ad ad

राजनीति


सुशीलपछि परीक्षण हुँदै कोइराला परिवारको उत्तराधिकारी

सुशीलपछि परीक्षण हुँदै कोइराला परिवारको उत्तराधिकारी

केशव सावद
मंसिर १२, २०७८ आइतबार १७:४४, काठमाडौँ

मंसिर २४–२६ मा काठमाडौँमा हुने महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको तयारीमा छ नेपाली कांग्रेस। कांग्रेसको ७२ वर्षे इतिहासमा झण्डै पाँच दशक यो पार्टीको नेतृत्व कोइराला परिवारकै हातमा थियो। 

कोइराला परिवारबाट बीपीले २५, मातृकाप्रसादले ४, गिरिजाप्रसादले १४ र सुशीलले ६ वर्ष कांग्रेसको नेतृत्व गरेका थिए। सुशील कोइरालाको निधनपछि २०७२ फागुन तेस्रो साता सम्पन्न १३ औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका थिए। 

देउवाले तोडेको कोइराला परिवारको विरासत फर्काउन यस पटक अन्य प्रतिस्पर्धीहरुसँगै पार्टीका संस्थापक नेता बीपी कोइराला र उनका भाइहरु गिरिजाप्रसाद कोइराला तथा केशव कोइरालाका सन्तान नेतृत्व हत्याउने दाउमा छन्। 

बीपीपुत्र डा. शशांक, गिरिजापुत्री सुजाता र केशवपुत्र डा. शेखर परिवारको विरासत थाम्न आफैँ सक्षम रहेको दाबी गरिरहेका छन्।

देउवाको हातबाट परिवारमै नेतृत्व फर्काउन प्रयासरत यी तीनै जनामा कोइराला परिवारको सदस्य हुनुको लाभबाहेक कुनै चामत्कारिक क्षमता भने देखिएको छैन। पाएका अवसरहरूमा उनीहरूले आफूलाई खरो रुपमा उतार्न सकेको देखिँदैन। 

शशांकः जिम्मेवारी छ, योगदान छैन
१३ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित डा. शशांकले अवसर पाएर पनि काम गर्न नसकेको टिप्पणी उनीनिकट नेताहरुले बेलाबखत गर्दै आएका छन्। उनीमाथि सभापति शेरबहादुर देउवालाई सघाउने गरेको आरोप लाग्दै आएको छ। 

गणतन्त्रपछिका तीनवटै निर्वाचनमा विजय हासिल गर्दै आए पनि संसदमा प्रभावकारी र चर्चा हुने गरी एकपटक पनि सम्बोधन गर्न नसकेको भन्दै डा. शशांकको आलोचना हुने गरेको छ। 

कांग्रेस महामन्त्री समेत रहेका उनले मुलुकलाई पुर्याएको देन शून्यप्रायः रहेको विश्लेषकहरु बताउँछन् ।   

‘शशांकले जति पटक चुनाव जिते पनि, जति पटक संसदमा हाजिर भए पनि उहाँले संसदमा बोलेको, जनताका मुद्दा उठाएको, देशको राजनीतिमा कुनै ठोस योगदान पुर्याएको देखिँदैन,’ वरिष्ठ पत्रकार राजेन्द्र दाहाल भन्छन्, ‘उनले कुनै मुद्दामा प्रष्ट दृष्टिकोण राखेको, भोलि कांग्रेसलाई यसरी अगाडि बढाउन सक्छन्, यसरी टुंगोमा पुर्याउन सक्छन् भनेर कुनै आश जगाएको केही पनि भेटिँदैन। ‘पोलिटिकल परफरमेन्स’ को कोणबाट हेर्दा शशांक कोइरालाको देन, उपलब्धि झण्डैझण्डै शून्यप्रायः छ।’ 

नेपाली कांग्रेसको इतिहासलाई लेखनको विषय बनाउँदै आएका जगत नेपाल पनि शशांक बलियो रुपमा प्रस्तुत हुन नसकेको टिप्पणी गर्छन्। 

गिरिजाप्रसाद कोइरालाको आत्मकथा र ‘बीपीको विद्रोह’ लगायत पुस्तकका लेखकसमेत रहेका पत्रकार नेपाल भन्छन्, ‘बीपीपुत्र हुनुको फाइदा, यसअघि निर्वाचित महामन्त्री, संसदीय निर्वाचनमा लगातार जित जस्ता ‘स्ट्रेन्थ’ हुँदाहुँदै पनि सबल रुपमा महामन्त्रीको भूमिका निर्वाह गर्न नसकेको आरोप शशांकमाथि छ।’  

सुजाताः नामभन्दा बढी बदनाम
अहिले नेपाली कांग्रेसको समानुपातिक सांसद रहेकी सुजाता बेलाबखत पार्टीको नेतृत्व लिन सक्षम रहेको दाबी गर्दै आएकी छन्। गिरिजापुत्री सुजाताले पनि राजकीय र पार्टीगत जिम्मेवारी नपाएकी होइनन्। उनी पार्टीको विदेश विभाग प्रमुखको अलावा उपप्रधान तथा परराष्ट्रमन्त्री समेत भइन्। 

यस्ता महत्वपूर्ण जिम्मेवारी पाए पनि सुजाताले गरेका स्मरणयोग्य कामको सूची भने छैन।   

उनीमाथि कार्यकर्ता परिचालन गर्न नसकेको, संगठन निर्माणमा सक्रिय नभएको, पार्टी संगठनमा गतिलो छाप छोड्न नसकेको, जनताका मुद्दालाई प्रभावकारी ढंगले उठाउन नसकेकोजस्ता आरोपहरुको सूची लामै छ।

वरिष्ठ पत्रकार दाहालका भनाइमा उपप्रधानमन्त्री छँदा सुजाताले कामको प्रभावकारी प्रदर्शन गरेर आफ्नो दक्षताको छाप छाड्न सकिनन्। 

‘पदमा रहँदाका कामहरु त्यति उत्साहवर्धक लाग्दैनन्,’ दाहाल भन्छन्, ‘अन्ततः उहाँको पहिचान गिरिजाप्रसादको छोरी भन्नेमा गएर टुंगिन पुगेको छ।’ 

सुजाताले जे जति महत्वपूर्ण जिम्मेवारी पाइन्, पिता गिरिजाप्रसाद कोइराला जीवित छँदै पाएकी हुन्। आफ्नो जीवनको उत्तराद्र्धमा गिरिजाले पार्टीको नेतृत्व गर्दै माधव नेपाल नेतृत्वको सरकारमा छोरी सुजातालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी सहित उपप्रधानमन्त्री बनाएका थिए। त्यसबेला उनी चोरढोकाबाट मेसिन रिडेबल पासपोर्ट भारतीय कम्पनीलाई दिएकोमा विवादमा तानिइन्।

राजनीतिका लागि जर्मनी छाडेर नेपाल आएलगत्तै उनी लगातार विवादमा मुछिइन्। नेपाल वायुसेवा निगमको टिकट बिक्रीसम्बन्धी एजेन्ट छनोट प्रकरणमा पनि उनको नाम मुछियो। जुन ‘धमिजा काण्ड’ का रुपमा चर्चित छ। 

शेखरः तीनमध्ये सबभन्दा बलिया
२०७० को संविधान सभा निर्वाचनमा विजयी भए पनि २०७४ को निर्वाचनमा मोरङ–६ मा एमाले नेता लालबाबु पण्डितसँग पराजित भए डा. शेखर। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भइसकेका उनी हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। उनले आगामी महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्।

लामो समय चिकित्सा पेसामा रहेका र ढिलो गरी सक्रिय राजनीतिमा आएकाले कांग्रेस राजनीतिमा उनलाई ‘जुनियर’ मान्नेहरुको कमी छैन। जानकारहरुका भनाइमा महाधिवेशनको चहलपहल सुरु हुँदै गर्दा डा. शेखर देश दौडाहामा जाँदा केन्द्रीय कार्यसमितिमा रहेका अन्य नेताहरु सँगै जानसमेत हिच्किचाउँथे।  

वरिष्ठ पत्रकार दाहाल पनि महामन्त्री शशांक र केन्द्रीय सदस्य सुजाताको तुलनामा शेखरसँग पैतृक विरासत कम भएको बताउँछन्। 

‘भाइ शशांक र बहिनी सुजाताको तुलनामा डा. शेखरको पैतृक विरासत कमजोर छ,’ दाहाल भन्छन्, ‘उहाँ आफैँ मेडिकल सेक्टरमा लागेर आउनुभएको हो। धेरै वर्ष पार्टीको राजनीतिमा घोटिएको मान्छे उहाँ होइन।’

पुराना कांग्रेसी नेता एवं पूर्वमन्त्री जयप्रकाश गुप्ता शशांक र सुजाताको तुलनामा डा. शेखरको सक्रियता र नेतृत्व सबल रहेको बताउँछन्। 

‘पार्टी सभापतिमा प्रतिस्पर्धा गर्ने भनेरै उनले यसअघि महामन्त्रीलगायतका पदमा प्रतिस्पर्धा गरेका छैनन्,’ गुप्ता भन्छन्, ‘विचारको दृष्टिले पनि दुईभन्दा डा. शेखर नै प्रष्ट लाग्छन्।’

नेतृत्व विकासको प्रतिस्पर्धा 
सुशील कोइराला जीवित छँदासम्म कोइराला परिवारमा नेतृत्वको संकट थिएन। तर, २५ माघ २०७२ मा तत्कालीन सभापति सुशील कोइरालाको निधन भएपछि कोइराला परिवारमा सर्वसम्मत नेतृत्वको संकट सुरु मात्र भएन, डा. शेखर, डा. शशांक र सुजाताबीच परिवारको तर्फबाट कांग्रेसको नेतृत्व कसले लिने भन्ने विषयमा किचलो सुरु भयो। यी तीनबीच एकले अर्काेलाई वरिष्ठ स्वीकार गर्ने स्थिति नै रहेन।

‘कोइराला परिवारमा बीपीपछि गिरिजाप्रसाद, गिरिजाप्रसादपछि सुशील कोइराला भन्ने थियो,’ दाहाल भन्छन्, ‘तर, सुशीलपछि एकले अर्काेको नेतृत्व स्वीकार गर्ने स्थिति देखिएन।’ 

यसबाट कोइराला परिवारभित्र नेतृत्व विकास नभइसकेको बरु नेतृत्व विकासको क्रममा रहेको विश्लेषण पत्रकार दाहालको छ। 

‘भोलि महाधिवेनमा उठेर आफूलाई परीक्षण गराउने आँट कसमा छ, त्यो कार्यकर्ताको माझमा गएपछि थाहा होला,’ दाहाल भन्छन्, ‘अहिले बार्गेनिङ गरेर मिल्ने सजिलो बाटो मात्रै रोज्छन् कि के गर्छन्, त्यो पछि थाहा हुन्छ।’  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .