फोटोफिचर


राक्षसको स्वरूप जलाएर मनाइयो घण्टाकर्ण पर्व (तस्बिरहरू)


सरोज बैजु
साउन १८, २०८१ शुक्रबार २०:२५, काठमाडौँ

साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठेमंगल अर्थात् घण्टाकर्ण पर्व आज (शुक्रबार) राजधानी काठमाडौंका विभिन्न भागमा मनाइएको छ।

चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठेमंगल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउने गर्छन्।

परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठेमंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने प्रचलन छ।

छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठेमंगल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास छ।

यस्तै, स्थान एवं कुल परम्पराअनुसार कतै भने गठेमंगललाई खोला वा नदी किनारमा लगेर जलाइन्छ।

यसैगरी बिहानै स्नान, पूजापाठ गरी घर–आँगन सफा गरी केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ।

त्यस्तै, गठेमंगललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ। यस्तो परम्परा अहिले पनि राजधानीको तीनै सहर काठमाडौं, ललितपुर र भक्तपुरका भित्री भागमा छ।

यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुने जनविश्वास छ। आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण पर्वका रूपमा मान्दै आएका छन् ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad