राजनीति


एमाले एकता र विभाजनको दोबाटोमा उभिएको छ : माधव नेपाल

लुरुक्क परेर ओलीसँग मिल्न नजाने जिकिर
एमाले एकता र विभाजनको दोबाटोमा उभिएको छ : माधव नेपाल

नेपालखबर
साउन ३०, २०७८ शनिबार १५:१३, काठमाडौँ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी गम्भीर मोडमा उभिएको बताएका छन्। आफू पक्षीय बागमती प्रदेश सम्पर्क संगठन कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उनले एमाले एकता र विभाजनको दोबाटोमा उभिएको बताएका हुन्। 

नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न चाहेको आरोपसमेत लगाएका छन्। 

‘हाम्रो पार्टी गम्भीर मोडमा उभिएको छ। एकता र विभाजनको दोबाटोमा उभिएको छ,’ नेता नेपालले भने, ‘हामी एकता चाहिरहेका छौं। पार्टीको अध्यक्षको हैसियतले अहिलेसम्म केपी ओली विभाजन चाहिरहनुभएको छ।’

अध्यक्ष ओलीको विभाजनकारी प्रवृत्ति प्रत्येक घटनाहरुमा देखा परेको उनको दाबी थियो। नेता नेपालले पार्टीको विधिमा बाँध्न खोज्दा ओलीलाई विधि-पद्धति मन नपरेको पनि बताए। 

‘उहाँलाई जब जब आलोचना गरियो, उहाँलाई पार्टीको विधिमा बाँध्न खोजियो', उनले भने, 'सरकारको कामलाई राम्ररी गर्नुहोस् भनेर सुझाव दिइयो। उहाँलाई सुझाव मन परेन, विधि पद्धति मन परेन।’

नेता नेपालले जनताको बहुदलीय जनवाद (जबज) ले कार्यकर्ताको कुरा सुन्न, कमजोरी स्वीकार्न, जनताका आवाज सुन्न सिकाएको पनि स्मरण गरे। 

‘जबजले के भन्छ, लोकतन्त्रको अभ्यास गर भन्छ, कार्यकर्ताको कुरा सुन भन्छ, गल्ती कमजोरी स्वीकार गर भन्छ,' उनले भने, 'जनताका पीडा बेदना बुझ, जनताले के भन्छ सुन भन्छ।’

नेता नेपालले संविधान र कानुनको सबैले सम्मान र विधिको पालना गर्नुपर्नेमा जोड दिए। 

‘केपी ओलीजीले संविधानको पालना गर्नुभएको छ? नैतिक मूल्य–मान्यताको पालना गर्नुभएको छ?', उनले सोधे, 'संविधानको पालना गर्नुभएको हो भने संविधानको व्याख्याता को हो?’

नेता नेपालले एमालेमा आफू र ओलीको झगडा मात्रै नठान्न पनि आग्रह गरे। 'एमालेमा हमी दुई नेताको मात्रै झगडा होइन', उनले भने, 'दुई नेताको झगडा हो भने पार्टीका स्थायी कमिटी सदस्यले किन दुवै पदबाट राजीनामा मागेको त?' 

ओलीलाई पटक पटक सुधार्न खोज्दा पनि सुधार नआएको नेपालले बताए। 'हामीले पटक पटक कोसिस गर्दा पनि उहाँमा सुधार भएको भए त बेग्लै कुरा', उनले भने, 'ओलीमा सुधार भएको र व्यवहारमा परिवर्तन भएको भएको तपाईंहरुलाई थाहा छ? म त त्यस्तो देख्दिनँ।'

उनले ओलीमा सुधारको गुन्जायस नदेखिएको पनि बताए। 'माधव नेपाल जस्तालाई यो पार्टीमा ठाउँ छैन भनेको के हो?', उनले सोधे, 'एक एक शब्द हेर्ने हो भने उहाँको स्तर र कल्चरल लेभल बताउँछ। उहाँ कुन तहसम्ममा मान्छेलाई लान्छित गर्न सक्नुहुन्छ, त्यो देखाइरहेको छ।'

उनले ओलीको अत्याचार सहन नसकिने अवस्था रहेको पनि बताए। 'ओलीको अत्याचार सहन सक्ने स्थिति छैन भनेर वामदेव गौतम जस्ता मान्छेले भनेका छन्', नेपालले भने, 'लुरुक्क परेर, शीर निहुराएर, आत्मसर्पण गरेर जाने होइन। पार्टीलाई हामीले क्रान्तिकारी दिशाामा लान खोजेका छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .