ad ad

राजनीति


कूटनीतिक मर्यादा नाघेर सीपीसीको कार्यक्रममा उपराष्ट्रपति पुन, दिए १५ मिनेट भाषण

परराष्ट्र मन्त्रालय भन्छः उपराष्ट्रपतिको सहभागिताबारे जानकारी छैन
कूटनीतिक मर्यादा नाघेर सीपीसीको कार्यक्रममा उपराष्ट्रपति पुन, दिए १५ मिनेट भाषण

२०१९ मा ‘स्प्रिङ फेस्टिवल’ तयारीको क्रममा काठमाडौँमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनसँग राजदूत होउ यान्छी (फाइल फोटो/सिन्ह्वा)


सन्तोष घिमिरे
मंसिर ६, २०७८ सोमबार २३:२५, काठमाडौँ

चिनियाँ कम्युनिस्ट पार्टीले सोमबार आयोजना गरेको एक कार्यक्रममा कम्युनिस्ट पार्टीका नेताहरुसँगै उपराष्ट्रपति नन्दबहादुर पुनसमेत सहभागी भए। 

उपराष्ट्रपति पुन चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को विदेश विभागले पार्टीको १९ औँ केन्द्रीय समितिको छैठौँ बैठकले अघिल्लो साता गरेका निर्णय दक्षिण एसियाली मुलुकका कम्युनिस्ट पार्टीलाई सुनाउन आयोजना गरेको कार्यक्रममा सहभागी भएका हुन्।

भर्चुअल माध्यमबाट सोमबार दिउँसो आयोजना गरिएको उक्त कार्यक्रममा उपराष्ट्रपति पुन नेपालबाट एक प्रमुख वक्ता थिए। कार्यक्रममा उनले १५ मिनेट मन्तव्य दिए। 

उपराष्ट्रपति पुन चिनियाँ कम्युनिस्ट पार्टीले गरेको कार्यक्रममा सहभागी भएकोबारे परराष्ट्र मन्त्रालयका अधिकारीले अनविज्ञता प्रकट गरेका छन्। 

कूटनीतिक मामिलाका विज्ञहरुले चाहिँ उपराष्ट्रपतिले विदेशी पार्टीको बैठकमा ‘नेपालको कुनै पार्टी विशेषको नेताझैँ सहभागी हुनु कूटनीतिक मर्यादाविपरीत रहेको’ प्रतिक्रिया दिएका छन्। 

उपराष्ट्रपति पुन नेकपा माओवादी केन्द्रका पूर्वनेता हुन्। उपराष्ट्रपतिको हैसियतमा चीन सरकारका पदाधिकारी या कूटनीतिक अधिकारीले भेटवार्ता र छलफल गर्नु कूटनीति सञ्चालनको नियमित प्रक्रियाभित्रै पर्छ। तर चिनियाँ कम्युनिस्ट पार्टीले दक्षिण एसियाली राजनीतिक दलका नेतासँग गरेको अन्तर्क्रियामा उनी सहभागी हुनु अशोभनीय रहेको सरकारी अधिकारी र कूटनीतिक मामिलाका विज्ञहरुले बताए। 

सोमबार सीपीसीले नेपालसहित दक्षिण एसियाका कम्युनिस्ट नेताहरूसँग आयोजना गरेको छलफलमा  उपराष्ट्रपति पुन   

उपराष्ट्रपति कार्यालयका एक अधिकारीले चिनियाँ पक्षले उपराष्ट्रपतिलाई सहभागी हुन परराष्ट्र मन्त्रालयको औपचारिक च्यानलबाट पत्र पठाउनुका साथै सिधै अनुरोध समेत गरेको बताए। 

‘परराष्ट्रको च्यानलबाट निमन्त्रणा मात्र आएको हो। तर, चिनियाँ पक्षले उक्त कार्यक्रममा सहभागी भइदिन पटक—पटक सिधै अनुरोध पनि गरेको थियो,’ उनले नेपालखबरसँग भने। 

उनका अनुसार उपराष्ट्रपति पुनले उक्त कार्यक्रममा सहभागी हुनुअघि परराष्ट्र मन्त्रालयसँग सल्लाह लिएका थिएनन्।

सार्वजनिक ओहदाका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तहबाट मुलुकको कूटनीतिक आचारसंहिता अनुसार मर्यादा पालना भए नभएको हेर्ने मुख्य निकाय परराष्ट्र मन्त्रालय हो। तर केही वर्षयता राजनीतिक नेतृत्वबाट कूटनीतिक आचारसंहिता कुल्चेर विदेशीसँग भेटघाट र अन्तक्र्रिया भइरहेका कारण मन्त्रालय मूकदर्शक बन्न बाध्य भएको परराष्ट्रका नाम बताउन नचाहने अर्का अधिकारीले बताए। कूटनीतिक आचारसंहिता पटक—पटक बने पनि त्यसको कार्यान्वयन गराउन नसकिएको उनले बताए। 

‘उच्च ओहदामा रहेका सबैजसोले कूटनीतिक आचारसंहितको धज्जी उडाइरहेका हुन्छन्। सकेसम्म आचारसंहिता पालना गर्न नपरोस् भन्ने ध्येय हुन्छ,’ उनले भने। 

राष्ट्रपति या उपराष्ट्रपतिलाई सम्बोधन भई विदेशबाट आएका कुनै पनि पत्राचार र कार्यक्रमका निमन्त्रणामाथि परराष्ट्र मन्त्रालयले प्रश्न उठाउने अवस्था बन्न थालेको छ। किनकि त्यसरी निमन्त्रणा आउनुअगावै विदेशी मुलुकका ती निकायले राष्ट्रपति, उपराष्ट्रपति वा प्रधानमन्त्री तहमा आफैँले प्रत्यक्ष सम्पर्क गरिसकेका हुन्छन्।

‘हामीले उच्च ओहदाका व्यक्तिलाई आएका निमन्त्रणा वा कुनै पत्राचारमाथि प्रश्न उठाए अस्वाभाविक दबाब खेप्नुपर्ने हुन्छ। त्यसैले अहिले परराष्ट्र मन्त्रालय केवल विदेशी नियोग वा संस्थाबाट आएका पत्र नेपालका अरु सरकारी निकायमा फरवार्ड गरिदिने वा बैठकको संयोजन गर्ने साधारण निकायका रुपमा परिणत भइसक्यो भन्दा फरक पर्दैन,’ मन्त्रालयका अधिकारीले भने।

राष्ट्रपति तथा उपराष्ट्रपतिले विदेशीसँग भेटघाट तथा छलफल गर्नुपरे परराष्ट्र मन्त्रालय लगायत राज्यका निकायसँग सल्लाह लिने चलन छ। यदि उपराष्ट्रपतिसँग कुनै विदेशी कूटनीतिज्ञ या विदेशी नेताले भेटवार्ता या छलफल गर्न चाहेमा परराष्ट्र मन्त्रालयलाई पूर्वसूचना दिनुपर्ने हुन्छ। त्यस्तै उपराष्ट्रपतिका तर्फबाट त्यसखालका भेटवार्ता गर्न चाहे परराष्ट्र मन्त्रालयसंग परामर्श र सहमति लिनुपर्ने हुन्छ। 

राष्ट्रपति र उपराष्ट्रपतिले अन्य देशका औपचारिक कार्यक्रममा सहभागी हुन तथा मुलुकको प्रतिनिधित्व गर्दै मन्तव्य दिनु सामान्य कूटनीतिक प्रचलन भित्रै पर्छ।  

सामान्यतः राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि राज्यका कुनै पनि माथिल्लो ओहदामा रहेका व्यक्तिले विदेशी मुलुकसँग गर्ने छलफल, भेटघाट र अन्य अन्तक्र्रियाको संयोजन परराष्ट्र मन्त्रालयले गर्नेगर्छ। त्यस्ता छलफल, भेटघाट र अन्य अन्तर्क्रियामा परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेत खटाइएको हुन्छ, ‘संस्थागत रेकर्ड’ राख्नका लागि। 

परराष्ट्र मन्त्रालयले उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपतिबाट हुने कूटनीतिक भेटवार्ता तथा अन्य कूटनीतिक गतिविधि हेर्न कर्मचारी समेत खटाएको हुन्छ। 

उपराष्ट्रपति पार्टी छलफलमा बस्नु कूटनीतिक मर्यादाविपरीतः पूर्व शिष्टाचार महापाल थापा
परराष्ट्र मन्त्रालयका पूर्व शिष्टाचार महापाल गोपालबहादुर थापाले उपराष्ट्रपतिको हैसियतमा चिनियाँ कम्युनिस्ट पार्टीको कार्यक्रममा सहभागिता जनाउनु कूटनीतिक मर्यादा र प्रचलन विपरीत रहेको बताए। 

‘चिनियाँ कम्युनिस्ट पार्टीको कार्यक्रममा उपराष्ट्रपति सहभागी हुनु सरासर कूटनीतिक मर्यादा विपरीत हो। किनकि उहाँ अहिले मुलुकको बहालावाला उपराष्ट्रपति हो। कुनै पार्टी विशेषको सामान्य नेता होइन। उहाँले विदेशीसँग गर्ने कुराकानी, भेटवार्ता लगायत सबैै कुरा कूटनीतिक आचारसंहितको दायराभित्र पर्छ। उहाँका औपचारिक गतिविधि निजी हुँदैनन्,’ थापाले नेपालखबरसँग भने। 

उपराष्ट्रपतिले विदेशीसँग बोल्दा के बोल्ने, को विदेशीसँग भेट्ने या नभेट्ने जस्ता विषयमा ख्याल गर्नुपर्ने उनले बताए। 

कूटनीतिक आचारसंहिताभित्र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि सरकारी ओहदाका सबै बाँधिनुपर्ने उनले बताए। विदेश नीति र यसको सञ्चालनप्रति अहिलेको राजनीतिक नेतृत्व गैह्रजिम्मेवार रुपमा प्रस्तुत हुन थालेको उनको भनाइ छ।

‘कूटनीतिक मर्यादा र प्रोटोकल कार्यान्वयन परराष्ट्रनीति सञ्चालनको महत्वपूर्ण पाटो हो। तर परराष्ट्रनीति र यसको संवेदनशीलता राजनीतिक नेता र उच्च अधिकारीले बुझ्न नसकेको देखिन्छ। जुन मुलुककै लागि बिडम्बना हो,’ परराष्ट्र मन्त्रालयका पूर्वसहसचिव समेत रहेका थापाले भने। 

उपराष्ट्रपतिको कार्यक्रमबारे थाहा भएनः परराष्ट्र प्रवक्ता 
परराष्ट्र प्रवक्ता सेवा लम्सालले पार्टीहरुको अन्तर्क्रियामा उपराष्ट्रपतिको सहभागिताबारे आफू जानकार नरहेको बताइन्। मन्त्रालयको सम्बन्धित महाशाखासँग सोध्ने भन्दै उनी पन्छिइन्। 

‘उपराष्ट्रपतिको तहबाट कुनै पनि विदेशी कार्यक्रममा सहभागिता रहे त्यो मुलुकको उच्च तहबाट भएको सहभागिताभित्र पर्छ,’ उनले भनिन्। 

तर, लम्सालले उपराष्ट्रपतिले चिनियाँ कम्युनिस्ट पार्टीको कार्यक्रममा सहभागिताका सम्बन्धमा अनविज्ञता प्रकट गरिन्। 

परराष्ट्र हुँदै आएको पत्रपछि उपराष्ट्रपतिले भाग लिनुभएको होः प्रेस संयोजक   
उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले उक्त कार्यक्रममा उपराष्ट्रपति पुनको सहभागिताका लागि अनुरोध गर्दै परराष्ट्र मन्त्रालयमार्फत् उपराष्ट्रपति कार्यालयमा निमन्त्रणा पठाएको थियो। 

‘परराष्ट्रको च्यानलबाट निमन्त्रणा आएकाले कार्यक्रममा उपराष्ट्रपतिले भाग लिनुभएको हो। यो त कूटनीतिक चलन भित्रै पर्दैन र?’ उनले भने। 

उपराष्ट्रपति पुनले के बोले १५ मिनेटमा?
कार्यक्रममा उपराष्ट्रपति पुनले १५ मिनेट मन्तव्य दिएका थिए। उनले चीन नेपालको घनिष्ठ मित्र रहेको र नेपालले चीनको आर्थिक प्रगतिबाट लाभ लिन चाहेको बताए। उनले चिनियाँ राष्ट्रपति सीको कुशल नेतृत्व र विचारले चिनियाँ जनता विकास र समृद्धिको मार्गमा अघि बढेको बताए।

‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको छ’, पुनले भने, ‘नेपाल एकचीन नीतिप्रति प्रतिबद्ध छ। बीआरआई अवधारणामा आवद्ध भएर नेपालले लाभ लिन चाहेको छ।’

‘अहिले विश्वभरका मानिसले चीनतर्फ हेरिरहेका छन्। चीनको आर्थिक प्रगति र विकासबाट लाभ लिन चाहेका छन्’, उपराष्ट्रपति पुनले अगाडि भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं केन्द्रीय समितिको विस्तारित बैठकले सिंगो मानव समाज र समाजवादी आन्दोनलाई सकारात्मक सन्देश दिएको छ।’

को-को सहभागी भए सीपीसीको छलफलमा? 
चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका नेता सङ थाओसहित वरिष्ठ नेता सहभागी कार्यक्रममा नेपाल, श्रीलंका, भारत र बंगलादेशका कम्युनिस्ट पार्टीका नेताले मन्तव्य दिएका थिए।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपाका महासचिव नेत्रविक्रम चन्द र मसालका महासचिव मोहनविक्रम सिंह सहभागी थिए। 

मन्तव्य दिएका नेपाली नेताहरुले चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ केन्द्रीय समितिको विस्तारित बैठकबाट लिएका ऐतिहासिक निर्णयका लागि बधाई दिए। 

भारतीय कम्युनिस्ट पार्टीका नेताद्वय सीताराम यचुरी र ठी राजा सहभागी थिए। श्रीलंका र बंगलादेशका कम्युनिस्ट पार्टीका नेता पनि सहभागी थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .