सत्तारूढ नेकपा एमाले ओली पक्षीय युवा संघ नेपालले जनकपुरमा प्रदर्शनसहित विपक्षी दलका शीर्ष नेताहरुको पुत्ला जलाएको छ।
युवा संघका नेता कार्यकर्ताहरुले आइतबार अपराह्न जनकपुरधामस्थित रेल्वे स्टेसनबाट जुलुस निकाली नगरको विभिन्न भागमा प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरुले ‘केपी बा अघि बढ्नुस् साथ दिन हामी तयार छौं, केपी ओली जिन्दावाद, गठबन्धनका नेताहरु मुर्दावाद’सहितका नारा लगाएका छन्।
जनक चोकमा पुगेर उनीहरुले विपक्षी दलका नेताहरुको पुत्ला जलाएका थिए।
उनीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका नेता माधवकुमार नेपालको पुत्ला जलाएका हुन्।
विपक्षी गठबन्धनका नेताहरुले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिइ देशलाई अनिर्णयको बन्दी बनाउन लागेको भन्दै प्रदर्शन गरिएको युवा संघका केन्द्रीय सदस्य जानी खानले बताए।
गएको बुधबार विपक्षी गठबन्धन सम्वद्ध युवाहरुले प्रतिगमनविरुद्ध जनकपुरमा प्रदर्शन गर्दै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएका थिए। त्यसको काउन्टर दिँदै युवा संघले ओलीको पक्षमा प्रदर्शन गर्दै विपक्षी गठबन्धनका शीर्ष नेताहरुको पुत्ला जलाएका हुन्।
Shares

प्रतिक्रिया