ad ad

राजनीति


एमाले प्रदेश अध्यक्षहरू भन्छन् : पार्टीको अन्योल हटाऔं, आत्मसमीक्षा गरौं

एमाले प्रदेश अध्यक्षहरू भन्छन् : पार्टीको अन्योल हटाऔं, आत्मसमीक्षा गरौं

फाइल फाेटाे


नेपालखबर
साउन ५, २०७८ मंगलबार २०:१२,

नेकपा (एमाले) का प्रदेश अध्यक्षहरूले पार्टी भित्र देखिएको अन्योललाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताएका छन्।

मंगलबार एमाले केन्द्रीय कमिटीको बैठकमा आ–आफ्नो प्रदेशको अवस्थाबारे रिर्पोटिङ गर्दै प्रदेश अध्यक्षहरूले एमालेभित्र देखिएको अन्योलताले पार्टीलाई अगाडि बढाउन समस्या पर्ने भन्दै छिट्टै समाधान गरी लयमा फर्काउनुपर्ने बताएका हुन्।

मंगलबारको बैठकमा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा, कर्णाली अध्यक्ष गोरख बोगटी, लुम्बिनी अध्यक्ष लीला गिरी, गण्डकी अध्यक्ष जगत विश्वकर्मा, बागमती अध्यक्ष आनन्द पोखरेल, प्रदेश २ अध्यक्ष ज्वाला कुमारी साह र प्रदेश १ अध्यक्ष देवराज घिमिरेले आ–आफ्नो प्रदेशको संगठनात्मक अवस्था, राजनीतिक शक्ति सन्तुलनको अवस्था र पार्टी गतिविधिको सम्बन्धमा रिर्पोटिङ गरेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए। 

प्रदेश अध्यक्षहरूले पार्टीबाट केही नेताहरु बाहिरिए भने त्यसको प्रभाव के पर्न सक्छ र आसन्न निर्वाचनमा नेकपा(एमाले)को अवस्था कस्तो हुन सक्छ भन्ने सम्बन्धमा पनि रिर्पोटिङ गरेको उनले बताए। प्रदेश अध्यक्षहरूले प्रशिक्षण कार्यक्रम गरिनुपर्ने र आफूभित्र भएका कमी कमजोरीहरूको पनि आत्मसमीक्षा गर्नुपर्ने सुझाव दिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए। 

‘पार्टी भित्र रहेको यो अन्योल छिटोभन्दा छिटो समाप्त भएर पार्टी एउटा लयमा, गतिमा अगाडि बढ्नुपर्छ। पार्टी कमिटीहरूलाई माथिदेखि तलसम्म चुस्त दुरुस्त बनाएर लैजानुपर्छ, राष्ट्रव्यापी रुपमा अभियानहरू सञ्चालन गरिनुपर्छ। प्रशिक्षण हरु अगाडि बढाइनुपर्छ', उनले भने, 'सरकारमा रहँदा हामीले गरेका कामहरू र अहिलेको प्रतिकुल राजनीतिक परिस्थिति निर्माणका विभिन्न पक्षहरुको बारेमा पार्टी पङ्क्तिलाई जानकारी गराउनुपर्छ र हामी आफ्नै पनि केही कमीहरु छन् भने तिनीहरुको गहन आत्मसमीक्षा गर्नुपर्छ भन्ने खालका सुझावहरू दिनुभएको छ। बैठकले ति सुझावहरूलाई ग्रहण गरेको छ। उठेका केही प्रश्नहरूको बारेमा भोलि महासचिवले त्यसको प्रतिउत्तर दिनुहुनेछ।’

बैठकमा पार्टी एकताका लागि गठित कार्यदलले हालसम्म गरेका गतिविधिको सम्बन्धमा संस्थापन पक्षका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी गराएका थिए भने भूमि समस्या समाधान गर्न गठित आयोगका अध्यक्ष देवी ज्ञवालीले आयोगले देशभर गरेका कामहरुको सम्बन्धमा बैठकलाई जानकारी गराएको प्रवक्ता ज्ञवालीले जानकारी दिए। २२ एमाले सांसदलाई सोधिएको २४ घण्टे स्पष्टीकरणको सम्बन्धमा बैठकले कुनै निर्णय नगरेको र सांसदको हातमा पत्र पुगेपछिको २४ घण्टाभित्र स्पष्टीकरण बुझाउनुपर्ने उनले बताए।

केन्द्रीय कमिटी बैठक भोलि दिउँसो ३ बजे बस्ने पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .