ad ad

राजनीति


बेलायतमा मोदी, किसिदा र जोनसनसँग होला त देउवाको भेट?

बेलायतमा मोदी, किसिदा र जोनसनसँग होला त देउवाको भेट?

मोदीसँग भेट भए त्यो देउवा प्रधानमन्त्री भएयताको पहिलो साक्षात्कार हुनेछ (फाइल फोटो)


सन्तोष घिमिरे
कात्तिक ३, २०७८ बुधबार १८:९, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक तेश्रो साता संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बेलायतको स्कटल्यान्डमा जाँदैछन्। 

देउवा लन्डन हुँदै स्कटल्यान्ड पुग्ने भ्रमण कार्यक्रम बनाइएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो। लन्डनमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग भेटवार्ताका लागि नेपालले कूटनीतिक च्यानलबाट आग्रह गरेको छ।

‘यद्यपि प्रधानमन्त्री जोनसनसँग भेट हुन्छ या हुँदैन, बेलायती पक्षबाट जवाफ आइसकेको छैन। भेटवार्ता नहुने भए प्रधानमन्त्री लन्डन जानुहुने छैन,’ भ्रमणको तयारीमा संलग्न परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने। 

दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत भ्रमण गरी तत्कालीन प्रधानमन्त्री टरिजा मेसँग भेटवार्ता गरेका थिए। स्वीट्जरल्याण्ड भ्रमणपछि प्रधानमन्त्री ओलीले बेलायत र फ्रान्सको भ्रमण गरेका थिए। 

परराष्ट्र मन्त्रालयले देउवाको लन्डन भ्रमणको चाँजोपाँचो मिलाउन त्यहाँस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री देउवाको बेलायतसँग लामो समयदेखि घनिष्ठता रहेको मानिन्छ। उनी सन् १९८९—१९९० मा बेलायतको प्रतिष्ठित लन्डन स्कुल अफ इकोनोमिक्समा राजनीतिशास्त्रका विद्यार्थी थिए। 

मोदीसँग पनि भेट हुने सम्भावना 
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले ‘वर्ल्ड लिडर्स समिट’ को साइडलाइनमा विश्वका विभिन्न मुलुकका नेतासँग प्रधानमन्त्री देउवाको भेटवार्ताका लागि पत्राचार गरिएको जानकारी दिइन्। 

‘भेटवार्ताका लागि कूटनीतिक च्यानलबाट आग्रह गरिएको छ। तर कुनकुन वर्ल्ड लिडर्ससँग भेट हुन्छ भन्ने टुंगो लागिसकेको छैन,’ उनले भनिन्। 

जोनसनका अलावा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री फुमियो किसिदा, पूर्व अमेरिकी विदेशमन्त्री तथा जलवायु परिवर्तनसम्बन्धी अमेरिकी राष्ट्रपतिका विशेष दूत जोन केरीसँग पनि बेलायत भ्रमणमा भेटवार्ता मिलाउन आग्रह गरिएको मन्त्रालयका अधिकारीहरुले बताए। 

मोदीसँग भेट भए त्यो देउवा प्रधानमन्त्री भएयताको पहिलो साक्षात्कार हुनेछ। देउवा भारत सरकार तथा भारतीय जनता पार्टीसँग सम्बन्ध सुधार्न इच्छुक देखिन्छन्।

अघिल्लो साता पार्टी सहमहामन्त्री प्रकाशशरण महतलाई दूतका रुपमा भारत पठाएका थिए। नेता महतले प्रधानमन्त्री देउवाको चाँडै भारत भ्रमण हुने संकेत समेत गरेका छन्। 

भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री फुमियो किसिदा पनि संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन अन्तर्गतको ‘वर्ल्ड लिडर्स समिट’ मा निम्त्याइएका छन्। तर, भारत र जापानले भ्रमणको औपचारिक घोषणा गरेका छैनन्। 

विश्वका विभिन्न मुलुकका शीर्ष नेता जलवायु सम्मेलनमा सहभागी हुन स्कटल्यान्डमा भेला हुन लागेको अन्र्तराष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। चीनका तर्फबाट सम्मेलनमा राष्ट्रपति या प्रधानमन्त्रीको तहमा सहभागिता हुने छैन। चिनियाँ विदेशमन्त्री वाङ यी वा अन्य कुनै मन्त्री सम्मेलनमा सहभागी हुने समाचारहरु सार्वजनिक भएका छन्। 

देउवाको पहिलो विदेश भ्रमण 
गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएयता देउवा पहिलो विदेश यात्रामा निस्कन लागेका हुन्। अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन अन्र्तगतको ‘वर्ल्ड लिडर्स समिट’ मा देउवा सहभागी हुन लागेका हुन्। 

नोभेम्बर १ र २ मा हुने सम्मेलनलाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। उनले नेपालजस्ता कम विकसित मुलुकले जलवायु परिवर्तनका कारण भोग्नुपरेका चुनौतीबारे बोल्ने तयारी गरेका छन्। 

सम्बोधनमा उनले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयन हुनुपर्ने नेपालको धारणा दोहोर्याउनेछन्।  

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको नेतृत्वमा स्कटल्यान्ड जाने प्रतिनिधिमण्डलको टुंगो लगाएको थियो। प्रधानमन्त्रीको भ्रमणदल १७ सदस्यीय हुनेछ। 

टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव, मन्त्रालयका सचिव प्रेमनारायण कँडेल, परराष्ट्र सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, चारजना सुरक्षाकर्मी, दुईजना पत्रकारलगायत रहनेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .