ad ad

राजनीति


प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै, भारतसँग सम्बन्ध सुधार्न मोदीलाई भेट्ने

यस्तो छ भ्रमण तालिका
प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै, भारतसँग सम्बन्ध सुधार्न मोदीलाई भेट्ने

फाइल फोटो


सन्तोष घिमिरे
कात्तिक १०, २०७८ बुधबार २२:३८, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्कटल्यान्डमा भेट्ने भएका छन्।

उनीहरुबीच स्कटल्यान्डको ग्लास्गोमा नोभेम्बर १ र २ तारिखमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन अन्तर्गतको ‘वर्ल्ड लिडर्स समिट’ का क्रममा भेट हुने भएको हो।

त्यही बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मोदी त्यसतर्फ जाँदै छन्। 

‘मोदीसँग द्विपक्षीय भेटवार्ता हुने निश्चित भएको छ’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने। 

भेटवार्तामा प्रधानमन्त्री देउवाको सम्भावित भारत भ्रमणबारे छलफल हुने ती अधिकारीले बताए। 

यसअघि परराष्ट्र मन्त्रालयले भारतीय विदेशमन्त्रालयलाई पत्राचार गरी मोदीसँग भेटवार्ताका लागि समय मागेको थियो। 

परराष्ट्रले बुधबार विज्ञप्ति जारी गरी देउवाको भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ। जसमा विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखसँग भेटवार्ता हुने उल्लेख छ। 

असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भएयता देउवाले पहिलोपटक मोदीसँग भेट्न लागेका हुन्। फेरि कांग्रेस सभापतिमा दोहोरिन तयार देउवा भारत सरकार तथा भारतीय जनता पार्टीसँग सम्बन्ध सुधार्न इच्छुक छन्।

देउवाले अघिल्लो महिना पार्टी सहमहामन्त्री प्रकाशशरण महतलाई दूतका रुपमा भारत पठाएका थिए। महतले प्रधानमन्त्री देउवाले चाँडै भारत भ्रमण गर्ने संकेत गरेका छन्। 

विश्वका विभिन्न मुलुकका शीर्ष नेता जलवायु सम्मेलनमा सहभागी हुन स्कटल्यान्डमा भेला हुँदैछन्। 

नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार बेलायततर्फ उड्ने कार्यक्रम छ। 

लण्डन पनि जाने 
देउवा लण्डन हुंदै स्कटल्याण्ड जाने तय भएको छ। यद्यपि बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग बेग्लै द्विपक्षीय भेटवार्ता नहुने परराष्ट्र अधिकारीहरुले बताए। 

लण्डन भ्रमणमा देउवाले नेपाल हेर्ने बेलायती सांसदको टोलीसँग साक्षात्कार गर्नेछन्। बेलायत—नेपाल सोसाइटी र त्यहाँस्थित ग्रैह्रआवसीय नेपालीलाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। 

३१ तारिखका दिन बेलायतस्थित नेपाली कार्यवाहक राजदूत रोशन खनालले देउवाको सम्मानमा नेपाली दूतावासमा रिसेप्सन दिने कार्यक्रम छ। त्यसपछि देउवा नोभेम्बर १ तारिखका दिन ग्लास्गो पुग्नेछन्। 

देउवाले नोभेम्बर १ तारिखमा जलवायु परिवर्तनसम्बन्धी कोप २६ सम्मेलनमा मन्तव्य दिने कार्यक्रम छ। 

बेलायती प्रधानमन्त्रीको रिसेप्सनमा सहभागी हुने 
सम्मेलन उद्घाटनको बिहान बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखलाई दिने ब्रेकफास्ट रिसेप्सनमा देउवा पनि सहभागी हुने कार्यक्रम छ। 

देउवा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन अन्तर्गतको ‘वर्ल्ड लिडर्स समिट’पछि बेलायती प्रधानमन्त्रीले दिने रात्रिभोजमा सहभागी हुनेछन्। 

देउवाले नोभेम्बर ३ तारिखका दिन रोयल बोटानिक गार्डेन भ्रमण गरी त्यहाँस्थित नेपाली गार्डेनमा वृक्षारोपण गर्ने कार्यक्रम छ। उनले त्यहाँ सम्बोधन गर्नेछन्। 

नोभेम्बर ४ मा आइपुग्ने 
प्रधानमन्त्री देउवा नोभेम्बर ३ मा स्वदेश फर्किने छन् । उनी नोभेम्बर ४ तारिखका दिन बिहान नेपाल आइपुग्ने तालिका छ।

भ्रमण टोलीमा वनमन्त्री रामेश्वर राय यावद लगाय उच्च सरकारी अधिकारी हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .