ad ad

राजनीति


कांग्रेस अधिवेशन : लमजुङमा मतपत्र नै जलाइयो, देउवा पक्षले एकलौटी गरेको आरोप

कांग्रेस अधिवेशन : लमजुङमा मतपत्र नै जलाइयो, देउवा पक्षले एकलौटी गरेको आरोप

वाशुदेव मिश्र
असोज ९, २०७८ शनिबार २३:८, पोखरा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लमजुङको राइनास नगरपालिकामा दुई पक्षबीचको विवादले उग्र रुप लिँदा मतपत्र नै जलाइएको छ। 

मतपत्र जलाइएपछि त्यहाँ चुनावी कार्यक्रम नै भाँडिएको छ। राइनासमा नुरराज कडरिया र श्रीकृष्ण सिग्देल प्यानलसहित चुनावमा होमिएका थिए। 

त्यसक्रममा निर्वाचन समितिले मतपत्रमा दुवै उम्मेदवारको क्रम संख्या १ मात्रै राखेको थियो।

श्रीकृष्ण पौडेलको नाममा भोट हाल्ने कोष्ठ पनि राखिएको थिएन। दिउँसो चुनावी प्रक्रिया सुरु भएपछि मतदाताले मतदान अधिकृत दिनेश चिलुवालले जानाजान एउटा उम्मेदवारको पक्ष लिएको भन्दै विवाद झिकेका थिए। 

त्यति बेलासम्म २०२ मतदातामध्ये १२३ जनाले मतदान गरिसकेका थिए। 

सभापतिका उम्मेदवार श्रीकृष्ण पौडेलले सुनियोजित रुपमा आफूलाई हराउन खोजेको बताए।  

‘आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन खोज्ने हाम्रो चाहना थियो। तर निर्वाचनको नतिजा स्वीकार्न नचाहने व्यक्तिले यस्तो गरे’,उनले टेलिफोनमा भने,‘मतपत्रमा पहिलो अल्फाबेट अनुसार मेरो नाम सुरुमा हुनुपर्ने। श्रीकृष्ण पहिलो हुन्छ र नुरराज पछि हुनुपर्छ, कुनै एकमा रेजा लगाउनुहोस् भनेको छ, मेरोमा कोलम नै छैन, भोट कहाँ हाल्ने?'

उनले आफ्नो  क्रम संख्या २ हुनुपर्ने तर्क गरे। 'साथीहरुलाई २ नम्बरमा मत हाल्नु भनेँ। तर त्यहाँ भोट हाल्ने ठाउँ नै छैन', उनले भने, 'पार्टीलाई कब्जा गर्ने प्रवृत्ति हावी भयो।’

सभापतिका अर्का प्रत्यासी नुरराज कडरियाले मतदान अगाडि बढाउनुपर्ने अडान लिएका छन्।  कोठा नभएको विषयलाई सहमतिमा टुंग्याउने प्रस्ताव राखे पनि अर्को पक्षले अस्वीकार गरेको उनले दाबी गरे।

कडरियाले कोष्ठ बनाउने-नबनाउने कुरामा आफ्नो सरोकार नभएको बताउँदै षड्यन्त्र नगरिएको जिकिर पनि गरेका छन्। 

निर्वाचन अधिकृत दिनेश चिलुवालले मतपत्र छापिँदा एउटामा कोठा भएको र अर्कोमा नभएकाले निर्वाचनको क्रममा विवाद भएको स्वीकारे। उनले चुनाव रद्ध भएकाले अर्को सूचना नआएसम्म आफूले केही गर्न नसक्ने पनि जानकारी दिएका छन्।

राइनासमा देउवानिकट मानिएका यसअघि कांग्रेस प्रजातान्त्रिकका सभापति पनि भएका नेता तुलसीनारायण श्रेष्ठ र जिल्ला सभापतिका दावेदार डा. टंकराज गुरुङको क्षेत्र हो। दुवै त्यहाँका क्षेत्रीय प्रतिनिधि हुन्। 

सभापतिका प्रतिस्पर्धी नुरराज कडरिया र श्रीकृष्ण सिग्देल

तुल्सीनारायण विवाद समाधान समितिका संयोजकसमेत हुन् । तर, यति ठूलो लफडा हुँदा पनि दुवै नेता मौन बसेको पौडेलले बताए।

आफूलाई सर्वसम्मत सभापति बनाउने सहमति बन्दा पनि नदिइएको गुनासो उनले गरेका छन्।

'उहाँहरु (तुल्सीनारायण र टकराज) मौन रहनुभयो । विवाद समाधान समिति संयोजक नै तुलसीनारायण हुनुहुन्छ', उनले भने, 'मेरो कुनै गल्ती छैन। आन्तरिक प्रतिस्पर्धासँग डराउनेले यो घटना गराए। मैले जितेको अवस्थामा पनि अवैधानिक हुने गरी मतपत्र बनाइएको रहेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .