नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५१ प्रतिशत नेपाली जनता आफ्नो पार्टीको पक्षमा रहेको बताएका छन्।
शुक्रबारदेखि जारी विधान महाधिवेशनलाई आइतवार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
आफूले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले आगामी चुनावमा पनि एमालेले नै जित्ने दाबी गरेका छन्।
उनले आफ्नो दोस्रो कार्यकालमा कयौँ विकासका काम गरेको पनि बताए। सडक मानव व्यवस्थापनदेखि मेलम्चीको पानी काठमाडौं ल्याएको तथा कयौँ ठूला विकासका काम गरेको पनि उनले जिकिर गरे।
'५१ प्रतिशत नेपाली एमालेको पक्षमा छन्', उनले भने, 'हाम्रो पालाका सरकारको विकासमुखी सोचहरुले नै यो सम्भव भएको हो।'
ओलीले एमाले अब लगातार जित्ने दाबी गरे। 'हामीले हिजो पनि जितेका हौँ, आज पनि जित्छौँ, भोलि पनि जित्दैछौँ, हामी जित्दैछौँ', उनले भने, 'देश अब बन्न सकेन भने हामीले जिम्मा लिनुपर्छ, अरुलाई दोष दिँदैनौँ।'
उनले सानातिना धक्काले आफूहरु नरोकिने बताए। 'सानातिना धक्का र हावाका झोक्काहरुले हाम्रो विजय यात्रालाई प्रतिकूल प्रभाव पार्न सक्दैन', उनले भने, 'यतिबेला हामीमाथि चौतर्फी हमला भइरहेको छ। वैचारिक र अन्य हमला पनि भइरहेका छन्। विचार र संगठनमाथि पनि हमला भइरहेका छन्।'
Shares

प्रतिक्रिया