ad ad

राजनीति


कांग्रेसमा बढ्दै युवाको पकड, घट्दैछ प्रौढको प्रभाव

नेतृत्व अझै पनि बुढापाकाकै हातमा
कांग्रेसमा बढ्दै युवाको पकड, घट्दैछ प्रौढको प्रभाव

केशव सावद
असोज १९, २०७८ मंगलबार १९:७, काठमाडौँ

‘आज देश पञ्चायती शासन सम्झिन बाध्य भएको छ। रामचन्द्र पौडेल जस्तो नेतालाई छुन आँट गर्न नसक्ने प्रहरी–प्रशासनले कठालो समात्ने दुस्साहस गर्नु राम्रो संकेत होइन। बहुमतको दम्भले आँखा नदेख्ने सरकारलाई हेक्का रहोस् प्रतिपक्षी मौन होला, तर निरीह र कमजोर छैन,’ २०७७ मंसिर १७ गते एलिजा ढकालले आन्दोलनका क्रममा खिचिएको आफ्नो तस्विरसहित यस्तो ट्वीट गरिन्। 

तत्कालीन प्रमुख प्रतिपक्षी कांग्रेसका वरिष्ठ नेता पौडेलमाथि गृहजिल्ला तनहुँमा तत्कालीन नेकपा नेतृत्वको सरकारले गरेको धरपकडको विरोधमा नेपाल विद्यार्थी संघले माइतीघर मण्डलमा गरेको विरोध प्रदर्शनमा उक्त तस्बिर खिचिएको थियो। 

उनै एलिजाले साउन १८ गते ट्वीटरमा लेखिन् ‘प्रधानमन्त्रीको कार्यकाल सक्किँदै गर्दा उहाँको काम हेरेर मलाई यसकारण मन पर्छ देउवा भनेर हामीले पनि भन्न पाइयोस्। कार्यकाल सुरु हुँदै खुर्सानीको बोटमा चढाएर दुर्घटना निम्त्याउन तत्पर समर्थकहरु प्रधानमन्त्रीलाई पार्टी र गुटको मात्रै होइन, देशको हुन देऊ। अवसर छ सुन्दर इतिहास रच्ने।’

वरिष्ठ नेता पौडेलमाथि सत्तापक्षबाट धरपकड हुँदा प्रतिपक्षमा रहेको कांग्रेस उनले साउन १८ मा ट्वीट गर्दा सत्तारुढ भइसकेको थियो। 

कांग्रेस प्रतिपक्षमा रहँदा जसरी उनी तत्कालीन सत्तारुढलाई खबरदारी गरिरहेकी थिइन्, त्यसैगरी कांग्रेस सत्तामा पुग्दा पनि प्रधानमन्त्री बनेका आफ्नै दलका सभापति शेरबहादुर देउवाको ‘किचेन क्याबिनेट’लाई सचेत गराइरहेकी छन्। 

यहाँ एलिजालाई प्रतिनिधि पात्रका रुपमा मात्रै देखाउन खोजिएको हो। उनी जस्तै सयौं सचेत युवा सत्तापक्षलाई बेलाबेला खबरदारी गर्दै आएका छन्। चाहे त्यो सडकमा उत्रिएर होस्, अथवा सामाजिक सञ्जालमार्फत। 

पछिल्लो समय नयाँ युवाको आकर्षण कांग्रेसप्रति बढ्दै गएको क्रियाशील सदस्यताले पनि पुष्टि गरेको छ। अर्कातिर कांग्रेसका वडा र नगर कमिटीमा पनि युवाहरुले उपस्थिति बढाउँदै लगेका छन्। 

बढ्दै युवा
कांग्रेसमा केन्द्रदेखि तल्लो तहको नेतृत्व चयनमा प्रत्यक्ष प्रभाव पार्ने क्रियाशील सदस्यहरूमा युवाको संख्या बढेको हो। प्रौढहरुको पार्टीको पहिचान बनाएको कांग्रेसमा पछिल्लो पटक सदस्यता वितरण लचिलो बनाइएकाले युवाहरु बढेका हुन्। 

कांग्रेसमा नयाँ सदस्यता लिनेको संख्या चार लाख ४३ हजार ६७८ छ। यस्तै चार लाख नौ हजार ३३ जनाको सदस्यता नवीकरण गरिएको छ।

जसमा पुरुषहरूको संख्या ६ लाख ५३ हजार चार सय ३८ छ। एक लाख ९९ हजार ९७ जना महिला छन्। १७६ जना अन्य रहेका छन्। 

कांग्रेसमा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७, २६ देखि ४० वर्ष उमेर समूहका दुई लाख ४९ हजार ७७४ जना सदस्य रहेका छन्। 

यसरी हेर्दा कांग्रेसमा युवा क्रियाशील सदस्यहरुको संख्या दुई लाख ९० हजार २०१ पुगेको छ। ४१ देखि ६० वर्ष उमेर समूहका तीन लाख २८ हजार २४३, ७१ देखि ७५ वर्ष उमेर समूहका ८३ हजार १० र ७५ भन्दा माथि उमेर समूहका ११ हजार ७८२ क्रियाशील सदस्यता संख्या पुगेको छ। 

प्रतिशतमा हेर्दा १६ देखि २५ वर्ष उमेर समूहका ४.५९, २६ देखि ४० वर्ष उमेर समूहका २८.३८, ४१ देखि ६० वर्ष उमेर समूहका ३७.३०, ६१ देखि ७५ वर्ष उमेर समूहका ९.४३ र ७५ भन्दा माथिको उमेर समूहका १.३३ क्रियाशील सदस्य छन्। 

समग्रमा १८ देखि ६० वर्ष उमेर समूहका क्रियाशील सदस्यको संख्या ७० प्रतिशतभन्दा माथि छ । ६१ देखि ७५ वर्षसम्मका क्रियाशील सदस्यको संख्या झण्डै दश प्रतिशत छ भने ७५ वर्षभन्दा माथिको संख्या जम्मा १ भन्दा केही प्रतिशत बढी छ ।

कांग्रेसमा क्रियाशील सदस्यबाट निर्वाचित महाधिवेशन प्रतिनिधिले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छ । 

क्रियाशील सदस्यमा युवाको बाहुल्यता देखिएका कारण आसन्न महाधिवेशनले चयन गर्ने केन्द्रीय कार्यसमितिमा कांग्रेसमा युवा भनिने दोस्रो र तेस्रो पुस्ताका नेता बढ्ने अवस्था देखिएको छ। 

नेतृत्वमा बूढापाका
यद्यपि, कांग्रेसको मुल नेतृत्वमा भने ६१ वर्षभन्दा माथिको उमेर समूहबाटै आउने निश्चित छ। कांग्रेस १८ देखि ६० वर्ष उमेर समूहका क्रियाशील सदस्यसँगै नेताहरुको बाहुल्यता भए पनि ६१ वर्षभन्दा माथिल्लो उमेर समूहका नेतालाई चुनौती दिने हैसियतमा कोही छैनन्। 

अहिले कांग्रेसमा मूल नेतृत्वका लागि दाबी गरिरहेका युवा नेता कल्याण गुरुङबाहेक सबै ६१ वर्षभन्दा माथिको उमेर समूहका छन्। 

सभापतिका प्रमुख दावेदार सभापति शेरबहादुर देउवा भर्खर ७६ वर्षमा लागेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल ७६ वर्षमा छन् । 

सभापतिको आकांक्षा राखेका शेखर कोइराला ७०, प्रकाशमान सिंह ६५, विमलेन्द्र निधि ६४ र शशांक कोइराला ६२ वर्षका छन्।

तर, मूल नेतृत्वभन्दा तल अर्थात पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यमा युवा पुस्ताको उपस्थिति आगामी केन्द्रीय कार्यसमितिमा मजबुत हुनेमा कांग्रेसका युवा नेताहरु आशावादी देखिएका छन्। 
‘केन्द्रीय कार्यसमितिको संख्या धेरै छ। मूल नेतृत्वमा पहिलो र दोस्रो जेनेरेसन आउन सक्ने सम्भावना हुन्छ,’ महामन्त्रीका आकांक्षी युवा नेता प्रदीप पौडेलले नेपालखबरसँग भने, ‘तेस्रो जेनेरेसन पदाधिकारीमा, केन्द्रीय कार्यसमितिमा एकदमै धेरै उपस्थित हुन्छ। सम्भावना एकदम धेरै छ।’

कांग्रेसले संविधानमा व्यवस्था भएको समावेशीकरणको सिद्धान्तअनुसार विधान तयार गरेकाले आगामी कार्यसमितिमा युवाको उपस्थितिलाई बल पु¥याएको समावेशीतर्फको सहमहामन्त्री पदका आकांक्षी युवा नेता जीवन परियारको बुझाइ छ। 

‘समावेशीकरणको नीतिलाई कांग्रेसले अझै व्यापक बनाएको छ। नेपालको संविधानबमोजिम समावेश गर्नुपर्ने समावेशी समूह सबैलाई केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गराउने नीति पार्टीले लिएको छ। जसका कारणले गर्दा हरेक समूहबाट युवाको उपस्थिति अझै बढ्ने प्रवल सम्भावना छ,’ उनले भने।

कांग्रेसले पछिल्लो समय वितरण गरेको क्रियाशील सदस्यतामा युवाको उपस्थिति बलियो देखिएका कारण पनि केन्द्रीय कार्यसमितिमा युवाको वर्चश्व वृद्धि गर्ने परियारको दाबी छ। 

‘पहिलेको भन्दा अहिले युवा क्रियाशील सदस्य संख्या बढेको छ। उनीहरुले आफ्नै उमेर समूह र आफूभन्दा केही माथिको समूहलाई प्रतिनिधि चुनेर पठाउँछन्,’ उनले भने, ‘ती प्रतिनिधिहरुको जति युवासँग एक्सेस हुन्छ, त्यति पाका नेताहरुसँग हुँदैन। कुरा सुन्ने, नजिकको सम्बन्ध बनाएका नेताहरुलाई नै उनीहरुले मतदान गर्छन। यसले पनि युवाको उपस्थितिमा वृद्धि हुने देखिन्छ।’    

कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका अध्यक्ष तथा पार्टीको केन्द्रीय कार्यसमिति सदस्यका आकांक्षी बद्री सिग्देल पनि आगामी कार्य समितिमा युवाको उपस्थिति बलियो देखिने सम्भावना रहेको बताउँछन्।

उनी पनि मूल नेतृत्वमा ६१ माथिको उमेर समूहकै पाका नेताहरु मध्येबाटै आउने जिकिर गर्छन्। पदाधिकारीमा दोस्रो पुस्ताका नेताहरु आए पनि केही पदाधिकारी र केन्द्रीय सदस्यमा युवाको वर्चश्व हुने सिग्देलको भनाइ छ। 

‘मेन लिडरसिप पाको नेताहरुबाटै आउँछ,’ उनले भने, ‘पदाधिकारीमा दोस्रो पुस्ताका नेता आउने निश्चित झै छ। तर, केही पदाधिकारी, केन्द्रीय सदस्यमा तेस्रो तहका नेताहरुकै बाहुल्यता हुन्छ।’

प्रदीप पौडेल, नेता, कांग्रेस

नेता पौडेल पार्टीमा गुटको प्रभाव भएकाले बाहिरबाट वा एक्लै स्थापित हुन अझै पनि युवाहरुलाई चुनौती रहेको बताउँछन्।

‘हाम्रोमा सबैभन्दा बढी प्रभाव गुटहरुकै छ। गुटभित्र आफ्नो उपस्थिति देखाउन सकेन, गुटको माध्यमबाट नेतृत्वमा आउन सकेन भने स्वतन्त्र भएर, आफु एक्लै भएर अथवा आफ्नै उमेर समूहका लागि कन्भिन्स गरेर आउन सक्ने स्थिति हुँदैन', उनी भन्छन्, 'युवा भनिनेहरू पनि गुटभित्रै आवद्ध छन्। गुटको प्रभाव बढी छ, गुटको प्रभाव भएका कारणले उमेरजन्य हिसाबले युवा मानिनेहरू बाहिरबाट आउन सक्ने सम्भावना कम हुन्छ।’ 

प्रतिमा गौतम, नेविसंघ पूर्वमहामन्त्री, केन्द्रीय सदस्यकी आकांक्षी
भ्रातृ संगठनहरु फर्मेशन हुन सकेनन्। लामो समय संगठनमा बसेर काम गरेका साथीहरु ठूलो संख्यामा हुनुहुन्छ। उहाँहरु महाधिवेशन प्रतिनिधि भएर आउँदै हुनुहुन्छ। 

यसरी आउने साथीहरुले तेस्रो पुस्तालाई इन्करेज गरिरहनुभएको छ। उहाँहरुले इन्करेज गरेअनुसार हुन्छ भने अब कांग्रेसको केन्द्रीय कार्यसमितिमा युवाको उपस्थिति धेरै हुने निश्चित छ। 

सरोज कुमार थापा, नेविसंघ पूर्वमहामन्त्री, केन्द्रीय सदस्यका आकांक्षी
सम्भावना धेरै छ। विधानअनुसार संख्या पनि थपिएको छ। विभिन्न छलफल, अन्तरक्रियाहरूमा चाहे जुनसुकै गुटको होस् तर युवा पुस्ताको प्रत्यक्ष सहभागिता हुनुपर्छ भन्नेको जमात ठूलो छ। 
एजेन्डामा आधारित आन्दोलनको नेतृत्व गरेका युवा विद्यार्थीले नै अब समृद्धिको यात्रामा हस्तक्षेप गर्नुपर्छ भन्ने महसुस गरेका छन्। 

आमनागरिकमा पनि पुराना पुस्ताको लिडरहरू संविधान कार्यान्वयन, राज्य सञ्चालन गर्ने कुरामा परिपक्व कौशल देखाउन चुकेको भान परेको छ। यस्तो अवस्थामा युवालाई अवसर दिनुपर्छ भन्नेको संख्या बढ्छ नै।

तल्लो तहका कार्यसमितिमा अहिले पनि युवाको उपस्थिति राम्रो छ। यसपल्ट क्रियाशील सदस्यहरु पनि युवा नै बढी छन्। 

उनीहरुले महाधिवेशन प्रतिनिधि पनि आफ्नै उमेर समूहभित्रका लाई पठाउँछ। झण्डै ६० प्रतिशत प्रतिनिधि युवा आउने सम्भावना देखिन्छ। त्यसैले केन्द्रीय कार्यसमितिमा युवाको प्रतिनिधित्व बढी गराउने सम्भावना रहन्छ। 

जीतजंग बस्नेत, अध्यक्ष, नेपाल तरुण दल, केन्द्रीय सदस्यका आकांक्षी
क्रियाशील सदस्यतामा जुन ढंगको उपस्थिति देखिएको छ त्यतिनै प्रतिशत महाधिवेशन प्रतिनिधिमा प्रभाव पर्यो भने युवाको उपस्थिति व्यापक रुपमा हुन सक्छ। सम्भावना एकदम धेरै छ। केन्द्रीय कार्यसमितिको संख्या पनि धेरै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .