ad ad

राजनीति


महतको दिल्ली भ्रमण देउवालाई सद्भाव जुटाउन, चीनको प्रभाव नै भाजपाको चासो

महतको दिल्ली भ्रमण देउवालाई सद्भाव जुटाउन, चीनको प्रभाव नै भाजपाको चासो

सन्तोष घिमिरे
कात्तिक २, २०७८ मंगलबार ७:४४, काठमाडौँ

अटलबिहारी बाजपेयी प्रधानमन्त्री हुँदा भारतीय जनता पार्टीले नेपालका पार्टीहरूसँग राजनीतिक सम्बन्ध जोड्न सुरु गरेको थियो। करिब २५ वर्षअघिको त्यो प्रयास भाजपा दिल्लीको सत्ताबाट बाहिरिएसँगै लगभग टुट्यो।   

भारतको राजनीतिमा नरेन्द्र मोदीको उदयसँगै फेरि सत्तामा आएपछि अहिले भाजपाले नेपालका पार्टीहरूसँग सम्बन्ध विस्तार गर्न प्रयास थालेको छ र त्यसको सुरुआत सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट भएको छ। यसमा नेपालका पार्टीहरूको चासोपनि त्यत्तिकै बढेको छ। 

जनैपूर्णिमाताका काठमाडौँ आएका भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताको अवसरमात्र पाएनन्, भातृत्वपूर्ण व्यवहार दर्शाउन प्रधानमन्त्री पत्नी डा. आरजु राणाले उनलाई ‘राखी’ समेत बाँधिदिइन्।  

आफूलाई काठमाडौँ भ्रमणको निम्तो दिने नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतलाई चौथाइवालेले तत्कालै नयाँदिल्ली भ्रमणको निम्तो दिए। चौथाइवालेको निम्तोमा भारत भ्रमण सकेर महत नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डल असोज अन्तिममा काठमाडौँ फर्किसकेको छ।

महत नेतृत्वको कांग्रेस टोलीले दिल्लीमा भाजपा अध्यक्ष जगतप्रकाश नड्डा, महासचिव अरुण सिंह, विदेश बिभाग प्रमुख चौथाइवाले र युवामोर्चाका महासचिव राजु विष्ट लगायतसँग भेटघाट गरेको थियो।

कांग्रेस टोलीले भेटघाट गरेका उच्च सरकारी अधिकारी थिए, भारतीय विदेशमन्त्री एस जयशंकर र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ। महतसँगको भेटवार्ताबारे विदेशमन्त्री जयशंकर आफैँले ट्वीटमार्फत् जानकारी दिए। 

तर, भारतीय प्रधानमन्त्री मोदीले महतसँग भेटघाटको आवश्यकता देखेनन्।   ​

देउवाको दाउ    
नाम उल्लेख गर्न नचाहने कांग्रेसका एक नेताको भनाईमा, डा. महत टोलीको भ्रमण पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको व्यक्तिगत चाहना र जोडबलमा भएको हो। पार्टी सभापति र प्रधानमन्त्रीको हैसियतमा देउवा अहिले कांग्रेसका सर्वाधिक शक्तिशाली नेता हुन्। तर, भ्रमणबारे कांग्रेसभित्र संस्थागत छलफल र निर्णय भएको थिएन।

‘महत नेतृत्वमा पार्टीको एउटा टोली नयाँदिल्ली भ्रमणमा जाने भएपछि मात्र हामीले जानकारी पाएका थियौँ’, नेपाली कांग्रेसको विदेश मामिलाबारे जानकार ती नेताले भने, ‘त्यसैले, यो भ्रमणलाई पार्टीको भन्दा सभापति देउवाको प्रतिनिधिमण्डलको भ्रमण भन्न सकिन्छ।’ 

पार्टीबाट संस्थागत निर्णय नगराई देउवाले किन आफ्नो टोली नयाँदिल्ली पठाए? जानकारहरुका भनाईमा, पुन पार्टी सभापतिमा प्रतिस्पर्धा गर्ने योजना बनाएका प्रधानमन्त्री देउवाले भारतीय संस्थापनको सद्भावका लागि डा. महतलाई नयाँदिल्ली पठाएका हुन्।  

आफूलाई निरन्तर साथ दिँदै आएका उपसभापति विमलेन्द्र निधिले आगामी महाधिवेशनमा आफै सभापतिमा प्रतिस्पर्धा गर्ने तयारी थालेपछि देउवा अप्ठेरोमा परेका छन्। निधिको भारतसँगको सुमधुर सम्बन्धले देउवालाई थप दबाबमा पारेको छ।  

नेपाल मामिलाका जानकार प्रा. एसडी मुनिपनि आफ्नो दूतका रुपमा डा. महतलाई नयाँदिल्ली पठाएर देउवाले भाजपा नेतृत्व र सरकारसँग व्यक्तिगत सम्बन्ध नविकरण गर्न खोजेको हुनसक्ने बताउँछन्।     

डा. महतलाई नयाँदिल्ली पठाइनुको अर्को कारण नयाँदिल्लीसँग बढेको ‘व्यक्तिगत दुरी’ घटाउने देउवाको उद्देश्य पनि हो। झन्डै दुई बर्षअघि भारतले नेपाली भूभाग लिम्पियाधुरा–कालापानी समेत समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दा कांग्रेसले सडक–प्रदर्शन गरेको थियो।  

लिम्पियाधुरा–कालापानी मुद्दामा कांग्रेस सडकमा उत्रेपछि भारतीय संस्थापन नेपाली कांग्रेससँग चिढिएको मानिन्छ। यसको छनक नेपालका लागि पूर्व भारतीय राजदूत रन्जीत रेले ‘काठमाडौं डिलेमाः रिसेटिंग इन्डिया नेपाल टाइज’ पुस्तकमा पनि दिएका छन्।  

पूर्वराजदूत रेले पुस्तकमा लेखेका छन्, ‘नेपाली कांग्रेसले ओली सरकारभन्दा आफू राष्ट्रवादी देखिन कालापानीको मुद्दा उठाएको हो।’

वामपन्थी पृष्ठभूमिका चार पूर्व प्रधानमन्त्रीका साथमा देउवाले हस्ताक्षर गरेको एउटा विज्ञप्तीका कारण पनि देउवालाई नयाँदिल्ली आफूसँग चिढिएको छ भन्ने लागेको हुनसक्छ। त्यसैले, पनि उनी भारतसँगको सम्बन्ध सुमधुर बनाउने प्रयासमा छन्। 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठमा जब दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस सभापति देउवासहित पाँच पूर्वप्रधानमन्त्रीले संयुक्त वक्तव्यमार्फत् नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप भएको भन्दै त्यसको बिरोध गरेका थिए। 

विज्ञप्तीमा कुनै मुलुकको नाम उल्लेख गरिएको थिएन, तर ओली सरकारलाई जोगाउन भारतले भूमिका खेलिरहेको आम चर्चा चलिरहेका बेला पाँच पूर्वप्रधानमन्त्रीले दावी गरेको ‘विदेशी हस्तक्षेप’ भारततर्फ लक्ष्यित थियो।

प्रधानमन्त्री बनेपछि देउवाले विस्तारै भारतीय संस्थापनमा रहेको आफूप्रतिको तुष मेटाउने प्रयास सुरु गरे। 

त्यसैको उपज हो– डा. महतको निमन्त्रणमा भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको नेपाल भ्रमण। र, अहिले डा. महतले गरेको भारत भ्रमण। पार्टीगत च्यानल प्रयोग गरेर प्रधानमन्त्री देउवाले भारतीय संस्थापनसँगको सम्बन्धलाई पहिलेजस्तै सुमधुर सम्बन्ध बनाउन खोजेको यसबाट देखिन्छ। 

स्वदेश फर्केपछि महतले पनि आफ्नो टोलीले दुई पार्टीबीचको संबन्ध सुदृढ गर्न भारत भ्रमण गरेको प्रतिक्रिया दिएका छन्।  

चासोमा चीनपनि 
भ्रमणका क्रममा डा. महतको टोलीले भारतीय पक्षसँग भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीदेखि कालपानी सीमा विवादका विषयमा भारतीय विदेश मन्त्रीको ध्यानाकर्षण गराएको बताएको छ।  

महतको दाबी अनुसार, उनीहरुले उठाएका यी विषय समाधान गर्नेबारे सकरात्मक जवाफ उनको टोलीले भारतीय विदेशमन्त्री जयशंकरबाट पाएको छ।  

आन्तरिक राजनीतिमा बलियो बन्न भारतीय सदासयताको अपेक्षा गर्नु नेपाली नेताहरुको स्वभाव नै हो। नेपाली नेताहरु प्रतिद्वन्द्वी चीनतर्फ ढल्केलान् भन्ने भयका कारण भारतीय संस्थापनपनि आफूसँग ‘इन्गेज’ गरिरहन चाहन्छ।

हुनपनि, पछिल्लो समय नयाँदिल्लीले आफ्नो ‘प्रभाव क्षेत्र’ मानेका बंगलादेश, श्रीलङ्का र नेपालजस्ता मुलुकका राजनीतिक दलहरुसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले सम्बन्ध विस्तार सुरु गरेको छ। यसले गर्दा भारतीय संस्थापन पक्ष थप चनाखो बनेको छ। सम्भवतः यही कारणले पनि नेपाली कांग्रेससँगको सम्बन्धलाई उसले प्राथमिकता दिएको हो। 

किनभने, एमाले, माओवादी केन्द्र जस्ता नेपालका ठूला कम्युनिष्ट पार्टीहरुको सीपीसीसँगको सम्बन्ध सुमधुर छ। एमालेबाट विभाजित भई बनेको नेकपा (एकिकृत समाजवादी) का नेताहरुको पनि सीपीसीसँगको सम्बन्ध सुमधुर नै छ। 

यस्तो स्थितिमा भारतीय संस्थापनले सत्तारुढ नेपाली कांग्रेससँगको सम्बन्धलाई प्राथमिकतामा राख्नु स्वभाविक हो। प्रधानमन्त्री देउवाले नै सम्बन्ध सुमधुर बनाउन चाहेपछि भारतीय संस्थापनले भाजपा विदेश विभागको च्यानलमार्फत् सम्बन्ध सुधार गर्न खोजेको देखिन्छ।

‘सीपीसी र नेपालका राजनीतिक दलहरुबीचको संबन्धलाई भारतले नजिकबाट नियालिरहेको छ’, प्राध्यापक मुनि भन्छन्, ‘अबको चुनावमा चीनले फेरि त्यहाँका कम्युनिस्ट शक्तिलाई मिलाइदिन भूमिका खेल्छ कि भन्नेमा भारत सजग छ।’  
 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .