देशका सर्वोच्च दुई पदमा आगामी ५ वर्षका लागि पुग्ने व्यक्तिहरुको टुंगो भएको छ।
राष्ट्रपतिमा गत फागुन २५ गते नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्।
यस्तोमा शुक्रबार उपराष्ट्रपतिमा पनि संयोगवश राम नै नाम भएका व्यक्ति पुगेका छन्। राम अर्थात जनता समाजवादी पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति चुनिएका हुन्।
नवनिर्वाचित उपराष्ट्रपति यादवले राष्ट्रिय एकतालाई मजबुद र प्रवरद्ध्न गर्न इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफूले इमानपूर्वक काम गर्ने बताए।
'मुलुक समृद्धरुपमा अगाडि बढोस्, शान्तिप्रक्रिया निष्कर्षमा पुग्न बाँकी छ', उनले भने, 'शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन पनि मेरोतर्फबाट हुने प्रयास मैले इमान्दारिपूर्वक गर्नेछु।'
यादव जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार थिए। उनले सङ्घीय संसद्तर्फ एक सय ८४ र प्रदेशतर्फ तीन सय २९ मत (कूल ३० हजार तीन सय २८ मतभार) प्राप्त गरे।
उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य (बोहरा)ले सङ्घतर्फ एक सय चार र प्रदेशतर्फ एक सय ६९ (कूल १६ हजार ३२८ मतभार) प्राप्त गरे।
नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालले निर्वाचित भएको प्रमाणपत्र दिए।
नवनिर्वाचित उपराष्ट्रपतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतले बधाई दिए।
प्रतिक्रिया