राजनीति


अहिलेसम्म सय जनालाई मन्त्री बनाएँ, अब पार्टी निर्माण गर्न नसक्ने भए विघटन गरौँ : प्रचण्ड

अहिलेसम्म सय जनालाई मन्त्री बनाएँ, अब पार्टी निर्माण गर्न नसक्ने भए विघटन गरौँ : प्रचण्ड

सागर न्यौपाने
भदौ २०, २०७८ आइतबार २१:१२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका एक सय बढी नेताहरुलाई मन्त्री बनाइसके पनि तीबाट आफूले सोचेजति साथ नपाएको गुनासो गरेका छन्। प्रदेशका नेताहरु प्रशिक्षण दिँदै प्रचण्डले पार्टी बनाउन नसक्ने हो भने विघटन गर्नुपर्ने बताएका थिए। 

भदौ १७ मा लुम्बिनी, १८ मा बागमती र १९ गते प्रदेश १ का केन्द्रीय सदस्य, इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवहरुलाई प्रचण्डले भर्चुअल सम्बोधन गरेका थिए। आफूले जसलाई अवसर दियो, उसैले धोका दिएको दुखेसो प्रचण्डले पोखेका थिए। अहिले पनि पार्टीका धेरैजसो नेताहरुले मन्त्री बनाउन दबाब दिइरहेको उनको भनाइ थियो।

रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी लगायतका नेताहरुले धोका दिएको पनि उनले स्मरण गरे। ती नेताहरु २०७७ फागुन २३ पछि माओवादी केन्द्र छोडेर एमाले पार्टीमा प्रवेश गरेका थिए। 

‘मैले आजसम्म प्रदेशका समेत गरेर सय बढीलाई मन्त्री बनाएछु,’ प्रदेश १ का नेताहरुलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तर, मन्त्री बन्ने, जनताको पक्षमा काम नगरी ती साथीहरु मलाई नै छोडेर जानुभयो, अब फेरि मन्त्री बनाउन दबाब दिइरहने संख्या बढ्दै गएको छ।’ 

‘पार्टी कसैले नबनाउने, नेतृत्वलाई घुर्क्याउन माग मात्र राख्ने गर्दा त कसरी पार्टी बन्छ?’ प्रचण्डले सोधेका थिए, ‘जिम्मेवारी र अवसर हुँदा पार्टी बन्छ भनेर जिम्मेवारी दियो तर, जिम्मेवारी पुरा नगरी अन्त हिँडिदिने? यो कस्तो कार्यशैली हो? दिएर मात्र पार्टी बन्ने भए माओवादीमा अवसर पाउन बाँकी साथीहरु निकै थोरै हुनुहुन्छ।’

केन्द्रीय सदस्य सुदन किरातीका अनुसार प्रचण्डले पार्टी चुस्त नबनाउने हो भने विघटन गर्नुपर्ने बताएका थिए।

‘पार्टी चुस्त नबनाउने हो भने विघटन गरिदिए हुन्छ, कार्ल माक्र्सले पनि त्यसको अभ्यास गर्नुभएको थियो। नयाँ विचार र नयाँ नेतृत्व आउँछ भने त्यसो गर्नपर्छ,’ प्रचण्डको भनाइ थियो, ‘नभए राम्रो पार्टी बनाउन सबैले मिहेनत गरौँ, नेतृत्वलाई हिजोको जस्तै सफल पारौँ।’

उनले पुरानै शैलीलाई निरन्तरता दिनुको अर्थ नभएको बताए। 

‘पुरानो शैलीमा रोटेपिङ जसरी पार्टी चल्दैन। यो पार्टीलाई कांग्रेस, एमाले भन्दा पृथक बनाउन सकेनौँ भने जनताको आकर्षण घटेर जान्छ, जनतालाई ढाँटेर, छलेर काम गर्नु हुँदैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै किरातीले भने, ‘खै नयाँ योजना? पार्टी संगठनलाई व्यविस्थित राख्न किन काम हुन नसकेको?’ 

माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्दैछ। फागुन २३ गते सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकता भइ बनेको नेकपा भंग गरेको थियो। एकता भंग भएर पूर्ववत् अवस्थामा फर्किएको माओवादी केन्द्रले महाधिवेशन नगरी राष्ट्रिय सम्मेलन गरेर नेतृत्व चयन गर्न लागेको हो।

त्यहीअनुसार आफ्ना नेताहरुलाई क्रियाशील बनाउने प्रयासमा प्रचण्ड लागेका छन्। उनले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशको प्रशिक्षण सकेका छन्। 

प्रदेश १ को प्रशिक्षणमा प्रचण्डले अहिलेको शासकीय प्रणालीले जनताको आवश्यकता पुरा नगर्ने भएकाले समीक्षा गर्नुपर्ने बताएका थिए।

‘अहिलेको प्रणालीले जनतालाई खुसी पार्न सकेन, जनताको कुनै पनि समस्या समाधान गर्न सकेन। उतिबेलै हामीले भनेको जस्तो जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनैपर्छ,’ प्रचण्डको भनाई उधृत गर्दै केन्द्रीय सदस्य हेमराज भण्डारीले नेपालखबरसँग भने।

उनले चुनावमा करौडौं खर्च गर्नुपर्ने अवस्थाको अन्त्य नगरी चुनावबाट राम्रो मानिसले जित्ने समभावना कम हुन थालेको पनि बताए।

‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनैपर्छ,’ प्रचण्डले थपे, ‘धन सम्पत्ति, दौलत, भ्रष्टाचार, कर्पोरेट हाउस कहिलेसम्म पोस्ने? अनि कार्यकर्ता कहिलेसम्म निराश भइरहने? चुनावमा करोडौं पैसा लिनुपर्ने, माफियाहरुको गोडा मोल्नुपर्ने, प्रतिस्पर्धाका लागि पैसावालासँग, कर्पोरेटवालासँग झुक्नुपर्ने यो प्रणालीले जनताको काम हुँदैन?’ 

नेतृत्वलाई विस्तापित गर्न चुनौती
भदौ १८ गते बागमती प्रदेशका नेताहरुसँग पनि प्रचण्डले पार्टी विघटनको कुरा कोट्याएका थिए। 

‘हामीले पार्टी निर्माण गर्न सक्दैनौँ भने नसक्ने नै भनौँ र विघटन गरौँ,’ प्रचण्डले भने, ‘यहाँ अवसरका लागि नेतृत्वलाई दबाब दिएर नबसौँ, दिइएका जिम्मेवारी पालना गरौँ।’

उनले नेतृत्व चित्त नबुझे विस्थापित गर्न तर पार्टी काम नछाड्न आग्रह गरे। 

‘नेतृत्व विस्थापित गर्ने भए पनि जानुस् नयाँ योजना लिएर आउनुस् तर, पार्टीले खटाएको काम नगरी सदरमुकाम, काठमाडौँ बसेर कसरी पार्टी बन्छ?’ प्रचण्डले आक्रोश व्यक्त गरे।

प्रचण्डले केपी ओलीलाई सत्ताबाट हटाउन आफूहरु सफल भएको बताएका थिए।

‘प्रतिगमनकारी, लोकतन्त्र, गणतन्त्रविरोधी केपी ओलीलाई हटाउने गम्भीर, जोखिम र जटिल काम गर्न सफल भइयो,’ प्रचण्डको भनाइ केन्द्रीय सदस्य युवराज चौलागाईंले उधृत गरे।

चौलागाईंका अनुसार प्रचण्डले ओलीको बहिर्गनपछि जनतालाई माओवादी केन्द्रले विकल्प दिने योजना बनाउन जोड दिएका थिए। 

‘अहिले सत्ता र शक्ति प्रधान हुन थाल्यो। शिक्षा, स्वास्थ्य लगायत जनताका आधारभूत आवश्यकता लथालिङ्ग भए हामीले यसको पुननिर्माण गर्नुपर्छ,’ प्रचण्डले भने।

उनले सत्ता गठबन्धन चुनावसम्म जाने बताए। 

‘गठबन्धन फुटाउने प्रयत्न भइरहेको छ, हामी यसलाई फुट्न दिँदैनौं, यो व्यवस्था जोगाउने गठबन्धन हो,’ उनले भने।

लुम्बिनीसँग आशावादी  
भदौ १७ गते प्रचण्डले लुम्बिनी प्रदेशका नेताहरुलाई सम्बोधन गरे। उनी लुम्बिनी प्रदेशसँग आशावादी देखिएको केन्द्रीय सदस्य तथा सांसद रेखा शर्माले बताइन्। 

शर्माका अनुसार प्रचण्डले लुम्बिनी प्रदेशबाट निकै भरोसा राखेको बताएका थिए।

‘लुम्बिनी प्रदेश जनयुद्धको केन्द्र हो, पार्टी निर्माण पनि तीव्र रुपमा बढाउनु आवश्यक छ, प्राप्त उपलब्धिको रक्षा गर्दै माओवादीको विरासत यो प्रदेशबाट कायम राख्नुपर्छ,’ प्रचण्डले भने।

एमाले र कांग्रेसबाट फरक हुनेगरी पार्टीले काम गर्न नसकेको गुनासो उनले गरेका थिए। 

‘पद पाउन कांग्रेस र एमालेमा जस्तै लुछाचुँडी गर्ने, तानाबाना बुन्ने हो भने हामी कसरी फरक भयौँ?’ प्रचण्डले सोधे, ‘कम्युनिस्ट नाममा घण्टी बजाउने हो भने मोहनविक्रमजी हुनुहुन्छ, मोहन वैद्यजी पनि हुनुहुन्थ्यो, तर, गतिशील पार्टी त भएन, हामी गतिशील बनाउनुपर्छ।’

उनले गठबन्धनको नाममा भर पर्न नहुने बताए। 

‘गठबन्धन बनाइसकेपछि जोगाएर जानुपर्ने हुन्छ, तर, गठबन्धनको मात्र भर परेर हुँदैन। हाम्रो पार्टीको खुट्टा टेक्ने ठाउँ भनेको त जनताकहाँ गएर मात्र हुन्छ, पार्टी बनाउने कुरामा लाग्नुपर्यो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad