ad ad

समाज


२५ वर्षीय दिनेश : जसले बनाएको एउटै एप करोड रुपैयाँमा बिक्री भयो

२५ वर्षीय दिनेश : जसले बनाएको एउटै एप करोड रुपैयाँमा बिक्री भयो

यज्ञराज जोशी
कात्तिक १३, २०७८ शनिबार १८:२४, काठमाडौँ

काठमाडौं विश्वविद्यालयमा स्नातकमा इन्जिनियरिङ पढ्दै गर्दा दिनेश न्यौपानेलाई कम्प्युटर ल्याङ्ग्वेज र प्रोग्रामिङ दिक्क लाग्थ्यो। तर, इन्जिनियरिङको विद्यार्थी भएकाले त्यसबाट भाग्ने उपाय पनि थिएन। उनले त्यो सिकेरै छाडे।

त्यसका माध्यमबाट एपहरु बनाउन सकिन्थ्यो। उनले फुर्सदमा युट्युब र निशुल्क पाइने अनलाइन कोर्समार्फत एप बनाउने फर्मुला सिके।

‘मैले कुनै औपचारिक प्रशिक्षण लिएको छैन। रुचि दिएर काम गर्ने हो भने सिक्ने तरिका प्रशस्त छन्। युट्युब, अनलाइन कोर्सहरुबाटै मैले एप डिजाइनिङ सिकेको हुँ,’ केयूबाट हाल इन्जिनियरिङमा स्नातकोत्तर सकेका २५ वर्षे दिनेशले भने, ‘स्नातक पढ्दै गर्दा सुरुमा प्रोग्रामिङमा रुचि थिएन। तर, भाग्न पनि पाइँदैन थियो। खाली समयमा सिकौँ न भनेर एप बनाउन सुरु गरेँको हुँ।’

दिनेशलाई सुरुदेखि नै दैनिक जीवनमा काम लाग्ने एप बनाउन मन लाग्थ्यो। उनले काठमाडौंमा ट्याक्सीले फरकफरक भाडा लिने गरेको देखेका भोगेका थिए। सोहीकारण उनले पहिलो एपबाट नै काठमाडौँमा ट्याक्सीको भाडा कहाँ कति छ भन्ने अन्योल चिर्न प्रयास गरे। एपमार्फत धेरैले सहजै ठाउँ अनुसारको भाडादर थाहा पाउने भएपछि एपले प्रसंशा बटुल्यो र उनी हौसिए। 

एप करिअर सुरु गरेको दुई वर्ष नबित्दै उनको एउटा एप एक करोड रुपैयाँमा बिक्री भएको छ। यसले उनको चर्चा चुलिएको छ। उनले बनाएको ‘फन्ट्स एए किबोर्ड’ त्यही एप हो, जसलाई एपसम्बन्धी कारोबार गर्ने इजरायली कम्पनी जिप्पो एप्सले एक करोड रुपैयाँ हालेको छ। 

दिनेशले यो एप एक वर्षअघि नै तयार गरेका थिए। उनलाई यो एप बनाउन एक महिना लागेको थियो। कुनै कम्पनीसँग अनुबन्धित नभई सप्ताहन्त र फुर्सदमा यो काम गरेका थिए। उनका अनुसार एपमा ६० वटा भाषामा टाइप गर्न सकिन्छ। स्टाइलिस फन्टहरु छन्, धेरै इमोजीहरु सहजै प्रयोग गर्दै आफ्नो इमोसन व्यक्त गर्न सकिन्छ। अर्को मुख्य कुरा यसलाई स्विच गर्न पनि सजिलो छर इमोजीका लागि यो किबोर्ड चलाएर प्रयोगकर्ताले अर्को किबोर्डको पनि प्रयोग गर्न सक्छन्।

‘सजिलो तरिकाले धेरै स्टाइलिस फन्टहरु र इमोजीहरु प्रयोग गर्न सकिने भएकाले एप लोकप्रिय बन्न थाल्यो र बिक्री हुनुअघि ३४ लाख बढी पटक डाउनलोड भइसकेको थियो,’ उनी भन्छन्।

एपको यही लोकप्रियता देखेर इजरायली आईटी कम्पनीले दिनेशलाई इमेलमार्फत खरिदको प्रस्ताव गरेको थियो। कम्पनीले सुरुमा एप सम्बन्धी सम्पूर्ण डेटा माग्यो। एपलाई आफूहरुले थप विकास गर्दै अझै प्रयोगकर्तामैत्री बनाउने कुरा गरेपछि दिनेश एप बेच्न तयार भए। 

१८ अक्टोबर २०२१ मा भएको सम्झौताअनुसार उक्त एपको अधिकार हस्तान्तरण गरेबापत दिनेशले ८३ हजार डलर (९९ लाख ९१ हजार) रुपैयाँ कम्पनीबाट बुझेका छन्। 

‘यो एप मैले एक्लो प्रयासमा बनाएको हुँ। एकजनाले सबै काम गर्न सक्दैन। एउटा एपमा धेरै जना लागेर काम गर्नुपर्छ,’ दिनेशले भने, ‘एपमा अझै धेरै सुधार गर्ने ठाउँहरु छ। उनीहरुको प्रस्तावमा एपलाई थप सुधार गर्ने उल्लेख भएपछि मैले ठिकै ठानेँ र बेच्ने निर्णय लिएँ।’

जिप्पो एप्सले नयाँ भर्सनका साथ यो एप सार्वजनिक गरेको छ। उक्त एप १० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ। पाँच मा ४.५ रेटिङ पाएको एपलाई झण्डै ३० हजार जनाले रिभ्यु गरेका छन्। अधिकांशले एपको प्रशंसा गरेका छन्। 

एपको मार्केट विश्वव्यापी भएकाले बजारको मागअनुसार आफ्नो सिर्जनात्मकता देखाउन सके डेभलरपरहरु कहिल्यै निराश बन्नुनपर्ने उनको बुझाइ छ। 

‘मैले सुरुमा यो एप बनाउँदा धेरै अन्य यस्तै एपहरु हेरेको थिएँ। उनीहरुको एपमा नभएका तर पब्लिकलाई आवश्यक परेका कुराबारे अध्ययन गरेपछि काम अघि बढाएको हुँ,’ उनी भन्छन्, ‘अरुको जस्तै एप बनाउनुपर्छ भन्ने छैन। एपका कमजोरी हुन्छन्। त्यो कमजोरीलाई समाधान गरेर नयाँ विकास गर्ने हो। कसरी युटिलिटी बढाउन सकिन्छ, त्यसमा विशेष ध्यान दिनुपर्छ।’

त्यसबाहेक मार्केटिङमा ध्यान दिनुपर्ने, अधिकांशले सर्च गर्ने कि–वर्डहरु एपमा प्रयोग हुनुपर्ने र एपलाई एकदम स्टेबल बनाउनुपर्नेमा उनी जोड दिन्छन्।

‘एप एकदम स्टेबल हुनैपर्छ। समस्या आइराख्यो भने प्रयोगकर्ताले हटाइहाल्छन्,’ उनी भन्छन्, ‘त्यसबाहेक मुख्य कुरा एपले कुनै स्पेसफिक समस्या समाधान गर्नैपर्छ र यो इन्गेजिङ हुनुपर्छ।’

उनलाई विभिन्न कम्पनीबाट काम गर्ने अफर पनि आएको हो। तर नेपाली कम्पनीहरु काममा घोटाएर पारिश्रमिक चाहिँ निकै कम दिने हुनाले आफैँले स्टार्ट–अप सुरु गर्ने योजना बनाएका छन्। 

एउटै एप बेचेर करोडपति बनेपछि अब त्यो योजना साकार हुने भएको छ। तर कसरी सुरु गर्ने, उनले निर्णय लिइसकेका छैनन्।

‘घोटाएर काम गराउने तर पेमेन्ट एकदमै थोरै दिनुपर्छ भन्ने कम्पनीको उदेश्य नै हुन्छ कि जस्तो लाग्छ,’ दिनेश भन्छन्, ‘यो एपबाट आएको रकम सिड मनीका रुपमा प्रयोग गरेर आफ्नै स्टार्टअप सुरु गर्ने सोच्दैछु तर कहिलेबाट हुन्छ अहिले भन्न सक्दिनँ।’

दाङबाट प्लस टु सकेर स्नातक अध्ययनका लागि केयूमा भर्ना भएका दिनेशले दुई वर्षको अवधिमा एक दर्जन एप बनाएका छन्। उनको संघीय नेपाल नामको एप पनि १ लाखभन्दा बढी पटक डाउनलोड भएको छ। उक्त एपले कुन प्रदेशमा कुन स्थानीय निकाय पर्छ भनेर अनलाइन अफलाइनमा सजिलै जानकारी दिन्छ। त्यसबाहेक मुलुकी ऐनलगायत उनका थुप्रै एपहरु प्ले स्टोरमा भेट्टाउन सकिन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .