ad ad

राजनीति


प्रहरीको शान्ति मिसनको पूर्वछनोट नै किर्ते, प्रश्नपत्र बाहिरिएपछि छानबिन हुँदै

प्रहरीको शान्ति मिसनको पूर्वछनोट नै किर्ते, प्रश्नपत्र बाहिरिएपछि छानबिन हुँदै

उजिर कार्की
साउन २०, २०७८ बुधबार १८:५५, काठमाडौँ

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने पूर्व छनोट परीक्षामा प्रश्नपत्र बाहिरिएको विषयमा नेपाल प्रहरीमा छानबिन भइरहेको छ।

गत शुक्रबार र शनिबार भएको परीक्षा अघि नै प्रश्नपत्र बाहिरिएको भन्दै डीआईजीको नेतृत्वमा गठन भएको छानविन समितिले छानविन गरिरहेको हो। 

यूएन शाखाका प्रहरीमाथि अहिले सोधपुछ भइरहेको र प्राप्त प्रमाणहरुलाई प्रमाणित गर्ने काम भइरहेको छानविन समितिका एक सदस्यले बताए। 

मंगलबार प्रहरी प्रधान कार्यालयले डीआईजी वसन्तकुमार लामाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। 

छानबिन समितिले मंगलबारबाटै काम थालेको हो। गत शुक्रबारबाटै सातवटै प्रदेशमा परीक्षा सञ्चालन भए पनि शनिबार चौथो चरणको परीक्षा हुने बेलामा मात्रै प्रश्नपत्र बाहिरिएको सूचना परीक्षा सञ्चालक टिमले थाहा पाएको थियो। 

अन्तिम चरणको परीक्षा पहिले मात्रै जानकारी पाएपछि अन्तिम चरणको परीक्षा भन्दै पुनः प्रश्नपत्र तयार गरेर सञ्चालन गरिएको थियो। 

त्यसअघिका तीन समूहका परीक्षामा भने प्रश्न पत्र बाहिरिएको आशंका गरिएको छ। 

प्रश्नपत्र आउट गर्ने कार्यमा यूएन शाखाकै प्रहरीहरुको संलग्नता रहेको आशंकामा केहीलाई नियन्त्रणमा लिइएको छानविन समितिले जनाएको छ। 

तालिम केन्द्रमा कार्यरत रुपेश खड्का, प्रहरी निरीक्षक दिनेश पुनलगायतको संलग्नता रहेको आशंकामा छानविन भइरहेको छ। 

युएन शाखा प्रमुख एसपी अनुपम राणाले थाहा नै नपाई शाखाका प्रहरीहरुले प्रश्नपत्र फोटोकपि गरेको पाइएको छ। 

प्रश्नपत्र राखिएको दराजको चाबी समेत अरु पनि भएको आशंका गरिएको छ। 

एसपी राणासँग चाबी भए पनि दराज खोलेर प्रश्नपत्र फोटोकपि गरेको पाइएपछि अर्को चावी अन्य प्रहरीसँग रहेको आशंका छ। 

यूएन शाखाबाट केही समय पहिले मात्रै सरुवा भएका प्रहरी हवल्दारले प्रश्नपत्र फोटोकपि गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकारीले नेपालखबरलाई बताए। 

उनले केही कर्मचारीले आफ्नो सरुवा गराएको भन्दै उनीहरुले नै प्रश्न पत्र दिएको भनेर बाहिर हल्ला गरिदिने भनेको समेत जानकारी पाएको अनुसन्धान अधिकृतले बताए। 

‘आफ्नो सरुवा गरेका ती अधिकारीहरुलाई फसाइदिने भन्दै उसले यस्तो गरिरहेको भन्ने पनि जानकारी आएको छ। यसलाई पनि भेरिफाइ गर्ने काम भइरहेको छ’, ती अधिकारीले नेपालखबरसँग भने। 

यूएन मिसनका लागि मापदण्ड पुगेका प्रहरीहरुले प्रिस्याट परीक्षा लिइन्छ। यसमा पास भएकाहरुले पुन: यूएनबाट लिइने परीक्षा दिनुपर्छ। दुवै परीक्षा पास गरेकाहरु मात्रै युएन मिसनमा जान योग्य हुन्छन्। 

गत शुक्रबार र शनिबाट चार सिफ्टमा सातवटै प्रदेश र उपत्यकामा परीक्षा सञ्चालन भएको थियो। परीक्षामा जवानदेखि एसएसपीसम्मका २४ सय सहभागी थिए।

प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आशंका गरिएकाहरुलाई छानविन हुन्जेल नियन्त्रणमाम राखिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

उनीहरुलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ। 

कुमार शाहको भाइबरमा प्रश्नपत्र भेटिएको थियो। यस्तै डीएसपी खड्कालाई भने घरमै प्रश्न पत्र पु¥याइदिएको पाइएको छ। 

रुपेश पहिले युएन शाखामै कार्यरत थिए। उनलाई प्रहरी निरीक्षक दिपेशले प्रश्न पत्र पठाइदिएको पाइएको छ।

उनीहरुले आफूले प्रश्नपत्र पाइसकेपछि ह्वाट्सएप र भाइबरमार्फत अरुलाई प्रश्न पत्र पठाएको पाइएको छ। 

सुरुमा केही प्रहरीलाई मात्रै प्रश्न पत्र बाहिरिएको आशंका गरिएपनि अहिले संलग्नहरु बढ्दै गएको समितिले जनाएको छ। 

थप छानबिन गरेर छिट्टै प्रतिवेदन बुझाउने समितिले जनाएको छ। आन्तरिक परीक्षा भएकाले युएन मिसनको छनोटमै भने असर गरिनसकेको प्रहरी अधिकारी बताउँछन्। तर यसले छनोटमाथि भने आशंका उब्जाएको छ। 

केही वर्षदेखि नेपाल प्रहरीको युएन मिसन भने कटौती हुँदै गएको छ। अहिले वार्षिक ३० देखि ४० जना मात्रै मिसनमा खटिने गरेका छन्। केही वर्ष पहिलेसम्म वर्षमा ६ सय जनासम्म जाने गरेका थिए। 

यूएन हेडक्वार्टर, सोमालिया, साउथ सुडान लगायत देशमा मात्रै प्रहरी मिसनमा जान्छ। डाफोर्ड, हाइटीलगायतका देश कटौती भएको छ। 

शान्ति मिसनमा नेपाल प्रहरी लैजाने देशले माग गरेको बखतमा पठाउने गरी प्रहरीहरु तयारी अवस्थामा राख्ने गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .