ad ad

राजनीति


इतर समूहकी सुजातालाई उद्योगमन्त्री बनाउन संस्थापन पक्षका नेता ‘लबिङ’मा!

इतर समूहकी सुजातालाई उद्योगमन्त्री बनाउन संस्थापन पक्षका नेता ‘लबिङ’मा!

फाइल तस्बिर : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता सुजाता कोइराला।


केशव सावद
असोज २८, २०७८ बिहिबार ९:२८, काठमाडौँ

मन्त्री पदमा नियुक्ति पाएको ३ दिनभित्रै गजेन्द्र हमालले राजीनामा दिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले सम्हालिरहेका छन्। 

प्रधानान्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’मा गैरसांसद आफूलाई  मन्त्री बनाइएको भन्दै पार्टीभित्रैबाट आलोचना भएपछि कांग्रेस बाँकेका पूर्वसभापति हमालले यही असोज २४ गते मन्त्री पदबाट राजीनामा दिएका हुन्। 

त्यस दिन बिहानै प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) पुगेर हमालले प्रधानमन्त्री देउवासमक्ष राजीनामापत्र बुझाएका थिए। योसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अब को बन्छ भन्ने चासो कांग्रेस वृत्तमा छ। 

कांग्रेस कोटाबाट हमालको नियुक्ति भएकाले उनको स्थानमा सोही पार्टीबाटै मन्त्री बनाइने निश्चितजस्तै छ। तर कांग्रेसभित्र उक्त मन्त्रालय कुन समूहले पाउने, टुंगो लाग्न सकेको छैन।  

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह खाली मन्त्रालय आफ्नो भागमा पार्ने पक्षमा देखिएको छ। मन्त्रिपरिषद् विस्तारका क्रममा ३ मन्त्रालय दाबी गरेको पौडेल समूह भनेजति नपाएपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवासँग असन्तुष्ट छ। 

हमालको राजीनामापछि खाली बनेको उद्योग मन्त्रालय आफ्नो समूहले पाए वरिष्ठ नेता पौडेल आफूनिकट तेजुलाल चौधरी तथा पूर्वमहामन्त्री प्रकाशमान सिंह राजन केसीलाई मन्त्री बनाउने मनस्थितिमा रहेको स्रोतले जानकारी दिएको छ। 

यही असोज २० गते बालुवाटारमा प्रधानमन्त्री देउवासँगको छलफलमा वरिष्ठ नेता पौडेलले तीनवटा मन्त्रालय मागेका थिए। तर देउवाले तीनवटा दिन नसकिने बताएपछि पौडेल समूहका नेता प्रधानमन्त्री निवासबाट बाहिरिएका थिए।  

सोही दिन दिउँसो आफ्नै निवास (बोहराटार) मा नेता पौडेलले मन्त्रालय बाँडफाँडबारे आफ्नो समूहको बैठक राखेका थिए। छलफलमा पौडेलले दिलेन्द्रप्रसाद बडु र तेजुलाल चौधरी, महामन्त्री डा. शशांक कोइरालाले डा. मीनेन्द्र रिजाल र नेता सिंहले राजन केसीको नाम मन्त्रीका लागि सिफारिस गरिनुपर्ने बताएका थिए। 

संस्थापन इतर समूहमै रहेकी नेता सुजाता कोइराला पनि मन्त्री पदको आकांक्षी थिइन्। तर बैठकमा उनको नाम कसैले पनि नलिएको बताइन्छ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्दैगर्दा कोइराला पनि मन्त्री बन्ने चर्चा थियो। तर उनी वर्तमान सरकारमा अटाइनन्।

प्रधानमन्त्री देउवाले पौडेल समूहलाई दुई मन्त्रालय दिएका छन्। पौडेल समूहभित्रकै दुई उपसमूहले आफूलाई मन्त्रिपरिषद्मा नपारेपछि कोइराला आफ्नै समूहसँग असन्तुष्ट छन्। यसपछि कोइरालाले अब आफू नेता पौडेल र महामन्त्री डा. कोइरालाका पक्षमा नरहेको संकेत दिइसकेकी छन्। 

यसैले यतिबेला नेता कोइरालालाई आफूतिर तान्न संस्थापनपक्षकै नेताहरू रिक्त मन्त्रालयको जिम्मेवारी उनलाई दिनुपर्ने ‘लबिङ’मा लागेका छन्। 

महाधिवेशनमा कोइराला परिवारलाई विभाजन गर्न सके प्रत्यक्ष फाइदा हुने भएकाले आफूहरू उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिनुपर्ने ‘लबिङ’ मा लागेको कुरा प्रधानमन्त्री देउवानिकट स्रोतले बतायो। 

‘मेहनत त धेरै चाहिन्छ। तर हामीहरू प्रधानमन्त्रीज्यूसँग सुजाता दिदीलाई मन्त्री बनाएर आफ्ना पक्षमा ल्याउनुपर्छ भनेर लबिङ गरिरहेका छौं’, ती केन्द्रीय सदस्य स्रोतले नेपालखबरसँग भने, ‘हामीले दिदीलाई ल्याउन सक्यौं भने महाधिवेशनमा राम्रै फाइदा हुुन्छ भन्ने हो।’

उपप्रधानसहितको मन्त्रीको आकांक्षी नेता कोइरालाले मन्त्री बने उपप्रधानमन्त्रीको वरीयता पाउने सम्भावना भने छैन। किनकि सत्ता गठबन्धनका दलबीच सरकारमा उपप्रधानमन्त्री पद नराख्ने सहमति भएको छ। 

संस्थापन समूहकै केही नेता भने हमालले पदत्याग गरेको मन्त्रालयमा देउवाका विश्वासपात्र उमेश श्रेष्ठलाई ल्याउनुपर्ने पक्षमा छन्। गत साउन १० गते स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका श्रेष्ठलाई भागबन्डाका क्रममा स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि उक्त पदबाट हटाएर प्रधानमन्त्री कार्यालयभित्रैको जिम्मेवारी दिइएको छ। 

श्रेष्ठको भूमिकाबाट प्रसन्न प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी उनलाई दिने सम्भावना रहेको बालुवाटारनिकट अर्को स्रोतको दाबी छ।

सरकार गठनको ३ महिनामा पूर्णता पाएको मन्त्रिपरिषद् हमालको राजीनामासँगै फेरि अपूर्ण बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .