ad ad

राजनीति


एमाले सुनसरीमा ‘जेठ २’ विवाद : दुई पक्षले बाेलाए बेग्लाबेग्लै वडा अधिवेशन

एमाले सुनसरीमा ‘जेठ २’ विवाद : दुई पक्षले बाेलाए बेग्लाबेग्लै वडा अधिवेशन

फाइल फाेटाे


कृष्ण बहाब
कात्तिक ५, २०७८ शुक्रबार १५:८, काठमाडौँ

नेकपा (एमाले) सुनसरीमा १० बुँदे सहमतिको कार्यान्वयन गर्ने विषयले वडा अधिवेशनको मुखमै विवाद सुरु भएको छ। संस्थापन पक्षका अध्यक्ष रहेका रेवती रमण भण्डारी नेतृत्वको कमिटीले वडा अधिवेशनको सन्दर्भमा सर्कुलर जारी गरेपछि जेठ २ अघि अध्यक्ष रहेका रमेश बस्नेतले विज्ञप्ति निकालेर विरोध गरेका छन्।

सुनसरी अध्यक्ष रमेश बस्नेत एमाले विभाजन हुनुपूर्व माधवकुमार नेपाल पक्षमा रहेका कारण विवाद चल्दै आएको थियो। एमाले सुनसरी अध्यक्ष रेवती रमण भण्डारीले जेठ २ अघिको संरचनामा जान यसअघि नै असहमति जनाएपछि सुरु देखिनै विवाद चल्दै आएको थियो।

पछिल्लो समय मुख्यमन्त्री भीम आचार्यको नजिक मानिएका बस्नेतले असोज ३ गतेको मिति राखेर रेवती रमण भण्डारीले नेतृत्व गरेको कमिटी अवैधानिक भएको दाबी गरेको छन्।

सुनसरी इन्चार्ज धर्मराज निरौला र रमेश बस्नेतले जारी गरेको विज्ञप्तिमा जेठ २ लागू भएको वडा र नगर कमिटीमा मात्र सहमतिको आधारमा अधिवेशन गर्नुपर्ने उल्लेख गरेका छन्।

अन्तर पार्टी निर्देशन र पार्टी माथिल्लो कमिटीले समेत पुरानै कमिटीलाई मान्यता दिएको भन्दै विज्ञप्तिमा कार्यकर्ताहरूलाई अन्योल नहुन आग्रह गरेका छन्।

पार्टीकै आधिकारिक लेटरप्याडमा एउटा कमिटीले सर्कुलर र अर्को कमिटीले सर्कुलर वैध नभएको विज्ञप्ति जारी गरेपछि कार्यकर्ताहरू अन्योल भएका छन्। बस्नेतले विज्ञप्ति निकालेर अन्योल नहुन भने पनि कार्यकर्ताहरूलाई भने थप अन्योल बढेको हो।

वडा अधिवेशन बोलाइसकेका ठाउँमा अब कसरी अधिवेशनको काम अघि बढ्ने भन्नेमा कार्यकर्ताहरू दोधार बनेका हुन्।

वडाको अधिवेशन, दुई समूहको आआफ्नै निमन्त्रणा


जेठ २ को विवादको असर वडा अधिवेशनसम्म देखिएको छ। धरान उपमहानगरपालिकामा रेवती रमण भण्डारीको कमिटी र रमेश बस्नेतको कमिटी आधिकारिक मान्नेहरूले आआफ्नै निमन्त्रणा पत्र पठाएका छन्।

धरान १५ मा एकै वडाको अधिवेशनमा दुई वटा छुट्टाछुट्टै स्थानको निमन्त्रणा कार्ड पुगेपछि अहिले सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ। जेठ २ अघिको कमिटीले शिक्षा सदनमा वडाको अधिवेशन बोलाएको छ जसमा ५ जना नेताको हस्ताक्षर छ।

यता संस्थापन नजिक रहेको समूहले फरक ठाउँ तोक्दै अधिवेशनमा बोलाएको छ। बादल भट्टराइले हस्ताक्षर गरेको पत्रमा धरान किचनलाई स्थान तोक्दै निमन्त्रणा गरिएको छ।

रेवतीरमण भण्डारीको विज्ञप्ति अनधिकृतः रमेश बस्नेत पक्ष
बस्नेत पक्षले प्रकाशित गरेको विज्ञप्तिमा जिल्ला कमिटी सचिवालय बैठकको निर्णय भनि रेवती रमण भण्डारीबाट दस्तखत गरी २०७८ कार्तिक २ गते जारी गरिएको विज्ञप्ति अनाधिकृत, झुट र भ्रामक रहेको दाबी गरेको छ।

‘हाम्रो गौरवमयी पार्टी नेकपा (एमाले) को २०७८ साल भदौ ८ गते सम्पन्न स्थायी कमिटीको बैठक, भदौ १० गते सम्पन्न केन्द्रीय कमिटीको पूर्ण बैठक र उक्त बैठकका निर्णयका आधारमा २०७८ साल भदौ १३ गते केन्द्रीय कार्यालयबाट जारी गरिएको अन्तरपार्टी निर्देशन १२ ले पार्टीका सबै तहका कमिटी र जनसंगठनमा लागू हुने गरी १० बुँदे प्रस्ताव लागू गर्ने निर्देशन भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘अपानि १२ कै आधारमा गठित प्रदेश स्तरीय सहजीकरण कार्यदलले नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीको पदाधिकारीमा अध्यक्ष– रमेशकुमार बस्नेत, उपाध्यक्ष नन्दकुमार बस्नेत, सचिव परशुराम यादव र उपसचिव लिलम बस्नेतको नाम सिफारिस गरेको र सहजीकरण कार्यदलका सम्पूर्ण सदस्य सहितको उपस्थितिमा सम्पन्न भएको प्रदेश सचिवालयको विस्तारित बैठकले समेत कार्यदलबाट सिफारिस पदाधिकारीको नाम अनुमोदन गरेको छ।’

सो विज्ञप्तिमा आगामी कार्तिक ६ गते हुने वडा अधिवेशन र कार्तिक ९ गते हुने पालिकास्तरको अधिवेशनहरु २०७५ साल जेठ २ गते कायम रहेका तत् तत् स्तरका कमिटीको सहमतिमा मात्र सम्पन्न गर्न र अन्य अनाधिकृत व्यक्ति वा कमिटीको बहकाउमा नलागी पार्टी केन्द्रीय कमिटी र माथिल्लो कमिटीका निर्णय मान्न सबै कमिटी र पार्टी सदस्यहरुलाई अनुरोध गरिएको छ।

‘प्रदेश कमिटीको बैठकको निर्णयबाट अनुमोदित जिल्ला कमिटीका पदाधिकारीहरु र २०७५ जेठ २ गते कायम रहेका कमिटीहरुको निर्देशन बाहेक अन्य अनाधिकृत व्यक्तिद्वारा निर्देशित निर्देशन र जानकारीमा भ्रममा नपर्न पार्टी पंक्ति र सम्वद्ध निकायमा यसै विज्ञप्ति मार्फत जानकारी गराउँछौँ’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .