ad ad

राजनीति


जो राजदूत भएर फर्किए, तिनै फेरि जान दौडमा

जो राजदूत भएर फर्किए, तिनै फेरि जान दौडमा

बायाँबाट क्रमशः महेश दाहाल, चोपलाल भुसाल, लक्की शेर्पा, शंकर शर्मा र रमेश कोइराला फेरि राजदूत बन्न दौडमा छन्


सन्तोष घिमिरे
कात्तिक ३, २०७८ बुधबार २२:१५, काठमाडौँ

सरकारले विभिन्न मुलुकका लागि राजदूत नियुक्ति सिफारिसको गृहकार्य अघि बढाएको छ। यससँगै राजदूतका आकांक्षीहरुको दौडधुप सुरु भएको छ। राजदूत बन्ने दौडमा पूर्वराजदूत समेत देखिएका छन्। 

पूर्वराजदूतहरु शंकर शर्मा, चोपलाल भुसाल, लक्की शेर्पा, रमेश कोइराला र महेश दाहाल यतिबेला फेरि राजदूत बन्न दौडमा रहेका छन्। अर्थविद् समेत रहेका शर्मा अमेरिकाका लागि पूर्वराजदूत तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। 

भुसाल, शेर्पा र कोइरालालाई ओली नेतृत्वको पूर्ववर्ती सरकारले फिर्ता बोलाएको थियो। दाहाललाई ओली नेतृत्वको सरकारले ६ महिनाअघि अस्ट्रेलियाबाट फिर्ता डाकेको थियो। भुसाल र कोइरालाको कमजोर कार्यसम्पादन रहेको तत्कालीन सरकारको बुझाइ थियो। 

पूर्वसांसद समेत रहेकी शेर्पामाथि आफ्ना एक सहयोगीसँग पैसा लिएर अस्ट्रेलिया लगेको र दुःख दिएको आरोप लागेको थियो। त्यसपछि उनले सरकारको आग्रहमा राजीनामा दिएकी थिइन्। उनलाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण समेत सोधेको थियो। 

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठबन्धनभित्र तिहारलगत्तै राजदूत नियुक्ति सिफारिस गर्ने गरी छलफल गरिरहेका छन्। राजनीतिक कोटामा राजदूत सिफारिस गर्नुअघि सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच भागबण्डा हुनेछ।

भारत र अमेरिकामा कांग्रेस, चीनमा माओवादी? 
राजनीतिक तथा कूटनीतिक हिसाबले बढी महत्व राख्ने भारत, चीन र अमेरिकामध्ये भारतमा नेपाली कांग्रेसको कोटामा राजदूत सिफारिस हुने कांग्रेसका विदेश मामिला सम्वद्ध नेताहरूले दाबी गरेका छन्। अमेरिकामा समेत आफैँले सिफारिस गर्न पाउनुपर्ने दाबी कांग्रेसको छ। 

गठबन्धन सरकारको संरचना अनुसार चीनका लागि माओवादी केन्द्रका तर्फबाट राजदूत सिफारिस हुने देखिएको छ। तर, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि चीन दाबी गरेको छ। उपेन्द्र यादव नेतृत्वको समाजवादी दलको कोटामा बेलायत वा जापान पर्ने देखिएको छ। 

सत्तारुढ दलहरुबीच राजदूत सिफारिस गर्ने बिषयमा छलफल जारी छ। सिफारिस हुनेमध्ये परराष्ट्र सेवाबाट यसपाली पाँचदेखि सात जना पर्नसक्ने परराष्ट्रका अधिकारीहरू बताउँछन्।  

भारत, चीन, अमेरिका, बेलायत, कतार, मलेसिया, जापान, बंगलादेश, ओमान, स्पेन, दक्षिण अफ्रिका, म्यानमार, साउदी अरब, अस्ट्रेलिया, श्रीलंका, बहराइन, डेनमार्क, रुस र अष्ट्रियामा सरकारले राजदूत नियुक्तिको सिफारिसका लागि गृहकार्य गरिरहेको छ। 

परराष्ट्रमन्त्री डा. नारायण खड्काले अब धेरै समय राजदूत पद रिक्त राख्न नहुने बताइसकेका छन्। 

‘मन्त्रीज्यू चाँडै राजदूत सिफारिस गर्ने पक्षमा रहेको बुझेका छौँ’, परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले नेपालखबरसँग भने।

मन्त्री खड्काले एक महिनाअघि पदभार ग्रहणका क्रममा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाइने बताएका थिए। 

नेपालमा सरकार परिवर्तन भएपिच्छे राजदूत फिर्ता बोलाउने परिपाटी बसेको छ। जसका कारण आन्तरिक अस्थिरताको प्रत्यक्ष असर कूटनीति सञ्चालनमा समेत पर्ने गरेको छ। 

सत्तारुढ दलहरुबीच राजदूत नियुक्तिमा भागबण्डा हुनेगरेको छ। राजनीतिक दलहरुले राजदूत पद ‘किनबेच’ गर्न थालेको भन्दै आलोचना समेत हुने गरेको छ। 

पूर्व राजदूत डा. शम्भूराम सिंखडा ‘हाम्राभन्दा पनि राम्रा मान्छेलाई राजदूत नियुक्त गर्नुपर्ने’ बताउँछन्।

‘म सरकारको राजदूत नियुक्तिको तयारीबारे जानकार छैन। तर मेरो व्यक्तिगत विचार भन्नुपर्दा पार्टी वा व्यक्ति विशेषको स्वार्थ होइन, राष्ट्रिय स्वार्थ र हित हेर्नसक्ने तथा हाम्रो परराष्ट्र नीतिका प्राथमिकतालाई विदेशमा प्रभावकारी कार्यान्वयन गर्नसक्ने व्यक्तिलाई राजदूत बनाइनुपर्छ,’ उनले भने। 

असोज पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारले राजनीतिक कोटामा नियुक्त भएका राजदूतलाई एकसाथ फिर्ता बोलाएको थियो। ओली नेतृत्वको सरकारले राजदूत नियुक्ति व्यवस्थित गर्न भन्दै मापदण्ड बनाएको थियो। तर, आफैँले सो मापदण्ड पालना गरेको थिएन।

राजदूत बन्ने दौडमा को को?
राजदूत बन्ने दौडमा सत्तारुढ दलनिकटका व्यक्ति अगाडि छन्। नेपाली कांग्रेसभित्र तिलक रावल, गेजा शर्मा वाग्ले, शंकर शर्मा, दिव्यमणि राज भण्डारी, चोपलाल भुसाल, रमेश कोइराला र डा. गोविन्दराज पोख्रेल चर्चामा छन्। 

माओवादी कोटाबाट लक्की शेर्पा, महेश दाहाल, युवराज चौलागाईं लगायतको नाम सो पार्टीभित्र चर्चामा छ। 

त्यस्तै एकीकृत समाजवादी पार्टीबाट मिलनराज तुलाधरको नाम चर्चामा छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .