नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार (वैशाख २२) राति आईसीसी विश्वकप–२०२४ खेल्न प्रस्थान गर्दैछ। वेस्ट इन्डिजमा केही अभ्यास खेलेर अमेरिका प्रस्थान गर्नेगरी राष्ट्रिय टोली शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेको हो।
संयोग, वेस्ट इन्डिजकै खेलाडीहरूसँग शनिबार दिउँसो त्रिवि क्रिकेट मैदानमा टी–२० सिरिज अन्तर्गतको मैत्रीपूर्ण खेल थियो।
सो खेलमा नेपाल ६ विकेटले विजयी बन्यो। नेपालका कप्तान रोहित पौडेल सिरिजकै उत्कृष्ट खेलाडी बने।
यसअघिका खेल हारेर सिरिज गुमाएको नेपालले शनिबारको खेल भने आफ्नो पोल्टामा पार्यो।
वेस्ट इन्डिजमा केही अभ्यास खेल खेलेर नेपाल अमेरिका प्रस्थान गर्नेछ।
विश्वकप क्रिकेट जुन २ मा सुरु हुनेछ । नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेलेर विश्वकपको सुरुवात गर्नेछ।
नेपालको समूह डी मा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन्।
विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले गत बुधबार नै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ भने शुक्रबार साँझ औपचारिक बिदाइ गरिसकेको छ।
नेपाली स्क्वार्ड टोली
रोहित पौडेल (कप्तान), आशिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी,गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनास बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी।
Shares
प्रतिक्रिया