राजनीति


ओलीकै पदचाप पछ्याउँदै देउवा?

बालुवाटार भन्छ : आत्तिएकाहरुले ‘एन्टी क्याम्पेनिङ’ सुरु गरे
ओलीकै पदचाप पछ्याउँदै देउवा?

केशव सावद
साउन १९, २०७८ मंगलबार १६:७, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले विगतमा गरेका र आगामी दिनमा गर्ने कामबारे जानकारी दिन ‘भाइबर ग्रुप’ बनाइएको छ। साउन १३ गतेदेखि सञ्चालनमा आएको ‘भाइबर ग्रुप’मा विभिन्न विषयमा जानकारी दिने गरिएको छ। 

उक्त ‘भाइबर ग्रुप’मा ‘राज्यकोषबाट उपचार खर्च नलिने नेतामा शेरबहादुर देउवा अपवाद’, ‘समावेशीकरणका नायक देउवा’ शीर्षकमा फरक–फरक अनलाइन पोर्टलमा प्रकाशित समाचार राखिएको छ।

‘भाइबर ग्रुप’मा तेस्रो सामाग्रीका रुपमा ‘के तपाईंलाई थाहा छ?’ भन्दै ‘२०५९ सालमा मुलुकी ऐनको ११ औं संशोधनमार्फत महिलालाई समान अधिकार र सम्पत्तिमाथिको हक सुनिश्चित देउवाकै नेतृत्वमा भएको थियो’ उल्लिखित पोस्टर सार्वजनिक गरिएको छ। 

उक्त पोस्टर सार्वजनिक गरिएकै दिन अर्थात् साउन १५ गते झण्डै एक मिनेट लामो भिडियो सन्देश सार्वजनिक भयो। ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने’ शीर्षक दिइएको उक्त सन्देशमा भनिएको, ‘मलाई शेरबहादुर देउवा मन पर्छ किन भने-शेरबहादुर देउवा चाँहि हाम्रो देशको एउटा ऐतिहासिक पुरुष हुनुहुन्छ। महान व्यक्तित्व हुनुहुन्छ। 

नेपाली कांग्रेसमा बीपीपछिका दोस्रो महान प्रभावशाली व्यक्ति हुनुहुन्छ। बीपीले पनि झापा सम्मेलनमा भन्नुभएको थियो– शेरबहादुर देउवा श्रीपेचबिनाका राजकुमार हुन्......।’

भिडियोमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराका बासिन्दा तीर्थ शाहीलाई ‘फिचर’ गरिएको छ। 

‘सुदूरपश्चिमको विकास लागि प्रशस्त मात्रामा विकासका काम गर्नुभा’छ। अहिलेसम्म उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सुदूरपश्चिम मात्रै होइन देशकैबारे चिन्ता पनि लिनुभा’छ,’ भिडियोमा उनले प्रधानमन्त्री देउवाबारे थप भनेका छन्। 

उक्त भिडियो सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाको एकाएक आलोचना सुरु भयो। सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा प्रधानमन्त्री देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा प्रचार सुरु गरेको भन्दै व्यापक आलोचना सुरु भयो। जुन अहिले पनि जारी नै छ। 

भिडियो सन्देशलाई लक्षित गरेर सामाजिक सञ्जालमा प्रधानमन्त्री देउवालाई अनेक सुझाव दिने क्रम पनि चलिरहेको छ। 

राजन कटुवाल नाम गरेका ट्वीटर प्रयोगकर्ताले भनेका छन्, ‘सामाजिक सञ्जाल चलाउने महामुर्खहरुले ब्रान्डिङ इमेज बिल्डिङ भनेको के हो र कसरी चल्छ भन्ने नबुझे पछि हुने भनेको ओलीको जस्तै हबिगत हो। 

यस्ता कुरा नजान्नेलाई शेबदेले ब्रान्डिङ र इमेज बिल्डिङमा राख्दा इमेज झनै ड्यामेज हुँदै छ। बेलामै बुद्धि पुर्‍याउनु जरुरी छ। उही तपाईंको शुभचिन्तक।’

डडेल्धुराका कांग्रेस नेता शाहीको भिडियो सार्वजनिक भएको एक दिनपछि ‘भाइबर ग्रुप’मा अर्को भिडियो सन्देश आयो। 

उक्त भिडियोमा ललितपुरकी बेबी राजभण्डारीले भनेकी छन्, ‘मलाई हाम्रो अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाजी एकदमै राम्रो लग्छ। 

के कुरामा भन्दा उहाँले महिलाको विषयमा विभिन्न कुराहरु उठान गर्नुभएको छ। त्यस्तै दलित आयोग गठन गर्नुभएको छ। विशेष गरी अझै सबैभन्दा राम्रो कुरा उहाँकै पालामा हाम्रो जुन महिला ३३ प्रतिशत महिलाहरुले अगाडि बढ्न पाउनुभएको छ। 

जुन कुरा आयो ३३ प्रतिशत अहिले वडा सदस्यको रुपमा, उपमेयरको रुपमा, मेयरको रुपमा, विभिन्न सभासद्को रुपमा उहाँहरु आउन पाउनुभएको छ। महिला अगाडि बढ्न पाउनुको कारण चाहिँ उहाँनै जस्तो लाग्छ। 
उहाँकै पालामा भएको हुनाले मलाई अहिलेको प्रधानमन्त्री एकदमै राम्रो लाग्छ....।’ 

पछिल्लो भिडिओ सन्देश सार्वजनिक भएपछि कार्टुनिस्ट रवि मिश्रले प्रधानमन्त्री देउवाको उक्त शैलीको आलोचना गर्दै ट्वीटरमा लेखे, ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने’ भन्दै एकपछि अर्को भिडियो आउन थालेछ । धत् ! चाकरी नि यति कुरुप नगर्नु जस्ले देउवालाई बा भन्दा छिटो बार्दली उकालोस् ! व्यक्ति पूजा र चाकरीमा बनाइएका भिडियोहरू अश्लील भिडियो हुन् । यस्तो उत्पादन र प्रसार निर्लज्जता हो ।’

को हुन् प्रधानमन्त्री मन पराउने शाही र राजभण्डारी

प्रधानमन्त्री देउवालाई कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालापछिका दोस्रो महान व्यक्तित्वका रुपमा चित्रित गर्ने शाही डडेल्धुराको अमरगढी नगरपालिका–९ ढकाउली गाउँका बासिन्दा हुन्। 

उनी गृहजिल्ला भन्दा बढी संघीय राजधानी काठमाडौंमै बसोबास गर्दै आएका छन्। २०५१ सालसम्म कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीतिमा सक्रिय शाही देउवा सरकारमा जाँदा पटक–पटक सचिवालयमा काम गर्दै आएका व्यक्ति हुन्। 

उनी देउवा गृहमन्त्री हुँदा र दुई पटक प्रधानमन्त्री हुँदा उनको सचिवालयमा बसेर काम गरिसकेका छन्। स्रोतका अनुसार उनी देउवाको सचिवालयमा बसे पनि महत्वपूर्ण भूमिकामा भने हुँदैनन्। 

प्रधानमन्त्री देउवाको पालामा महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था भएको दाबी गर्ने राजभण्डारी भने ‘वाग्मती सफाई महाअभियान’को अभियानकर्ताको रुपमा चिनिएकी महिला हुन्। उनी ललितपुरको गोदावरी नगरपालिका–३ टौखेलमा बस्दै आएकी छन्। 

राजभण्डारीको राजनीतिक पृष्ठभूमि कांग्रेस भने होइन। उनको पारिवारिक पृष्ठभूमि कम्युनिस्ट हो। ​स्रोतका अनुसार राजभण्डारी विगतका दिनहरुमा नेकपा एमालेका सांसद नवराज सिलवाल निकट थिइन्। उनी आजसम्म पनि कांग्रेसको कार्यकर्ता भइसकेकी छैनन्। 

गोदावरीमा गैरसरकारी संस्था सञ्चालन गर्दै आएकी राजभण्डारीलाई ललितपुरका स्थानीय नेताहरु कांग्रेसमा प्रवेश गराउने तयारीमा भने छन्। 

‘आजका दिन पनि उहाँ नेपाली कांग्रेस होइन। उहाँको एउटा एनजीओ छ,’ स्रोतले भन्यो, ‘त्यसमा कांग्रेसका जिम्मेवार मान्छेलाई उहाँले सल्लाहकार बनाउनुभएको छ। केही स्थानीय नेताहरु उहाँलाई पार्टी प्रवेश गराउने चरणमा हुनुहुन्छ।’  

बालुवाटार भन्छ– आत्तिएकाहरुले ‘एन्टी क्याम्पेनिङ’ सुरु गरे

प्रधानमन्त्री देउवाको सामाजिक सञ्जालको व्यवस्थापन कसले गरिरहेको छ भन्ने बारेमा भने कुनै जानकारी बाहिरिएको छैन।  ‘भाइबर ग्रुप’मा सार्वजनिक भइरहेका भिडियो सन्देशको सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहँदा पनि बालुवाटारले सार्वजनिक रुपमा कुनै प्रतिक्रिया जनाएको छैन। 

‘भाइबर ग्रुप’मा सार्वजनिक भइरहेका भिडियो सन्देशका विषयमा सामाजिक सञ्जालमा भइरहेका नकारात्मक टिप्पणीलाई बालुवाटारले ‘एन्टी क्याम्पेनिङ’ भनेको छ।  प्रधानमन्त्री देउवाले गरेका सकारात्मक कामका बारेमा जनताले बुझ्छन् भनेर विरोधीहरुले भिडियो सन्देशका विरुद्ध ‘एन्टी क्याम्पेनिङ’ सुरु गरेको बालुवाटारको बुझाइ छ।

‘कसैले प्रधानमन्त्रीज्यूलाई राम्रो भन्न नपाउने? कसैले उहाँलाई राम्रो मान्छु भन्दा किन आत्तिनुपर्ने?,’ बालुवाटार स्रोतले नेपालखबरसँग भन्यो, ‘सामाजिक सञ्जालमा भइरहेको टिप्पणी एन्टी क्याम्पेनिङ हो। 

उहाँको विरोधमा हो। प्रोफेसनल ढंगले आउने भए, राम्रा कुराहरु बाहिर आउने भए भनेर आत्तिएकाहरुको काम हो।’ प्रधानमन्त्री देउवा अहिले पाँचौ पटक मुलुकको प्रधानमन्त्रीका रुपमा आसिन छन्। उनी आफ्नाबारे सञ्चारमाध्यमहरुमा आउने टिप्पणीप्रति अन्य नेताहरुले झैँ प्रतिक्रिया जनाउँदैनन्।

कांग्रेसभित्रैका इतर समूह, पार्टीका नेता–कार्यकर्ता र आमनागरिकले सामाजिक सञ्जालमा देउवाबारे नकरात्मक टिप्पणी गर्दै आएका छन्।  कांग्रेसकै एक तप्कालै उनलाई ‘भिलेन’ को रुपमा चित्रित गरे पनि उनी निकट मानिने नेताहरु त्यसको बचाउमा भने उत्रिँदैनन्। 

देउवाले चार–चार पटक देशको शासन सत्ता सम्हाले पनि देश र जनताका लागि ‘खासै’ उपलब्धिपूर्ण काम गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ।  तर, उनले महिला दलित र मधेशीको हकअधिकारका लागि अनेक कामहरु भने गरेका छन्। 

यी हुन् देउवाले दलित, मधेसी र महिला अधिकारमा गरेका काम :
– दलित, जनजाति छात्रवृत्ति कार्यक्रम–२०५२
– उपेक्षित उत्पीडित र दलित विकास समिति– २०५४
– जनजाति विकास समिती – २०५४ गठन गर्ने बृहत आर्थिक सामाजिक रुपान्तरणसम्बन्धी संसदमा ८ बुँदे घोषणा पत्र २०५८ जारी
– राष्ट्रिय दलित आयोग – २०५८
– राष्ट्रिय महिला आयोग –२०५८
– आदिवासी जनजाति विकास प्रतिष्ठान २०५८
– महिलालाई पैतृक सम्पतिमा समान अधिकार दिन मुलुकी ऐनको एघारौं संशोधन –२०५९
– कमैया मुक्तिको घोषणा २०५८ गर्ने तथा आफ्नै पार्टी नेपाली कांग्रेसमा ‘कर्णाली, दलित, महिला, जनजाति र मधेशीलाई समानुपातिक सहभागिता गराउनै पर्छ भनेर (कदमजम) को सिद्धान्त लागू’
– २०७५ मा नेपाली कांग्रेस दलित, महिला, जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र एवं अपांगता भएका व्यक्तिलाई सहमहामन्त्री पद विधानमै सुनिश्चित गराउने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .