ad ad

राजनीति


एमाले अधिवेशन : पार्टी एकजुट रहेको सन्देश दिन सर्वसम्मत अभियान

गण्डकीका ८५ प्रतिशत वडामा नयाँ नेतृत्व
एमाले अधिवेशन : पार्टी एकजुट रहेको सन्देश दिन सर्वसम्मत अभियान

वाशुदेव मिश्र
कात्तिक ६, २०७८ शनिबार २१:३३, काठमाडौँ

एमालेको वडा अधिवेशनले गण्डकीका विभिन्न वडाहरूमा नयाँ नेतृत्व चयन गरेको छ।  

जिल्ला सचिव गोविन्दबहादुर नेपालीले गण्डकीका ८५ प्रतिशत वडाले नयाँ नेतृत्व पाएको बताएका छन्। 

बाँकी वडाहरूमा प्राविधिक कारणले अधिवेशन हुन नसकेको उनले बताएका छन्।

तर, एमाले स्रोतका अनुसार  एकैदिन सबै वडामा नयाँ नेतृत्व छान्ने उद्घोष गरिएपनि केही ‘विवाद’भएर नयाँ नेतृत्व चयन हुन सकेन। 

पोखरा महानगरपालिका वडा नम्बर ९ मा अधिवेशन रोकिएको छ। नेता प्रकाश बरालले विवादले नभइ तयारी अभावले अधिवेशन सारिएको बताए। उनले कात्तिक १५ गतेसम्म अधिवेशन भइसक्ने जिकिर गरे। 

सर्वसम्मत अभियान 

माधव नेपाल समूहले छाडेपछि पार्टीमा गुट-उपगुट नभएको सन्देश दिन वडाहरूमा नेताहरुले ‘सर्वसम्मत’ नेतृत्व चयन गर्न खोजेका छन्। 

त्यहीकारण जिल्लाका केही ठाउँमा अधिवेशन पर धकेलिएको हो। सर्वसम्मतिको नाममा नेताहरु हावी हुँदा पदका आकांक्षीमा असन्तुष्टि देखिएको छ। 

केही क्षमतावान नेताहरुको गतिमा पार्टीको उपल्लो नेतृत्वले ‘ब्रेक’ लगाइदिएको छ। तर, ती नेताहरुले पनि आफ्नो असन्तुष्टि सार्वजनिक रुपमा व्यक्त गरेका छैनन्।

शनिबार साँझसम्म कास्कीका ५ पालिकाका केही वडाहरूको नतिजा सार्वजनिक भएको छ। केही ठाउँमा नयाँ नेतृत्व छान्ने प्रक्रिया चलिरहेको तथा ६-७ ठाउँमा अधिवेशन सरेको एमाले कास्की सचिव दामोदर बैरागीले जनाएका छन्। 

‘कास्कीका ७२ वटै वडाको अधिवेशन उद्घाटन भएसँगै सर्वसम्मतिमा नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ, केहीको नतिजा आएको छ भने अन्यको हामी संकलन गर्दैछौँ,’बैरागीले टेलिफोनमा भने,‘आइतबार सबैजसो वडाको नेतृत्वको जानकारी संकलन हुन्छ।’  

सर्वसम्मतिको नाममा उपल्लो नेतृत्वले आफू अनुकूललाई कमिटीमा ल्याउन लागेको भन्दै केही वडाहरूमा असहमति जाहेर भएको छ। 

एमालेले विभाजन भएको अवस्था रहेकाले निर्वाचनमा जाँदा झन फुट हुनसक्ने भन्दै सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने रणनीति अख्तियार गरिएको छ। 

यसले गर्दा नेतृत्वमा आउन चाहने आकांक्षीहरुलाई रोक्ने काम गरिएको गुनासो आएको छ। अर्कातर्फ पार्टी कायम ‘गुट’ले आफू अनुकूलको नेतृत्व स्थापित गर्न खोजेको देखिएको एक एमाले नेताले बताए। 

गुरुङ-अधिकारी टकराव

उनका अनुसार माधव समूह नरहेपछि  कास्कीसहित गण्डकीमा यतिबेला प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेता खगराज अधिकारीबीच अघोषित द्वन्द्व देखिएको छ। 

एउटै गुटमा रहेर पनि दुई नेताहरु एक–अर्कालाई मन पराउँदैनन्। पछिल्लो समय पृथ्वी सुब्बाले खगराजको गृहजिल्ला कास्कीमा पनि आफ्नो पकड बढाउँदै लगेका छन्। 
अर्का नेता किरण गुरुङ,जगत विश्वकर्मालगायतका नेताहरु पृथ्वी सुब्बाको पक्षमै लागेपछि खगराजलाई कमजोर बनाउने खेल सुरु भएको छ।

‘यो द्वन्द्व तल्लो तहसम्म पुगेको त छैन। तर दुवै नेताहरु आफू अनुकूलका कमिटी निर्माण गर्न लागिरहेका छन्, अब माथिल्ला चुनावमा त्यो द्वन्द्व देखिन सक्छ’,ती नेताले भने,‘वडा तहमा भने सर्वसम्मतको नाममा क्षमतावान र नयाँलाई रोक्ने काम भइरहेको छ।’ 

वडाबाट चुनिने प्रतिनिधिले पालिकाको नेतृत्वको लागि मतदान गर्ने भएकाले पनि तलैबाट आफू अनुकूलका व्यक्ति रोज्न खोजिएको उनले जिकिर गरे। 

वडा नेतृत्वमा सबै पार्टी सदस्य र पालिका नेतृत्वको लागि १० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि, महिलाका लागि ५ जना बराबर १ जना प्रतिनिधि तथा दलितको हकमा ३ जना बराबर १ जना प्रतिनिधि चुनिने व्यवस्था छ। 

वडा कमिटीका ५ जना पदाधिकारी पनि मतदाता रहने एमालेको विधानमा व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .