संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले विभाजनको असर देखिने क्रम जारी नै छ। तर, यहीबीचमा विभिन्न समयमा विभाजित माओवादीदेखि मसालसम्मलाई एक ठाउँमा ल्याउने प्रयास पनि भइरहेको छ।
टुटेफुटेका कम्युनिस्ट पार्टीलाई एक बनाउने प्रयासमा सक्रिय छन्, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा।
उनले एक महिनाको अवधिमा मोहनविक्रम सिंहदेखि मोहन वैद्यसम्मलाई घरमै पुगेर भेटिसकेका छन्। पूर्वमाओवादीका नेताहरुसँग भने आफ्नै निवासमा कुराकानी गरेका छन्।
चुनाव नजिकिँदै गर्दा सकेसम्म पार्टी एकता गर्ने, नभए चुनावी मोर्चा मात्र भए पनि बनाउन महरा कस्सिएका हुन्।
चुनावी मोर्चा हुँदै पार्टी एकीकरणसम्म जाने योजनासहित भेटघाट, छलफल भइरहेको स्रोतले जनाएको छ। मन्त्रिमण्डल विस्तारपछि यसलाई थप तीव्रता दिइने बताइएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमै महराले मोहनविक्रम सिंह, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव, गोपाल किरातीलगायतलाई भेटेका हुन्।
‘अहिलेसम्म सबै कम्युनिस्ट घटक र नेताहरुसँग छलफल भएको छ। तर, एकता प्रयासले औपचारिक स्वरुप भने लिइसकेको छैन,’ स्रोतले भन्यो।
भदौ ६ गते बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले पनि समान विचार भएका वामपन्थी पार्टीसँग सहकार्य, एकता गर्दै नयाँ कम्युनिस्ट पार्टीको अवधारणाका साथ अगाडि बढ्ने निर्णय गरेको थियो।
पार्टी निर्णयअनुसार विभिन्न समयमा विभाजित भएका कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास थालिएको नेता युवराज चौलागाईले बताए।
‘बृहत् वाम एकता अहिलेको आवश्यकता हो। यसमा पूर्वमाओवादी मात्र होइन, देशमा छरिएका सबै कम्युनिस्टबीच एकता गराउने पहल भइरहेको हो,’ चौलागाईंले नेपाखबरसँग भने, ‘नेकपा बनाएपछि जनतामा आएको उत्साहले पनि त्यही देखाएको छ।’
विप्लव महरालाई भेट्न उनको खुमलटार निवास नै पुगेका थिए। गोपाल किरातीले त पूर्वमाओवादीबीच एकता गरेर नयाँ पार्टी बनाउनुपर्ने प्रस्ताव नै लगेका थिए।
‘माओवादीबाट विभाजन भएर बनेका पार्टीका नेतृत्वसँग एक चरण छलफल भइसकेको छ,’ स्रोतले भन्यो, ‘अब अर्को चरणको छलफल हुन्छ।’
२०६३ सालमा शान्ति प्रक्रियामा आएको माओवादी फुटेर टुक्राटुक्रा भएको छ। मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल आहुतीको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, गोपाल किरातीको माओवादी केन्द्र बनेका छन्।
‘कम्युनिस्ट घटकहरु मिल्नुपर्ने कुरामा सबै सकारात्मक भए पनि ठोस निर्णय भएको छैन,’ चौलागाईंले थपे।
पूर्वमाओवादी मात्र कि कम्युनिस्ट घटकबीच एकता?
माओवादीमा अहिले पूर्वमाओवादीबीच मात्रै एकता प्रयास गर्ने कि सबै कम्युनिस्ट घटकसँग भन्ने बहस छ। केही नेताले एमालेसँगको एकता ३ वर्ष पनि नटिकेकोले पहिला माओवादी घटकहरुबीच एकता गर्नुपर्ने तर्क गरेका छन्।
तर, बहुमत नेताहरुले पूर्वमाओवादी घटकहरुबीच मात्र एकताको कुरा गर्न नहुने सुझाव दिएका छन्।
‘पूर्वमाओवादी एक भएर मात्र मुलुकको अहिलेको आवश्यकता पुरा हुँदैन,’ माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले भने, ‘त्यसका लागि वाम ध्रुवीकरण हुनुपर्छ।’
पाँच दलीय सत्ता गठबन्धन चुनावसम्म कायम रहने उनीहरुले बताएका छन्। माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीसँग माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाले चुनावी तालमेल गर्ने प्रयास पनि जारी नै राखेका छन्।
जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईका अनुसार समाजवादी केन्द्र बनाएर आगामी निर्वाचनमा जाने प्रयास हुनेछ।
वैज्ञानिक समाजवाद मान्नेजति एकै ठाउँ
माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले पार्टीको राजनीतिक कार्यदिशा वैज्ञानिक समाजवाद हुने उल्लेख गरेका छन्। जसपाले पनि समाजवादी विचारधारालाई नै स्वीकारेको छ।
यसैका आधारमा पार्टीहरुबीच मोर्चाबन्दी हुने माओवादी केन्द्रका अर्का स्थायी समिति सदस्यले बताए।
‘माओवादी, विप्लव र माधव नेपालको पार्टीले वैज्ञानिक समाजवादको लक्ष्य राखेको देखियो, त्यही वैचारिक ग्राउन्डमा मोर्चाबन्दी र सहकार्य हुन्छ,’ ती नेताले थपे।
माधव नेपालको पार्टीसँग एकता नभए वा कांग्रेसले चुनावसम्म गठबन्धन कायम नराखे आफू बलियो हुनेगरी माओवादी केन्द्रले कम्युनिस्ट घटकबीच एकतालाई प्राथमिकता दिएको नेताहरु स्वीकार गर्छन्।
माओवादी केन्द्रले विभिन्न समयमा पार्टी एकता गर्दा जिम्मेवारी नदिइएका नेताहरुको जिम्मेवारी टुंगो लगाउन वर्षमान पुन, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको तीन सदस्यीय कार्यदल बनाएको छ।
Shares

प्रतिक्रिया