ad ad

राजनीति


कांग्रेस अधिवेशन : पोखरा महानगरको सभापतिमा ६ जना प्रतिस्पर्धी

दुईजना पत्रकार पनि चुनावी मैदानमा
कांग्रेस अधिवेशन : पोखरा महानगरको सभापतिमा ६ जना प्रतिस्पर्धी

केशव सावद
असोज ९, २०७८ शनिबार १४:१२, काठमाडौँ

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस अहिले देशभर अधिवेशनको चटारोमा छ। यसअघि वडा अधिवेशन भइसकेका  देशका विभिन्न पालिकाहरुमा शनिबार अधिवेशन भइरहेको छ।

देशका ठूला महानगरसहित गाउँपालिकाहरुमा पनि कांग्रेसलाई अधिवेशन लागेको छ। शनिबार देशका ६ महानगरमध्ये पोखरा र भरतपुर महानगरमा निर्वाचन भइरहेको छ। 

शनिबार कास्कीमा पनि नेपाली कांग्रेसको पालिका अधिवेशन भइरहेको छ। कास्कीको प्रमुख सहर पोखरा महानगरको सभापतिका लागि ६ जना प्रतिस्पर्धामा छन्। 

गण्डकीको राजधानी सहर पोखरा महानगरमा सभापतिका दाबेदार दुई पत्रकारसमेत देखिएका छन्। 

पोखरा महानगरको सभापतिका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष गंगाधर पराजुली पनि प्रतिष्पर्धामा उत्रिएका छन्। 

उनीसँगै अन्य पाँच जनाले सभापतिका लागि उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ। कांग्रेस सभापतिका लागि स्थानीय जनप्रतिनिधि पनि चुनावी मैदानमा छन्। 

पोखरा महानगर वडा नम्बर ११ का वडाध्यक्ष मोहनप्रसाद बाँस्तोला, पोखरा वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछाने, मिलन तिवारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छे र पत्रकार ज्योति हमालले मनोनयन दर्ता गराएका छन्। 

पोखरामा अहिले महानगर कार्यसमितिका लागि नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा मतदान भइरहेको छ। 

पोखरा महानगरपालिकाको नेतृत्वका लागि उम्मदवारी दिएका नेताहरुले आ–आफ्नो पक्षमा बहुमत आउने दाबी गरिरहेका छन्। 

तर, स्रोतले पोखरा महानगरपालिकाको सभापतिका लागि पराजुली र बिजुक्छेबीच मुख्य प्रतिष्पर्धा हुने दाबी गरेको छ। 

उपसभापतिमा ६ जना
उपसभापतिमा पनि ६ जनाले मनोनयन दर्ता गराएका छन्। कृष्णप्रसाद अधिकारी, निर्दोषविक्रम पौडेल, प्रयागराज भण्डारी, भवसागर बराल, शिव केसी र राजेन्द्र बरालले उपसभापतिका लागि मनोनयन दर्ता गराएका छन्। 

२ जना निर्वाचित हुने सचिवमा ३ जना, तथा २ जना नै निर्वाचित हुने सहसचिवमा ७ जनाले दाबी गरेका छन्। 

सचिवमा गणेशबहादुर थापा, टुबराज बास्तोला, सुरेन्द्रबावु तिवारीले उम्मेदवारी दर्ता गराएका छन्।

सहसचिवमा नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल, रविन कायस्थ, लक्ष्मी बास्तोला, शिवमोहन अधिकारी, सञ्जय आले र संघर्ष कोइरालाले मनोनयन दर्ता गराएका छन्। 

कार्यसमिति सदस्यमा अधिकांश निर्विरोध निर्वाचित भइसकेका छन्। पोखरा महानगरपालिकामा १ हजार ३ सय ७० जनाले मतदान गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .