुदायका सामाजिक सङ्घ संस्थाले अघिल्ला वर्षझैँ यसवर्ष पनि विशेष उत्सवका साथ उधौली पर्व मनाएका हुन्।
यसलाई किरात राई जातिले साकेला, लिम्बूले चासोक तङ्नाम, याक्खाले चासुवा, सुनुवार जातिले फल्षाँदर भनेर मनाउने गर्दछन्।
हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उद्यौली सुरु हुने किरात इतिहासका अध्येयता किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष हरि चोङबाङले बताए।
आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुञ्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गलगाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने) जस्ता भयवह रोगव्याधिले दुःख दिने कथनअनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको जिल्लास्थित चुम्लुङका अध्यक्ष शेसेहाङ फियाकले बताए।
प्रकृति पूजक लिम्बूहरूले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवतासँग प्रार्थना गर्ने र उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरिएको छ।
किरात समुदायले मंगलबार उपत्यकाका नख्खिपोट, हात्तीवनसहितका क्षेत्रमा यो पर्व नाचगान र प्रकृतिको पूजासहित मनाएका छन्।
उक्त कार्यक्रममा संस्कृति मन्त्री सुदन किरातीसहितका सरकारी अधिकारीहरू पनि सहभागी भए।
Shares
प्रतिक्रिया