ad ad

राजनीति


जो थिति फेर्न गीत-कविता र नाटक लिएर सडकमा ओर्लिए

जो थिति फेर्न गीत-कविता र नाटक लिएर सडकमा ओर्लिए

समर्पण श्री
साउन ७, २०७८ बिहिबार १७:४२,

उनीहरू उम्कन हरतरहले संघर्ष गरिरहेका छन्। डोरीले बाँधिएका छन् हात। र, सँगै कुर्सीको भार शरीरमाथि। कालो कोट लगाएको एउटा रिसाहा मानिसले उनीहरूमाथि लात बजार्छ। शरीरमाथि कुल्चन्छ र सानका साथ मुस्कुराउँछ। 

चरम अत्याचारको बाबजुद ती तीन मानिस उठ्ने प्रयत्न गर्छन्। गोजीबाट राता, काला, हरिया, पहेँला, रिबन निकाल्छन्। बेस्सरी हल्लाउँछन्। 

भर्खरैसम्म शासन गरिरहेको कालो कोटधारी मानिस तर्सन्छ। ऊ रोक्ने प्रयत्न गर्छ। तर, ती हातहरू रोकिन्नन्। ती हातबाट अनेकन् हातहरू वरिपरि देखिन्छन्, र रिबनलाई जोड–जोडले फैलाउन थाल्छन्। 

त्यसपछि त्यो डरलाग्दो मानिस भाग्न प्रयत्न गर्छ। तर, भीडको प्रतिरोधबाट ऊ उम्किन सक्दैन।

त्यो कसको भीड थियो त?

स्रष्टाहरूको, किसानहरूको, उत्पीडितहरूको। जो बिग्रेको थितिलाई सधैँका लागि फाल्न चाहन्छन्। र, त्यसैका निम्ति प्रतिरोध जनाउँदै यो भीड बानेश्वर चोकसामुन्ने प्रदर्शनरत थियो। 

‘हामीले गरेको नाटक पर्फमेन्स आर्टभित्रको एउटा आर्ट हो। ती थरिथरिका रिबन सत्ता र शासकको निम्ति हतियार हुन्,’ नाटकको संयोजन गरेका रंगकर्मी केदार श्रेष्ठ भन्छन्, ‘हामी कलात्मक मुभमेन्ट चाहन्छौँ। शासकलाई सिर्जनात्मक आन्दोलनबाट हामीले ढाल्ने। यो बौद्धिक र सिर्जनात्मक आन्दोलन हो। हामी सबैको साझा आन्दोलन।’

आर्टमा प्रयोग गरिएको कुर्सी व्यवस्थाको बिम्ब हो। जुन व्यवस्थाले जनतालाई कज्याएको छ। कज्याउने व्यवस्थालाई जनताले नै फाल्न सक्छन्। 

यस्तो थिति फालौँ
आउनुस् आजै फालौँ

सामूहिक गीत गाउँदै यो प्रदर्शन दिउँसो साढे २ बजे माइतीघरबाट सुरु भएको थियो। पानीमा भिज्दै नागरिक अभियन्ताको समूह बानेश्वरतर्फ हिँड्यो। 

‘हामी यस्तो थितिमा छौँ, जहाँ सरकारमा पुग्ने अनुहारहरू त बेलाबेला फेरिन्छन् तर गरिखाने वर्गको जीवनमा कुनै हेरफेर आइपुग्दैन। ज्यामीहरूले काम पाउँदैनन्, काम गर्नेहरूले ज्याला पाउँदैनन्,’ सबैखाले विभेद र उत्पीडनविरुद्ध उभिएका नागरिकहरूको यो आक्रोश थियो।

‘नयाँ संसार जित्नु छ भने सबैखाले उत्पीडन र शोषणको अन्त्य हुन जरुरी छ। त्यसैले हामी सबै मिलेर यो प्रतिरोध सभामा सहभागी भएका छौँ। प्रतिरोधका अनेक स्वरुप हुन्छन्। हामीले गीत, नाटक, कविताबाट प्रतिरोध गरिरहेका छौँ,’ बानेश्वरबाट सभा सुरु गर्दै अभियन्ता अनिता पण्डितले भनिन्। 

व्यवस्थामाथि प्रश्न गर्दै कवि राजु स्याङ्तानले बिमा शीर्षकको कविता सुनाए-

मलाई यतिबेला 
मेरो ज्यानको होइन 
प्रेमको बिमा गर्नु छ 
तपाईंको कम्पनीमा 
प्रेमको बिमा हुन्छ?

कवि अनिता माझीले ‘माझी’ शीर्षकको कवितामा नदी किनारमै जन्मिएर नदी किनारमै मिसिने माझीको सुस्केरा सुनाइन्। गायक अञ्जान बाबु, कवि शकुन्तला जोशी लगायतले भुपेन हजारिकाको चर्चित गीत नेपालीमा गाए-
हे वारि र पारि
छ रुवा र बासी
यो चित्कार सुनी
नबोली नबोली
ओ, बागमती खोली
ओ, बागमती जान्छौ कहाँ?

प्रतिरोधमा उत्रिएका नागरिकहरूको प्रश्न थियो– ‘के यो व्यवस्था सधैँ रहन्छ? के हामीमाथि शासन गर्नेहरूले सधैँका लागि जितिसकेका हुन्? के हामीले सधैँका लागि पराजय भोगेका हौँ?’ 

त्यसैले उनीहरूको प्रतिरोध आन्दोनले भनिरहेको थियो, ‘हामी जुट्यौँ भने यस्तो थिति अवश्य फाल्न सक्छौँ, हामी उठ्यौँ भने यो समय साँच्चै फेर्न सक्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .