बुधबार दिउँसो थापाथलीस्थित एमाले कार्यालय पुग्दा कार्यालय सचिव शेरबहादुर तामाङ धनकुटाका जिल्ला नेतालाई पार्टी सदस्यता नवीकरण फर्म मोबाइलबाटै भर्न सिकाइरहेका थिए।
ती नेताले सीपीएनयूएमएल (नेकपा एमाले) नामको एप खोलेर आफ्नै मोबाइलबाट पार्टी सदस्यता नवीकरण फर्म भरे।
दसौँ राष्ट्रिय महाधिवेशनअघि एमालेले पार्टी सदस्यताको सबै विवरण सोही एपमा राखिरहेको छ। आधुनिक प्रविधिअनुसार पार्टीलाई बदलिरहेको तामाङले बताए।
‘हामीले हाइटेक एमाले बनाउने कामलाई तीव्रता दिएका छौंँ,’ तामाङले नेपालखबरसँग भने, ‘त्यसको सुरुवात पार्टी सदस्यता नवीकरण र नयाँ सदस्य वितरणबाट भएको छ।’
सीपीएनयूएमएल नामको एपमा अहिले सदस्यहरुको विवरण रेकर्ड गर्ने काम भइरहेको छ।
ललितपुरको गोदावरीमा भएको विधान सम्मेलनको अन्तिम दिन असोज १७ गते लञ्च गरिएको सो एपमा एक हप्तादेखि सदस्यता विवरण राख्न थालिएको हो। एपमा बुधबारसम्म ४० हजार बढी सदस्यहरुको विवरण रेकर्ड गरिसकेको उनले बताए।
आईफोन र एन्ड्रोइड दुवै मोबाइलबाट सो एप डाउनलोड गरेर आफ्नो सदस्यताको बारेमा जानकारी लिन सकिन्छ। आक्रामक रुपमा सदस्यता विस्तार गरिरहेको सो पार्टीले प्रविधिको सहयोगमा सदस्यताको लगत राख्ने काम २ महिनाभित्र सक्ने तामाङले बताए। हाल एमालेका ७ लाख २१ हजार सदस्य छन्।
‘नयाँ प्रविधि भित्र्याएर एमालेलाई सिस्टममा लैजान हामीले एप बनाएका हौँ,’ सांसद समेत रहेका तामाङले भने, ‘सदस्यता नवीकरण मात्र होइन नयाँ सदस्य फर्म समेत सोही एपबाट भर्न सकिन्छ।’
पुराना सदस्यहरुले अहिलेसम्म पार्टीमा गरेको योगदान, पार्टीले गरेको मूल्यांकन, मिडियामा प्रकाशित भएका लेख, अन्तर्वार्ता लगायतका सबै विवरण सो एपमा राख्ने काम भइरहेको छ।
‘हरेक पार्टी मेम्बरहरुको राजनीतिक, सामाजिक जीवन, पार्टीमा आबद्ध भएको मिति, गरेका महत्वपूर्ण काम लगायतका सबै विवरण राखेर पार्टीका मेम्बरहरुको पार्टी जीवन हेर्न सकिन्छ,’ तामाङले थपे।
त्यतिमात्र होइन, एमाले परित्याग गरेका सदस्यको काम समेत एपमा हेर्न सकिन्छ
‘पार्टी छाडेका साथीहरुले एमालेमा रहेर जहिलेसम्म काम गरेका थिए, ती सबै विवरण हेर्न सक्छौं र रेकर्डमा राख्छौं,’ उनले भने, ‘त्यसो गर्दा साथीहरुले एमालेको लागि गरेको योगदान सधैँ रहिरहनेछ। यस्तै मृत्यु भएका साथीहरुको हकमा पनि त्यस्ता कुरा सुरक्षित गरिँदा उहाँहरुको मूल्यांकन गर्न सजिलो हुँदो रहेछ।’
निर्वाचनबाट नेतृत्व चयन गर्दै आएको एमालेले महाधिवेशनका बेला र आम निर्वाचनहरुमा टिकट दिन सजिलो हुनेगरी एपमा सदस्यको सबै गतिविधि, क्रियाकलाप अटाएको हो।
‘विश्व विस्तारै भर्चुअल सिस्टममा पुग्यो, हामी पनि सँगसँगै नहिँड्ने हो भने अबको पार्टीमा मानिसको आकर्षण बढ्दैन, तामाङले भने, ‘सूचना र प्रविधिबाट जोडिन एमाले लागिपरेको छ।’
सुरक्षामा ध्यान
एप निर्माणमा ४-५ जना आईटी इन्जिनियरले काम गरिरहेका छन्।
सदस्यहरुको विवरणमा त्रुटि नहोस् भनेर प्रत्येक सदस्यको फोन नम्बर र पार्टी सदस्यता म्याच गरेर मात्र एपभित्र इन्ट्री गर्न सकिने बनाइएको छ।
यदि मोबाइल नम्बर थाहा पाएर गैरसदस्यले खोल्न खोजे पनि त्यसले इन्ट्री पाउनेछैन। त्यहाँ पार्टी सदस्यता नम्बर राख्नुपर्नेछ।
पार्टी सदस्यता नम्बर र सदस्यता पाएको मिति भने केन्द्रले मात्र प्रदान गर्नेछ। सोही आधारमा गैरसदस्य एपमा प्रवेश गर्न नसक्ने उनको भनाइ छ।
दुई पटक भन्दा बढी लगइनको प्रयास गरेमा त्यसबारे जानकारी पालिका नेतृत्वलाई एसएमएसमार्फत तत्काल जानेछ र सर्टकोड राखेपछि मात्र भेरिफाइड भएर एपका विवरण हेर्न सकिनेछ।
नेता र कार्यकर्तालाई पठाइएको अन्तर पार्टी निर्देशिका (अपानि), पार्टी केन्द्रका निर्णयहरु, निर्देशन लगायतका सामग्रीहरु एपमै पठाइनेछ।
सामान्य खालको पार्टी गतिविधि भने लगइन नगरी पनि हेर्न सकिनेछ।
सदस्यताको विवरणमा मतदाता परिचयपत्र नम्बर, सवारी साधन लाइसेन्स नम्बर पनि राख्ने तयारी छ।
यस्तै पार्टी छाडेको विवरण तत्काल अद्यावधिक गरिनेछ। प्रत्येक जिल्ला, प्रदेश र स्थानीय तहलाई छुट्टाछुट्टै कोड पठाएर उनीहरु आफैँले सदस्यता विवरणमा बाँकी कुराहरु भर्न सक्ने व्यवस्था मिलाइएको छ।
एमालेले जिल्ला र प्रदेशका नेताहरुलाई एप प्रयोग गर्न सिकाइरहेको छ।
बुधबारसम्म १० हजार बढीले सो एप डाउनलोड गरिसकेका छन्।
३ लाखजति नयाँ सदस्य थप्न एप उपयोगी हुने एमालेले अपेक्षा छ।
विदेशमा रहेका नेपालीलाई पनि समेट्ने
विदेशमा रहेका एमाले समर्थक नेपालीलाई पनि समेट्ने प्रयास भइरहेको छ।
नेपालमा मोबाइल नम्बर र पार्टी सदस्यता नम्बरबाट एपभित्र प्रवेश पाउने भए पनि विदेशमा रहेकाहरुलाई छुट्टै सर्टकोड दिएर जोड्ने प्रयास भइरहेको कार्यालय सचिव तामाङले जानकारी दिए।
‘विदेशमा बस्ने नेपालीलाई छुट्टै सर्टकोड उपलब्ध गराउँछौं,’ उनले भने, ‘उहाँहरुलाई जुन देशमा बसेको छ, सोही देशबाट सदस्यता नवीकरण र नयाँ सदस्यता दिन मिल्ने गराउँछौँ यसका लागि इन्जिनियरसँग छलफल भइरहेको छ।’
उनका अनुसार एमालेको एक लाखमाथि सदस्यहरु विदेशमा छन्।
मंसिर १०–१२ मा महाधिवेशन राखेको एमालेले प्रविधिको प्रयोग गरेर कार्यक्रमको प्रचारप्रसार गर्दैछ। महाधिवेशन प्रतिनिधिको कार्डमा क्यूआर कोड राखिएको छ।
सोहीमार्फत खाना खाने बेला उपस्थितिको जानकारी लिने व्यवस्था मिलाइनेछ।
अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट कात्तिक ६ गते वडा सम्मेलन र ९ गते देशभरको पालिका अधिवेशनको एकसाथ उद्घाटन गरेका थिए।
अध्यक्ष ओलीले पार्टीलाई प्रविधिमैत्री बनाउन चाहेको बताउँदै कार्यलय सचिव तामाङले ओली सरकारकै पालामा नागरिक एप सञ्चालन ल्याएको स्मरण गरे। २०७७ माघमा सरकारी कामको जानकारी लिन सकिनेगरी नागरिक एप सञ्चालन गरिएको थियो।
यसैगरी २०७६ भदौ ९ गते उपचारका क्रममा सिंगापुर गएका प्रधानमन्त्री ओलीले सिंगापुरबाटै भर्चुअल मन्त्रिपरिषद्को बैठक राखेका थिए।
त्यसका लागि उनले मन्त्रिपरिषद् बैठकसम्बन्धी नियमावली संशोधन गरेर भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री जहाँ रहेपनि क्याबिनेट बैठक बस्न सक्ने व्यवस्था गरेको थियो।
यस्तै २०७८ असार २१ गते ओलीले भर्चुअल माध्यमबाटै अपर तामाकोसी जलविद्युत आयोजना उद्घाटन गरेका थिए।
भिडिओ:
Shares

प्रतिक्रिया