ad ad

राजनीति


जेठ २ विवाद : धरानमा एमाले विभाजित, ६ वटा वडामा समानान्तर कमिटी

जेठ २ विवाद : धरानमा एमाले विभाजित, ६ वटा वडामा समानान्तर कमिटी

कृष्ण बहाब
कात्तिक ६, २०७८ शनिबार १८:५४, काठमाडौँ

धरान : नेकपा एमाले सुनसरीमा २०७५ जेठ २ मा फर्किने विवादले उग्र रुप लिएको छ। त्यसकै परिणाम धरानका केही वडाहरूमा छुट्टाछुट्टै वडा कमिटी बनेका छन्। 

एमालेको मंसिरमा हुन लागेको १० औँ महाधिवेशन अन्तर्गत शनिबार देशभरका वडाहरूमा अधिवेशन हुने क्रम जारी छ।

यस्तोमा धरान उपमहानगरपालिकाका ६ वटा वडामा समानान्तर कमिटी बनेका हुन्। 

धरानमा जेठ २ अघिको कमिटी र संस्थापन पक्षको कमिटीबीच अधिवेशन एकै ठाउँमा गर्ने या अलग अलग गर्ने भन्नेमा विवाद थियो। 

उक्त विवाद समाधान गर्दै अधिकांश वडाहरूमा दुवै पक्षले मिलेर एकै ठाउँमा अधिवेशन गरेका छन्। तर केही वडाहरूमा दुई ठाउँमा अधिवेशन भएको छ। 

नेताहरुका अनुसार धरानका ६ वटा वडामा छुट्टाछुट्टै अधिवेशन भएका छन्। 

वडा नम्बर १,५, ८, १०,११ र १७ मा सहमति हुन नसकेपछि अलग अलग अधिवेशन गरिएको छ। ती वडाहरूमा दुवै पक्षले अलग अलग कमिटी घोषणा गर्ने क्रममा छन्।

दुवै पक्षले एकले अर्कोलाई अवैधानिक करार गरिरहेका छन्। यद्यपि, अलग्गै अधिवेशन भएका वडाहरूमा संस्थापन पक्षको बहुमत संगठित सदस्यहरु देखिएका छन्। 

अन्य वडाहरूमा भने सहमतिमा नै नयाँ कमिटी घोषणा हुने क्रममा छ। संस्थापन पक्षका सुनसरी जिल्ला प्रचार विभाग प्रमुख रवि खनाल धरानको सबै ठाउँमा सहज रुपमा निर्वाचन भएको बताए। 

'केही ठाउँमा दुईवटा कमिटी बनेको भन्ने खबर आएको छ', खनालले 'भने आधिकारिक रुपमा हामीले निर्वाचन अधिकारी खटाएका छौँ। उहाँहरुको प्रतिवेदन आएपछि मात्रै यो विषयमा आधिकारिक धारणा आउँछ।'

जेठ २ को कमिटी पक्षका थोरै संगठित सदस्यहरु मात्रै सहभागी नभएको अवस्थामा अर्को कार्यक्रम गरे पनि मान्यता नपाउने संस्थापन पक्षका अर्का एक नेता दाबी गर्छन्।

'आधिकारिक रुपमा त जिल्लाको बैठक बसेपछि मात्रै बोल्न मिल्छ,' उनले भने  'तर समानान्तर कमिटीले मान्यता पाउने भन्ने कुरै हुँदैन।'

जेठ २ अघिका पक्षधरहरुले भने ती ६ वटा वडामा वैधानिकरुपमा वडा अधिवेशन भएको दाबी गर्दै आएका छन् ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .