ad ad

राजनीति


एमालेमा उमेरहदः यसपालि ओली नरोकिने, अर्को महाधिवेशनमा धेरैको बाटो छेकिने

एमालेमा उमेरहदः यसपालि ओली नरोकिने, अर्को महाधिवेशनमा धेरैको बाटो छेकिने

सागर न्यौपाने
असोज ११, २०७८ सोमबार ६:२६, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले आइतबार पार्टीमा ७० वर्षे उमेरहद कायम रहने बताएका छन्। 

विधान संशोधन प्रस्तावमाथि छलफल गर्न शुक्रबार बनेको दस वटा समूहले उमेरहद कायम राख्न दबाब दिएपछि उनले यस्तो बताएका हुन्।

समूहगत रुपमा उठेका प्रश्नको जवाफ दिँदै आइतबार पौडेलले भने,  ‘७० वर्षे उमेर हद कायम राखिनेछ।’
 

पौडेलले भनेझैँ एमालेमा उमेरहद कायम राखियो भने अध्यक्ष केपी ओलीसहित दोस्रो पुस्ता भनिएकासमेत थुप्रै नेताहरुका लागि आउँदो महाधिवेशन अन्तिम कार्यकाल बन्नेछ। 

मंसिरमा दसौँ महाधिवेशनको मिति तय गरेको एमालेले असोज १५ देखि १७ सम्म विधान महाधिवेशन राखेको छ।

एमालेको विधान मस्यौदाको धारा ८३ अनुसार ७० वर्ष उमेर पुरा नभएको नेता मात्रै कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन पाउँछन्।

असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनले यसलाई अनुमोदन गर्नेछ। एमालेले पार्टी जीवनमा पहिलो पटक विधान महाधिवेशन गर्न लागेको हो।

त्यसअघि उमेरहद हटाइने हो कि भन्ने चिन्ता धेरै केन्द्रीय सदस्यमा देखिन्छ। एमाले र माओवादी केन्द्र एकता भएर २०७५ जेठ ३ मा नेकपा बनेपछि उमेरहदको प्रावधान नै हटाइएको थियो।

२०७७ फागुन २३ मा सर्वाेच्च अदालतले नेकपा भंग गर्ने फैसला गरेपछि पूर्ववत अवस्थामा फर्र्किएको एमालेले उमेर हदको प्रावधान फेरि कार्यान्वयनमा नल्याउने चर्चा चले थियो।  

२०७१ को नवौँ महाधिवेशनमा अध्यक्ष लगायत केन्द्रीय पदाधिकारीहरुका लागि एमालेले ७० वर्षे उमेरहदको प्रावधान राखेको थियो। 

तर, दसौँ महाधिवेशनमा उमेर हदको प्रावधान नराख्ने हल्ला चलेपछि केन्द्रीय सदस्यहरुले त्यो व्यवस्था नहटाउन नेतृत्वलाई दबाब दिए।

एमालेले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट पास गरेर विधान सम्मेलनमा पेस गर्दैछ। पौडेल विधान संशोधन गर्न बनेको कार्यदलका संयोजक हुन्।

७० वर्षको उमेर हद लागू भए मंसिरमा हुने दसौँ महाधिवेशनमा उम्मेदवारी दिन अध्यक्ष केपी ओलीलाई बाधा नपर्ने तर्क एमाले नेताहरुको छ। ओली आगामी फागुनमा ७० लाग्दैछन्।

महाधिवेशनका बेला ७० नटेकेकाले उनले एक कार्यकाल चलाउन पाउने उनीहरुको भनाइ छ।

एमालेले दसौँ महाधिवेशनमा ओलीलाई नै अध्यक्ष बनाउने छनक देखाएको छ। त्यसकै लागि उनी देशव्यापी दौडधुप गरिरहेका छन्।

यी नेताका लागि अन्तिम कार्यकाल
उमेरहद लागू भए नवौँ महाधिवेशनबाट उपाध्यक्ष बनेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, ईश्वर पोखरेल र भीम रावलको  ११ औँ महाधिवशेनमा उठ्न पाउने छैनन्। 

सुवास नेम्वाङ २००९ फागुन २८ मा जन्मिएका हुन्। फागुनदेखि ६९ वर्षमा प्रवेश गर्ने नेम्वाङका लागि यो महाधिवेशन नै अन्तिम हुनेछ। 

बागमती प्रदेशकी मुख्यमन्त्री समेत रहेकी शाक्य २०१० असोजदेखि ६८ वर्ष लागेकी छिन्। 

अहिलेको महाधिवेशनमा उनी जुनसुकै पदमा उम्मेदवार बन्न पाउँछिन्। तर, ११औँ महाधिवेशनमा भने उनलाई उमेरहद लाग्नेछ।

यस्तै २०१० माघ २२ मा जन्मेका महासचिव ईश्वर पोखरेल यही वर्ष ६८ वर्ष हुँदैछन्। उनी पनि ११ औँ महाधिवेशनमा अनिवार्य अवकाश लिनुपर्ने बाध्यतामा छन्। 

एमालेले हरेक ५ वर्षमा महाधिवेशन गर्छ। मंसिरमा महाधिवेशन भए त्यसको ५ वर्षपछि पोखरेलको उमेर ७३ पुग्नेछ। 

माओवादी केन्द्रबाट एमालेमा लागेका रामबहादुर थापा बादलका लागि पनि एमालेमा सक्रिय रहने यो कार्यकाल नै अन्तिम हो। 

बादल २०१२ जेठ ८ गते जन्मिएका हुन्। अबको पाँच वर्षपछि उनको उमेर ७१ हुनेछ।

२०१२ मंसिर ३० मा जन्मेका भीम रावलको नागरिकतामा जन्ममिति २०१३ साउन ४ छ। उनी पनि ११ औँ महाधिवेशनमा उम्मेदवार बन्न सक्ने छैनन्। उनी त्यसबेला ७१ वर्षका भइसक्नेछन्। 

एमालेबाट राजीनामा दिए पनि अस्वीकृत भएका वामदेव गौतम, अनुशासन आयोग प्रमुख अमृत बोहराले मंसिरमा तय भएको दसौँ राष्ट्रिय महाधिवेशनमा कुनै पदमा उम्मेदवारी दिन पाउने छैनन्।

बोहोरा वैशाख १५ बाटै ७४ वर्ष प्रवेश गरिसकेका छन्। गौतम पनि असार २६ गतेबाट ७४ वर्ष लागिसकेका छन्।

११ औँ महाधिवेशनः भुसाल, पौडेल र पोखरेलका लागि मैदान खाली
ओलीदेखि रावलसम्मले ११ औँ महाधिवेशनमा उम्मेदवार बन्न नपाउने भएपछि एमालेका शीर्ष नेताहरुको अनुहारमा व्यापक फेरबदल आउने सम्भावना छ। 

त्यसबेला अहिलेका उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिव शंकर पोखरेल प्रमुख पदका दाबेर बन्न सक्छन्।

माधव नेपालसँग निकट रहेर पार्टी विभाजनमा साथ नदिएका भुसाल एमालेमा टिकिरहे भने पौडेलसँगै अध्यक्षकै दाबेदार बन्न सक्छन्। 

पौडेल २०१६ मंसिर ५ मा जन्मिएका हुन्। आगामी मंसिरदेखि ६३ वर्ष वर्षमा प्रवेश गर्ने पौडेलका ११ औँ महाधिवेशनमा पनि उम्मेदवार बन्न सक्छन्।

यस्तै २०१८ भाद्र २६ मा जन्मिएका घनश्याम भुसालसँग ९ वर्षको समयावधि बाँकी छ। 

माओवादीमा लामो समय राजनीति गरेर एमालेमा लागेका लेखराज भट्ट २०१६ चैत ११ गते जन्मिएका हुन्। टोपबहादुर रायमाझी २०१७ सालमा जन्मिएका हुन्। उनीहरुलाई पनि ११ औँ महाधिवेशनमा उम्मेदवार बन्न कुनै समस्या छैन। 

तर, उनीहरुलाई एमालेमा घुलमिल हुन कत्तिको सजिलो होला, त्यो अहिले नै भन्न गाह्रो छ। 

प्रदीप ज्ञवाली २०१९ भदौ २८ मा जन्मिएका हुन्। ६० वर्षका उनी र २०१९ सालमा जन्मिएका शंकर पोखरेललाई उमेर हदले छुन १० वर्ष बाँकी छ।

अध्यक्ष ओलीले पौडेल र पोखरेलमध्ये कसलाई अघि सार्छन्, अहिले नै भन्न सकिने स्थिति छैन। तर, उनको रोजाइमा पोखरेल परे भने एमालेको ११ औँ महाधिवेशनबाट दोस्रो पुस्तामा नेतृत्व आउने देखिन्छ। 

एमालेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे गत भदौदेखि ६४ वर्ष लागेका छन्। नियमित महाधिवेशन भए उनलाई पनि ११औँ महाधिवेशनको उम्मेदवार बन्न उमेरहदले रोक्दैन।

तर, निर्धारित मितिमा महाधिवेशन नभए पाण्डेलाई उम्मेदवार बन्न कठिन हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .