सत्तारुढ नेकपाले सातै प्रदेश प्रमुखमा नियुक्तिका लागि नाम सिफारिस गरेको छ। सिफारिस भएकाहरुमा राष्ट्रपतिको उम्मेदवारमा चर्चा चलेका अमिक शेरचन पनि छन्। निर्वाचनपछि ०७४ सालमा उनी वाम गठबन्धनका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा थियो। उनी पूर्वउपप्रधानमन्त्री पनि हुन्। सिफारिस हुनेहरुमा चार जना पूर्व एमाले र तीन जना पूर्व माओवादी पृष्ठभूमिका छन्। बेपत्ता परिवार र मेयरका उम्मेदवारपनि सिफारिस भएका छन्।
सोमनाथ अधिकारी प्यासी
नेकपाका स्थायी समिति सदस्य सोमनाथ अधिकारी प्यासी कास्कीका स्थायी बासिन्दा हुन्। कास्की–२ मा मंसिर १४ मा हुने उपनिर्वाचनमा नेकपाका तर्फबाट उम्मेदवार बनाउन प्रदेश समितिले प्यासीको नाम समेत सिफारिस गरेको थियो । प्यासी तत्कालीन नेकपा एमालेका नवौं महाधिवेशनबाट निर्वाचन आयोगको अध्यक्षमा निर्वाचित भएका थिए।
नेकपा मालेले पञ्चायती व्यवस्था अन्तर्गत नै निर्वाचन उपयोग गर्ने रणनीतिअनुसार कास्कीबाट प्यासीलाई राष्ट्रिय पञ्चायतको जनपक्षीय उम्मेदवार बनाएको थियो। निर्वाचित भएर राष्ट्रिय पञ्चायतमा आएपछि प्यासी लगायतका जनपक्षीय सांसदहरुले रोष्ट्रमबाट पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था स्थापनाको माग चर्काएर चर्चित भएका थिए।
एमालेको पछिल्लो महाधिवेसनमा प्यासी प्रधानमन्त्री केपी शर्मा ओलीको प्यानलबाट निर्वाचित भएका हुन्।
तिलक परियार
तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तिलक परियार पुराना कम्युनिष्ट नेता हुन्। रोल्पामा जन्मिएका परियार लामो समय प्रवासमा राजनीति गरेका थिए। माओवादी सशस्त्र विद्रोहका बेला उनी बाँकेमा सक्रिय थिए।
उनी पहिलो संविधानसभा चुनावमा बाँके–१ बाट निर्वाचित भएका हुन्। केहि समय वैद्य समूहमा रहेका उनी पुनः पुष्पकमल दाहाल नेतृत्वको माओवादीमा फर्किएका हुन्।
विष्णु प्रसाईं
विद्यार्थीकालमा झापा विद्रोहसँग जोडिएका प्रसाईं पछिल्लो स्थानीय चुनावमा मेची नगरपालिकाका मेयरमा पराजित भएका थिए। २०४४ सालमा भएको गाउँपञ्चायतको चुनावमा धाइजनका जनपक्षीय उम्मेदवारको रुपमा प्रसाई निर्वाचित भएका थिए।
त्यसपछि राजनीतिक मुद्दामा उनी साढे दुई वर्ष जेल परे। अहिले नेकपाको प्रदेश कमिटीमा रहेका प्रसाई अध्यक्ष ओलीनिकट नेता हुन्।
धर्मनाथ यादव
यादव सिराहाका पूर्व शिक्षक हुन्। उनी लामो समय सिराहाको विभिन्न स्कुलहरुमा हेडमास्टरको रुपमा शिक्षण पेशामा सक्रिय रहे।
२०७२ फागुन २१ गते झापामा भएको तत्कालीन नेकपा एमालेको स्थायी कमिटी बैठकबाट उनीसहित डेढदर्जन तराई मधेशका नेताहरुलाई केन्द्रीय सदस्यमा नियुक्त गरिएको थियो। उनी पञ्चायतकालदेखि नै तत्कालीन नेकपा मालेमा सक्रिय थिए।
अमिक शेरचन
दोस्रो जनआन्दोलन २०६२–०६३ को समयमा चर्चित प्रमुखनेता मध्येका शेरचन एक हुन् । आन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री थिए।
नेकपा एकताकेन्द्र र नेकपा माओवादीबीच एकीकरणपछि उनी लामो समय एकिकृत पार्टीको कोषाध्यक्ष रहेका थिए । चितवनका स्थायीवासी शेरचन चितवनबाट संविधानसभामा निर्वाचित हुन्।
गोविन्द कलौनी
सुदुरपश्चिममा करिब साढे दुईदशक हेडमास्टर रहेका कलौनी सो क्षेत्रका पुराना कम्युनिष्ट नेताका रुपमा चिनिन्छन्। उनी तत्कालीन नेकपा एमालेको निर्वाचन आयोगका उपाध्यक्ष थिए। कलौनीले २०५१ सालमा डडेल्धुरा, २०५६ मा बैतडी र २०६४ मा कञ्चनपुरबाट चुनाव लडेका थिए।
शर्मिला त्रिपाठी
शर्मिला त्रिपाठी तत्कालीन माओवादी केन्द्रकी नेतृ हुन्। उनी बेपत्ता परिवारका सदस्य हुन्। सशस्त्र विद्रोहको क्रममा उनका पति ज्ञानेन्द्र त्रिपाठी बेपत्ता छन्। त्रिपाठीको चितवनका स्थायी बासिन्दा हुन्।
Shares

प्रतिक्रिया