गत कात्तिक ७ गते प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची सदनमा थियो। पार्टी विभाजन भएको ३० दिनभित्र विश्वासको मतको प्रक्रिया सक्नु पर्ने थियो। तर आचार्यले विभाजनको ४३ औँ दिनमा सदनमा पेस गर्ने तयारी गरेका थिए।
मुख्यमन्त्रीमा आचार्य नियुक्त हुने बित्तिकै विपक्षी गठबन्धनले राजीनामाको दबाब दिँदै आएको थियो। राजीनामा नदिए अविश्वास ल्याउने चेतावनी समेत दिएको गठबन्धनले मुख्यमन्त्री कसलाई बनाउने भन्ने विवादको लामो समयसम्म टुङ्ग्याएको थिएन।
तारन्तार आचार्यलाई राजीनामा माग्ने विपक्षी गठबन्धनमध्येको ठूलो दल कांग्रेसले भने विश्वासको मत लिने दिन नै सदन रोक्न निवेदन हाल्यो। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ भ्रमणमा आएकोले प्रदेशसभा स्थगितको ‘निहुँ’ पारेर कांग्रेसले संसद् सचिवालयमा निवेदन हालेको थियो।
देउवालाई प्रमुख कारण देखाए पनि अन्तर्यमा भने आफ्ना केही सांसदले फ्लोर क्रस गर्ने सूचना पाएर बैठक स्थगित गर्न निवेदन हालिएको थियो। आचार्यको विपक्षमा भोट हाल्न कांग्रेसले ह्विप जारी गरेको थिएन। त्यही मौकामा कांग्रेसका केही सांसदले पक्षमा मतदान गर्ने सूचनापछि बैठक रोक्न माग गरेको थियो।
गठबन्धनका केन्द्रीय नेताहरूले प्रदेश १ को मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) लाई दिने भएपछि कांग्रेसभित्र असन्तुष्टि थियो। नेपाली कांग्रेस प्रदेश १ सचेतक रहेका केदार कार्कीले आफूहरूलाई सोध्दै नसोधी ‘भाग’ लगाएकोबारे सामाजिक सञ्जालमै असन्तुष्टि जनाएका थिए।
‘संघीयताको धज्जी उडाएर प्रदेश दलसँग सल्लाह नगरी आफ्नो लागि दुई राज्य मन्त्रीसँग मुख्य मन्त्री साट्नु हाम्रो लागि लज्जा हो। तुरुन्त सच्याइयोस्’ उनले लेखेका थिए।
अझै लगाएको छैन ह्विप!
९२ सदस्यीय प्रदेशसभामा अहिले एमालेका ४१ जना मात्र सांसद छन्। एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ। बहुमत पुर्याउन ४७ सांसद चाहिन्छ।
कात्तिक ७ गते ८ जना कांग्रेसका सांसदहरूले आचार्यलाई मत दिने सहमति भएको एमालेका स्रोतको दाबी छ।
‘को को थिए भनेर चाहिँ म भन्दिन, तर ८ जना उताका (कांग्रेस) ले मत दिने सहमति भएको थियो’ एमालेका एक सांसद भन्छन्’ अब गाह्रो छ। तर पनि अझै यसै भन्न भने सकिँदैन।’
एमाले सांसदहरूले भने जस्तै अझै पनि कांग्रेसका सबै सांसदहरूले पोजिसन क्लियर भने गरेका छैनन्। कार्तिक १५ गते बोलाइएको बैठकमा कुन पक्षमा मत दिने भन्नेमा अझै सबै सांसदहरु अलमल छन्।
अबको कांग्रेसको पोजिसन के भन्ने प्रश्नमा कांग्रेस सांसद सुयार्मा राई भन्छन् ‘यो विषय हाम्रो नेताहरूलाई बुझ्नु न एक पटक, सदन बस्नु अगाडि हाम्रो दलको बैठक पनि बस्छ होला।’
सांसदहरू आफै ‘क्लियर’ नभएको बेला माथिल्ला तहका देउवा लाइनका कांग्रेसका नेताहरूले भने समाजवादीलाई नेतृत्व दिएकाले त्यसको अर्को विकल्प नहुने बताउँदै आएका छन्। संस्थापन इतर पक्षमा रहेका राजीव कोइरालालाई ‘गुट’ नमिलेकै कारण मुख्यमन्त्री बन्न नदिएको आरोप पनि देउवालाई छ।
शनिवार मात्र कोइरालाको गृह नगर इनरुवामा कांग्रेस केन्द्रीय सदस्य तथा देउवा निकटका मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पार्टी निर्णयको अक्षरशः पालना गर्न निर्देशन सम्म दिन भ्याए।
मन्त्री कार्कीले प्रदेश १ सरकारको प्रतिनिधित्वको विषयलाई लिएर केही कांग्रेस नेता तथा कार्यकर्ता ट्रयाक बाहिर जान खोजेको भन्दै त्यसो गरिए पार्टी हित विपरीत हुने निर्देशनात्मक चेतावनी दिएका थिए।
प्रतिपक्षको भूमिका कांग्रेसको : राजीव कोइराला
प्रदेशमा विपक्षी गठबन्धनको ठूलो दल कांग्रेस हो। कांग्रेसको साथ बिना अहिलेको विपक्षी गठबन्धनलाई सरकार बनाउन अंक गणित पनि पुग्दैन।
गठबन्धन भित्रको ठूलो दल भएकाले कांग्रेस भित्र पनि मुख्यमन्त्रीमा आफ्नो नेतृत्व वा आधाआधी कार्यकाल हुनुपर्ने माग छ।
कांग्रेस भित्रको यही आन्तरिक किचलोले भने मुख्यमन्त्री आचार्यको पद लम्बिएको छ। तर, भोलि आचार्यले लिने विश्वासको मतमा भने कांग्रेसले प्रतिपक्षीको भूमिका निभाउने दलका नेता राजीव कोइराला बताउँछन्।
‘विश्वासको मतमा के गर्नु हुन्छ भन्ने विषय प्रतिपक्षीलाई सोधिराख्नु पर्ने विषय नै होइन’ कोइरालाले नेपालखबरसँग भने, ‘प्रतिपक्षीले आफ्नो भूमिका के हो त्यो नै गर्छ।’
Shares
प्रतिक्रिया