ad ad

राजनीति


सिंहदरबार कता फर्केको छ?

सिंहदरबार कता फर्केको छ?

समर्पण श्री
असार २७, २०७८ आइतबार १९:१४,

झमझम पानी परिरहेको थियो। वर्षाको पर्वाह नगरी आइतबार बिहान ११ बजे नागरिक अभियन्ता सिंहदरबारअगाडि पुगे। शान्तिपूर्ण आन्दोलनका लागि निस्केका उनीहरूलाई प्रहरीले हस्तक्षेप गर्‍यो। प्लेकार्ड बोकेर नारा लगाउन नपाउँदै अभियन्ता सरकारको धरकपडमा परे।

‘त्यही क्रममा मलाई लात्तीसमेत प्रहार गरियो,’ पक्राउ परेका अभियन्ता निर्ग नवीनले भने।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताविरुद्ध आन्दोलनमा उत्रिएका नवीनसँगै लेखक खगेन्द्र संग्रौला, नारायण वाग्ले, अर्चना थापालगायत २६ जनालाई प्रहरीले पक्राउ गर्‍यो। दाहिने हातले छाता ओढेर सडकमा नारा लगाउन तयार परेका लेखक संग्रौलालाई प्रहरीले जबर्जस्ती घचेट्दै लगेको थियो। 

‘ओखतीमूलो नपाई जो मर्छन्, तिनले तिम्रो असफलता मात्र सिद्ध गर्दैनन्, तिम्रो नृशंसता पनि सिद्ध गर्छन्। तिनका आँसु–पसिना–खुन त पिएकै होउ, तिनका धिक्कारहरूको टनिक पनि बिहान दुई बिर्को र बेलुका दुई बिर्को खानू,’ संग्रौलालाई धरकपड गरिएको तस्बिर सेयर गर्दै कवि विनोद विक्रम केसीले स्टाटस लेखे, ‘हेक्का राख्नू (हेक्का राख्ने तिम्रो बानी त छैन, तैपनि...) क्यान्सर पाल्ने सोख नराख्नू।’

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताविरुद्ध २७ दिनदेखि आन्दोलनरत छन्, त्यहाँका स्वास्थ्यकर्मी र विद्यार्थी। तर, सरकारले अहिलेसम्म उनीहरूको आवाज सुनेको छैन। स्वास्थ्यकर्मीको आन्दोलनलाई ऐक्यबद्धता मात्र हैन, अनियमितताविरुद्ध बोल्दै नागरिक समाज ९ दिनदेखि सडकमा ओर्लिएको छ। कहिले माइतीघर, कहिले भद्रकाली त कहिले सिंहदरबारअघि उभिएर नारासँगै गीत र कविता गाइरहेको छ। 

प्रतिष्ठानमा भएको अनियतिता मात्र हैन, समग्र स्वास्थ्य प्रणालीको अस्वस्थतविरुद्ध कवि स्वप्निल स्मृतिको ‘आन्दोलनमा शब्दहरू’ शीर्षकको कविताले शनिबार कटाक्ष गरेको थियो–

‘हस्पिटल, कलेज 
आजकल यी शब्द सुन्दै तर्सिन्छन् मान्छेहरू
बरु घात, आत्महत्या, हृदयाघात 
बडो सहज शब्द भएका छन्’

कविताले भनेजस्तै शिक्षा र स्वास्थ्य क्षेत्रमा आम नागरिक यही बिडम्वना बोकेर बाँचिरहेका छन्। यो अवस्थाको सिर्जना कसले गर्‍यो? प्रश्न उब्जिनासाथ  स्वाभाविक रूपमा नागरिकका औंला सिंहदरबारतर्फ तेर्सिन्छन्। तर आम नागरिकको चासोको विषयलाई नजरअन्दाज गर्ने सिंहदरबा कता फर्केको छ त?

बृहत् नागरिक आन्दोलनमा केही दिनयता अभियन्ताहरू सिंहदरबारतर्फ फर्कँदै बारम्बार यही प्रश्न दोहोर्‍याइरहेका छन्– सिंहदरबार कता फर्केको छ?

‘सिंहदरबार दलालतन्त्रतिर फर्किएको छ’ 
बीपी प्रतिष्ठानकै सन्दर्भमा हेर्ने हो भने सिंहरबार दलालतन्त्रतिर फर्किएको नागरिक आन्दोलनका अभियन्ता एवं लेखक अर्चना थापा बताउँछिन्।

‘यो हाम्रो बिम्बात्मक नारा हो। सिंहदरबार न्यायतिर फर्केको छ कि दलालतन्त्रतिर, त्यसलाई कटाक्ष गरिएको हो,’ उनी भन्छिन्। 

शक्ति र सरकारले ‘निमुखा’हरूलाई न्याय दिनुपर्ने हो। भ्रष्टाचार निर्मूल गर्नुपर्ने हो। तर अहिले भ्रष्टाचारको बिगबिगी र अस्पतालहरूमा बिचौलियाहरूको राज भएको उनको तर्क छ।

‘सरकारी अस्पताल सिध्याएर निजी अस्पताल पोस्ने काम भइरहेको छ। आफ्नो अस्पतालका संयन्त्र कमजोर पारेर निजीतिर पठाउने काम भइरहेको छ। त्यत्रो हल्ला हुँदा पनि सरकारले किन सुनुवाइ गरेन?  स्वास्थ्य मन्त्रालयले किन सुनुवाइ गरेन,’  उनको प्रश्न छ।  

नागरिक आन्दोलनका अभियन्ता प्रनिका कोयुलाई लाग्छ– सिंहदरबार फर्किनुपर्ने ठाउँमा फर्केकै छैन। नफर्किनुपर्ने जति सबै ठाउँमा फर्केको छ। सिंहदरबारमै पनि आम मानिसको पहुँच कहिल्यै नपुगेको उनको ठम्याइ छ। 

‘जस्तो कि गाउँघरमा पहिला हामी प्रशासनिक काम गर्नका लागि जानुपर्यो भने सहज हुन्न थियो। किनकी त्यो डाँडामा हुन्थ्यो। एकै दिनमा काम हुन्न थियो। अहिले गणतन्त्रमा पनि आम मानिसको पहुँच सिंहदरबारमा पुग्न सकेको छैन,’ कोयु भन्छिन्। 

‘सिंहदरबार कता फर्केको छ’ लेखेको प्लेडकार्ड छातीमा झुण्डयाएर आन्दोलनमा उत्रेका अभियन्ता निर्ग नवीन सरकारले दलालीकरणलाई प्रश्रय दिइ राजनीतिक भागबन्डा र लेनदेनमा अग्रसर हुनुले जनता अन्यायमा परेको बताउँछन्।

‘सिंहदरबार भ्रष्टाचारमा सहभागी छ’
लेखक तथा नागरिक अभियन्ता उज्ज्वल प्रसाईंका विचारमा सिंहदरबार कार्यकारी प्रधानमन्त्रीले काम गर्ने ठाउँ हो। संसदका पनि धेरैजस्तो काम सिंहदरबारमै हुन्छन्।

‘सिंहदरबार भनेको हाम्रो केन्द्रीय कार्यकारी ठाउँ हो। त्यो कता फर्केको छ भन्नु यसले लोकतन्त्रलाई बलियो बनाइरहेको छ कि छैन? आम मानिसलाई सहयोग पुग्ने खालको काम गरिरहेको छ कि छैन। आम नागरिकका चासो, शिक्षा र स्वास्थ्यजस्ता विषयमा सिंहदरबारले काम गरिरहेको छ कि छैन भनेर प्रश्न गर्नु हो,’ प्रसाईं भन्छन्, ‘सिंहदरबार आम नागरिकको चासो/चिन्तातर्फ फर्किएको छ कि कमिसन खाने, लुट्ने, राज्यको स्रोत दुरुपयोग गर्नेतर्फ मात्र लागिरहेको छ भनेर बिम्बात्मक रूपमा सोधिएको प्रश्न हो।’ 

अहिले प्रतिष्ठान संकटमा छ। बेलाबखत आन्दोलन भइरहे पनि सरकारले स्वास्थ्यकर्मीका मागलाई बेवास्ता गरिरहेको छ। अहिले यो आन्दोलन तीव्र भइरहेको छ। यहाँ करोडौंको भ्रष्टाचार भएको स्वास्थ्यकर्मी तथा आन्दोलनमा उत्रिएका डाक्टरको समेत गुनासो छ। नेपालकै ठूला अस्पतालमध्ये एक बीपी प्रतिष्ठानमा सामान्य परीक्षण समेत नपाउँदा नागरिक मर्कामा छन्। 

‘एमआरआई गर्न पनि बाहिर जानुपर्ने, भित्रभित्रै एकदमै खोक्रो बनाइयो। त्यो संस्था सिद्धिनु भनेको नेपालको स्वास्थ्य क्षेत्र असाध्यै डामाडोल छ भन्ने संकेत हो,’ प्रसाईं चिन्ता व्यक्त गर्छन्।

अभियन्ता रीता परियार प्रणाली ध्वस्त बनाउन सिंहदरबारभित्रका जिम्मेवार मान्छे नै लागिपरेको बताउँछिन्।

‘भ्रष्टाचार त्यहाँको मान्छेले मात्र गरेको होइनरहेछ। यो त सिंहदबारबाट नै परिचालित भएको रहेछ। त्यसकारण सिंहदरबार कता फर्केको हो भन्ने कुरालाई नागरिक आन्दोलनले क्याच गरेको हो,’ उनी भन्छिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .