राजनीति


माधव नेपालसित प्रदेशमा २२ प्रतिशत सांसद

माधव नेपालसित प्रदेशमा २२ प्रतिशत सांसद

सागर न्यौपाने
भदौ २२, २०७८ मंगलबार ६:१२, काठमाडौँ

संघीय संसदमा २० प्रतिशत सांसद पु¥याउन असफल भएका माधवकुमार नेपालले प्रदेशहरूमा भने २२ प्रतिशत संख्या एकीकृत समाजवादी पार्टीमा पु¥याएका छन् ।

एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेका नेपालले गण्डकी र लुम्बिनी प्रदेश बाहेकका ५ प्रदेशमा राम्रै साथ पाएका छन् ।

गण्डकीमा एक जना पनि प्रदेश सांसद समाजवादीमा गएनन्। लुम्बिनीमा जम्मा एक जनाले सनाखत गरेका छन्।

बाँकी पाँच वटा प्रदेशमा भने नयाँ पार्टीको अवस्था बलियो देखिएको छ। पाँचै प्रदेशमा गरेर सोमबार बेलुकासम्म ५१ जना प्रदेश सांसद एकीकृत समाजवादी पार्टीमा खुलेका छन्। सुदूरपश्चिममा सबैभन्दा ठूलो दल बन्दा एकीकृत समाजवादी प्रदेश २ मा एमालेभन्दा ठूलो दल बनेको छ।

सातै प्रदेशमा गरेर एमालेले २ सय ३२ प्रदेश सभा सदस्य जितेको थियो। एमालेबाट प्रदेश १ बाट ५१, प्रदेश २ मा २१, बागमती प्रदेशमा ५५, गण्डकी प्रदेशमा २७, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा २५ सांसद थिए। 

तर, एमालेका २२ प्रतिशत प्रदेश सांसद तान्न अध्यक्ष नेपाल सफल भएका छन्। निर्वाचन आयोगले नयाँ दलमा सनाखतका लागि २२ गतेसम्मको समय दिएको छ।

अध्यादेश ल्याएको २१ दिनभित्र दल परिवर्तन गरे प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको पद नजाने आयोगको निर्णय छ। जसअनुसार मंगलबार एक दिनको समय बाँकी छ। सरकारले भदौ १ गते राजनीतिक दल विभाजनको व्यवस्था खुकुलो पार्दै अध्यादेश ल्याएको थियो। 

एकीकृत समाजवादीमा खुल्ने प्रदेशका सांसदहरुको संख्या यकिन भएपनि स्थानीय तहको पूर्ण विवरण आइसकेको छैन। स्थानीय तहमा पनि मेयर, प्रमुख भन्दा बढी वडाअध्यक्ष, वडासदस्य एकीकृत समाजवादी पार्टीमा खुलेका छन्। 

बागमती प्रदेशका १३ सांसद नयाँ पार्टीमा खुलेका छन्। थप दुई जना आउने दाबी एकीकृत समाजवादीका नेताहरुको छ। 

काभ्रे, ललितपुर, धादिङ, मकवानपुर, चितवन, दोलखा लगायतका जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले समाजवादी पार्टीमा सनाखत गरेको भए पनि संख्या स्पष्ट छैन। काभ्रेबाट ६० जनाले सनाखत गरेका छन्।

सो पार्टीका प्रदेश सांसद लक्ष्मण लम्सालले आफूहरुलाई थप स्थानीय तहका जनप्रतिनिधिको समर्थन रहेको तर पदावधि ६ महिना मात्र रहेकाले तिनले सनाखत नगरेको दाबी गरे।

‘उहाँहरुले नयाँ पार्टीमा छु भन्नुभएको छ, स्थानीय जनप्रतिनिधिको अब काम गर्ने समय ६ महिनाभन्दा बढी नभएकोले खुलिहाल्न सक्नुभएन,’ लम्सालले भने, ‘उहाँहरुले सहयोग हामीलाई नै गर्नुभएको छ।’

संसदमा जस्तै स्थानीय तह र प्रदेशमा पनि एकीकृत समाजवादी बलियो शक्ति बनेको सो पार्टीको केन्द्रीय कार्यालयका प्रमुख गंगालाल तुलाधरले बताए। 

‘एमालेमा माधव नेपाल समूहलाई २० प्रतिशत पनि टिकट दिइएको थिएन,’ सो पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले नेपालखबरसँग भने, ‘त्यसमा अधिकांश साथीहरु हामीतिरै खुल्नुभयो। बाँकी जोगाउने प्रयास जारी छ। संसदमा जति प्रतिशत छ, देशभर हाम्रो संख्या त्यसबाट घट्दैन।’

समाजवादीमा प्रदेश १ मा अहिलेसम्म १० जना सांसदले सनाखत गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली, योगेश भट्टराई, सुवास नेम्वाङ, वसन्त नेम्वाङ लगायतका चल्तापुर्जा नेताहरु भएको सो प्रदेशमा एकीकृत समाजवादीले स्थानीय जनप्रतिनिधिबाट उत्साहजनक साथ पाएको इन्चार्ज घनेन्द्र बस्नेतले बताए। 

१४ वटा जिल्ला रहेको प्रदेश १ मा वरिष्ठ नेता झलनाथ खनालको जिल्ला इलाममा सो पार्टी सबैभन्दा बलियो देखिएको छ। सोमबारसम्म खनालको निर्वाचन क्षेत्रका झण्डै ६० जना जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेका छन्। 

सोमबारसम्म प्रदेश २ मा १३ जना प्रदेश सांसद एकीकृत समाजवादीमा खुलिसकेका छन्। बाँकी २ जना मंगलबारसम्म खुल्ने एक नेताले जानकारी दिए। 

प्रदेश २ मा साविकको एमालेका २१ प्रदेश सांसद थिए। त्यसमध्ये १५ जना माधव नेपालले गठन गरेको नयाँ पार्टीमा सनाखत गर्ने नेताहरु बताउँछन्।

एकीकृत समाजवादीका प्रवास कमिटी इन्चार्ज श्रीप्रसाद साहका अनुसार प्रदेश २ का ८ वटा जिल्लामध्ये पर्सा र महोत्तरी बाहेकका सबै जिल्लामा एकीकृत समाजवादी बलियो अवस्थामा छ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रदेश २ का चार सांसदले नयाँ पार्टी रोजेका छन्। कल्याणी खड्का, पुष्पा कर्ण, समिना खातुन र सरला यादव प्रदेश २ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद एकीकृत समाजवादी पार्टीमा खुलेका छन्। 

धनुषा, सप्तरी, सिरहा, रौतहट र बारामा आफ्नो पार्टी बलियो अवस्थामा रहेको साहले दाबी गरे। उनका अनुसार सप्तरीका गोविन्द न्यौपाने, सिरहाका प्रमोद यादव, रौतहटका कमलराय यादव र बाराका सुन्दर विश्वकर्मा एकीकृत समाजवादी पार्टीबाट अध्यक्ष बनेका छन्। रौतहटका यादवबाहेक अन्य तीनै जना प्रदेश सांसद पनि हुन्। 

सोमबारसम्म सर्लाहीका ४४, सप्तरीका २९, सिरहाका ५७, धनुषाका ३७, महोत्तरीका २, रौतहटका ७८, बाराका ८ र पर्साका ३ स्थानीय जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन्। 

प्रदेश २ को पार्टी कमिटीमा एमालेभन्दा एकीकृत समाजवादी बलियो रहेको साहले बताए। एमालेको २०७५ जेठ २ गतेअघिको अवस्थामा रहेका २ सय ३ केन्द्रीय सदस्यहरुमध्ये सो प्रदेशबाट ३० जना चुनिएका थिए। 

‘त्यसमध्ये १५ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा खुल्नुभएको छ,’ साहले नेपालखबरसँग भने, ‘पार्टी कमिटीका बहुसंख्यक नेता हामीतिरै खुल्नुभएको छ। पार्टीबाट विद्रोह गरेका कारण केही क्षति त हामीलाई भएको छ नै, तैपनि प्रदेश २ मा एकीकृत समाजवादी पहिलो पार्टी बन्छ।’

सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरेको कर्णाली प्रदेशमा सबैभन्दा पहिला एमाले विभाजन भएको थियो। २०७७ वैशाख ३ गते सो प्रदेशका ४ जना सांसदले पार्टी निर्देशनविपरीत माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।

सो प्रदेशका हुम्लाबाहेकका जिल्लामा एकीकृत समाजवादी पार्टीमा ठूलो संख्यामा जनप्रतिनिधि खुलेको प्रदेश इन्चार्ज प्रकाश ज्वालाले जानकारी दिए। 

‘एमालेको अत्याधिक दमनका बाबजुद कर्णाली प्रदेशमा उत्साहजनक रुपमा जनप्रतिनिधिले सनाखत गरिहनुभएको छ,’ ज्वालाले भने, ‘अझै केही जिल्लामा थपिने जानकारी दिनुभएको छ।’

सल्यानमा ७१, दैलेखमा ६०, कालिकोटमा ४६, जुम्लामा बहुसंख्यक र डोल्पामा ठूलोभेरीका मेयरलगायत केही गाउँपालिका अध्यक्ष, वडाध्यक्ष खुलेको ज्वालाले बताए। सुर्खेतका १३ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन्। 

सो प्रदेशमा निलम्बितसहित ७ प्रदेश सांसद नयाँ पार्टीमा खुलेका छन्। 

‘सल्यान, रुकुम पश्चिम, डोल्पा, जुम्ला र मुगुबाट मंगलबार अझै केही जनप्रतिनिधिले सनाखत गर्नुहुन्छ, कर्णालीमा हामी बहुमतमा हुन्छौँ,’ ज्वालाले थपे। 

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पार्टीमा १४ जना सांसदले सनाखत गरिसकेका छन्। सांसद तारा लामाले जनाएअनुसार सो प्रदेशमा एकीकृत समाजवादी बलियो अवस्थामा छ। सोमबारसम्म १४ जनाले समाजवादी पार्टीमा सनाखत गरेका छन्। त्यो संख्या अझै बढ्ने उनले बताए। 

‘अहिलेसम्म १४ जना माननीयले एकीकृत समाजवादीमा सनाखत गर्नुभयो। एमालेमा रहेका २५ जनामध्ये १ जनाले मात्र एकीकृत समाजवादीमा आउदिनँ भन्नुभएको छ, अरु साथीहरु छलफलमै हुनुहुन्छ,’ लामाले नेपालखबरसँग भने,  ‘२ जना त मन्त्री नै हुनुहुन्छ, १० जना साथीहरु जुनबेला पनि खुल्नसक्नुहुन्छ। अझै एक दिन समय छ।’

नौ वटा जिल्ला रहेको प्रदेशमा ५२ प्रदेश सांसद छन्। माओवादी १३, कांग्रेस १२ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्। १४ सांसद लिएर सुदूरपश्चिममा एकीकृत समाजवादी पहिलो पार्टी बनेको लामाले बताए। 

प्रदेश मात्र होइन स्थानीय तहमा पनि नयाँ पार्टी बलियो अवस्थामा छ। उनका अनुसार नौ वटा जिल्लाको स्थानीय तहमा अहिलेसम्म ५० जनाले एकीकृत समाजवादी रोजेका छन्। 

सुदूरपश्चिमको अछाममा एकीकृत समाजवादी निकै बलियो छ भने कञ्चनपुरमा निकै कमजोर। एमालेका उपाध्यक्ष भीम रावलले माधव नेपाललाई छाडेपछि अछामका ५ नेताले एमाले छाडेका छन्। 

अछामका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, प्रदेश सांसद मीनाकुमारी साउद, साँफेबगर नगरपालिकाका इन्चार्ज सिलोज कुँवर, मेयर कुलबहादुर कुँवर र चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउद एकीकृत समाजवादीमा लागेका छन्।

कञ्चनपुरमा नेपालले धक्का बेहोरेका छन्। ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले ५ वटामा प्रमुख र ७ वटामा उपप्रमुख जितेको थियो। तीमध्ये पुनर्वास नगरपालिकाका मेयर जीवन थापा मात्रै एकीकृत समाजवादीमा खुले। दोधारा–चाँदनी नगरपालिकाकी उपमेयर चिनी गिरी सोमबारसम्म कतै खुलेकी छैनन्।

कैलालीका ५२ जनाले समाजवादी रोजेका छन्। डडेल्धुरा, बैतडी, बझाङमा एकीकृत समाजवादी पक्षमा सनाखत हुने क्रम जारी छ। 

बाजुरा र दार्चुलामा भने एकीकृत समाजवादी भन्दा एमाले बलियो अवस्थामा छ। डोटीमा अहिलेसम्म एक जना प्रदेश सांसदले समाजवादी रोजेकी छन्। 

समाजवादी पार्टीका कार्यालय मुख्यसचिव गंगालाल तुलाधरले देशभर ध्रुवीकरणको प्रक्रिया तीव्र भइरहेको बताए। लुम्बिनी र गण्डकीमा पार्टी सोचेभन्दा कमजोर बनेको उनले स्वीकार गरे। 

‘तर, देशभरको अवस्था हेर्दा हामीलाई उत्साह जगाएको छ, अझैसम्म खुल्ने साथीहरुको आधारमा नयाँ कार्यक्रम र योजना अघि सार्छौँ,’ तुलाधरले भने, ‘कमजोर रहेका जिल्ला र प्रदेशमा हामी बलियो हुनेगरी काम गर्छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad