राजनीति


निधि भारतबाट फर्किएलगत्तै चाक्सिबारीमा तीन ‘राजकुमार’ को जमघट

निधि भारतबाट फर्किएलगत्तै चाक्सिबारीमा तीन ‘राजकुमार’ को जमघट

नेपालखबर
साउन १६, २०७८ शनिबार १६:४, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि भारतको दिल्लीबाट फर्किएलगत्तै तीन नेता आन्तरिक छलफलमा जुटेका छन्। निधि दिल्लीबाट फर्किएपछि कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारीमा रहेका तीन नेताहरु फेरि आन्तरिक छलफलमा जुटेका हुन्।

छलफलमा महेन्द्रनारायण निधि पुत्र उपसभापति विमलेन्द्र निधि, बीपी पुत्र महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री एवम् गणेशमान पुत्र प्रकाशमान सिंह जुटेका हुन्।

तीन नेताबीच अहिले ठमेलको चाक्सीबारीस्थित सिंह निवासमा छलफल भइरहेको छ। मुलुकको राष्ट्रिय राजनीति र कांग्रेस महाधिवेशनबारे केन्द्रित रहेर तिन नेताबीच छलफल भइरहेको चाक्सीबारी स्रोतले जनाएको छ। 

उपसभापति निधि साउन १३ गतेमात्रै भारतको नयाँ दिल्ली गएका थिए। उनी काठमाडौंबाट विराटनगर हुँदै सिलिगुडी–कलकत्ता भएर दिल्ली पुगेका थिए। निधि शुक्रबार काठमाडौं फर्किएका हुन्। उनको सचिवालयले उपसभापति निधि पारिवारिक कामले दिल्ली गएका जनाएको छ। 

निधि, कोइराला र सिंहबीच महाधिवेशन केन्द्रित यो चौथो छलफल हो। यसअघि पनि चाक्सीबारीमै उनीहरुबीच पटक पटक छलफल भएको थियो।

आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका नेताहरुबीच गत असार पहिलो साता उपसभापति निधिको वैवाहिक वर्षगाँठको अवसर पारेर छलफल सुरु भएको थियो।

संस्थापन पक्षकै निधिले कांग्रेसको महाधिवेशनमा सभापति पदमा लड्ने घोषणा गरिसकेका छन्। त्यस्तै महामन्त्री कोइराला र गणेशमान पुत्र प्रकाशमान पनि सभापतिका दाबेदार हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .