ad ad

राजनीति


के होला आगामी चुनावमा जसपा र लोसपाको अवस्था?

के होला आगामी चुनावमा जसपा र लोसपाको अवस्था?

शैलेन्द्र महतो
असोज २५, २०७८ सोमबार १०:५५, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) विधिवतरुपमा विभाजन भइसकेको छ। जसपाबाट विभाजन भएको महन्थ ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समेत गठन गरिसकेको छ। 

जसपा र लोसपाको मुख्यआधार क्षेत्र प्रदेश २ नै हो। पूर्व संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरण हुँदा यो प्रदेशको सबैभन्दा शक्तिशाली पार्टीको रुपमा जसपाको उदय भएको थियो। 

तर, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन–२ काण्डको पक्ष र विपक्षको भूमरीमा फस्दा अन्ततः जसपा विभाजन भएरै छाड्यो। यो विभाजनले पहिलेको तुलनामा जसपा कमजोर भएको छ। यद्यपी प्रदेश २ का स्थानीय तह र प्रदेश सांसदको अंक गणितमा अहिले पनि जसपा एक नम्बर स्थानमै छ।

प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालिन उपेन्द्र यादव नेतृत्वको फोरमले २६ पालिका प्रमुख र ३६ उपप्रमुख जितेको थियो। यस्तै राजपाले २५ पालिका प्रमुख र ३१ उपप्रमुखमा जित हात पारेको थियो।

पाटी विभाजन भएपनि जसपामासँग प्रदेश २ मा स्थानीय तहका प्रमुख ३४ र उपप्रमुख पनि ३४ जना छन्। पूर्व फोरमबाट विजयी भएका प्रायःपालिका प्रमुख र उपप्रमुख जसपातिरै छन्। पूर्व राजपाबाट जितेका कतिपय पालिका प्रमुख र उपप्रमुख पनि जसमामै बसेकाले यो दल प्रदेशमा सबैभन्दा ठूलो छ । विभाजनपछि लोसपातिर १७ जना पालिका प्रमुख र २२ जना उपप्रमुख मात्रै लागेका छन्।

चुनावमा बनेको गठबन्धनले ठूलो शक्ति
२०७४ को चुनावमा गठबन्धन बनाएर लडेका फोरम र राजपा प्रदेशमै ठूलो शक्ति बने। प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी १०७ प्रदेश सांसदको लागि भएको निर्वाचनमा फोरम ३० र राजपा २५ सीटमा बिजयी भए।

गठबन्धनले स्पष्ट बहुमत पाउँदा दुबै दल मिलेर सरकार बनाए। पछि पार्टी एकता हुँदा ५५ सांसदको एकल बहुमतको सरकार बन्यो, जसको मुख्यमन्त्री फोरमका लालबाबु राउत बने। 

पार्टी विभाजन पश्चात जसपा अब सभामुखसहित ३९ प्रदेश सांसदमा सिमित भएको छ। यधपी प्रदेशसभाको पहिलो दलकै हैसियतामा जसपाका मुख्यमन्त्री राउत अहिले पनि सरकारको नेतृत्व गरिरहेका छन्। माओवादी केन्द्र, कांग्रेस र नवगठित एकीकृत समाजवादीको समर्थनमा उनले प्रदेशसभाबाट भर्खरै विश्वासको मतसमेत लिइसकेका छन्।

जसपाका १६ प्रदेश सांसदले सनाखत गरेको नवगठित लोसपा प्रदेशसभाको तेश्रो दलको हैसियतमा पुगेको छ।

अगामी चुनावमा आफैँ शक्तिशाली हुने दुबै दलको दाबी
पार्टी विभाजले यतिबेला दुबै दलका नेता कार्यकर्तामा निरासा छ। जसपा र नवगठित लोसपाका कार्यकताको मनोवल गिरेको छ। तर, आगामी तीनै तहका निर्वाचनमा आफैँ तराई मधेशमा सबैभन्दा ठूलो दल हुने दाबी भने दुबै दलले गरिरहेका छन्। 

‘विभाजनले पार्टी केही कमजोर पक्कै भएको छ। एक ठाउँमा हुँदा झनै राम्रो हुन्थ्यो। तर हाम्रो पार्टी सिद्धान्त विचार अनुसार गआडि बढ्छ,’ प्रदेश २ का जसपा अध्यक्षसमेत रहेका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजय यादवले भने, ‘ठूलो गल्ती गर्ने केही व्यक्तिहरु गए। यसले जसपा कमजोर हुँदैन।’ 

वितगमा मधेशमा मात्रै सिमित पार्टी अहिले तराई, पहाड, हिमाल सबैतिर विस्तार भएकोले अगामी निर्वाचनमा जसपा झनै शक्तिशाली हुने उनको तर्क छ। 

‘पहिले पार्टी मधेशमा मात्रै सिमित थियो। अहिले हिमाल, पहाड, तराई मधेश सबैतिर विस्तार भइसकेको छ। अहिले पनि पाँचवटा प्रदेश सरकारमा जसपाको सहभागिता छ। अर्को प्रदेश सरकारमा पनि हामी चाँडै सहभागी बन्दैछौँ,’ यादवले भने ‘जनतमा जागरुकता आएको छ। हाम्रो पार्टीमा सुदृढिकरणको अभियान जारी छ । यसले आगामी निर्वाचनमा एउटा बलियो शक्तिको रुपमा जसपाको उदयहुने निश्चित छ।’

नवगठित लोसपा पनि आगामी चुनावमा मधेशवादको मुद्दा लिएर अघि बढ्दै बलियो पार्टी बनाउने रणनीतिमा छ। ‘अहिले पार्टी सांगठानिक प्रकृयामा छ । मधेशमा एक लोकतान्त्रिक पार्टी बनाउनु छ । मधेशवाद र लोकतन्त्र दुईवटा आधारस्तम्भसहित हामी चुनावमा जान्छौं’, लोसपा प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले भने। 

उनले पहिचान, समावेशीताको सवाल, पछौटेपन, प्रताडित, उत्पीडित वर्गलाई राज्यको मूलधारमा ल्याउन पहिचानसहित मधेशवादको मुद्दा लिएर लोसपा अगाडि बढ्ने बताए।   

राजनीतिक विश्लेषकको तर्क : अब मधेशवादी दल कमजोर हुन्छन्
कोर मधेशको भूगोल रहेको प्रदेश २ लाई संघीयताको जननी मानिन्छ। २०७२ को संविधान घोषणाको मुखमा अधिकारको आन्दोलनको नाममा मधेशवादी गठबन्धन नेतृत्वमा ६ महिना लामो मधेश आन्दोलन चलेको थियो। 

सोहि आन्दोलनको सेन्टिमेन्टकै जगमा २०७४ को चुनावमा प्रदेश २ मा मधेशवादी दल स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बन्न सफल भएका हुन्।

तर, मधेश आन्दोलनमा दिएको आश्वासन र गरेको प्रतिवद्धता पूर्व राजपा र फोरमले स्थानीय सरकार र प्रदेश सरकारमा पुग्दा विर्सिए। उनीहरुले जनभावनाको कदर गर्न सकेनन् । सधैँ काँग्रेस, एमाले र माओवादीलाई गाली गरेर दोष देखाउनमै उनीहरु सिमिति रहे।  पूर्व फोरम र राजपाका जनप्रतिनिधिले मधेशमा खासै केही गर्न नसकेको गुनसो अहिले मधेशमा व्यापक छ। 

सत्तामा पुग्दा सुख सुविधाभोगी बनेको, स्वार्थीपना देखिएको, नातावाद, कृपावाद र नांगै ढंगले भ्रष्टाचारमा डुबेको जस्ता आरोप उनीहरुमाथि छ। यसले मधेशवादी दलप्रति नकरात्मकता त बढेको छ नै, मधेश आन्दोलनको सेन्टिमेन्ट शून्यमा झर्दा अगामी चुनावमा जसपा र लोसपाको अवस्था कमजोर हुने राजनीतिक विश्लेषकहरुको तर्क छ।
  
मधेशवादी दलको गतिविधिले अगामी चुनावमा ती दलको अवस्था अहिलेभन्दा कमजोर हुने  आँकलन मधेशका राजनीतिक विश्लेषक भरत विमल यादवको छ।

मधेशवादी दलहरु अगामी निर्वाचनमा कमजोर हुने उनले तीनवटा कारण औंल्याए। ‘विगतको मधेश आन्दोलनको सेन्टिमेन्ट शून्य भएको अवस्था, मधेशवादी पार्टीमा भएको विभाजन र सत्तामा हुँदा गरेको भ्रष्टाचारजन्य कृयाकलापले मधेशवादी दल कमजोर हुन्छन्,’ यादवले भने।

‘बिगतको चुनावमा मशेधवादी दलहरुप्रति यहाँका नागरिकमा जुन सेन्टिमेन्ट थियो, त्यो अहिले जिरोमा झरेको छ। पार्टी विभाजनले शक्ति क्षिण भएकै छ,’ उनले भने, ‘त्यसमाथि सत्तामा पुग्दा गरेको भ्रष्टाचार र स्वार्थी व्यवहारले उनीहरु झन् बदनाम भएका छन। मधेशकै जनतामा मधेशवादी दलप्रति नकरात्मकता बढेको छ।’

मधेशवादी नेताहरु खानपिउन र निहीत स्वार्थका लागि मात्रै काम गर्छन् भनेर जनतामा वितृष्ण पैदा भएको यादवले बताए। उनले नेपालखबरसँग भने, ‘जसको कारण मधेशवादी दलको लागि आगामी चुनाव अनुकूल हुने देखिँदैछ।’

मधेशवादीले एजेण्डाको रुपमा ल्याएको संघीयता स्थापना भएपछि सत्तामा पुग्दा मधेशवादी दल नै संघीयता बदनाम गर्न लागि परेका उनको आरोप छ। जसले संघीयता विरोधीलाई सहयोग पुगिरहेको उनले बताए।
 
‘संघीयताको लागि आबाज उठाउने मधेशवादी दल नै हुन्। पहिले केन्द्रमा भ्रष्टाचार हुँदा हामीले चर्को नारा लगायौँ, आन्दोलन गर्यौं। तर, अब भ्रष्टाचार केन्द्रमा मात्रै सिमित छैन, गाउँगाउँमा विस्तार भएको छ,’ उनले भने, ‘अहिले केन्द्रमा भन्दा कयौं गुणा बढी प्रदेश र स्थानीय सरकारमा भ्रष्टाचार छ । मधेशका नेताहरुले आफूलाई राजाजस्तै सम्झिन थालेका छन्। भ्रष्टाचारमा लिप्त छन्।’

मधेशका अर्का राजनीतिक विश्लेषक तथा लेखक चन्द्रकिशोर झाले पनि अबको चुनावमा मधेश आन्दोलनको सेन्टिमेन्ट नरहने बताए। ‘मधेशवादी दल प्रदेश २ मा काँग्रेस, एमाले र माओवादी भन्दा फरक देखिएनन्,’ उनले भने, ‘अबको चुनावमा मधेश आन्दोलनको सेन्टिमेन्टले काम गर्ने अबस्था छैन।’

उनले आगामी चुनावमा मधेशमा उम्मेदवारको आफ्नो व्यक्तित्व र जातीय समिकरणले काम गर्न सक्ने अनुमान गरे। ‘पहिले यी उम्मेदवारले चुनाव जितेर के गरेका थिए? उसको आफ्नो संगठनको अवस्था कस्तो छ? अबको चुनावमा मधेशका मतदाताले यस्ता प्रश्नहरुको पनि उत्तर खोज्नेछन्,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .